जनकपुरधाम । धार्मिक सम्पदाको धनी जनकपुरधामका सैयौँ मठमन्दिर र पौराणिक सम्पदामध्ये ४ दर्जन जति कुटी तथा मठमन्दिरहरूको अस्तित्व नै समाप्त भएको तथ्य भेटिएको छ । भूमाफियाको गिरोह नै लागेर विभिन्न मठमन्दिरका जग्गाहरू धमाधम मास्न थालेपछि अहिले १ दर्जनभन्दा बढी मठमन्दिरका नाममा १ धुर जग्गा पनि रहेको छैन ।
धार्मिक सम्पदाहरू विशेष गरी कुटी र मठमन्दिरहरूको जग्गाको विषयमा सौर्य दैनिकले खोजबिन गर्दै गर्दा जनकपुरधामका ऐतिहासिक ४५ वटा कुटी तथा मठमन्दिर आफ्नो ठाउँबाट विलुप्त भइसकेको अर्थात् अतिक्रमण गरी मन्दिरलाई समाप्त पारेर कब्जा भइसकेको रहस्योद्घाटन भएको छ ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकी मन्दिरको जग्गामा आफ्नो प्रतिष्ठानका लागि उद्घाटन कार्यक्रममै जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले यो तथ्य खुलासा गरेका हुन् । महन्थ दासले मन्दिरसँग सोद्धै नसोधी केन्द्रीय गुठी (गुठी संस्थान)ले जानकी मन्दिरको जग्गा जबरजस्ती प्रतिष्ठानलाई प्रदान गरेको बताए । जानकी मन्दिर मात्र होइन उनले विगत १० देखि १५ वर्षको अन्तरालमा जनकपुरधामका ४ दर्जन जति ऐतिहासिक तथा धार्मिक मठमन्दिर भूमाफियाको कब्जादेखि लिएर गुठी संस्थानका केही प्रशासकहरूको मासिएको खुलासा गरे ।
महन्थ वैष्णवले जानकी मन्दिरकै प्रांगणमा रहेको लक्ष्मण मन्दिर मातहतमा रहेको ८७ बिघा जग्गामध्ये अहिले १ धुर पनि बाँकी नरहेको बताए । यस सम्बन्धमा लक्ष्मण मन्दिरका पुजारीसँग प्रश्न गर्दा जग्गा कसरी हरायो भन्नेबारेमा आफूलाई केही थाहा नभएको बताए ।
यसैगरी जनकपुरधामको विरपुर कुटीबाट राधाकृष्ण भगवान्को मन्दिर गायब गरी बेचेको र त्यसको मातहतमा रहेको जग्गाहरूको कुनै अभिलेख नराखिएको दाबी गरिएको छ । त्यसैगरी सीता कुण्डको जग्गा कसलाई कुन प्रयोजनका लागि दिइएको हो भन्ने कुनै हिसाब छैन । महावीर चोकस्थित महालक्ष्मी ज्वेलर्सको अगाडि रहेका घरहरू राम मन्दिरको जग्गामा नै बनेको बताइएको छ ।
गुठी संस्थानको तथ्यांकअनुसार जनकपुर नगर क्षेत्रभित्र गुठीको ३५१ बिघा ६ कट्ठा १३ धुर जग्गा रहेको छ । सोमध्ये लक्ष्मण मन्दिरको ४२ बिघा १ कट्ठा १६ धुर, रत्न सागरको ४३ बिघा ३ कट्ठा ६ धुर, अग्निकुण्डको २ बिघा १३ कट्ठा, बराही कुटीको ७ बिघा १६ कट्ठा, जानकी मन्दिरको ५० बिघा ९ कट्ठा ८ धुर, कुवा मठ २७ बिघा ९ कट्ठा, हनुमान नगरको २६ बिघा ६ का ५ धुर, सीताकुण्डको ५ बिघा ११ कठ्ठा १२ धुर, विरख कुटीको ६ बिघा ३ कठ्ठा १० धुर, राम मन्दिरको १ सय ३४ बिघा १४ कट्ठा ५ धुर, तीताद्री मठको १ कट्ठा १ धुर र कपिलेश्वरको ४ बिघा १६ कट्ठा १३ धुर रहेको छ ।
यी जग्गालाई केही मन्दिरका महन्तले प्लटिङ गरी बेच्ने कार्य गर्दा पनि प्रशासनले कुनै कारबाही नगरेको देखिएको छ । गुठी संस्थानको ०६२÷०६३ सालको अभिलेखमा १२ वटा कुटीका ४० बिघा एवं जानकी मन्दिर, राम मन्दिर, रत्नसागर, दुलहादुलही, बेलाकुटी मन्दिरका २३ बिघा १ धुर तैनाथी जग्गा ८९६ व्यक्तिले अतिक्रमण गरेको उल्लेख छ ।
सोमध्ये छिमेकीले मिचेको÷च्यापेको २३, घर बनाएको ७४१, घेराबार गरेको ६५, शौचालय बनाएका ६, नर्सरी सञ्चालन २, मन्दिर मूर्तिसमेत १२, धर्मशाला निर्माण ३, चौतारा निर्माण १, विद्यालयले १ र अन्य ४२ ठाउँमा अतिक्रमण भएको छ ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुख आनन्दप्रसाद कर्माचार्यले गुठी जग्गाहरूको संरक्षण र व्यवस्थापन संस्थानको प्राथमिकता भएको बताउँदै भने, ‘यदि कुनै जग्गा अतिक्रमण भएको छ भने त्यसलाई फिर्ता ल्याउन कानुनी प्रक्रिया अघि बढाइनेछ । स्थानीय प्रशासन र सरोकारवालाहरूको सहयोगमा गुठी सम्पत्तिको रक्षा गर्न प्रतिबद्ध छौँ ।’
