अनामनगर घट्टेकुलोतिर नगएको १५–२० दिनजति भयो भने भैरव दाइको घरको ल्यान्डलाइनबाट फोन आउँथ्यो ‘यता कहिले आउने ?’ उहाँले फोन गर्न सकुन्जेल यस्तो फोन आइरहन्थ्यो । तर अब त्यो फोन आउन सदाका लागि बन्द भएको छ ।
९७ वर्षमा हिँड्दै गरेका वरिष्ठ पत्रकार भैरव दाइ (भैरव रिसाल) ले ८३ वर्षीय सुशीला भाउजुतिर फर्केर अकस्मात ‘बाई बाई’ गर्दै बसीबसी हात हल्लाउनुभयो । उत्ति नै बेला आँखाबाट दुई थोपा आँशु तप्प झरे । भैरव दाइको आँखामा कहिल्यै आँशु नदेखेकी सुशीला भाउजुलाई असहज लाग्ने नै भयो । दाइलाई निमोनिया देखिएदेखि नै एक खालको भय बोकेर बसेको बेला ‘बाई बाई’ गर्दै हात हल्लाउँदा स्वास्थ्यकर्मीसमेत रहेकी सुशीला भाउजुको मन चिसो भयो । यही २४ चैत रामनवमीका दिन दिउँसोको कुरा हो यो । अपरान्हतिर दाइलाई अलि अप्ठयारो भएपछि अस्पताल लगियो, बेलुका ८ बज्दा नबज्दै भैरव दाइ महाप्रस्थान गर्नुभयो । पत्रकारिताको एक जुगले पाना पल्टायो ।
भैरव दाइसँग पहिलो भेट कहिले र कहाँ भयो भन्ने ठ्याक्कै तिथिमितिको संझना छैन । पहिलो भेटघाट नै बिर्सिसकेकोले २५–३० वर्षभन्दा कम भने पक्कै होइन । एकपटक नेपाल वातावरण पत्रकार समूहको सरसफाइसम्बन्धी कार्यक्रममा नवलपरासी पुगेर फर्कंदै गर्दा नारायणगढको होटलमा बास बसियो । बर्मेली होटलमा खाना खाइसकेपछि दाइले भन्नुभयो, ‘आजको खानाको पैसा मेरो’ । सामान्यतः यस्ता कुरामा हस्तक्षेप नगर्ने दाइले आज किन हतारो देखाउनु भो भनेर कारण खोज्दै जाँदा थाहा भयो– त्यो दिन उहाँको ७०औँ जन्मदिन रहेछ । गोविन्द पोखरेल, रघु मैनालीलगायत ५–६ जनाको हाम्रो टोलीमध्येका ‘ठट्टा सम्राट’ रघु मैनालीले भन्नुभयो पनि ‘दाइले अघि नै पैसा तिर्छु भनेको भए त १–२ गाँस बढी खाइन्थ्यो नि !’ त्यसअघिका सम्झना पातला भए पनि ७०औँ जन्मदिनको साक्षी बसेकोले अहिले ९७ वर्षमा हिँडदै गर्दा अस्ताएका भैरव दाइसँगको संगत कम्तीमा २७ वर्षदेखिको हो भन्नलाई कुनै प्रमाण खोजिरहनु परेन ।
भैरव दाइसँगका धेरै स्मृतिहरू संग्रहित छन् मनमा । जहाजमा भन्दा गाडीमा हिँडन लोभ गर्ने उहाँको पुरानै बानी हो । सरसफाइसम्बन्धी कार्यक्रममा हिँडदा जहाजमा पठाउन खोज्दा उहाँ गाडीमै बल गर्नुहुन्थ्यो । जहाजमा हिँडेर के देखिन्छ ? को भेटिन्छ ? गाडीमा गयो भने बाटोमा कोही न कोही देखिन्छ ? केही न केही भेटिन्छ भन्ने उहाँको तर्क हुन्थ्यो ।
