नयाँ चरणमा अमेरिका–चीन व्यापार युद्ध : विश्व बजारमा हलचल

अमेरिकाले १०४ प्रतिशत भन्सार पुर्याउँदा चीनले लगायो ८४ प्रतिशत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको भन्सार महसुलको नीतिले आफ्नो देशमा अर्बौँ डलर थुप्रिने तथा देश थप समृद्धितर्फ उन्मुख हुने बताए पनि संसारकै सेयर बजारमा असर गरेको छ । उनले १ दिनमा अमेरिकी खातामा २ अर्ब अमेरिकी डलर जम्मा हुने बताए ।

ट्रम्पले राष्ट्रिय रिपब्लिकन कंग्रेस कमिटीको डिनरमा उपस्थित हुँदै औषधिमा थप कर लगाउने घोषणा गर्दै आफ्नो नीतिको बचाउसमेत गरेका हुन् । अमेरिकाले चिनियाँ सामानमा थप ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेपछि कुल महसुलको दायरा १०४ प्रतिशत भएको हो । पहिले नै २० प्रतिशत महसुल लगाइएको थियो । त्यसपछि ३४ प्रतिशत थप र अर्को पटक ५० प्रतिशत थप महसुलको घोषणा गरिएको हो ।

केही चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने निर्णय गरेपछि ट्रम्पले सो कुरा बताएका हुन् । यता, चीनले पनि ट्रम्पले दिएको डेटलाइनमा प्रतीकात्मक करको निर्णयबाट फिर्ता लिन अस्वीकार मात्र गरेन, ८४ प्रतिशत महसुलको निर्णय गरेको छ । साथै चीनले अमेरिकासँग जुनसकै विषयमा ‘मुकाबला’ गर्न तयार भएको समेत जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकासँगको सम्बन्ध बिग्रिए पनि अन्य छिमेकी देशसँगको सम्बन्ध सुमधुर राख्न चाहेको बताए ।

अमेरिकी अर्थतन्त्रको २ प्रतिशत हिस्सा चीनबाट निर्यात हुने वस्तुले ओगटेको छ । बुधबार रातिदेखि लागू हुने गरी अमेरिकाले ६० देशका उत्पादनमा भन्सार महसुल लगाएको छ । राष्ट्रपति ट्रम्पले भन्सार महसुलको मारमा पर्ने देशहरूले वार्ताका लागि सक्दो प्रयास गरिरहेको बताए । यो निर्णयले एसियाको सेयर बजारमा गिरावट आएको छ भने युरोपेली बजारमा पनि संकट बढिरहेको छ ।

यसअघि फर्मास्युटिकल्स (औषधि) मा भन्सार महसुल नलगाइए पनि मंगलबार साँझ भने ट्रम्पले यसमा पनि कर लगाउने बताएका छन् । उनको यो घोषणाले अहिले विश्व बजारमै हंगामा मच्चाएको छ । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोले निर्णय फिर्ता लिन अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले पनि यस्तो व्यापार युद्धले कसैलाई पनि लाभ नहुने बताए ।

सेयर बजारमा प्रभाव

ट्रम्पको यो निर्णयले अमेरिकी सेयर बजारमा सबैभन्दा धेरै प्रभाव परेको छ । मंगलबार एसएन्डपीको सूचकांकमा १.५ प्रतिशतले गिरावट आएको छ । नेसडेकमा २.१५ प्रतिशतले गिरावट आएको छ भने टेस्लाको सेयरमा ५.४५ प्रतिशत तथा एप्पलमा ५.२५ प्रतिशतले गिरावट आएको छ ।

जबाफी करको निर्णय

अमेरिकाको निर्णयको विरुद्धमा अन्य देशले जबाफी भन्सार महसुलको निर्णय गरेका छन् । क्यानडाले अमेरिकी कारमा २५ प्रतिशत भन्सार महसुलको निर्णय गरिसकेको छ । यो निर्णय पनि बुधबार रातिबाट लागू भएको हो । दक्षिण कोरियाले पनि जबाफी करको निर्णय गर्ने बताए पनि करको दर भने तोकिसकेको छैन । जापानका प्रधानमन्त्री सिगुरु इसावाले अहिलेको संकटमा सबै जापानी एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

