काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा देशको पछिल्लो अवस्था ट्र्याकमै रहेको देखाएको छ । महँगी, रेमिट्यान्स, आयात, निर्यात, विदेशी मुद्रा सञ्चिति जस्ता देशको अर्थतन्त्रका बाह्य सूचकमा पछिल्लो ८ महिनाको औसत स्थिति हेर्ने हो भने सकारात्मक देखिएको छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा महँगी घटेको छ । यस अवधिको समग्र मुद्रास्फीति ३ दशमलव ७५ प्रतिशतमा झरेकोे हो । गत वर्षको फागुन महिनामा मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत थियो । त्यस्तै, खाद्य तथा पेय पदार्थतर्फको मुद्रास्फीति ३ दशमलव ३४ र गैरखाद्य तथा सेवातर्फ ३ दशमलव ९७ प्रतिशत छ ।
त्यस्तै, विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ बराबर पुगेको छ । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको कुल विदेशी मुद्रा सञ्चिति फागुनसम्म पुग्दा १८ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ फागुन मसान्तमा १३ दशमलव १ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड सञ्चिति थियो ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा २०८१ फागुन मसान्तमा १५ दशमलव २ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ । हाल रहेको विदेशी मुद्रा सञ्चितिले १४ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।
आन्तरिक सूचक अझै कमजोर छन् : डिल्लीराज खनाल, अर्थविद्
डिल्लीराज खनाल, अर्थविद्
राष्ट्र बैंकको प्रतिवेदन हेर्ने हो भने बाह्य सूचक ट्र्याकमै रहेको देखिन्छ । तर, आन्तरिक रूपमा लगानी र रोजगारी सिर्जना नहुँदा बिदेसिनेको संख्या बढेकै कारण रेमिट्यान्स बढेको भन्ने तथ्य नकार्न सकिन्न । त्यस्तै, आयातको तुलनामा निर्यात बढ्न सकेको छैन । विदेशी मुद्रा सञ्चिति बढेको बढ्यै छ, त्यसको सदुपयोग हुन सकेको छैन । हाम्रो अर्थतन्त्रको बाह्य स्वरूप त ठिकै देखियो, तर यसलाई औसतभन्दा पनि दीर्घकालीन र आन्तरिक रूपमै बलियो बनाउनेतर्फ सोच्ने बेला भइसकेको छ ।
घट्यो महंगी दर
राष्ट्र बैंकको प्रतिवेदनमा चालु आर्थिक वर्षको फागुन महिनामा महँगी घटेको देखिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको फागुनमा महँगी घटेको हो । गत माघ महिनामा ४ दशमलव १६ प्रतिशत रहेको समग्र मुद्रास्फीति फागुनमा ३ दशमलव ७५ प्रतिशतमा झरेको छ । गत वर्षको फागुन महिनामा मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत थियो ।
गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ५ दशमलव ५७ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति त्यसयता मंसिरमा बढेर ६ दशमलव ०५ प्रतिशतसम्म पुगेको थियो । पुसयता लगातार घट्दो क्रममा देखिएकामा फागुनमा चालु आर्थिक वर्षको न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।
फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको मुद्रास्फीति १३ दशमलव ७४ प्रतिशत, दाल तथा गेडागुडीको ७ दशमलव ८० प्रतिशत, फलफूलको ६ दशमलव ८२ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५ दशमलव १५ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको ५ दशमलव १७ प्रतिशत, तरकारीको १ दशमलव २४ प्रतिशत र माछा तथा मासुको ० दशमलव ७४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति १० दशमलव १४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७ दशमलव ०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६ दशमलव ०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५ दशमलव ५९ प्रतिशत र यातायातको ५ दशमलव ०७ प्रतिशतले बढेको छ । तर, फागुनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४ दशमलव १८ प्रतिशतले बढेको छ ।
२४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
यो ८ महिनामा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने १३ दशमलव १ प्रतिशत बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव २ महिनाको वस्तु आयात र १४ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा २०८१ फागुन मसान्तमा १५ दशमलव २ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकामा २०८१ फागुन मसान्तमा ४४ दशमलव ९ प्रतिशतले वद्धि भई २ खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
भित्रियो साढे १० खर्बभन्दा बढी रेमिट्यान्स
चालु आर्थिक वर्षको फागुन महिनासम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९ दशमलव ४ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स ६ दशमलव ९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड डलर पुगेको छ । विशेष गरी नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुँदा नेपाली मूल्यमा रेमिट्यान्सको आकार अझै ठुलो देखिएको राष्ट्र बैंकले जनाएको छ । फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिँदा माघ मसान्तसम्म ९ खर्ब ५८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
सरकारी खर्च ८ खर्ब, राजस्व ७ खर्ब
चालु आर्थिक वर्षको ८ महिनामा सरकारले ८ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ भने राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ भएको छ । जसमा चालु खर्च ५ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने पुँजीगत खर्च ८२ अर्ब ३४ करोड र वित्तीय व्यवस्थासम्बन्धी खर्च १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ छ ।
त्यस्तै, सरकारको कुल राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोडमा प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँट गरिने रकमसमेत समावेश छ । यसमा कर राजस्व ६ खर्ब ३८ अर्ब ८० करोड र गैरकर राजस्व ८१ अर्ब ५५ करोड परिचालित भएको छ । २०८१ फागुन मसान्तसम्म नेपाल सरकारका विभिन्न खातामा जम्मा भएको नगद मौज्दात ३ खर्ब ९२ अर्ब ३६ करोड पुगेको छ । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकम पनि समावेश छ । यो अघिल्लो वर्षको असार मसान्तमा रहेको ९३ अर्ब ९६ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो ।
निक्षेप संकलनसँगै बढ्यो कर्जा प्रवाह
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण तथा संस्थाहरूले गर्ने निक्षेप ४ दशमलव ३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड रुपैयाँले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड रुपैयाँ हुँदा निक्षेप वृद्धि प्रतिशत ७ दशमलव ६ थियो । वार्षिक विन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९ दशमलव ५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५ दशमलव ४ प्रतिशत, ३५ दशमलव ३ प्रतिशत र ५१ दशमलव ७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६ दशमलव ५ प्रतिशत, २८ प्रतिशत र ५८ दशमलव ७ प्रतिशत थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ अर्थात् ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड अर्थात् ४ दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६ दशमलव ३ प्रतिशत, विकास बैंकहरूको ३ दशमलव १ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५ दशमलव ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, फागुनसम्मको अवधिमा वाणिज्य बैंकहरूले करिब साढे ४३ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकहरूले यो ८ महिनामा कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
आयात र निर्यात दुवै बढ्यो
आर्थिक वर्ष २०८१÷८२ को ८ महिनामा कुल वस्तु निर्यात ५७ दशमलव २ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४ प्रतिशतले कमी आएको थियो । कुल वस्तु आयात पनि ११ दशमलव २ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २ दशमलव ७ प्रतिशतले कमी आएको थियो ।
यो अवधिमा कुल वस्तु व्यापार घाटा ६ दशमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २ दशमलव ५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दशमलव ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ८ प्रतिशत थियो ।
चालु खाता १ खर्ब ८० अर्ब बचतमा
यस अवधिमा सरकारको चालु खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो । त्यस्तै, यो अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा थियो ।
प्रतिक्रिया