१५ चैतको त्रासदीबीच बल्खुमा राप्रपाको संयमित सभा

काठमाडौँ । विभिन्न आशंकाका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीको मंगलबारको राजधानी केन्द्रित जनप्रदर्शन तथा विरोधसभा संयमित रूपमा सम्पन्न भयो । बल्खुमा भएको सभा संयमित भए पनि राप्रपाका नेताहरूको आक्रोश भने छरपष्ट रूपमा पोखियो । नेताहरूको भाषणमा भने व्यवस्थाभन्दा पनि नेताहरूप्रति बढी आक्रोश देखिन्थ्यो । देशलाई बंगलादेश र श्रीलंका बनाउने धम्कीदेखि चुनावी प्रक्रिया त्यागेर विद्रोहको राजनीतिमा होमिने तथा बालुवाटार घेरेर ‘भातपानी’ बन्द गर्नेसम्मको चुनौती दिँदै राप्रपाका नेताहरूले हिन्दु राष्ट्रसहित राजसंस्था पुनस्र्थापनाको माग तत्काल मान्न तयार हुन अल्टिमेटम दिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरू नसच्चिएसम्म विश्राम नलिने र आन्दोलन जारी रहने बताए । नेताहरू नसच्चिए र आफ्ना मागप्रति सकारात्मक नभए बालुवाटार घेरेर भातपानी बन्द गर्न पनि आफूहरू पछि नपर्ने चेतावनी दिँदै उनले भने, ‘नसुध्रिने हो भने हामी बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौँ ।’

अहिलेकै अवस्था र व्यवस्थाबाट देश अघि बढ्न नसक्ने बताउँदै लिङ्देनले पूर्वराजादेखि गणतन्त्रवादीसम्म अटाउने नवीन समझदारी अर्थात् संविधान नै संशोधन गर्न सकिनेतर्फ पनि संकेत गरे । ‘देशलाई नयाँ समझदारी आवश्यक छ । शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिबीच नवीन समझदारी गरौँ । राजादेखि गणतन्त्रवादी अटाउने व्यवस्था गरौँ,’ उनले भने ।

यता, राप्रपाको विरोधसभा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका थिए । प्रदेशसभालाई विशेष सम्बोधन गर्न गएका ओलीले राप्रपाको मागलाई ठाडै अस्वीकार गर्दै सामन्ती व्यवस्था स्वीकार्न नसकिने बताए ।

लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको संघर्षको जगमा ल्याइएकाले यो व्यवस्थालाई लत्याए प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन नगर्ने उल्लेख गरे । उनले भने, ‘राजतन्त्र फेरि ल्याउने भनेर केहीकेही लागेका छन् । विगतमा निरंकुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन ।’

मधेस प्रदेशसभालाई सम्बोधन गरेपछि ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्न सिरहा पुगेका ओलीले त्यहाँ पनि राजावादीतर्फ इंगित गर्दै राजतन्त्र फर्किन्छ भन्ने कुरा दिवास्वप्न मात्र भएको बताए । ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा तिनकुनेमा चैत १५ मा भएको प्रदर्शनका क्रममा देखिसकिएकाले नेपाली जनताले राजतन्त्र नस्वीकार्ने बताए ।

बंगलादेश र श्रीलंकाको नियति दोहोर्याउनेदेखि विद्रोहसम्मको चेतावनी

राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले रावणहरूको शासन बढेको भन्दै त्यसले देशलाई कमजोर बनाइरहेको बताए । ‘नेपालमा अहिले रावणहरूको शासन छ । रावण प्रवृत्तिका जोजो राजनीतिज्ञहरू छन्, उनीहरू यो राज्यको सम्पत्ति र ढुकुटीमा हामीले जे गरे पनि हुन्छ भन्छन् । त्यसैले यो रावण प्रवृत्तिलाई मास्नुपर्छ ।’ उनले राप्रपाको आन्दोलनको तात्पर्य नै संविधानभित्र राजालाई समेट्नु रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले त अहिलेको जस्तो गणतन्त्र नेपाली जनतालाई नचाहिएको र आवश्यक पनि नरहेको बताए । उनले सरकार र गणतन्त्र पक्षधरहरूप्रति प्रश्न तेस्र्याउँदै सोधे, ‘यही हो गणतन्त्र ? यदि हो भने अब गणतन्त्र चाहिँदैन ।’ अर्का नेता बुद्धिमान तामाङले धवलशमशेर राणा र रवीन्द्र मिश्रले नै ढुंगा हान्ने र आगो लगाउने काम गरेको हो ? भन्दै प्रश्न गर्दै राणा र मिश्रहरूलाई संविधान विरोधी भनेर मुद्दा लगाउने हो भने प्रचण्ड र केपी ओलीहरूलाई पनि मुद्दा लगाउनुपर्ने बताए ।

आफूहरूलाई पेलेरै अहिलेको सरकार अघि बढ्न खोजे विद्रोह निम्तिने उनको चेतावनी थियो । उनले भने, ‘सदन र सडकबाट पार लागेन भने राप्रपाले सोच्नुपर्ने दिन आइसक्यो । हामीलाई यस्तै पेल्ने हो भने पत्रकार सम्मेलन गरेर चुनावी प्रक्रिया त्यागेको घोषणा गरेर विद्रोहको राजनीति सुरु गर्छौं ।’ तामाङको आरोपलाई राप्रपा नेता ज्ञानेन्द्रबहादुर शाहीले पनि समर्थन गर्दै आफ्नो पार्टीका नेताहरूलाई झुटा मुद्दा लगाएर थुन्ने कोसिस गरे लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनीसमेत दिए ।

त्यति मात्र होइन, उनले तिनकुनेसहित जडीबुटीमा आगजनी गर्ने मान्छे पूर्वमाओवादी कार्यकर्ता भएको ठोकुवा गरे । उनले गणतन्त्रपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस, एमाले र माओवादीलगायतका नेताहरूले भाषण गर्ने गरे पनि देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता दीपकबहादुर सिंहले त सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी नै दिए । ‘सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन्,’ सिंहले भने । उनले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको आरोपसमेत लगाए ।

प्रतिक्रिया