जनमत–नाउपा एकीकरण कसको हितमा

दुवै दलको मत प्रतिशतलाई जोडिदिने हो भने संघीय संसद्मा यसको सिट संख्या १० र मत प्रतिशत ६ दशमलव ३१ प्रतिशत हुन जान्छ । जुन मधेसमा कुनै पनि मधेसी दलभन्दा बढी हो । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको मत प्रतिशतलाई जोड्दा पनि त्यति मत पुगिरहेको छैन । प्रादेशिक सभातर्फ पनि लुम्बिनीमा यसको सिट संख्या ७, मधेसमा १४, लुम्बिनीमा १ र सुदूरपश्चिममा ७ देखिन्छ ।

श्रीमन नारायण

मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेको डा. चन्द्रकान्त राउतको जनमत पार्टी र रेशम चौधरी नेता र उनकी श्रीमती रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीभित्र एकीकरण हुने निश्चित छ । एकीकरणपछि पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया (टोकरी) रहने सम्भावना छ । पार्टी अध्यक्ष डा. चन्द्रकान्त नै रहने निश्चित जस्तै छ । दोस्रो वरीयतामा सहअध्यक्षको रूपमा रन्जिता श्रेष्ठ रहनेछिन् ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा नागरिक उन्मुक्ति पार्टीको प्रभाव राम्रो छ । थारूहरूको प्रभाव रहेको क्षेत्रमा पूर्वतिर पनि यसको प्रभाव छ । त्यसैगरी सिराहा र सप्तरीमा जनमत पार्टीको प्रभाव छ । सर्लाहीदेखि पर्सासम्म खासै प्रभाव छैन । यस एकीकरणले नागरिक उन्मुक्ति पार्टीलाई खासै लाभ नपुगे पनि जनमत पार्टीलाई मधेस प्रदेशमा थारूको मत बटुल्ने अवसर प्राप्त हुनेछ । हुन त तराई–मधेसमा आफ्ना जातीय उम्मेदवारलाई मात्रै मतदान गर्ने मानसिकता रहेको देखिन्छ । जातीय उम्मेदवार पहिलो प्राथमिकता र पार्टी तेस्रो प्राथमिकतामा रहने गर्दछ । दोस्रो प्राथमिकतामा पैसा पनि हो कतिपय ठाउँमा त पैसा नै पहिलो स्थानमा हुने गर्दछ तथापि यो एकीकरण २०८४ को चुनावसम्म एकजुट रहन सक्यो भने यो नै मधेसको सबैभन्दा ठुलो दल बन्ने निश्चित छ ।

२०७९ सालको आमनिर्वाचनमा जनमत पार्टीले प्रतिनिधिसभामा ३ लाख ९४ हजार ६५५ मत र प्रत्यक्षतर्फ १ सिट जितेको थियो । यसको मत प्रतिशत ३ दशमलव ७४ प्रतिशत थियो । समानुपातिकतर्फ यसले ५ वटा सिट जितेको थियो । प्रदेशिक सभामा निर्वाचनमा यस पार्टीले मधेसमा १३ र लुम्बिनीमा ३ सिट जितेको थियो । हाल गठबन्धन हुन लागेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजारभन्दा बढी मत प्रतिनिधिसभा निर्वाचनमा ल्याएको थियो । यसले राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गर्न सकेको थिएन । पार्टीले २ दशमलव ५७ प्रतिशत मत प्राप्त गरेको थियो । प्रादेशिक सभा निर्वाचनतर्फ नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिममा ७, लुम्बिनीमा ४ र मधेस प्रदेशमा १ सिट हासिल गरेको हो ।

दुवै दलको मत प्रतिशतलाई जोडिदिने हो भने संघीय संसद्मा यसको सिट संख्या १० र मत प्रतिशत ६ दशमलव ३१ प्रतिशत हुन जान्छ । जुन मधेसमा कुनै पनि मधेसी दलभन्दा बढी हो । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको मत प्रतिशतलाई जोड्दा पनि त्यति मत पुगिरहेको छैन । प्रादेशिक सभातर्फ पनि लुम्बिनीमा यसको सिट संख्या ७, मधेसमा १४, लुम्बिनीमा १ र सुदूरपश्चिममा ७ देखिन्छ । एकातिर तराई मधेसका ४ वटै प्रदेशको सभामा यसको प्रतिनिधित्व हुन सकिरहेको छ भने एकीकरण पश्चात् यो मधेसमा महत्वपूर्ण राजनीतिक शक्ति बन्न जानेछ । तर आउँदो चुनावमा यही प्रदर्शन दोहोरिएला भन्न सकिँदैन ।

