अब राजनीतिक दलहरूले आफूलाई पूरै पुनःनिर्माण गर्नुपर्छ । त्यसो गर्न सकेनन् भने सर्पले काँचुली फेर्न नसकेर मरेजस्तै हुन्छ । उनीहरू पनि राणा र राजाहरूको जस्तै इतिहासको विषय बन्छन् ।
हिजो गणतन्त्र ल्याउन लागिपरेका नेताहरू नै आज सही ढंगले गणतन्त्रको विकास हुन नसकेको भन्दै आलोचना गर्न थालेका छन् । १५ चैतमा राजावादीहरूको प्रदर्शनपछि मुलुकको शासन प्रणाली र जनताको अवस्थाका बारेमा प्रश्नहरू उठेका छन् । मुख्य राजनीतिक दलहरू भने आफूलाई सच्याउनुको सट्टा ‘एक ठाउँ उभिएर’ राजावादीविरुद्ध खनिएका छन् । तर, कुनै पनि शीर्ष नेताले ‘अब हामी सच्चिन्छौँ’ भन्ने अभिव्यक्ति दिन सकेका छैनन् । यस्तो अवस्थामा पार्टीभित्रै पनि दलहरू नसुध्रिए सकिने अवस्थामा पुग्छौँ भनेर आलोचना गर्नेहरू पनि छन् । त्यसमध्येका एक प्रखर आलोचक हुन माओवादी केन्द्रका नेता राम कार्की । वर्तमान राजनीतिक अवस्था र दलहरूले हिँड्नुपर्ने बाटोका बारेमा सौर्य दैनिकका लागि चमिना भट्टराईले नेता कार्कीसँग गरेको संवादको सम्पादित अंश :
राजतन्त्र फालेको १५–१६ वर्षपछि राजाका नाममा जनता सडक आएका छ्न्, त्यसका लागि जिम्मेवार को ?
– राजतन्त्र फालियो, तर राजतन्त्रको संस्कृति फाल्ने कोशिस भने भएन । हरेक शासन व्यवस्थाले एउटा राजनीतिक संस्कृति निर्माण गर्छ । राजतन्त्रकालीन जुन संस्कृति थियो, त्यसलाई कांग्रेस–एमालेले बोकेर आएका थिए । त्यसबाट आकुल ब्याकुल भएर जनताले २०५२ सालमा हामीलाई ठुलो समर्थन दिए । आन्दोलन सफल भयो । तर, जनयुद्धकालमा गाउँघरका पाखाभित्तामा देखापरेको जुन संस्कृति थियो, त्यो संस्कृति हामी काठमाडौँ आएपछि काठमाडौँकै पुरानो संस्कृतिले हामीले गाउँमा रोपेको बिकास हुँदै गरेको र पलाउँदै गरेको राजनीतिक संस्कृतिलाई टिक्न दिएन । राजनीतिक संस्कृति भन्नाले राजनीतिक व्यवहार, राजनीतिक संगठन, आचरण हुन्छन् । तर, हामीमा पनि सबै कुरामा करिब करिब पुरानै संस्कृति हाबी हुँदै गएपछिको परिणाम नै अहिले देखिएको दृश्य हो । यसमा को कति जिम्मेवार छ जनताले हेरेका छन् र त्यसको मूल्यांकन पनि गर्नेछन् ।
राजा फाल्नमा महत्वपूर्ण योगदान गरेको भन्ने माओवादी यो सबै वातावरणमा कत्तिको जिम्मेवार छ ?
–राजतन्त्रलाई राजनीतिक रूपमा फाल्ने अगुवाइ त माओवादीले गरेकै हो । तर, राजतन्त्रकालीन सोच, राजतन्त्रका आदत उनीहरूका संस्कृति फाल्न सकिएन । हामीले राजतन्त्रसँगै ती कुराहरूलाई पनि फाल्न सक्नुपर्ने थियो । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने शासनमा बसिरहन र शासनका विलासिताका सौकत प्राप्त गर्नाका निम्ति क्रान्तिकारी आदर्शहरूसँग सम्झौता हुन थाल्यो । त्यसमा दलहरू चुकेका छन् । त्यो सम्झौता जनताले थाहा पाए । त्यसले गर्दा राजतन्त्रसँगको असन्तुष्टि त छँदै थियो । अहिले आउने नयाँ शासकहरूको व्यवहारले पनि जनतालाई असन्तुष्ट तुल्यायो । त्यसले गर्दा सत्ताबाट फ्याकिएको प्रतिगामी तत्वले हिजो आफूले भोगेको भोगविलासको चाहनाले बढी छटपटाउने चलमलाउने गरेको हो । जस्तो रुसमा पनि जारहरूलाई पहिला मारिएको थिएन, तर पछि जारले धमिलो पानीमा माछा मार्ने प्रयास गर्दा जारको परिवार नै मारिए । बेलायतमा राजालाई काटियो । त्यसको कारण भनेको सत्ताबाट फ्याकिएकाहरू चुपचाप बस्दैनन् । सत्तामा रहँदा सारा देशलाई आफ्नो पेवा ठानेर चलाएको हुकुम बिर्सेका हुँदैनन् । त्यो तत्वले समाजमा लरबराउन प्रयास गरेको हो । यहाँ पछिल्लो समय देखिएको दृश्य पनि त्यही हो ।
त्यसो भए पूर्वराजा र उनको अवस्था के रहने भन्ने उनकै भूमिकामा भर पर्छ ?