सधैँ फुर्तिलो देखिने भैरव दाइ भेट्दा कहिल्यै निराशाको अनुभूति भएन । जब म भैरव दाइको समीपमा हुन्थे एकखालको अभिभावकत्व महसुस हुन्थ्यो । मेरो पहिलो पुस्तक (संकलन) ‘लाहुरेका कथा’का लागि ताङ्लो मिलाइदिने काम भैरव दाइले गर्नुभएको हो । त्यसबेला भैरव दाइले कुन्द दीक्षितलाई नभेटाइदिएको भए ‘लाहुरेका कथा’ लाहुरेका मनमा मात्रै हुने थिए होला ।
नेपाली पत्रकारितामा प्रवेश गर्नेहरूका लागि कहिले बेरोजगार, कहिले संक्षिप्त बेरोजगार, कहिले विक्षिप्त बेरोजगारी नौलो होइन । मैले पनि यी घुम्तीहरू चहारेको छु । कैयौँ घुम्तीमा भैरव दाइले साथ दिनुभएको छ । लाहुरेका कथादेखि आत्मवृत्तान्त अभिलेखनीसम्म भैरव दाइको हात र साथ छ । अर्धबेरोजगार भएको बेला भैरव दाइले नै मार्गदर्शन गरेर केही आत्मवृत्तान्त लेख्ने काम भयो । कृति लेख्न सुरु गर्ने बेलामा दाइ आफैँले समय मिलाएर मलाई लिएर जानुहुन्थ्यो । पुराना राजनीतिज्ञ रामहरि शर्माको घर बत्तिसपुतलीमा केही दिन हामी लुखुरलुखुर हिँडेर गएका छौँ, अनामनगरदेखि । यस्ता आत्मवृत्तान्त लेखनले नेपाली इतिहासमा के कति अर्थ राख्छ भविष्यले बताउला, तर मेरो संक्षिप्त बेरोजगारीमा भने यसको तत्कालै अर्थपूर्ण उपस्थिति रह्यो ।
एक समय म ‘एक्काइसौँ शताब्दी’ साप्ताहिक म्यागेजिनमा काम गर्थें । तत्कालीन युवराज पारस शाहले चलाएको गाडीले किचेर मारिएका संगीतकार प्रविण गुरुङसम्बन्धी मुद्दामा नक्कली ड्राइभर बनाइएका खड्गबहादुर भुजेल (माइला दाइ)को भनाइसहितको समाचार (सम्भवतः पत्रिकामा पहिलोपटक) यही पत्रिकामा छापिएको थियो समाचार प्रकाशित भएपछि अनामनगर पछाडि धोवीखोला किनार (हाल मदन भण्डारी कलेज भएको ठाउँ) मा रहेको कार्यालयमा खुकुरीधारीहरूले मध्यरातमा आक्रमण गरे । कार्यालयका झ्यालका सिसा फुटाए, ढोका र झ्यालका खापाहरू खुकुरीले काटे । संयोगवश म काम सकेर हिँडिसकेकोले खुकुरीसँग जम्काभेट हुन पाएन ।
यो घटना दाइको कानमा पनि पर्यो । मलाई केही असहज भए पनि यो घटनाप्रति उहाँको प्रतिक्रिया सहज थियो । ‘विश्वस्त नभई समाचार छाप्नु हुँदैन, छापिइसकेपछि परिणामको चिन्ता गर्नु हँुदैन’ दाइको संक्षिप्त प्रतिकृया यत्ति नै थियो । नेपाली पत्रकारिताका जिउँदो इतिहासको यो प्रतिक्रियाले मलाई छुट्टै मार्गनिर्देश गर्यो ।
समाजमा भए गरेका काम लिपिवद्ध हुनुपर्छ भन्ने मान्यता उहाँको थियो । यही मान्यताकै कारण उहाँले गरेका सबैजसो काम र गतिविधिका समाचार प्रकाशित हुन् भन्ने ठान्नुहुन्थो । यही चाहनाले उहाँलाई अलिअलि प्रचारको र अलि बढी प्रशंसाको लोभी बनाइदिएको पनि हुनसक्छ । खानपीनमा गुलियोमा अलि लोभ गर्ने भैरव दाइ ‘दाइ’ को मामलामा बढ्तै लोभी देखिनुहुन्थ्यो । हजुरबा भन्नुपर्ने उमेरकाले पनि ‘दाइ’ भन्दा मख्ख पर्ने !