जनकपुरधामका धार्मिक सम्पदाहरूको संरक्षण र गुठी जग्गाहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायहरूबीच समन्वय आवश्यक देखिन्छ । स्थानीय बासिन्दा, प्रशासन, गुठी संस्थान र धार्मिक नेतृत्वबीच सहकार्य गरी यी सम्पदाहरूको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको महन्थ दास बताउँछन् । महन्थ वैष्णवका अनुसार विभिन्न स्थानहरूमा रहेका कुटीहरू तोडफोड गरी नयाँ भवनहरू निर्माण गरिएको छ ।
जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदामाथि भूमाफियाहरूले गरेको अतिक्रमण, गुठीका प्रशासकहरूको भ्रष्टाचार र प्रशासनको लाचारीका कारण दर्जनौँ कुटी, मठ र मन्दिरहरू मासिएका छन् । जानकी मन्दिरका महन्थ वैष्णवका अनुसार यी सम्पदाहरू भूमाफियाहरूले समाप्त पारेका छन् ।
लक्ष्मण मन्दिर मातहतको ८७ बिघा जग्गामध्ये अहिले १ धुर पनि बाँकी छैन । सबै गुठी प्रशासकहरूले हिनामिना गरेको महन्थ दासको गम्भीर आरोप छ । गुठी संस्थानले सुदर्शन दास महन्थ रहेको विरपुर कुटीबाट राधाकृष्ण भगवानको मन्दिर हटाएर जग्गा बेचिएको बताए । महन्थ दासका अनुसार प्रशासनले भूमाफियाहरूलाई कारबाही गर्न कुनै चासो देखाएको छैन । गुठी प्रशासकहरूकै मिलेमतोमा धार्मिक सम्पत्ति लुट्ने कार्य भइरहेको उनको आरोप छ । यदि प्रशासन र सरोकारवाला निकायहरूले बेलैमा कदम नचाले जनकपुरधामको सम्पूर्ण धार्मिक सम्पदा इतिहासकै पानामा सीमित हुने देखिन्छ ।
जनकपुरधामका अस्तित्व नै समाप्त भएका कुटीहरू :
रामबिहारी दासको कुटी : प्रादेशिक अस्पतालको पूर्व र दक्षिण कुनामा ब्लक निर्माण गर्नका लागि समाप्त पारियो ।
रामहृदय दासको कुटी : साबिकको इमरजेन्सी सेवा र रेडक्रस भवनको ब्लक निर्माणका लागि तोडियो ।
जानकी बल्लभ शरणको कुटी : हालको पानी टंकी रहेको भवनमा रहेको कुटी समाप्त पारियो ।
जुगल दासको कुटी : जानकी माविको उत्तरतर्फ रहेको कुटीको अस्तित्व समाप्त भयो ।
रासबिहारी दासको कुटी : जानकी माविको दक्षिणतर्फ रहेको कुटी मासेर भगवानको मूर्ति हटाई नर्सिङ होम बनाइयो ।
रेवासी माइजीको कुटी : जानकी माविको पश्चिम डिलमा रहेको कुटी हटाई ठूलो भवन निर्माण गरियो ।
पडौल कुटी : पूर्वमेयर लालकिशोर साहको घरदेखि दक्षिणपूर्व बाटोमा रहेको कुटी मासेर भवन बनाइयो ।
विमला बिहारी शरणको कुटी : पूर्वमेयर लालकिशोर साहको घरदेखि दक्षिणतर्फ रहेको कुटी गायब पारियो ।
रघुवीर शरण ब्यासको कुटी : रामजानकी पिक्चर प्यालेसको दक्षिणतर्फ रहेको कुटी हटाई टोल बनाइयो ।
विरख कुटी : आँखा अस्पताल पछाडि रहेको कुटी भूमाफियाहरूले समाप्त पारे ।
विरपुर कुटी : बागबानी क्षेत्रमा रहेको कुटी हटाई भगवान्को मूर्ति गायब गरी ठूलो भवन बनाइयो ।
मिथिला बिहारी कुटी : ज्ञानकूप पाठशालामा रहेको कुटीका पुजारी रामदेव शरणले सबै जग्गा बेचे । त्यहाँका मूल पुजारी अयोधी शरणको नाममा जग्गाहरूको लालपूर्जा भए पनि उनलाई प्रवेश निषेध गरियो ।
रसिक निवास : ठुलो विद्यालय निर्माण गरियो र पोखरी पुरियो; भटवा कुटी पनि समाप्त पारियो ।
लक्ष्मी शरण, रामअवतार शरण, रामदयाल शरणको कुटी : बिहार कुण्डमा रहेका यी कुटीहरूको अस्तित्व समाप्त पारियो ।
भजनिया कुटी : परिक्रमा सडकमा रहेको कुटीको अस्तित्व मेटाइयो ।
पिपराको महन्थको कुटी : विषहरा पोखरीको दक्षिण डिलमा रहेको कुटी समाप्त पारियो ।
कन्टहबा कुटी : विषहरा पोखरीको पश्चिम डिलमा रहेको कुटी हटाई स्काउट भवन बनाइयो ।
लक्ष्मण दास र चेतन दासको कुटी : प्रमुख जिल्ला अधिकारीको आवासमा रहेका यी कुटीहरू ताना गौतम प्रजिअको कार्यकालमा भगवानको मूर्ति हटाई भवन निर्माण गरियो ।
तपसी जीको कुटी : जिल्ला प्रहरी कार्यालय भवनको पूर्व कुनामा रहेको कुटीको अस्तित्व समाप्त पारियो ।
जनकपुर
प्रतिक्रिया