– हो । मुख्य रूपमा उनकै व्यवहारमा भर पर्छ । उनले बढी महत्वाकांक्षा लिएर चलखेल गर्न थाले भने स्वभाविक रूपमा उनको अवस्थाका बारेमा सोच्नुपर्छ । उनी आफ्नो हैसियत बिर्सेर निस्किए भने नसोचेको सजाय पाउँछन् । त्यसैले उनलाई जनताले जुन स्थान दिएको छ त्यसको दायरामा बस्नुपर्छ । नत्र त्यसबाट आउने परिणाम उनैले भोग्ने हो ।
पछिल्ला दिनमा पूर्वराजाका नाममा देखिएको गतिविधिको संकेत के हो भन्ने ठान्नुभएको छ ?
–जे भयो यसको संकेत राम्रो छ । यो प्रेसर कुकरको सिट्टी बजेकोजस्तै हो । यो गणतन्त्रवादीलाई सावधान हुन बजाइएको सिट्टी हो । त्यसैले दलहरूले आफ्नो आचरण र व्यवहारलाइ परिवर्तन गर्नुपर्छ र जनताप्रति जवाफदेही भएर काम गर्नुपर्यो । यत्ति कुरामा विचार पुर्याएर अगाडि बढ्ने हो भने वर्तमान व्यवस्थालाई हानि पुग्दैन ।
दलले गल्ती गर्दै जाँदा जनताले आफ्नो आवाज सडकमा ल्याए, के बिराए ? त्यो दलप्रतिको आक्रोश होइन ?
–जनताको आक्रोश साँच्चै आयो भने त काठमाडौँको रिङरोड भरिन्छ । काठमाडौँको एउटा कुनामा २–४ हजार मान्छे जम्मा भएर उफ्रिएकोलाई आक्रोश भन्न हुँदैन । जनतामा असन्तुष्टि भएर सोच विचार गरिरहेको चाहिँ छ । तर बाहिर अहिले निस्केको छैन । यत्तिकैमा व्यवस्था नै परिवर्तन हुन्छ भन्ने ठान्नु हुँैदन ।
राजतन्त्र फर्कने सम्भावना कति छ ?
–राजतन्त्र मात्रै होइन, राणाशासन नै फर्किएर आउँछ भन्ने मान्छे पनि भेटिन सक्छ । किनभने राणाहरू पनि आफूले गरेको शासन र रजगज सम्झेर कल्पिने गर्छन् । त्यस्ता सोच भएको मान्छे समाजमा हुन्छन् । तर, त्यो नै मुख्य प्रवृत्ति होइन । राजनीतिक पार्टीप्रति जनता खुसी छैनन्, गुनासा छन् । दलले आफ्नो चरित्र सुधार गर्नुपर्छ । राजाहरूकै जस्तो पजनी गर्ने काम गर्नुहुन्न । व्यक्तिगत बफादारहरूलाई तिरस्कृत गर्ने काम गर्नुपर्छ । त्यसो गर्न सकिएन भने जनताले राजतन्त्र त ल्याउने होइन, अहिलेको रजौटातन्त्र पनि फेरिदिन्छन् । राजतन्त्र नेपालमा फर्कने कुराको कल्पना गर्न सकिन्न ।
राजा फर्के तपाईंहरूको भविष्य के होला ?
