जनकपुरधाम । ५२ कुटी ७२ कुण्ड र मन्दिर नै मन्दिरको नगरी भनेर चिनिने सांस्कृतिक नगरी जनकपुरधाम वर्तमानमा आएर आफ्नो पहिचान नै खोज्नुपर्ने अवस्थामा पुगेको छ । सौर्य दैनिकले जनकपुरधामका धार्मिक र सांस्कृतिक सम्पदामाथिको अतिक्रमणबारे अनुसन्धानात्मक खोजबिन गर्दा ५२ कुटी र ७२ कुण्डको अवस्थाको विषयमा कुटी हराएजस्तै ७२ कुण्डमध्ये दर्जनौँ पोखरीको अस्तित्व नै नामेट भइसकेको भेटिएको छ । मिथिलाको राजधानी जनकपुरधाम, जहाँका १–१ कुण्डले मैथिली भाषा, कला र संस्कृतिको सौन्दर्यलाई सजाएका छन्, आज आफ्नै भूमिका वासिन्दाको लापरबाही र अतिक्रमणको सिकार बन्न थालेका छन् । मिथिला महात्म्यमा उल्लिखित यी पवित्र कुण्डहरू अब दुर्गन्धित फोहोरमैला, प्लास्टिक र सहरी भिडभाडमा हराउँदै गएका छन् ।
यहाँका पुराना पोखरीहरू कुनै समयमा धार्मिक र सांस्कृतिक गतिविधिको केन्द्रमा थिए । अहिले ती सबै विभिन्न कारणहरूले संकटमा छन् । यी पोखरीहरूको अस्तित्वमा आउने संकट केबल जलस्रोतको संकट मात्र नभई तिनीहरूको सांस्कृतिक महत्व समाप्तितर्फ अग्रसर भएको जनकपुरधामको इतिहासका अध्येता संस्कृतिविद् प्रफुल्लराज घिमिरेको भनाइ छ ।
नेपालको धार्मिक र सांस्कृतिक समृद्धि बुझ्नका लागि जनकपुरधामका यी पोखरीहरूको इतिहास र वर्तमान स्थितिलाई गहिरो दृष्टिले बुझ्न अत्यन्त जरुरी रहेको घिमिरेको भनाइ छ । विभिन्न वडा र स्थानका पोखरीहरूको अवस्थाले यस संकटलाई थप गम्भीर बनाएको उनले बताए ।
जनकपुर उपमहानगरपालिका क्षेत्रका विभिन्न पोखरीहरूको भूमि क्षेत्रफल र स्वामित्व गुठी संस्थान, जानकी मन्दिर र विभिन्न सार्वजनिक निकायहरूसँग सम्बन्धित छन् । विगतमा केन्द्र सरकारले जनकपुरधामका पोखरीहरूको सौन्दर्यीकरणका लागि २०० करोड रुपैयाँ सहयोग दिए पनि हालसम्म केही काम भएको छैन । त्यो रकमको कुनै लेखाजोखा पनि छैन ।
संघीय सरकारले करिब ८ वर्षअगाडि जानकी मन्दिरको छेउमा रहेको तेलहा र मडहा दुबै पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्याएको थियो । सहरी विकास तथा भवन निर्माण कार्यालयको सघन सहरी विकास कार्यक्रमले यी २ पोखरीको सौन्दर्यीकरणको काम ठेक्कामा समेत लगायो । तर, स्थानीयवासीले पोखरीको अतिक्रमित जग्गा खाली नगराए सौन्दर्यीकरणको काम अगाडि बढ्न नदिने अडान दोह¥याएपछि सो पोखरीको सौन्दर्यीकरणको काम रोकियो । पछि काम त भयो तर, औचित्यहीन ।
त्यस्तै जनकपुरधाम–७ स्थित महाराजसागर पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड ६१ लाख, वडा–२० देवपुरा रूपैठास्थित नोचा पोखरी सौन्दर्यीकरणका लागि ३ करोड ५५ लाख रुपैयाँ छुट्टयाइए पनि पोखरीहरूको अवस्था जस्ताको तस्तै छ ।
ऐतिहासिक महत्वका पोखरीहरूको सौन्दर्यीकरण गर्ने दायित्व स्थानीय सरकारको रहे पनि स्थानीय सरकारले संरक्षण गर्नुको सट्टा उल्टै पोखरीहरूमा माछा मार्ने काम मात्रै गरेको विगतका कैयौँ उदाहरणहरू छन् ।
जनकपुरधाम उपमनपा–४ का स्थानीय सुभाष कर्ण भन्छन्, ‘जनकपुरधामका अधिकांश पोखरीहरू अतिक्रमणको चपेटामा परिसकेका छन् । सार्वजनिक पोखरी रहेको ठाउँमा अहिले निजी भवनहरू ठड्याइएका छन् । पोखरी सौन्दर्यीकरण हुनुपर्ने ठाउँमा नेता र भूमाफियाहरूको घर सौन्दर्यीकरण गरिएको छ ।’
यहाँका अधिकांश पोखरी राजनीतिक प्रभावमा केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत नाममा समेत दर्ता गराएका छन् । अहिले सहरभित्र बाँकी रहेका ऐतिहासिक पोखरी तथा तालहरू पनि पर्याप्त संरक्षण नहुँदा अतिक्रमणको चपेटामा परेर सामान्य पोखरीको रूपमा परिणत भएका छन् । संरक्षण र प्रवद्र्धनका लागि बर्सेनि सरकारी निकायबाट रकम विनियोजन भए पनि अतिक्रमणमुक्त हुन सकेका छैनन् । यसका लागि प्रदेश सरकारमा भएको राजनीतिक अस्थिरता पनि कारक हो ।
प्रदेश सरकारले पोखरी तथा तालतलैया संरक्षण एवं सौन्दर्यीकरणको नाममा बजेट विनियोजनसमेत गरेको छ । तर, सो बजेटमा जनकपुर क्षेत्रका करिब ५ दर्जन पोखरी र ताल तलैयामध्ये मात्र ८ वटालाई ग्राह्यतामा राखी रकम छुट्याइएको देखिन्छ । प्रदेश सरकारको रातो किताबअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तेलहा–मरहा पोखरी सौन्दर्यीकरणका लागि १ करोड ५० लाख, सीताकुण्डका लागि २५ लाख, धर्नोचानी पोखरीका लागि १० लाख, थुमौना पोखरी सौन्दर्यीकरणका लागि १० लाख र डेब्डिया भोइल सौन्दर्यीकरणका लागि ३० लाख रुपैयाँ छुट्याएको देखिन्छ ।
त्यस्तै वन तथा वातावरण मन्त्रालयले समेत गंगासागर पोखरी सौन्दर्यीकरण तथा संरक्षणको नाममा ३० लाख, दूधमती नदी सरसफाइ तथा संरक्षणका लागि २० लाख, अग्नीकुण्ड पोखरी सौन्दर्यीकरणका लागि १५ लाख रुपैयाँ छुट्याएको थियो । अमृतकुण्ड, बलदेवसर र गोपालसर लगायतको जमिनमा व्यापारीहरूले कब्जा गरेर बजार बनाएका छन् । तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरलीसर, पादप्रक्षालन गोडधोइसर, पुरन्दरसर, पाकवतीसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले निरन्तर अतिक्रमण झेल्दै गरेको सरकारी प्रतिवेदन २०६२ ले देखाउँछ ।
जनकपुरधामका ७२ कुण्ड(पोखरी)को खोजी गर्दै जाँदा जनकपुरधाम उपमहानगरपालिका–१ भानुचौकभन्दा दक्षिण–पूर्व वकिल टोलस्थित जनकसरोवरको अस्तित्व समाप्त भएको छ । सर्वोच्च अदालतले नै उक्त सरोबर अन्जनी सिंहको व्यक्तिगत रहेको फैसला गरिदिएपछि ७२ कुण्डमध्येको उक्त पोखरीको अवस्था समाप्तप्रायः भयो ।
