साल अर्थात् वर्ष भनेको समयको मापन गर्ने एउटा इकाई मात्रै हो । समयको उपयोग कसरी गरियो ? भन्ने प्रश्नले ठूलो अर्थ राख्छ । आजसम्म वर्तमान रहेको २०८१ साल भोलिदेखि भूतकाल बन्दै छ । त्यसैले २०८१ साललाई हाम्रो देशको नीति निर्माण तहमा रहनेहरूले के कसरी बिताए ? भन्ने प्रश्नको उत्तरले भविष्यका लागि मार्गदर्शन दिन्छ । २०७९ साल चुनावी वर्षका रुपमै बित्यो ।
अब २०८४ साल पनि चुनावी वर्षकै रुपमा बित्ने छ । तीन वटै तहका सरकारहरूले काम देखाउने अवधि भनेको २०८० देखि २०८३ सालसम्मको ४ वर्षको अवधि हो । त्यसमध्येको एकचौथाई समय ओगटेको २०८१ सालमा सत्ताको बागडोर सम्हालेका दलहरू देशका मुख्य समस्या समाधान उन्मुख नदेखिनु विडम्बना नै हो ।
राजनीतिक अस्थिरता हाम्रो देशको सबैभन्दा ठुलो रोग हो, तर यो वर्ष राजनीतिक स्थिरताका लागि खासै प्रगति भएको देखिएन । प्राकृतिक विपत्तिमा परेकाहरूको उद्धार र राहतका मामिलामा सरकार आलोचित बन्यो । २०८१ सालमा देशले यो यो उपलव्धि पायो भनेर उल्लेख गर्न सकिने अवस्था नदेखिनु भनेको पात्रो फेरिनुबाहेक केही होइन ।
यसै पनि धरमराई रहेको नेपालको अर्थतन्त्रलाई प्रतिकूल असर पार्ने अन्तराष्ट्रिय परिस्थिति सिर्जना भए । तर ती परिस्थितिको सामना गर्ने रणनीति बनेन । रेमिट्यान्सबाहेक अर्थतन्त्रको अर्को आधार नभएको सरकारले स्वीकार गरिसकेको छ, तर रेमिट्यान्सको सदुपयोगका लागि अहिलेसम्म ठोस नीति अपनाउन सकेको छैन ।
विकासका भौतिक पूर्वाधार निर्माणको क्रममा पर्याप्त ध्यान नपुग्दा सानो तिनो वर्षाले पनि ठुलो क्षति पुरयाउँदो रहेछ भन्ने पाठ यो सालले अली धेरै सिकायो । यद्यपि बाढीपहिरो लगायतका सानातिना प्रकोपबाहेक प्राकृतिक रूपमा २०८१ साल विगतका सालको तुलनामा अनुकूल नै देखियो । समयको यो अनुकूलतालाई अवसरका रूपमा उपयोग गर्ने ममिलामा सरकार के कति सफल भयो ? भन्ने प्रश्नका उत्तरहरू आशाजनक छैनन् ।
देशको पहिलो आवश्यकता आर्थिक समृद्धि र सुशासन हो भन्ने कुरा बिर्संदै दलहरू यो वर्ष पनि सत्ता लुछाचुँडीमै केन्द्रित रहे । संघीयदेखि प्रदेश तहसम्म सरकार परिवर्तन भए । सत्ता स्वार्थबाहेक सत्ता परिवर्तनको अर्को उद्देश्य नरहेको कुरा उनीहरूको क्रियाकलापले पुष्टि गर्यो ।
विगतदेखि थाति रहेका समस्या समाधान हुनुको साटो झन् थपिँदै गए । जनअसन्तुष्टि कतिसम्म पुग्यो भन्ने हेर्न चैत महिनामा सडकमा उत्रेको विभिन्न वर्ग, तह र तप्काको भिडले पनि गर्छ । किसान, शिक्षक, सहकारी पीडित, चिकित्सक लगायतको आन्दोलन जारी छ ।
राजतन्त्र पुुनवर्हालीको अभियानले यस वर्ष थप गति लिएको देखियो । लोकतन्त्रभन्दा राजतन्त्र ठिक भन्दै सडकमा प्रदर्शन हुनु भनेको सत्तामा रहनेहरूले जनतालाई निराश बनाउँदै लगेका छन् भन्ने कुराको संकेत हो । २०८२ साल पनि आन्दोलनकै साथ सुरु हुने परिस्थिति बन्नु अझै विडम्बना नै हो ।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेको अवस्थामा पनि न त व्यापार घाटा घट्यो, न त भौतिक पूर्वाधार निर्माणले गति लिन सक्यो । विश्वभर पर्यटन व्यवसाय फष्टाउँदै गर्दा नेपालमा विदेशी पर्यटकको वृद्धि नगन्य रह्यो । मर्मतका नाममा त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरियो, तर पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिएन ।
बिस्तारका नाममा मुख्य राजमार्ग बन्दजस्तै भए । जसका कारण पर्यटकीय अवसर यो वर्ष गुम्न पुग्यो । नेपाल भित्रिने पर्यटकबाट भएको आम्दानीभन्दा पर्यटक बनेर विदेश घुम्ने नेपालीहरूले गरेको खर्चको आकार ठूलो देखियो ।
मौसम अनुकूल भएकोले धानको उत्पादन उल्लेखनीय वृद्धि भयो, यति हुँदा हुँदै पनि कृषि उपजको आयात बढ्यो । व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा निकै वृद्धि भयो । देशको ऋणवृद्धिदर घट्न सकेन । यति हुँदा हुँदै पनि २०८० सालको तुलनामा केही सकारात्मक सूचक देखिएका छन् ।
प्रधानमन्त्रीले ६–६ महिनामा सत्ता समीकरण फेर्दै विश्वासको मत लिइरहने दुस्चक्र विगत ९ महिनादेखि भोग्नुुपरेको छैन । तर पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुपर्ने परिस्थिति सिर्जना हुनु पक्कै पनि राम्रो होइन । यद्यपि संघदेखि प्रदेशसम्म बनेका बलिया सरकारले चाहे भने सुशासन दिन सक्छन् ।
प्रतिपक्षी दलहरूलाई समेत विश्वासमा लिई राष्ट्रिय एजेन्डा तय गरेर अघि बढ्न सकेमा आशा गर्ने ठाउँ जीवितै छ । समग्रमा हेर्दा २०८१ सालको समयलाई मुलकले सदुपययोग गर्न सकेको देखिएन । यस्तो अयोग्यता २०८२ सालमा प्रदर्शन नहोस् । सबैलाई चेतना भया ।
प्रतिक्रिया