होटलमा लगानीको ओइरो, प्रतिफल न्यून

काठमाडौँ । वर्ष २०८१ मा मात्रै झन्डै १ दर्जन पाँचतारे र चेन होटल सञ्चालनमा आए । अझै आधा दर्जन पाइप लाइनमा छन् । पछिल्लो १ दशकमा मेरियट, लेमनट्री, रमादा, दूसित थानी, सिन्तामणि, प्रिन्सिेस, अलफ्ट, ह्यात प्यालेसलगायत चेन होटल सञ्चालनमा आएका छन् । काठमाडौँ, पोखरा, लुम्बिनी, विराटनगर, बुटबल, भैरहवा, नेपालगन्जलगायत क्षेत्रमा धमाधम तारे होटल बनिरहेका छन् । सरकारले हालै नयाँ कानुन ल्याएर होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा मान्यता दिएको छ । यसबाट होटल उद्योगमा लगानी गरेका व्यवसायी उत्साहित भएका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म देशभर ३३७ पर्यटकस्तरीय होटल सञ्चालनमा छन् । हाल नेपालमा पाँचतारे होटल मात्र २३ वटा सञ्चालनमा छन् । ३ वटा पाँचतारे डिलक्स होटल छन् । देशभर ४१ वटा ४ तारे होटल छन् । यस्तै डिलक्समा हेरिटेज (४ तारेस्तर) होटल ४ वटा छन् भने ३७ वटा ३ तारे होटल सञ्चालनमा छन् । ५० वटाको हाराहारी २ र १ तारे होटल छन् । साथै लज्जरी बुटिक र हेरिटेज, रिसोर्ट र साधारण रिसोर्ट गरी विभिन्न स्तरका होटल पनि सञ्चालनमा छन् । होटल व्यवसायी महासंघमा आबद्ध होटलको संख्या पनि उल्लेय छ ।

होटलमा खर्बौं रुपैयाँ लगानी भए पनि त्यसको अपेक्षित प्रतिफल भने प्राप्त नभएको व्यवसायीहरूको गुनासो छ । होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले खर्बौं लगानी रहेको होटलमा ३५ लाख पर्यटक धान्ने पूर्वाधार भए पनि जम्मा एकतिहाइ मात्र उपयोग भएको बताए । उनले भने, ‘होटलहरू बनिरहेका छन्, तर अपेक्षाकृत लाभ भने लिन सकिएको छैन ।’ अध्यक्ष शाहले सरकारले हालै ल्याएको ऐनमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा वर्गीकरण गरेको कारण होटल व्यवसायीलाई उत्साहित बनाएको बताए ।

यी हुन् २०८१ मा खुलेका ठुला लगानीका होटल

पर्यटन व्यवसायी देशबन्धु बस्नेतले ३ अर्ब लगानीमा काठमाडौँको सुकेधारामा ५ तारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा ल्याए । त्यस्तै, शंकर ग्रुपले ८ अर्ब ३५ करोड रुपैयाँ लगानीमा काठमाडौँकै नक्सालमा ५ तारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा ल्यायो । चैतको अन्तिमतिर पर्यटन व्यवसायी विश्वराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले १ अर्ब २५ करोड लगानीमा पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि सञ्चालनमा आयो ।

साथै पछिल्लो समय सिद्धार्थ हस्पिटालिटीले तनहुँको दमौलीमा ३ तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । सिद्धार्थले केही समयअघि बुटवलमा सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको थियो भने धनगढीमा ५ तारे होटल निर्माण सुरु गरेको छ । सिद्धार्थले नयाँ वर्षको सुरुआतसँगै भरतपुरमा सेन्ट्रल प्लाम होटल र साराङ वाइल्डलाइफ स्याङचुरी मेगौलीमार्फत पनि सेवा विस्तार गर्दै छ ।

साथै गत पुसमा गुण समूहले ६ अर्ब रुपैयाँ लगानीमा होटल रोयल टुलिप सञ्चालनमा ल्याएको छ भने, गत माघमा गौशाला पिंगलास्थानमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा ४ तारे स्तरको होटल वेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा आइसकेको छ । हानका अनुसार हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्नेगरी होटल निर्माण भइसकेका छन् ।

प्रतिक्रिया