०००

नेपालले भने लिन सक्छ लाभ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८५ वटा देशका लागि घोषणा गरेको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार दरले विश्व अर्थतन्त्रमा हलचल ल्याएको छ । अमेरिकाको भन्सार दर अनुसार अप्रिल ५ देखि नै नेपाली सामानमा १० प्रतिशत कर लागिसकेको छ । विश्वका अधिकांश देशले अमेरिकी निर्णयविरुद्ध जबाफी कर लगाइसकेका छन् भने कतिपयले लगाउने बताइरहेका छन् । जसका कारण विश्व अर्थतन्त्रमा ठुलो उतारचढाव आउने विज्ञहरूले बताएका छन् ।

नेपालले भने जबाफी कर लगाउने सोचेको छैन । यद्यपि, अमेरिकी सहयोग प्रभावित हुने डरले सरकारले जबाफी करको निर्णय गर्न नसकेको आरोप पनि लगाइएको छ । तर, अमेरिकाले कर बढाएपछि जबाफी कर लगाउने वा त्यसको स्वागत गर्ने विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै छलफल नै गरेको छैन । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले अमेरिकाले बढाएको भन्सार करबारे सरकारको धारणा आइनसकेको बताए । उक्त नीतिका कारण नेपाली वस्तु निर्यातमा भने खासै असर नपर्ने भण्डारीको दाबी छ ।

त्यस्तै, नेपाल–अमेरिका उद्योग वाणिज्य संघका अध्यक्ष किरण शाखले बढेको करले निरन्तरता पाउने हो कि होइन ? भन्नेमा शंका रहेको बताए । संसारभर यसको विरोध भएको छ, अमेरिकामा पनि विरोध भइरहेको अवस्थामा निरन्तरता पाउने÷नपाउनेमा शंका छ । छिमेकी मुलुकहरूको तुलनामा अमेरिकाले नेपालका उत्पादनमा कम भन्सार लगाएको हुँदा नेपालका लागि सुनौलो अवसर भएको उनले बताए ।

उनले भने, ‘हामीले अमेरिकामा वस्तु निर्यात गर्दा छिमेकी मुलुकहरूसँग उस्तै–उस्तै वस्तुहरूमा प्रतिस्पर्धा गर्नुपरिरहेको थियो । अब उनीहरूको वस्तुमा धेरै कर लाग्दा हामीलाई सजिलो हुन्छ ।’ यस्तो अवस्थामा अमेरिकी क्रेताहरूको रोजाइमा नेपाली वस्तु पर्ने भएकाले समग्र व्यापार लाभदायक नै हुने उनको तर्क छ ।

अर्थविद् केशव आचार्यले पनि अमेरिकाले बढाएको भन्सार नेपालका लागि राम्रो अवसर भएको बताए । उनले भने, ‘अहिलेकोे अवस्थामा सरकार र निजी क्षेत्र मिलेर बंगलादेश, भारत, श्रीलंका, अमेरिकाकै लगानी ल्याएर अमेरिकामा रुचाइएको वस्तु निर्यात गर्ने अवसर छ ।’ तर, यसका लागि नेपालले पठाउने वस्तुको उत्पादन बढाउनु जरुरी रहेको उनले बताए ।

उनले भने, ‘विदेशी लगानी ल्याउन सरकारले दक्ष जनशक्ति ल्याएर हदैसम्म उदार भएर काम गर्नुपर्ने बेला आएको छ । नेपालमा युवा जनशक्तिलाई समेत नेपालमै राखेर कारखाना तथा उत्पादनमा काम गर्नु जरुरी छ ।’

अमेरिका–नेपाल व्यापारको अवस्था

नेपाली वस्तु निर्यातको सूचीमा अमेरिका दोस्रो स्थानमा पर्छ । नेपालले आयात गर्ने देशहरूको सूचीमा भने छैटौँ नम्बरमा पर्छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को ८ महिनामा नेपालले ११ अर्ब ३७ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको वस्तु अमेरिका निर्यात गरेको छ भने १७ अर्ब ३५ करोड १६ लाख ८० हजार रुपैयाँ बराबरको वस्तु अमेरिकाबाट आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा १७ अर्ब ३१ करोड ४५ लाखको निर्यात गर्दा १९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

नेपालबाट अमेरिका निर्यात हुने वस्तुहरूमा ऊनी गलैँचा, कुकुर र बिरालोको आहार, ऊनी फेल्टका सामान, हस्तकलाका सामग्री, कार्पेट, तयारी पोसाक, ग्लासवेयर, पस्मिना सल, सारयुक्त तेल, संगीतका सामान, नेपाली हातेकागजका सामग्री छन् । नेपालले अमेरिकाबाट सन् २०१६ देखि १० वर्षका लागि ७७ प्रकारका वस्तुको निकासीमा कर छुट पाउँदै आएको थियो ।

प्रतिक्रिया