–हाम्रो विष्यको कुरा होइन, हामी त आफैँमा निर्भर छौँ । हामी सुध्रियौँ, हाम्रो व्यवहार हामीले फेर्यौँ भने जनताले हामीलाई अपनाएर नेतृत्व स्वीकार गर्छन् । गरिएन भने पूराना राजाहरूलाई जता धकेल्यौँ नयाँ रजौटाहरूलाई पनि त्यतै धकेल्छन् । त्यसैले हामीले आफ्नो भविष्य कस्तो बनाउने आफैँमा निर्भर रहन्छ । उनीहरूसँग भावनादेखि भावनाको कुरा मात्रै छ । हामीसँग राजा थिए, राजा विष्णुको औतार हुन् भन्नेबाहेक केही छैन । उनीहरूलाई दलित, मधेसी, महिला, युवा विद्यार्थीले साथ दिने अवस्था नै छैन । खाली भावनामा उद्वेलित भएका केही उत्ताउला मान्छेहरूलाई राजासँग सम्पत्ति छ त्यसले के के न गर्छ भन्ने लागेको छ । कत्तिले बकसको नाममा सेवा सुविधा लिएका छन् त्यसैले पनि पछि लागेका छन् । उनीहरूको कुण्ठा छचल्किएको मात्रै हो । यति सजिलै राजा आउने वा अरू कुनै व्यवस्था आउ सम्भव छैन । काठमाडौँको सुकुम्बासी र मजुदुरको ५ हजारको जुलुस मात्रै सडकमा आउने हो भने, राजावादीहरू कहाँ भाग्छन् भन्नै सकिन्न । त्यसैले हामीले आफैँले भविष्य बनाएकाले आफ्नो भविष्यको चिन्ता छैन ।
दलहरू सुध्रिनुपर्छ भन्नुभयो । तर मूलधारका कुनै पनि दल किन नसुध्रिएका होलान् ?
– राजनीतिक दलले आफूलाई अबिलम्ब सुधार गर्नुपर्छ । त्यसको अर्थ पश्चगामीतर्फ जान हुँदैन । मोटरमा समस्या भयो भनेर मान्छे बयलगाडातर्फ फर्कंदैन । बरु मोटरमा नै सुधार गर्नुपर्छ । मुख्य कुरा के हो भने, हिजो दरबारबाट विभिन्न अवसर पाएका अनेक प्रकारका बकस पाएकाहरूलाई दलमा भित्र्याउने काम भएर पनि समस्या भएको हो । मसिनो गरी हेर्ने हो भने, धेरै दरबारियाहरू कांग्रेस र कम्युनिस्टको छातामुनि भित्रिए । आज तिनीहरू त्यही छाता छोडेर फेरि पूरानो राजा पो फर्केर आउँछ कि भन्ने आशामा त्यता लागेका छन् । गल्ती कहाँनिर भयो भने, यदि हामीले गणतन्त्रको संस्कृति समुदायमा गाउँमा लागू गर्दै गएको भए उनीहरूले टाउको उठाउने प्रयास गर्ने थिएनन् । कच्याककुचुक भइहाल्थे । तर, गणतन्त्र घोषणामा मात्रै सीमित भयो । गणतन्त्रको स्याहार सम्भार कसैले गरेन । गणतन्त्रलाई समुदाय, जातभित्र लगिएन । जातीय, वर्गीय समस्याभित्र गणतन्त्र पस्न पाएन । स्याहारबिनाको गणतन्त्र ख्याउटे, न्याउरो र कमजोर हुँदै गयो । त्यसले गर्दा राजतन्त्रवादी अहिले हौसिएका हुन् । तर, उनीहरूको कुनै आधार छैन ।
गणतन्त्रमाथिको पछिल्लो संकटका लागि माओवादी कत्ति जिम्मेवार छ भन्ने ठान्नु हुन्छ ?
–मैले त यो कुरा बारम्बार पार्टीभित्र र बाहिर पनि उठाउँदै आएको छु । गणतन्त्र, संघीयता समावेशी प्रजातन्त्र र धर्मनिरिपेक्षतालाई जुन ढंगले समाजमा लागू गर्ने प्रयत्न माओवादीबाट हुनुपथ्र्यो त्यहाँ हामी कमजोर भयौँ । त्यस मामलामा हामी चुकेकै हो । हामीले जसरी गणतन्त्रका लागि लड्यौँ त्यसअनुसार काम गर्न सकेनौँ । त्यहाँ हामी कमजोर भएर नै अहिलेको परिणाम देखापरेको हो । अब तयार हुने राजनीतिक शक्तिले गणतन्त्रको राजनीतिक र गणतन्त्रको अर्थनीतिलाई समाजभित्र लागू गर्ने चेष्टा गर्नुपर्छ । त्यो गर्छ भन्नेमा मलाई विश्वास छ ।
तपाईंहरू लोकतन्त्रवादी । अनि दलहरूमाचाहिँ आन्तरिक लोकतन्त्रको अवस्था के छ ?
