इन्डोर स्टुडियोका लागि ९ कम्पनी प्रतिस्पर्धामा

काठमाडौँ । काभ्रेको बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म स्टुडियोको लागि ९ ठेकेदार कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । चलचित्र विकास बोर्डका अनुसार आवेदन दिएका १४ कम्पनीमध्ये ९ कम्पनीलाई छनोट गरिएको हो ।

यी कम्पनीको योग्यता र मापदण्ड हेरेर ३ वैशाखमा एक कम्पनीले ठेक्का पाउनेछ । यसपछि अत्याधुनिक इनडोर स्टुडियोको काम अघि बढ्नेछ । ठेकेदार कम्पनीको टुंगो लाग्ने बित्तिकै शिलान्यास कार्य अघि बढ्ने बोर्डको तयारी छ ।

बोर्डले काभ्रेको बनेपा नगरपालिका–१० र १३ मा निर्माण गर्न लागिएको सुटिङ स्टुडियोका लागि माघ २७ गते आवेदन खुला गरेको थियो । राष्ट्रिय पत्रिकामार्फत ‘इ–बिडिङ’ बोलपत्र आह्वानमा विभिन्न निर्माण कम्पनीले प्राविधिक प्रस्ताव पेस गरेका थिए ।

प्राप्त प्रस्तावमध्ये मूल्यांकन गरी ९ वटा कम्पनीको प्रस्तावलाई प्रभावकारी ठहर गर्दै बोर्डले उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको हो । बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने स्टुडियो विगत केही वर्षदेखि योजनाको रूपमा थियो । तर, अहिले बोर्डको सक्रियतामा काम अघि बढेको हो ।

गत २८ असारको मन्त्रिपरिषद् बैठकले स्टुडियो निर्माणका लागि २ हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो । बनेपा नगरपालिकाको वडा–१० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको थियो ।

आर्थिक २०८०–०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो । ३९ करोड बजेट रहेको यो निर्माण सन् २०२६ भित्रै पूरा गर्ने लक्ष्य छ ।

प्रतिक्रिया