उपमनपाभन्दा पूर्व वडा–२ मा रहेको गुठी संस्थानको मातहतमा रहेको ३ बिघा ४ कठ्ठा १८ धुर ३ कनमा क्षेत्रफल रहेको दिर्धिका सर (दधि सागर, दिधिया सर)को अवस्था लुप्तप्रायः अवस्थामा रहेको छ । वडा–३ स्थित जानकी मन्दिरभन्दा पूर्व–उत्तरमा रहेको चन्द्रकुप (देवान पोखरी) जसको क्षेत्रफल १० कठा १७ धुर ३ कनमा रहेको छ तर गुठी संस्थानको मातहतमा रहेको उक्त पोखरी हाल ६ कठ्ठा २ धुरमा सीमित भएको छ ।
वडा–४ को विद्यापति चौकदेखि उत्तर–पूर्व गुठी संस्थानको मातहतमा रहेको १३ कठ्ठा १ धुर २ कनमा क्षेत्रफल रहेको मुरली सर(पोखरी)को वर्तमान अवस्था ११ कठ्ठा १५ धुर मात्रै रहेको छ । वडा–४ मै गुठी संस्थानको मातहतमा रहेको ४ बिघा १५ कठ्ठा ८ धुर २ कनमा क्षेत्रफल रहेको जनकपुरधामको प्रसिद्ध गंगासागरको चारैतर्फ मिचिएको अवस्था छ । बाँकी रहेको जग्गामा पनि रामनारायण मिश्र स्मृति प्रतिष्ठानले भवन ठड्याउन खोजेको छ । प्रतिष्ठानले गंगासागरको पूर्वी डिलमा १३ धुर ३ कनमा जग्गा आफनो रहेको दाबी गरेको छ ।
नेपाली कांग्रेसको सक्रियतामा मधेस प्रदेश सरकारको बजेटबाट गंगासागरको पूर्वी डिलमा उनको स्मृति भवन निर्माण पनि हुन लागेको छ । मिश्रको अन्त्येष्टि गरिएको स्थलमा निर्माण हुन लागेको छ । सो स्मृति भवन १५ फिट अग्लो पिलरमा ५ करोडभन्दा बढी बजेटको लागतमा आगामी वर्षसम्म तयार हुने बताइएको छ । आश्चर्यको कुरा के छ भने गंगासागरको पूर्वी डिलमा रहेको ऐतिहासिक ठाउँको लालपुर्जा पनि प्रदान गरिएको छ भने डिल नै मिच्नका लागि मधेस सरकारले बजेट पनि प्रदान गरेको छ । यद्यपि अहिले उक्त भवन निमार्णको काममा विवाद सिर्जना भएको छ । कांग्रेस जसरी पनि त्यहि ठाउँमा बनाउने अडानमा छ भने एमालेले उक्त जग्गा बचाउन भन्दै अभियान नै सञ्चालन गरेको छ ।
यसै वडामा गुठी अधिनस्थ रहेको ३ बिघा ७ कठ्ठा १२ धुर १ कनमा क्षेत्रफल रहेको धनुष सागरमा पनि गणेश युवा कमिटीले कब्जा जमाएको अवस्था छ । वडा–४ मै रहेको १ बिघा ९ कठ्ठा ३ धुर क्षेत्रफलको गुठी अधिनस्थ राममन्दिरभन्दा दक्षिण गिरिजापथभन्दा पश्चिममा रहेको रामसागर राम युवा कमिटीले कब्जा गरी भोगचलन गर्दै आएको छ । सबैभन्दा बढी पोखरी रहेको यसै वडामा गंगासागरभन्दा दक्षिण गोपाल धर्मशालाभित्र रहेको गोपाल सरको अवस्था अहिले पूर्णरूपमा लुप्त भइसकेको छ ।
जनकपुरधाम–६ स्थित गुठी संस्थान अधिनस्थ ३ बिघा १० कठ्ठा १८ धुर ३ कनमा क्षेत्रफल रहेको पुरन्दह सरको अवस्था प्रायः लुप्त रहेको छ । त्यसैगरी यसै वडामा रहेको पेठियाभन्दा दक्षिण गिरिनारी कुटीभन्दा उत्तर १ बिघा १९ कठ्ठा ७ धुर १ कनमा क्षेत्रफल रहेको पादप्रक्षलन सर(गोरधोइ)हाल आएर १ बिघा १६ कठ्ठा १६ धुरमा सीमित भएको छ जुन गुठी संस्थान अधिनस्थ नै छ । वडा–७ स्थित जिरोमाइलभन्दा उत्तर–पूर्व जानकीनगरभन्दा पश्चिम गुठी संस्थानको स्वामित्वमा रहेको १ बिघा ५ कठ्ठा १६ धुर २ कनमा क्षेत्रफल रहेको लवकी पोखरीको अवस्था पनि दयनीय रहेको छ ।