भैरव दाइमा अर्को लोभ पनि थियो, त्यो हो आफ्ना बारेमा लेखिएका संस्मरण आफैँ पढ्ने आपूmसँग सरसंगतमा रहेकाहरूको औपचारिक प्रतिक्रिया जान्ने दाइको यो इच्छा सामान्य प्रचलनभन्दा पृथक थियो । मानिसको देहावसानपछि उसको बारेमा फूलबुट्टा भर्दै भए नभएका योगदानको बारेमा चर्चा गरेर स्मृतिग्रन्थ निकाल्ने चलन पुरानै हो । भैरव दाइले यो चलनलाई तोड्नुभएको छ र स्मृतिगन्थ होइन ‘अमर ग्रन्थ’ आफैँ पढ्न खोज्नुभयो । पुस्तक प्रकाशित पनि भयो ‘भैरव दाइको जीवन्त ग्रन्थ’ । जीवनकालमा नै उहाँले आफ्नोबारेमा लेखिएको पुस्तक पढ्नुभयो ।
जीवनका उत्तराद्र्धमा भैरव दाइको पठन रुचि भने फेरिएको थियो । समाचारका खेताला भैरव दाइलाई एकदिन मैले सोधँे, ‘एकाबिहानै पत्रिका हातमा लिएपछि सबैभन्दा पहिले कुन समाचार हेर्नुहुन्छ दाइ ?’ उहाँले मनै अमिलो हुनेगरी तर सरल जवाफ दिनुभयो, ‘आजभोलि त कोको गएछन् भनेर ‘श्रद्धाञ्जली’ मा पो आँखा जान थालेका छन् ।’ उहाँले एकपटक भन्नुभएको थियो ‘मलाइ तँ भन्ने त सकिइसकेछन्, तिमी भन्ने पनि पातला पो देख्छु ।’ उहाँको अनुभवमा आफूलाई तँ भन्नेसँगको आत्मियता नै बेग्लै हुन्छ । तँ, तिमी र तपाईं÷हजुरको बीचको अन्तर्य खोल्ने र भेद खुट्याउने उहाँभन्दा आधिकारिक को हुन सक्थ्यो र ?
भैरव दाइ साना कुरामा पनि खुसी हुने र ठूला विपत्तिमा पनि दुःखी नहुने अजीवका मनुवा ! सरल पनि उत्तिकै । सधैँ भन्नुहुन्थ्यो – मसँग अतिरिक्त सीप केही छैन । तर उहाँसँग जति सीप थियो त्यसको प्रयोग प्रचुर मात्रामा गर्नुभयो । एउटा संस्कृत पृष्ठभूमिको सामान्य विद्यार्थी तर अंग्रेजी बोल्नुपर्ने ठूला भनिएका प्रोजेक्टका पनि उहाँले सजिलै र प्रभावकारी रूपमा काम गर्नुभयो । काम गर्नका लागि भाषा मात्रै होइन, मन बलियो पार्नुपर्छ भन्ने उदाहरण भैरव दाइ हुनुहुन्थ्यो । उहाँ लागेपछि अनवरत लागिरहनुहुन्थ्यो, चाहे त्यो ‘कर्णालीको उज्यालो होस्’ या ‘चेपाङलाई रेडियो’ या ‘बुहारी छात्रवृत्ति’ नै किन नहोस्, यस्ता धेरै उदाहरणले आफूलाई प्रमाणित गरिसक्नुभएको छ । रेडियोमा आफूभन्दा कम उमेरसमूहका, आफूसरहका र आफूभन्दा पाकासँग कुराकानी गर्ने रेडियो कार्यक्रम ‘उहिले बाजेका पालामा’ रेडियो सगरमाथामा बजेको सुन्नेहरूले पनि नभनी सुखै छैन ‘भैरव दाइको जाँगर साँच्चै लोभलाग्दो थियो ।’ विश्वको त खोजीकै विषय होला तर नेपालको सन्दर्भमा सम्भवत : ‘उहिले बाजेका पालामा’ का सञ्चालक भैरव रिसालले सबैभन्दा पाको उमेरका रेडियो कार्यक्रम सञ्चालकको रूपमा अग्रपंक्तिमा नाम लेखाइसक्नुभएको छ । नेपालको पहिलो सामुदायिक एफएम रेडियो सगरमाथामा बज्ने यो कार्यक्रममा उहाँले लगभग ८०० जना पाका मान्छेसँग अन्र्तवार्ता गर्नुभयो । त्यसपछिको अर्को कार्यक्रम थियो – रेडियो सगरमाथामा प्रत्येक मंगलबार बिहान ७ बजे बज्ने भैरव रिसालको ‘कुरो कन्थो’ । २०५२ सालदेखि २०८१ वैशाख २५ गते मंगलबार बिहान ७ बजेसम्म भैरव रिसालको स्वर रेडियोमा बज्यो । ३० वर्षको अवधिसम्म एकै व्यक्तिको अविरल प्रस्तुति निश्चय पनि अर्को एक कीर्तिमान हो ।
