पोखरा । कास्कीको पोखरामा २९ चैतदेखि प्रथम एलिट भलिबल कप हुँदै छ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा १ वैशाखसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । पोखरा–३ नदीपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् ।
प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् । ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निःशुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ’, उनले भनिन् ।
एकेडेमीले उत्कृष्ट २ महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउनेछ । प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५०० र महिलातर्फ ३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।
हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । टिम दर्ता गर्न २७ चैतसम्मको समय दिइएको छ । खेल हेर्न प्यारापिट बनाइएको छ, जसको क्षमता १ हजार २०० देखि १ हजार ५०० सम्मको रहेको रोकाले बताए ।
कप्तान शाहीसहित ३ जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीहरूलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् । विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् ।
उनी भन्छिन्, ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखराको, त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो ।’
प्रतिक्रिया