वडा–८ स्थित रत्नसागरभन्दा पश्चिम कुर्था सडकभन्दा दक्षिण गुठी संस्थानकै अधिनस्थमा रहेको १ बिघा १८ कठ्ठा १० धुर १ कनमा क्षेत्रफल रहेको अग्नि कुण्डको अवस्था दयनीय छ भने ज्ञानकूपभन्दा दक्षिण–पूर्व रसिक निवासभन्दा पश्चिम ४ कठ्ठा ४ धुर क्षेत्रफल रहेको सीताकुण्डको क्षेत्रफल पनि छोटिएको छ । यसै वार्डमा रहेको रसिक निवासको स्वामित्वमा रहेको ८ कठ्ठा १० धुर ३ कनमा क्षेत्रफलमा रहेको अनुराग सागरको चारैतिर कब्जा भइसकेको छ । त्यस्तै ज्ञानकूपभन्दा पूर्व १ बिघा ११ कठ्ठा १३ धुर २ कनमा क्षेत्रफल रहेको गुठी संस्थानको स्वामित्वमा रहेको बिहार कुण्डको क्षेत्रफल पनि खुम्च्याइएको छ ।
गुठीकै मातहतमा रहेको आँखा अस्पतालभन्दा उत्तर २ बिघा १६ कठ्ठा ३ कनमा क्षेत्रफल रहेको रत्नसागरको अवस्था पनि उस्तै छ । यसका महन्थमाथि हत्याको आरोप लागेपछि फरार हुँदा अहिले रत्नसागरको अवस्था लुप्त हुनबाट बचेको छ । तर यसको मातहतमा रहेको केही बिघा जमीन जनकपुरधामकै एक प्रदेश सांसदले कब्जा गरेका छन् । यसै वडामा रहेको दशरथ मन्दिरभन्दा पूर्व गुठी संस्थानको स्वामित्वमा रहेको २ बिघा १२ कठ्ठा क्षेत्रफल रहेको दशरथ सर (महाराज सागर, दशरथ तलाउ)को चारैतिर कब्जा हुने जारी नै रहेको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्कै सामुन्ने रहेको पश्चिम तुलसी स्मारकभन्दा दक्षिण जानकी मन्दिरको स्वामित्वमा रहेको १ बिघा १० कठ्ठा ६ धुर क्षेत्रफल रहेको कपालमोचनी सरको क्षेत्रफल अब १ बिघा पनि रहेको छैन । यसै वडामा रहेको गुठी संस्थानको स्वामित्वमा रहेको ४ कठ्ठा ४ धुर क्षेत्रफल रहेको हजारीजनक विद्यापीठ क्याम्पसभित्र रहेको कमलाकुञ्जको अवस्थाको विषयमा कसैले खोजबिनसमेत गर्न सकेको छैन । वलवा टोलभन्दा पश्चिम १२ कठ्ठा ४ धुर क्षेत्रफल रहेको बाल्मीकि सर(चौधरी पोखरी)को अवस्था पनि प्रायः लुप्त छ ।
जनकपुरधाम–९ स्थित जानकी मन्दिरको स्वामित्वमा रहेको सरस्वती स्कुलभन्दा पूर्व १ बिघा ८ कठ्ठा १८ धुर ३ कनमा क्षेत्रफल रहेको विराज सर (विहारी पोखरी, सरस्वती सर)को अवस्था पनि लुप्त हुनेमै छ । कन्या पाठशालाभन्दा पश्चिम जानकी मन्दिरको स्वामित्वमा रहेको १ बिघा ७ कठ्ठा ९ धुर २ कनमा क्षेत्रफल रहेको रुक्मिणी सरको पनि त्यस्तै छ । जानकी माविभन्दा पश्चिम जानकी मन्दिरकै अधिनस्थमा रहेको १ बिघा ११ कठ्ठा १० धुर १ कनमा क्षेत्रफल रहेको पाकवति सर लुप्त भइसकेको अवस्थामा छ । त्यसैगरी मधेस भवनको परिसरभित्र रहेको गुठी संस्थानको स्वामित्वको भृगु सर (भलुवाही पोखरी) लुप्तप्रायः भइसकेको छ । यसै वडामा रहेको जानकी मन्दिरको अधिनस्थ पिडारी चौक र हाइवेभन्दा पश्चिम १९ कठ्ठा २ धुर १ कनमा क्षेत्रफल रहेको पापमोचनी सर(गोरधोई पोखरी, धृतपाप सर) सडक विस्तारको चपेटामा परेर आधा पोखरी नै लोप भइसकेको छ ।