भैरव दाइ एउटा खुला किताब हो जसले जहिले पढे पनि हुन्छ । बुढेसकालमा ‘लोग्ने स्वास्नीका चिठी’ सार्वजनिक गरेर दुई बुढाबुढीका सांकेतिक भाषाका गोप्य कुरा यतैको समाजलाई छोड्नुभएका भैरवदाइले ४०० भन्दा बढी पृष्ठको अर्को संस्मरणात्मक पुस्तक ‘सुशीला भैरव’ मा त आफ्ना अत्यन्तै निजी कुरा पनि छरपष्ट पस्कनुभएको छ । किताबका पानाको मात्रै के कुरा शरीरकै पाना पल्टाउने अनुमति दिइसक्नुभएको थियो उहाँले । मृत्युपछि आफ्नो सम्पूर्ण शरीर नै मेडिकल विद्यार्थीले पत्रपत्र केलाएर हेरुन् भनेर यतै छोडेर जान खोज्ने भैरव दाइले मनका कुरा किन लिएर जानुहुन्थ्यो ? उहाँको शव पाटन अस्पतालले जिम्मा लिइसकेको छ । भैरव दाइ नेपाली पत्रकारिता मात्रै होइन सामाजिक योगदानमा पनि फराकिलो र लोभलाग्दो छाप छोड्न सफल हुनुभएको छ । नेपाली समाजमा उहाँको अनुपस्थितिको खाडल यति गहिरो छ कि लामो समयसम्म पुरिन गाह्रो छ ।
जेल जीवन
अलि साँघुरो लाग्यो भन्दै रासस छोडेपछि (२०४३ सालमा राजधानी साप्ताहिकमा उहाँको एउटा लेख छापियो । शीर्षक थियो, ‘एसियाली मापदण्ड ः मन्त्रिमण्डलको ठगी खाने भाँडो’ । त्यसैको निहँुमा उहाँलाई राजकाजको मुद्दा लगाएर ९ महिना सदरखोर डिल्लीबजार र १ महिना नख्खु कारागार गरी १० महिना थुनामा राखियो ।
पारिवारिक जीवन
भैरव रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुर जिल्लाको ताथलीमा भएको हो । बुबाको नाम गोवर्धन रिसाल, आमाको गणेशकुमारी, उहाँको पूरा नाम भैरवप्रसाद रिसाल हो । अझ पुरानो र पहिलो नाम त बद्रीप्रसाद रिसाल रहेछ । पहिला धेरै बिरामी भएपछि बाआमाले आनन्दभैरवमा लगेर मित लगाएपछि उहाँको नाम भैरव राखिएको रहेछ ।
सानैमा मातृवियोग सहेका रिसालका एकैपटक बेहोर्न नपाए पनि उहाँको जीवनमा ३ वटी आमाको नाम दर्ज छ । आफ्नो आमाको तर्फबाट एउटै मात्र छोरा भैरव दाइ २ वटी आमाका ४ भाइ र १ बहिनीमध्ये जेठो हुनुहुन्थ्यो । भैरव दाइले श्रीमती सुशीला, २ छोरी, २ छोरा र बुहारीहरू अनि ५ जना नातिना १ पनातिनी छोडेर जानुभयो ।
