केपी ओली कप क्रिकेट : गण्डकी हिरोज र हिमालयनको जित

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारिरहँदा समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौँ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ । १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विनाविकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारी खेले ।

उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले । उनले २९ बलमा ९ चौका प्रहार गरे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८ दशमलव ४ ओभरमा १०२ रन बनाउँदा अल आउट हुन पुग्यो । सो टोलीका उत्तम रंघु थापा मगर १८ रनमा क्याच आउट भए । उनले १७ बलमा ४ चौका प्रहार गरे । दिनेश बुढामगर ४ र अभिषेश थापा १४ रनमा आउट भए । अशोक पौडेल ६ रन बनाउँदा दीपक केवत १७ रनमा बोल्ड भए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमृत गुरुङले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ तथा नारायण जोशीले ३ दशमलव ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । सुदीप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो । यसअघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । ग्रेट हिमालयको यो दोस्रो हार हो । यसअघि हिमालयन क्रिकेट एकेडेमीसँग २ विकेटको हार बेहोरेको थियो ।

सोही समूहतर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ । ११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो । हिमालयनको जितमा दीपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर दीपक बोहोरा ‘बी’ १० रनमा आउट भए । चितवनका लागि दिपेश श्रेष्ठले २ तथा किरण गुरुङ र विशाल खत्रीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८ दशमलव १ ओभरमा ११८ रनमा अलआउट हुन पुग्यो । ओपनर गोविन्द विक ७ रनमा बोल्ड भए । सुर्यान्सु कोइराला १ रनमा क्याच आउट भए । आशुतोष घिरैयाले अर्धशतकीय इनिङ खेल्दै क्याच आउट भए । उनले ४१ बलमा ६ चौका र २ छक्काको मद्दामा अर्धशतक बनाए । प्रतिक श्रेष्ठ ३८ रनमा क्याचआउट भए । उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

विवेक राना मगर ५ र गौतम केसी १ रनमा क्याच आउट भए । रोशन झा २, दीपेश श्रेष्ठ ३, कमल परियार ८, विशाल खत्री १ रनमा आउट भए । हिमालयनका लागि प्रकाश जैशीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । दीपक चन्दले ३ तथा प्रतिश जिसी र दीपक बोहोरा ‘बी’ ले १–१ विकेट लिए । हिमालयनको यो दोस्रो जित हो भने चितवनको यो दोस्रो हार हो । समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमिफाइनल प्रवेशका लागि यी २ टिम भिड्नेछन् भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम ४ को सम्भावना सकिएको छ । बिहीबार चितवन र ग्रेट हिमालयबीच प्रतिष्ठाको खेल हुनेछ ।

प्रतिक्रिया