नागरिक उन्मुक्ति पार्टीको जन्म देशका ठूला राजनीतिक दलहरूको दबाबमूलक राजनीति र माओवादी पार्टी एवं मधेसी दल खासगरिकन राजपा, अहिलेको लोसपाको निरिहता र हेलचेक्र्याइँका कारण भएको हो । नेकपा माओवादीले आफ्नो एकदशक लामो सशस्त्र संघर्षका बेला देशका आदिवासी, जनजाति र उपेक्षित वर्गहरूमा नेपाली कांग्रेस र नेकपा एमालेप्रति जुन घृणा, द्वेष र पूर्वाग्रहका शिक्षा आफ्ना समर्थकहरूलाई दिएका थिए त्यसको प्रभाव सुदूरपश्चिमका थारूहरूमा पनि पर्नु स्वभाविकै थियो ।

कुनै जमानामा दाङ, बर्दिया, बाँके, कैलाली र कन्चनपुरका थारूहरू जमिन्दार थिए तर पहाडबाट तराईतिर भएको आप्रवासनका कारण थारूहरूको अवस्थामा नाटकीय रूपमा परिवर्तन भयो । कमैयाहरू पनि अधिकांश थारू नै भए । जनआन्दोलन–२ को सफलतापश्चात् बर्दिया, कैलाली र कन्चनपुरमा शासन सत्ताको सम्पूर्ण अधिकार आफ्नो हातमा आउँछ भन्ने सपना स्थानीय थारूहरूले देखेका थिए । सुरुका दिनमा उनीहरूको बोली र व्यवहार पनि त्यस्तै थियो तर नेपाली कांग्रेस र एमालेसँगको सहकार्य र सहयात्राका कारण बिस्तार बिस्तारै थारूहरू पुरानै अवस्थामा फर्किन थाले । माओवादीले पनि आफूहरूलाई धोका दिए भन्ने अनुभूति उनीहरूमा हुन थाले ।

एमाले र नेपाली कांग्रेसलाई भने मधेसी दलहरूको पहुँच नभएको र आफ्नो बलियो जनाधार रहेको क्षेत्रमा माओवादीको प्रभाव बढेकोमा चिन्तित थिए । माओवादीको प्रभाव कम गर्न चाहन्थे । थारूहरू आफूलाई उपेक्षित ठानिरहेका थिए । यही असन्तुष्टिको अवस्थामा थारूहरूले महन्त ठाकुर, राजेन्द्र महतो र अमरेश सिंहहरूलाई बोलाएर एउटा कार्यक्रमको आयोजना गरे । कार्यक्रममा उपरोक्त नेताहरूले थारू युवाहरूको मनोबल र उत्साहलाई बढाउन निकै आक्रामक भाषण गरे । जसले थारू र गैरथारूबीचको फाटो बढाउने काम गर्यो । थारू आन्दोलनलाई दबाउन सरकारले पनि दमनको सहारा लियो । आक्रोशित आन्दोलनकारी थारूहरूको आक्रमणमा प्रहरीका एक उच्च अधिकारीसहित दर्जनौँ सुरक्षाकर्मी हताहत भए । रेशम चौधरीलाई त्यसको मुख्य सूत्रधार बनाइयो ।


रेशम चौधरीले आफू नेपालमै नरहेका कराण आफ्नो भूमिका नरहेको जतिसुकै सफाइदिए पनि सरकारलाई पत्यार भएन । २०७४ सालको आमनिर्वाचनमा उनी महन्त ठाकुरको पार्टीबाट चुनाव लडी जितेर संसद्मा आएपछि अधिकांश समय जेलमै बिताए तयो पनि हतकडीसहित । महन्त ठाकुरले रेशम चौधरीलाई न्याय दिलाउन नसकेको आरोप लगाउँदै रेशम चौधरीका समर्थकहरूले छुट्टै नयाँ दलको गठन गरे ।