जीवनको अन्तिम समय पनि लेखपढमै बित्यो । १ वर्षअघिसम्म पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पत्रिका ‘मजदूर’ मा हरेक मंगलबार नियमित स्तम्भ लेख्नुहुन्थ्यो । अन्य पत्रिकामा फाट्टफुट्ट लेख प्रकाशित हुन्थे । पछिल्लो समय हात कामेर अक्षर नबुझिने हुन थालेपछि सुशीला भाउजुले टाइप गरिदिने गर्नुभएको थियो । कम्प्युटरमा भैरव दाइको कहिल्यै हात गएनन् । सुशीला भाउजुले नर्सिंङ पेसामा हुँदा अलिअलि कम्प्युटर चलाउन सिकेको बुढेसकालमा काम लाग्यो । पछि छोरा भास्वर अमेरिका गएपछि चिठ्ठी पठाउने होइन इमेलमा नै चिठ्ठी आदानप्रदान हुनथाल्यो । तर घरमा कम्प्युटर थिएन । २०५८ सालताका भक्तपुरको अलिकति जग्गा बेचेर ४२ हजार तिरेर कम्प्युटर किनेपछि सुशीला भाउजुको टाइपिङले थप गति लियो ।
शिक्षा
रुद्रीचण्डी पढने चलन थियो त्यसबेला । पुरेतको छोरा भएको लगन लेखेको १ मोहर (५० पैसा), १ माना चामल आउने अनि गरुड पुराण भन्न जान्यो भने त्यसवापत पनि दिनको १ मोहर आउने हुनाले छोरो लगन लेख्न सक्ने होस् भन्ने बुबाको चाहना रहेछ । त्यही भएर उहाँका बुबाले भैरव दाइलाई लुभू भाषा पाठशालामा पढ्न लैजानुभयो । गुरुलाई बुबाले भन्नुभएछ, ‘मेरो छोरालाई लगन लेख्न र गरुड पुराण भन्न जान्ने भए पुग्यो, पाससास केही पर्दैन ।’ गुरुले भने, ‘यो बाठो छ, यो लगन लेख्न र गरुड पुराण भन्न जान्ने हुन्छ, पास पनि हुन्छ’ भनेर फकाएपछि ८ कक्षासम्म लुभू पाठशालामा पढ्नुभयो उहाँले ।
त्यसपछि २००४ साल पुसमा तीनधारा पाठशाला भर्ना हुनुभयो । तीनधारा पाठशालामा भर्ना नभएको भए उहाँ गाउँको पण्डित भएर बस्नुहुन्थ्यो होला । त्यहाँ खान, बस्न, लाउन सबै पाइन्थ्यो । ‘तीनधारा पाठशालाले गर्दा म भैरव रिसाल भएको हूँ’, उहाँले पछिसम्म भन्नुहुन्थ्यो ।
उहाँले २०१२ सालमा बनारस संस्कृत विश्वविद्यालय, भारतबाट शास्त्री पास गर्नुभयो । २००७ साल अघिसम्म परीक्षा दिन वनारस नै जानुपथ्र्यो । त्यसपछि भने प्रश्नपत्र उतैबाट आउने, कापी जाँच र रिजल्टै उतैबाट भए पनि परीक्षा भने काठमाडौँमै दिन पाइने भयो । त्यसबेला शास्त्री बराबर अंग्रेजी पढाइतिर के हुन्छ भन्ने प्रस्ट थिएन । पछि सम्पूर्णमध्यमा चाहिँ १२ कक्षा बराबर हुने, शास्त्री स्नातक र आचार्य स्नातकोत्तर सरह हुने निर्णय सरकारले गर्यो ।
त्यसबेला १४ जनाको लागि लोकसेवा आयोगको पहिलो विज्ञापन निस्कियो, पोस्टग्राजुएट र ग्राजुएट भन्ने । तर थोरै जनाले मात्रै लिखित पास गरे । त्यसमा भैरव रिसाल पनि हुनुहुन्थ्यो । उहाँले अन्तर्वार्तामा पनि पास गर्नुभयो तर जागिर भने दिइएन । पोस्ट ग्राजुएटमाचाहिँ गोविन्दप्रसाद लोहनी, विश्वनाथ उपाध्याय, मोहम्मद मोहसिन, बब्बरप्रसाद सिंह, अनन्तनाथ पौडेल (लेखनाथ पौडेलको छोरा) लगायत पास भएका थिए । ग्राजुएट अफिसरमा चाहिँ दाताराम शर्मा र भैरव रिसाललगायत हुनुहुन्थ्यो ।
