काठमाडौँ । नेकपा (एमाले) को आन्तरिक राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दबदबा बढाइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूबिनाको एमालेको कल्पना नगर्न चुनौती दिएका छन् । पार्टीभित्र आगामी महाधिवेशन केन्द्रित रस्साकस्सी सुरु भइरहेको र कतिपय नेताहरूले भण्डारीलाई अध्यक्षका रूपमा अघि सार्दै ओलीको विकल्प खोजिरहेका बेला उनले आफू बाँचुन्जेल एमालेको नेतृत्व नछाड्ने बताएका हुन् ।
शुक्रबार नेकपा (एमाले) ले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूबिनाको एमाले चाहिए आगामी १०/१५ वर्ष कुर्न आग्रह गरे । ‘केपी ओलीबिनाको एमाले, त्यसो भए १०–१५ वर्ष पर्खिनुस् न त, के भयो त ? केपी ओलीबिनाको एमाले भेटिहालिन्छ नि !,’ अध्यक्ष ओलीले भने, ‘केपी ओली सधैँ बाँच्ने होइन क्यारे ।’
यसको अर्थ स्पष्ट छ कि उनी आफू बाँचुन्जेल अध्यक्ष बनिरहन चाहन्छन् । त्यो उनको गतिविधिले देखिएकै कुरा पनि हो । तर, पछिल्लो समय एमाले राजनीतिमा विद्या भण्डारी फ्याक्टर बलियो बन्दै गइरहेको अवस्थामा पार्टी कार्यक्रममा उनले यो अभिव्यक्ति दिनुलाई पार्टीभित्र खास अर्थमा लिइएको छ । ओलीले घुमाउरो शैलीमा आफ्नो विकल्प नखोज्न चेतावनी पनि दिएका छन् ।
उनले एमाले बिनाको नेपाल कल्पना नगर्न पनि भनेका छन् । पार्टीबाहिरका विपक्षीहरूलाई भनेजस्तो गरी उनले मिलाएर आगामी ११औँ महाधिवेशनमा आफू निर्विकल्प अध्यक्षको उम्मेदवार बन्ने सन्देश दिएका हुन् । ‘एमालेबिनाको नेपाल, तिम्रा नातिका पालामा पनि आस नगरे हुन्छ । झन् बलिया पाखुरा, बलियो मसल लिएर नेकपा (एमाले) उभिन्छ,’ ओलीले भनेका छन् ।
सौर्य दैनिकसँग कुरा गर्दै एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई अध्यक्ष ओलीले १५–२० वर्ष नै नेतृत्व गर्छु भनेको नभई त्यो समयसम्म सक्रिय राजनीति गर्न सक्छु भन्ने आँट देखाएको जिकिर गर्छन् । ‘अहिले अध्यक्ष ओलीलाई निषेध गर्न सम्भव छैन । तर, विकल्प हुँदै हुँदैन भन्ने त होइन,’ उनले भने, ‘पूर्वराष्ट्रपति भण्डारी आगामी महाधिवेशनमा प्रतिस्पर्धामा आउनुहुन्छ, आउनुहुन्न भन्ने कुरा अहिले स्पष्ट छैन । प्रतिनिधि बन्नुहुन्छ भन्ने पनि त छैन । यो कुरा उहाँप्रति लक्षित होइन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतले ओली एमालेको नेतृत्वमा नभए एकता हुन सक्ने र पुरानो नेकपा ब्युँताउन सकिने भनेर कार्ड खेलिरहेको भन्दै केन्द्रीय सदस्य भट्टराईले ओलीले त्यसैको जबाफ दिएको उल्लेख गरे ।
ब्याक नहुने ‘मुड’मा भण्डारी, ओलीको छटपटी
सौर्य दैनिकसँग कुरा गर्दै विद्या भण्डारी निकट एक स्थायी कमिटी सदस्यले अध्यक्ष ओलीको सो अभिव्यक्ति स्वाभाविक भएको बताए । भण्डारीले पार्टीको आगामी महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरिरहेकोप्रति ओली पूर्णतः जानकार रहेको भन्दै उनले भण्डारी लक्षित नै अभिव्यक्ति भएको दाबी गरे । ‘१–२ अभिव्यक्तिले मात्रै होइन, एमाले राजनीतिको आमघटनाक्रमले नै पुष्टि गरेको छ कि ओलीले बाँचुन्जेल अध्यक्ष ताक्नुभएको छ । तर, यो पनि सत्य छ कि अब भण्डारीलाई अध्यक्षमा भिड्न कसैले रोक्न सक्दैन,’ उनले भने, ‘सहमति अथवा प्रतिस्पर्धा जुन रूपमा भए पनि उहाँ आगामी अध्यक्षका लागि अघि बढिसक्नुभएको छ ।’
प्रतिक्रिया