वडा–१० स्थित जानकी मन्दिरको स्वामित्वमा रहेको लक्ष्मण मन्दिरभन्दा उत्तरस्थित तेलघृतिका सर(तेलहा पोखरी, तेलदृघिका सर) को डिल अतिक्रमण भइसकेका छन् । यस पोखरीको केही वर्ष पहिले नाम मात्रको सौन्दर्यीकरण गरिएको थियो तर डिलमा बनेको होटलहरूले फोहोरहरू डिलमै फयाँक्ने गरेका कारण फोहोरै फोहोर छ ।
पुरानो दूरसञ्चार कार्यालयभन्दा दक्षिण–पूर्व तलहाभन्दा उत्तर १० कठ्ठा २ धुर क्षेत्रफल रहेको तथा जानकी मन्दिरको अधिनस्थ मण्डन सर(मडहा पोखरी) लुप्त हुने क्रममा पुगेको छ । यसै वडामा रहेको जानकी मन्दिरकै अगाडि जानकी मन्दिरको अधिनस्थ रहेको विवाह मण्डपभन्दा उत्तर १ बिघा १७ कठ्ठा १७ धुर २ कनमा क्षेत्रफलमा रहेको अंगराज सर (अरगज्जा पोखरी)को डिलहरू कब्जामा परिसकेको अवस्थामा छ ।
जनकपुरधाम–११ स्थित लक्ष्मण अखाडाभन्दा दक्षिण–पूर्व जानकी मन्दिरको स्वामित्वमा रहेको १ बिघा १८ कठ्ठा १४ धुर १ कनमा क्षेत्रफल रहेको लक्ष्मण सर लुप्त हुने अवस्थामै छ ।
जनकपुरधाम–१२ स्थित गुठी संस्थानको अधिनस्थ ७ बिघा १८ कठ्ठा १४ धुर क्षेत्रफल रहेको मत्स्य विकास केन्द्रभन्दा उत्तर विघ्नहारिनी सर (भुतही पोखरी) को वर्तमान अवस्था हेर्दा पोखरीको डिलहरू कव्जा गरेर भवन ठड्याइएको अवस्था छ । यसै वडामा रहेको एयरपोर्टभित्र पश्चिम भागमा गुठी संस्थानको मातहतमा रहेको धुतपाप सर(पापमोचनी सर) लुप्तप्रायः अवस्थामा रहेको छ । हनुमान नगरभन्दा दक्षिण गुठी संस्थान अधिनस्थ जोगी झा पोखरी लुप्त अवस्थामा छ । एयरपोर्टभन्दा पूर्व–दक्षिण हुनमान मन्दिरभन्दा उत्तर गुठी संस्थान अधिनस्थ लवकी पोखरी(गामक पोखरी) लुप्त अवस्थामा छ । गुठी संस्थानकै स्वामित्वमा रहेको प्रदेशसभाभन्दा उत्तर–पश्चिम ५ बिघा २ कठ्ठा ११ धुर १ कनमा क्षेत्रफलमा रहेको छत्रधारिणी सर समाप्त प्रायः भइसकेको अवस्थामा छ ।
यसै वडामा रहेको कुपेश्वरनाथ महादेव मन्दिरभन्दा दक्षिणमा रहेको गोब्रज सर(गोअरवा पोखरी) निजी स्वामित्वमा गएर मेटिइसकेको छ । राराब क्याम्पसको छात्रावासभन्दा दक्षिण गुठी संस्थानको अधिनमा रहेको गोपाल सर(गोपालजी पोखरी) हाल क्याम्पसको अधिनमा रहेको छ । राराब क्याम्पसदेखि दक्षिण–पूर्व गुठी संस्थानको मातहतमा रहेको गुणमती सर(गेन्हाई पोखरी)को अवस्था समाप्त भइसकेको छ । एयरपोर्ट रोड र विघ्नहारिनी सरदेखि २०० मिटर पूर्व गुठी संस्थानको अधिनमा रहेको लवकी पोखरीको पनि त्यस्तै छ ।
वडा–१३ स्थित मणीमण्डपभन्दा पूर्व–दक्षिण जानकी मन्दिरको मातहतमा रहेको मणिमण्डप पोखरीलाई स्थानीयहरूले बचाएर राखेको देखिएको छ । यसै वडाको विवाह मण्डपभन्दा उत्तर जानकी मन्दिरको मातहतमा रहेको परीक्षण कुण्डको अवस्था लोप हुने क्रममा छ ।