पास भएको भनेर नाम गोरखापत्रमै छापिए पनि सरकारले किन जागिर नदिएको भनेर सोधीखोजी गर्दा राज्यसँग उहाँ कम्युनिस्ट पार्टीको सदस्य भइसकेको रेकर्ड रहेछ । ‘राज्यले कम्युनिस्ट पार्टीका सदस्य नपाल्ने’ भन्ने नीति भएकोले जागिर नदिएको भन्ने थाहा पाएपछि उहाँ अरू सोधीखोजीतिर लाग्नुभएन ।
२००९ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य भइसकेका रिसालले कम्युनिस्ट पार्टीको सदस्यता लिन रगतको औँठा छाप लगाउनुपर्छ भन्ने सुनेको भए पनि उहाँको पालामा त्यस्तो गर्नुपरेन । लोकसेवा पास गरेर पनि कम्युनिस्टको ट्याग लगाएर राज्यले जागिर नदिएपछि धेरै दुःख खेप्नुभयो उहाँले । जागिर खोज्दा खोज्दा हैरान भएर जे काम पनि गर्ने स्थितिमा पुगेका बेला कटुञ्जेका पूर्णप्रसाद उपाध्यायको सम्पर्कले काठमाडौँबाट प्रकाशित हुने ‘हालखबर’ दैनिकमा रिपोर्टरमा भर्ना हुनुभयो । त्यसको सञ्चालक रंगनाथ शर्मा र सम्पादक दाताराम शर्मा हुनुहुन्थ्यो । त्यसबेला महिनाको तलब १०० रुपैयाँ पाइने भयो । त्यो तलबबाट कोठाभाडा र श्रीमती, एउटा भाइसहितको खर्च चलाउनुभयो । जे होस् २०१३ सालमा ‘हालखबर’ दैनिकबाट उहाँको पत्रकारिता सुरु भयो ।
२०१३ सालदेखि २०१७ सालसम्म ४ वर्षजति हालखबरमा काम गरेपछि केन्द्रीय तथ्यांक विभागमा २६ महिनालाई म्यादी सेक्सन अफिसर हुनुभयो । २०१८ सालमा उहाँले सुदूरपश्चिम दार्चुलामा जनगणना गराउनुभयो । जनगणना गर्नका लागि त्यो क्षेत्रको ५–६ वटा जिल्ला हेर्ने गरी जोनल अफिसर हुनुहुन्थ्यो उहाँ । त्यसबेला लिम्पियाधुरा र लिपुलेकमा उहाँले नै जनगणना गराउनुभएको थियो । उहाँले जीवनपर्यन्त भनिरहनुभयो, ‘हामीले दाबी गरेको त्यो कालापानी क्षेत्र सुगौली सन्धिअनुसार हाम्रो हो ।’
तथ्यांक विभागको जागिर सकिएर बेरोजगार भएको बेला सगरमाथा संवाद समिति र नेपाल संवाद समिति जोडेर बनेको राष्ट्रिय समाचार समितिले मान्छे माग्यो । जाँच दिए पनि उहाँ फेल हुनुभयो । तर पास हुनेमध्ये १ जनालाई पत्रकारिता मन नपरेर छोडेपछि उहाँलाई बोलाइयो । सुरुमा संवाददाता भएर काम गरेका रिसालको सुरुको तलब थियो २२५ रुपैयाँ । पछि उहाँ राससको चिफ रिपोर्टर हुनुभयो । २०२० भदौमा रासस छिर्नुभएका भैरव दाइ २२ वर्ष जति त्यहाँ बिताएर २०४२ वैशाख १ गते राजीनामा दिएर निस्कनुभयो । रासस छोडेपछि केही समय सामाजिक वैज्ञानिकका रूपमा आइडिएस भन्ने संस्थामा जागिरे हुनुभयो । पछि यो संस्था नाम परिवर्तन भएर इन्स्टिच्युट अफ इन्टिग्रेड डेभलभमेन्ट सिस्टम (आइआइडिएस) भयो । केही समय त्यहाँ काम गरेपछि भैरव दाइ नेपाल वातावरण पत्रकार समूहमा सामेल भएर वातावरण पत्रकारितातिर लाग्नुभयो । त्यता लागेर वातावरणसम्बन्धी थुपै्र काम गर्नुभयो ।
