काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजाको आयोजनामा सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब ६०० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष÷महिलामा एकल काता र कुमुतेमा समान ११÷११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टिमको सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए ।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठित गर्न र सहिदप्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्वपूर्ण हुने बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले देशका लागि ज्यान दिने सहिदको सम्झना प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको सह–प्रायोजनमा हुने २ दिने प्रतियोगिताका खेलहरू मंगलबारस्थित आदर्श कन्या निकेतनमा खेलाइने छ ।
प्रतिक्रिया