नयाँ वर्षले सद्बुद्धि देओस् !

आजदेखि नयाँ वर्ष २०८२ प्रारम्भ भएको छ । पल, सकेन्ड, मिनेट, घण्टा भने जस्तै वर्ष पनि समयको मापक हो । वर्ष मापनका लागि विभिन्न देशले विभिन्न संवतहरू प्रयोगमा ल्याएका हुन्छन्् । त्यसमध्ये नेपालमा सर्वमान्य, वैधानिक र राष्ट्रिय संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । हरेक वर्ष वैशाख संक्रान्तिबाट प्रारम्भ हुने विक्रम संवत्को वर्ष चैत्र मसान्तमा टुंगिन्छ । समयको मापन मात्रै होइन व्यवस्थित रूपमा घटनाको अभिलेखीकरणका लागि पनि संवत्लाई प्रचलनमा ल्याइएको हुन्छ । समय जति बलबान अरू केही हुन सक्दैन । समयको सदुपयोग गर्न सक्ने व्यक्ति सघैँ अघि हुन्छ, समयको सदुपयोग गर्न नसक्ने व्यक्ति सधँै पछि पर्छ । व्यक्तिको हकमा मात्रै होइन देशको हकमा पनि यही नियम लागू हुन्छ । जुन देशका शासकले समयको माग र गतिलाई आत्मसात गर्न सक्छन्, ती देश अघि बढेका छन् । समयको महत्व नबुझ्ने शासक भएका देशले दुःख पाएका छन् । त्यसैले २०८१ साल नेपालका लागि कस्तो रह्यो ? भन्ने प्रश्नको उत्तर खोज्दा राज्यका क्रियाकलापहरू महत्वपूर्ण घटनाका रूपमा स्वतः जोडिन आइपुग्छन् । विगतका वर्षहरू जस्तै यस वर्ष पनि राज्य सञ्चालकहरूले समयको महत्वलाई बुझेको देखिएन । त्यसैले देश र जनताले यसरी कतिन्जेल दुःख पाइरहने ? भन्ने प्रश्न २०८१ सालले छाडेर गएको छ । नयाँ वर्ष २०८२ ले यो प्रश्न नछाडोस् ।

विरासतका रूपमा आन्तरिक तथा वाह्य गरी करिब २७ खर्ब रुपैयाँ ऋण बोकेर प्रारम्भ भएको २०८२ सालले आर्थिक समृद्धि दिन सक्ने सामथ्र्य राख्ला भन्ने अपेक्षा गर्न सकिने अवस्था छैन । तर ऋणको वृद्धिदर घटाउने उपाय अवलम्वन गरियो भने जनताले सन्तोष मान्नेछन् । विगत केही वर्षदेखि देशको राजस्व आम्दानीका तुुलनामा साधारण खर्च धेरै हुने भयावह दुश्चक्रमा देश फँसेको छ । राज्यले जस्तोसुकै सकरात्मक उपाय अवलम्वन गरे पनि २०८२ सालभित्र राजस्व आम्दानीले साधारण खर्च धान्न सक्ने अवस्था रहँदैन, तर भ्रष्टाचार नियन्त्रणको प्रयास गर्ने हो भने आम्दानी र साधारण खर्चको अनुपात साँघुरो हुँदै जान सक्छ । यो अनुपात साँघुरिँदै गयो भने समृद्धिका लागि गोरेटो खुल्नेछ । अर्कोतर्फ २०८२ विभिन्न तह, तप्काका जनताको असन्तुष्टि तथा आन्दोलन बोकेर प्रारम्भ भएको छ । सरकारको इच्छाशक्ति हुने हो भने आन्दोलनका धेरै सबैजसो जायज माग पूरा गर्न सकिन्छ । सरकारले ग्यारेन्टीकासाथ सुशासनको प्रत्याभूति गर्ने हो भने मात्र आधा समस्या टुंगिन्छन् ।

राजनीतिक मुद्दामा अल्झेर लामो समय खेर फालेकै कारण देश कंगाल भएको हो । अब राजनीतिक मुद्दाको पनि करिबकरिब टुंगो लागिसकेको छ । कुन मोडेलको आर्थिक पद्धति अवलम्वन गर्ने ? भन्ने सन्दर्भमा पनि देशका राजनीतिक शक्तिबीच खासै ठूलो विवाद देखिन्न । आर्थिक उदारीकरणको नीतिमार्फत समृद्धि हासिल गर्ने र समृद्धिलाई समाजवादसँग जोड्ने विषयमा राष्टिय सहमति बनिसकेको छ । तर कार्यान्वयन तहको अलमल बाँकी नै छ । समस्या समाधानको पहल कहाँबाट सुरु गर्ने ? भन्ने मामिलामै अन्योल देखिएको छ । जता हे¥यो उतै खाडल परेको अवस्था छ । देशको नीति निर्माण तथा कार्यन्वयन तहमा योग्य तथा इमानदार व्यक्तिहरू पुग्न नससकेका कारण समस्या घट्नुको साटो वृद्धि भइरहेका हुन् । कुलमान घिसिङमाथिको तथाकथित कारबाही र बर्खास्ती एउटै प्रकरणको उदाहरण हेर्ने हो भने पनि हाम्रो देशको शासनसत्तामा बेइमानहरूको बलियो पकड भएको पुष्टि हुन्छ । संसदीय अंकगणित हेर्दा २०८२ सालभरी देश हाँँक्ने वर्तमान सरकारले नै हो । विगतको जस्तो छिटो छिटो सरकार परिवर्तन हुनु उचित पनि होइन पनि । सरकारले विगत ९ महिनाका आफ्ना कार्यशैलीलाई नै निरन्तरता दिने हो भने नयाँ वर्ष २०८२ झन् कष्टकर हुने निश्चित छ । तर जनताको चेतनास्तर बढ्दै गएकोले सकारात्मक कामका लागि सरकारमाथि दबाब बढ्ने निश्चित छ । सच्चिने वा सक्किनेमध्ये अर्को विकल्प सत्तासीन राजनीतिक दलसँग छैन । सक्किने विकल्प नरोज्ने सद्वुद्धि नयाँ वर्ष २०८२ सालले प्रदान गरोस् । हार्दिक शुुभकामना !

प्रतिक्रिया