पछिल्लो समय पत्रकारितामा निष्ठा हराउँदै गएकोमा उहाँको चिन्ता थियो । अहिलेको पत्रकारिता मान्छेले पत्याउन छाडेको बताउँदै विश्वास र विश्वसनीयता सुरक्षित हुनुपर्नेमा उहाँको जोड थियो । नयाँ पुस्ताको पत्रकारितामा दौडधुप कम भयो । भौतिक रूपमा भेटघाट र कुराकानी नगरी गाँठी कुरा आउँदैन भन्दै उहाँ अहिलेको पत्रकारिता असाध्यै यान्त्रिक भएको बताउनुहुन्थ्यो । पत्रकारलाई स्वतन्त्र रूपमा छोड्नुपर्छ भन्ने उहाँको मान्यता थियो । ‘पत्रकारको कलमले जे लेख्छ, त्यो ठीक हो होइन ? कति विश्वसनीय छ भनेर जाँच्ने पाठकले हो । यसमा कलम नियन्त्रण गरिनु हुँदैन’, उहाँको प्रष्ट मान्यता थियो ।
सरलता भैरव रिसालको परिचय नै हो । जहाजको सट्टा गाडीमा हिँडन लोभ गर्ने उहाँको बानीले पनि देखाउँछ उहाँको सरल जीवनशैली । बेरोजगारी, संक्षिप्त वेरोजगारी र कहिले त विक्षिप्त बेरोजगारीमा पनि उहाँ हतास हुनुभएन । आफ्नो कर्ममा निरन्तर लागिरहनुभयो । ‘विश्वस्त नभइ समाचार छाप्नु हुँदैन, छापिइसकेपछि परिणामको चिन्ता गर्नु हुँदैन’ भन्ने उहाँको मूलमन्त्र थियो । यसले डर, धाकधम्कीभन्दा उहाँ कति माथि हुनुहुन्थ्यो भन्ने देखाउँछ ।
बुढापाका मरेर गए भने उनीहरूको अनुभव र श्रुति इतिहास पनि सँगसँगै जान्छ, त्यसैले त्यो अनुभव समाजमा छोड्ने वातावरण बनाउनु पर्छ भन्ने मान्यताकै कारण उहाँ आफ्ना कुरा पनि सकेसम्म बाहिर जाउन् भन्ने ठान्नुहुन्थ्यो । यही चाहनाले उहालाई अलिअलि प्रचारको र अलि बढी प्रशंसाको लोभी बनाइदियो ।
भैरव रिसाल नेपाली पत्रकारिताको दुर्लभ पात्र हो । पत्रकारिता सुरु गर्दा उहाँले राजनीतिक विषयमा कलम चलाएर सुरु गर्नुभयो । तर पछिल्लो समय वातावरण पत्रकारितामा पनि उत्तिकै योगदान छ उहाँको । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षको जिम्मेवारी पनि पूरा गर्नुभएका भैरव रिसालको नाम वातावरण पत्रकारितामा पनि अग्रपंक्तिमै आउँछ ।
भैरव दाइ नेपाली पत्रकारिताको अभिभावक त हुँदै हो व्यक्तिगत रूपमा मेरो अभिभावक पनि हुनुहुन्थ्यो । ‘नेपालका सांसद र मन्त्रीहरू’ भन्ने पुस्तक सँगै लेखेको भएर मात्रै मैले उहाँलाई अभिभावक मानेको होइन । यसको पछाडि लामो आत्मीय संगतको शृंखला छ । अनामनगर घट्टेकुलोतिर नगएको १५–२० दिनजति भयो भने भैरव दाइको घरको ल्यान्डलाइनबाट फोन आउँथ्यो ‘यता कहिले आउने ?’ उहाँले फोन गर्न सकुन्जेल यस्तो फोन आइरहन्थ्यो । तर अब त्यो फोन आउन सदाका लागि बन्द भएको छ । बज्न त अब पनि मेरो फोनमा घन्टी बज्ला तर भैरव दाइको स्वर सुनिनेछैन । तपाईंले हात हल्लाउँदा सुशीला भाउजुले त के भन्न सक्नुहोला, मेरो तर्फबाट श्रद्धापूर्वक ‘बाई बाई’ भैरव दाइ !
प्रतिक्रिया