२०७९ सालको आमनिर्वाचनमा यसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४ सिट जितेको छ । सुदूरपश्चिम प्रदेशसभामा पनि यसको संख्या महत्वपूर्ण छ । देशमा थारूहरूको छुट्टै पार्टी नरहेको तथा तराई मधेसमा कुनै एक जातिमा थारूकै संख्या बढी रहेकाले यो पार्टी सजिलै कमजोर हुने अवस्था छैन । पार्टीभित्र अन्तरकलह बढी छ तथापि थारू नेताको पार्टी भएकोले यो पार्टी थारूहरूमा आफ्नो प्रभाव बढाउन सक्नेछ ।

जनमत पार्टी पनि नागरिक उन्मुक्ति पार्टीजस्तै कुनै प्रष्ट राजनीतिक एजेन्डासहित अस्तित्वमा आएको होइन । नागरिक उन्मुक्ति पार्टी केबल ठूला दलहरूबाट भएको उपेक्षा, असमान व्यवहार एवं भेदभावका कारण अस्तित्वमा आएको हो भने जनमत पार्टी स्थापित मधेसी राजनीतिक दलहरूको कमी कमजोरीलाई औँल्याउँदै अस्तित्वमा आएको हो । सुरुमा नेपाललाई देश नै मान्दैनौँ र मधेस एउटा स्वतन्त्र देश हो भन्दै स्वतन्त्र मधेस गठबन्धन खोलेको यस पार्टीले २०७८ सालको मंसिरतिर भएको उपनिर्वाचनमा भाग लिँदै अन्य दलहरूको सूचीमा सामेल भएको हो ।

जनमत पार्टीसित पनि कुनै प्रष्ट आर्थिक, सामाजिक र राजनीतिक एजेन्डा छैन । यसको लक्ष्य भनेको स्थापित मधेसी राजनीतिक दलहरूको कमीकमजोरीलाई औँल्याउनु र त्यसलाई कमजोर बनाउँदै त्यसको जनाधार आफूतिर तान्नु हो । डा. सिके राउत सबैभन्दा बढी प्रहार उपेन्द्र यादवको जनता समाजवादी पार्टीमाथि गरिरहेका छन् । मधेस प्रदेशमा यादव गैर यादवको नारा दिएर समाजमा जातीय विद्वेष फैलाउने र गैर यादवको समर्थन आफू हात पार्ने रणनीति बनाएको छ । तराई–मधेसमा सबैभन्दा बढी जनसंख्या भएको थारू जातिको मत आफूतिर आकर्षित भए यादव मतको विकल्प सजिलै प्राप्त गर्न सकिने यस पार्टीको अनुमान रहेको छ ।

अहिले थारू मतदाताहरू देशका प्रायः सबैजसो ठूला दलहरूको उपेक्षापूर्ण व्यवहारबाट दुःखी छन् । नागरिक उन्मुक्ति पार्टीसँगको एकीकरणले जनमतलाई लाभ पुग्नेछ । हुन त अहिले बहुसंख्यक नेपाली जनता स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारको कामकाजबाट दुःखी देखिन्छन् । कमिसन र भ्रष्टाचारका कारण देशको अपेक्षित विकास हुन सकिरहेको छैन । निर्वाचित जनप्रतिनिधिहरू माथि पनि जनताको विश्वास छैन । जनतामा नैराश्यता छ, आक्रोश र घृणाको भाव छ । चाहे ठुला दलहरू होउन् अथवा मधेसी दलहरू अवस्था सबैको एकनाश नै छ ।

गरिबी, बेरोजगारी र महँगीबाट त्रसित जनता कुनै ठूलो राहतको अपेक्षामा छन् । विगत केही समय यतादेखि मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार पनि छ तर सरकारको कामकाजबाट जनता खुसी छैनन् । यस अवधिमा जनमत पार्टीले संघीय सरकारमा पनि सहभागिता जनाइसकेको छ तर उसका मन्त्रीहरूले पनि कुनै उल्लेख्य काम गरेको उदाहरण छैन ।

भोलिका दिनमा जनमतले बहाना बनाउने आधार पनि हुने छैन । साढे २ वर्षमै सबै दलसँग मिलेर यसले सरकार बनाइसकेको अवस्था छ । यस एकीकरणबाट तराई–मधेसका जनतालाई लाभ हुन सक्ने अवस्था छैन । यो एकीकरण पनि धेरै लामो समयसम्म जाने सम्भावना देखिँदैन । किनभने मधेसी दलको नेताहरूमा धैर्य, सन्तोष र त्यागको अभाव छ ।

प्रतिक्रिया