दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन थुनामा राख्न अनुमति

काठमाडौं । गत चैत तीनकुनेमा हिंसात्मक घटनापछि फरार भएर आज शुक्रबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई र उनका अंगरक्षक दिपक खड्कालाई १२ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरु दुवै जनालाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रसाईं चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमाण्डर हुन् । उनी चैत १५ गतेदेखि नै फरार थिए । बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रबार नेपाल–भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतको आसामबाट पक्राउ गरेर उनीलाई झापाको भ्रदपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया