नेपाल र थाइल्यान्डबीच विभिन्न ८ विषयमा समझदारी

समकक्षी सिनावात्रालाई प्रधानमन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौँ । नेपाल र थाइल्यान्ड सरकारबीच २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अहिले थाइल्यान्डमा छन् ।

प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् सिनावात्राबीच बुधबार भेटवार्ता भएको थियो । सोही क्रममा उक्त सम्झौतामा २ देशका तर्फबाट हस्ताक्षर भएको हो । हस्ताक्षरअघि प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्राले द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा दुवै देशका प्रधानमन्त्रीले धारणा राखेका थिए ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सरकारी पक्षबाट संस्कृति तथा पर्यटन क्षेत्रमा २ वटा समझदारी भएको छ । जसमा नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र थाइल्यान्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले हस्ताक्षर गरे । त्यस्तै, परराष्ट्रमन्त्री डा. राणा र थाइल्यान्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

गैरसरकारी क्षेत्रका ६ समझदारीपत्रमा हस्ताक्षर

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्यान्डका गैरसरकारी क्षेत्रबीच विभिन्न ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसमा नेपालको तर्फबाट नेपाल नेत्र ज्योति संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, काठमाडौँ विश्वविद्यालय, नेपाल चेम्बर अफ कमर्स र जनता एग्रो एन्ड फरेस्ट्री नेपालका प्रतिनिधिहरूको उपस्थिति थियो ।

नेपाल नेत्र ज्योति संघ र थाइल्यान्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा संकाय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्र ढकाल र थाई चेम्बरका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरे । द्विपक्षीय समझदारीअन्तर्गत दुवै पक्षले व्यापार प्रवद्र्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समझदारी ३ वर्षका लागि लागू हुनेछ ।


यस्तै, नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवद्र्धन तथा सहकार्यसम्बन्धी समझदारी भएको छ । लगानी तथा व्यापार प्रवद्र्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी र नीतिगत विषयमा जानकारी आदान–प्रदानलगायत सहकार्य गर्न २ संस्थाबीच समझदारी भएको परिसंघले जनाएको छ । समझदारीपत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र महासंघका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका छन् ।

यस्तै, काठमाडौँ विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्यान्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमति भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितले सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिपछि थाइल्यान्डबाट हिमनदी विज्ञान (ग्ल्यासियोलोजी), परम्परागत वास्तुकला (टे«डिसनल आर्किटेक्ट) र वातावरणीय विज्ञान (इन्भाइरोनमेन्ट साइन्स) विषयमा अध्ययन गर्न विद्यार्थीलाई नेपाल आउन सहज हुनेछ ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्ड पर्यटन परिषद्बीच पनि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ भने जनता एग्रो एन्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्यान्डबीच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लगानी बढाउन तयार छौँ : सिनावात्रा

द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् सिनावात्राले नेपालमा हवाई र पर्यटन क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छिन् । नेपालमा थाई एयरलायन्सको उडान संख्या बढाउने र लुम्बिनीमा सीधा उडानका लागि थाइल्यान्ड सकारात्मक रहेको उनले बताइन् । सो अवसरमा प्रधानमन्त्री सिनावात्राले कूटनीतिक सम्बन्ध विस्तारको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीबाट भएको पहिलो भ्रमण ऐतिहासिक भएको बताउँदै २ देशबीचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउने विषयमा पनि आफूहरूबीच छलफल भएको जानकारी दिइन् ।

लगानीकर्तालाई स्वागत छ : ओली

प्रधानमन्त्री ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने बताउँदै थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारीसमेत दिए । नेपालमा लगानीका लागि आह्वान गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र थाइल्यान्डबीच व्यापार र पर्यटनको सम्बन्ध राम्रो छ । अब हामी अन्तर्राष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौँ ।’

ओली–मोदीबीच साइडलाइन वार्ता हुने

बिमस्टेकको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता हुने भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार साइडलाइन वार्ताको सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटघाटका लागि नेपाली पक्षले माग गरेको समयमा भारतीय पक्ष सकरात्मक रहेको र बिमस्टेक सम्मेलनको उद्घाटनपछि साइडलाइन वार्ताका लागि दुवै देशले तयारी गरेको परराष्ट्र स्रोतले जनाएको छ ।

बिमस्टेकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमणमा छन् । भारतीय प्रधानमन्त्री मोदी भने आज (बिहीबार) थाइल्यान्ड पुग्नेछन् । आज थाइल्यान्ड पुग्ने मोदी भोलि (शुक्रबार) बिमस्टेक सम्मेलनबाटै श्रीलंका भ्रमणमा जानेछन् । श्रीलंका जानुअघि प्रधानमन्त्री ओलीसँग मोदीको भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालयले प्रयास गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओली स्वयंले आगामी जेठमा हुने सगरमाथा सम्मलेनका लागि मोदीलाई निम्तो दिने सम्भावना छ । यसका लागि परराष्ट्र मन्त्रालयले थाइल्यान्ड भ्रमणमा जानुअघि नै तयारी गरेको थियो । शुक्रबारको वार्ताका क्रममा प्रस्तुत गरिने एजेन्डाका विषय भने खुलाइएको छैन । नेपाल र भारतबीच सरकारी तहमा बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन शुक्रबार हुने भनिएको ओली–मोदी भेटले विशेष महत्व राख्ने परराष्ट्रका जानकारहरू बताउँछन् ।

प्रतिक्रिया