–यो त छँदै छैन । कुनै पनि दलमा आन्तरिक लोकतन्त्र छैन । हामी त आफूलाई माओवादी भन्छौँ । माओले हामीलाई के सिकाउनुभएको छ भने, ‘राजनीतिक पार्टीलाई अधोगतिबाट जोगाउने भनेकै वैचारिक संघर्षबाट हो ।’ तर, पार्टीहरू त्यसरी चलेको छैन । पार्टीभित्र विचारधारात्मक संघर्ष भइ राख्नुपर्छ । त्यसो भइरह्यो भने पार्टी जीवित रहन्छ । पार्टीभित्र वैचारिक संघर्षलाई पाखा लगाउने, विचार, शिक्षा, अनुभव भएका त्याग गरेका मान्छेलाई पाखा लगाएर एजेरुँ छान्ने परम्परा छ । दलका मुख्य नेताहरू त्यसैमा आकर्षित हुने परम्परा छ यो आन्तरिक लोकतन्त्र होइन ।
जनताको अवस्था सुधार नभए व्यवस्था सुधार्न लाग्नु के नौलो भो र ?
–अहिले पनि यही व्यवस्थाभित्र किसान, मजदुरको हितामा काम गर्ने, शिक्षा, स्वास्थ्यमा सुधार गर्ने । यसैलाई सम्बोधन हुने गरी ४ वटा विधेयक ल्याएर पास गरी काम गर्ने हो भने धेरै नै परिर्वतन देखापर्छ । कुनै पनि व्यवस्था अमूर्त हुँदैन । जनताको भावना र अवस्था बुझेर काम गर्न सकियो भने जनताको अवस्थामा सुधार हुन्छ र व्यवस्था बलियो हुन्छ । त्यता ध्यान दिइयो भने आन्तरिक रूपमा पार्टीको जीवन पनि सुध्रन्छ । यथास्थितिमा नै बसिरहन त एउटा नेताले जे बाल्यो त्यही हुने अरू सबै आज्ञाकारी बनिदिनु पर्ने । यो त प्रजातान्त्रिक अवस्था होइन । जनताले खोजेको त प्रजातन्त्र हो । त्यो पार्टीभित्र पनि प्रजातन्त्र हुनुपर्यो, शासन व्यवस्थामा पनि प्रजातन्त्र हुनुपर्यो । प्रजातान्त्रिक अभ्यासको विकास भनेको मजदुर किसानको हितमा काम हुनु हो । शिक्षा स्वास्थ्यमा जनताको पहुँच हुनु हो नि प्रजातन्त्र भनेको ।
दलहरूले अब के के गर्नुपर्छ ?
–राजनीतिक पार्टीहरू धेरै हदसम्म नोकरशाही भइसकेका छन् । दलको शैली र व्यवहारकै कारण हामीले चाहेजस्तो समयमा अहिले नै आइदियोस् भनेर त हुँदैन । तर, नयाँ नाराका साथ नयाँ शक्ति आउने छ । त्यसले नयाँपन, नयाँ व्यवहार र कौसलता देखाउने गरी राजनीतिक दल आउँछ । अब राजनीतिक दलहरूले आफूलाई पूरै पुनःनिर्माण गर्नुपर्छ । त्यसो गर्न सकेनन् भने सर्पले काँचुली फेर्न नसकेर मरे जस्तै हुन्छ । उनीहरू पनि राणा र राजाहरूको जस्तै इतिहासको विषय बन्छन् ।
कहिले आउला त्यो शक्ति ?
–त्यो तपाईं हाम्रो चाहनाले बन्दैन । मकै रोपेर मकै फलिहालोस् भनेर त फल्दैन । मकै रोपेर पनि फल्न समय लाग्छ । अहिलेको जुन प्रकारको गज्याङगुजुङभित्रबाट या त भइरहेकै राजनीतिक दलबाट आफूलाई पुनर्जीवन पाएर पुनः निर्माण गर्छन् या नयाँ नाराका साथ नयाँ शक्तिका आउँछ ।
त्यस्तो सम्भावनाको विकास भएकै हो, सम्भव छ ?
–एकदमै सम्भावना छ । खाली त्यसले बाहिर आउनका लागि सतह खोज्दै छ । त्यो नागरिक समाजभित्र हेर्नुस्, कलाकारभित्र हेर्नुस्, स्कुल कलेजमा हेर्नुस् । त्यो मडारिइरहेको अवस्था छ । हो त्यहीभित्रबाट आउने हो नयाँ शक्ति ।
यदि त्यो भयो भने पुराना दलको अवस्था के हुन्छ ?
–त्यसले अहिले रहेका, ठुला भनिएका दलहरूलाई खुम्चाइदिन्छ । बढारिदिन्छ । राजतन्त्र र राणातन्त्र भन्नेहरूलाई चाहिँ धेरै टाढाको इतिहासको विषय बनाइदिन्छ ।
प्रतिक्रिया