वडा–१४ स्थित डिभिजन सडक कार्यालयको परिसरभित्र सार्वजनिक नियन्त्रणमा आइसकेको सेवामन्तक सरको अवस्था लोप हुनेतर्फ उन्मुख छ । मुजेलीया प्रहरी चौकीभन्दा दक्षिण गुठी संस्थानको अधिनस्थ ठाडीपोखरीको अवस्था पनि त्यस्तै छ । मुजेलियाभन्दा दक्षिण उपमहानगरपालिकाको स्वामित्वमा रहेको गेन्ही पोखरीको अवस्था समाप्तप्रायः छ । मुजेलिया प्रहरीचौकीबाट रजौल बेल्ही जाने बाटोको पूर्व उपमहानगरपालिकाकै स्वामित्वमा रहेको नथु सागर समाप्त हुने क्रममा छ । बेल्ही टोलको पूर्व लक्ष्मण मन्दिरको स्वामित्वमा रहेको लवकी पोखरीको अवस्था पनि त्यस्तै छ ।
वडा–१५ स्थित रामपुर टोलको मध्यमा, बाटोदेखि उत्तर उपमहानगरपालिकाको स्वामित्वमा रहेको पूर्ण सागर(पुरनेश्वर सर, पुरनी पोखरी) जसको क्षेत्रफल १७ कठ्ठा ३ धुर २ कनमा रहेको छ, यसको अवस्थामा पनि प्रायः लोप हुने कगारमा छ । रामपुर टोलको पूर्व उपमहानगरपालिकाको स्वामित्वमा रहेको सुब्बा पोखरीको अवस्था पनि प्रायः समाप्त भएको छ । रामपुर टोलदेखि पूर्व–दक्षिण उपमहानगरपालिकाको स्वामित्वमा रहेको सिंगरहिया सरको अवस्था पनि समाप्त भएको छ । रामपुर टोलको दक्षिण उपमहानगरपालिकाको स्वामित्वमा रहेको चिताही पोखरीको अवस्था पनि समाप्त हुने क्रममा छ ।
वडा–१६ स्थित कपिलेश्वरको पूर्व गुठी संस्थानको मातहतमा रहेको महन्थ पोखरीको अवस्था पनि लोपोन्मुख अवस्थामा रहेको छ । वडा–२० स्थित चंचुवाती सर (नोचा पोखरी) जुन अहिले सौन्दर्यीकरणको क्रममा रहेको छ । संस्कृतिविद् घिमिरेका जनकपुरधामको पहिचान बचाउनका लागि यसलाई खोजबिन गरी बचाउनुपर्ने छ नत्र ५२ कुटी ७२ कुण्डले चिनिने जनकपुरधाम आफ्नो पहिचान पनि गुमाउने छ ।
पूर्णतया लोप भइसकेका पोखरीहरू :
१. जनक सरोवर– वडा–१, भानुचोकभन्दा दक्षिण–पूर्व वकिल टोल–सर्वोच्चको फैसला अनुसार अन्जनी सिंहको व्यक्तिगत
२. अमृत कुण्ड– वडा–६, अस्पतालदेखि दक्षिण, अवस्था–बसोबास भइसकेको ।
३. पयश्वनी सर– वडा–३, मानकी होटल परिसरसँगै पश्चिमतिर अवस्थित थियो ।
४. बलदेव सर– वडा–११, कन्या माविदेखि पूर्व रहेको यो पोखरी पुरेर पक्की घरहरू निर्माण भइसकेको ।
५. गोपाल सर– वडा–४, गोपाल धर्मशालादेखि पूर्वतिर रहेको, अवस्था–अस्तित्व समाप्त
भार्गव सर, रिक्ष सर, प्रेम सागर सर, सुनेत्रा सर, विचित्रा सर, कुडवन्ती सर, विल्लवी सर, दीपिका सर, महापुण्या सर, इष्टवा सर, मत्स्योदरी सुर, ब्याघ्रहरा सर, स्थितिदा सर, चित्रधारा सर, लोमस सर, चक्र सर, कौशल सर, सप्तवेद सर, ध्रुव सर, धातृ सर, केदार सर, ब्रम्हाकुण्ड सर, लवकी पोखरी, गोपाल सर, सिद्धिविनायक सर लगायतका पोखरीहरू कुन कहाँ छ जनकपुरधामबासीलाई थाहा पनि छैन ।
जनकपुर
प्रतिक्रिया