आन्दोलनद्वारा पार्टी निर्माणमा एकीकृत समाजवादी

प्रतिगामी र व्यवस्था विरोधीहरूले जतिसुकै हल्ला र भ्रमको खेती चलाए पनि दक्षिण एसियाकै खुसी मान्छे नेपालीहरू छन् । केही मान्छेहरूको समकालीन चेतना नै अस्थिर छ । केही न केही फन्डा नगरी बस्नै नसक्ने खालको छ । पटकपटक व्यवस्था परिवर्तनको पक्षमा जनता उभिनु हुँदैन ।

धनराज वास्तविक

नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकास र बिस्तार हुँदै गरेको पार्टी हो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) । विचार, सिद्धान्त र कार्यक्रमका हिसाबले यो पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो भन्नेमा दुई मत छैन । संगठनलाई बिस्तार गर्नु, जनतालाई समाजवादको यात्रामा संक्रमण गराउनु गणतन्त्रवादी पार्टीका हरनेताकार्यकर्ताको कर्तव्य हो । साथै जबाफदेही जिम्मेवारी पनि हो । एकीकृत समाजवादी पार्टीको जन्म संसद् विघटन, संविधानमाथिको प्रहार र लोकतन्त्रको घाँटी निमोठ्ने केपी ओली प्रवृत्ति जिम्मेवार रहेको कुरा सत्य हो । तत्कालीन समय २०७७÷०७८ मा दुई पटक संसद् विघटन गरेर केपी ओलीले तानाशाह बन्ने सपना देखाएका थिए । उक्त प्रयासको एकीकृत समाजवादीका नेताकार्यकर्ताहरूले कडा प्रतिवाद गरे ।

२०७८ सालको भदौसम्म आइपुग्दा नेपाली राजनीतिको नदीमा कैयन् पानी बग्यो । जसको बारेमा एउटा लेखमा व्याख्या गर्न सकिन्न । अन्ततः एकीकृत समाजवादीका क्रान्तिकारी योद्धाहरूले नयाँ पार्टी गठन गरे । पार्टीले सामाजिक न्यायसहितको समाजवादी हासिल गर्ने कुरा अघि सार्यो । ‘यात्रा समृद्धिको, लक्ष्य समाजवाद’ को भन्ने विशिष्ट नारा बोकेर पार्टी स्थापना भयो । यसरी पार्टीले पछिल्लो समयसम्म आइपुग्दा वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक कोणबाट आफूलाई निक्कै बलियो र समयसापेक्ष बनाउँदै गएको देखिन्छ ।

तत्कालीन समयमा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीले जबज नै बोक्छ भन्ने धेरैको आँकलन थियो । तर, त्यसो गरेन, बरू पार्टीले उल्टै एमाले जबज र माओवादी धारका समूहहरू माओवादको जडतामा छन् भन्ने ठोस र बस्तुनिष्ठ निष्कर्ष निकाल्यो । र, भन्यो पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद हो । जसको दीर्घकालीन रणनीतिक लक्ष्य भनेको वैज्ञानिक समाजवाद हो । समाजमा रहेका हरेक खालका उत्पीडन, अन्याय, अत्याचार, शोषण, दमनसँगै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक विभेदहरूको अन्त्य गर्दै समुन्नत मुलुक निर्माण गर्ने संकल्प गर्दै समाजवादी क्रान्तिको झण्डा उठायो ।

यसर्थ मुलुकलाई अग्रगति दिशामा लैजानका निम्ति कोही कसैले समाजवादी क्रान्तिको झण्डा बोक्नै पथ्र्यो । त्यो झण्डा एकीकृत समाजवादीले बोक्यो । जसको कारण संसद् बच्यो, संविधान जोगियो । पुनरोत्थानवादीहरूले उठाउन खोजेको टाउको निहुरियो । महत्वपूर्ण कुरा नेपालको लोकतन्त्रलाई कसैले खोस्न सक्दैन भन्ने मान्यता स्थापित गर्यो । प्रधानमन्त्रीको सनक चल्यो भन्दैमा संसद् विघटन गर्ने कुरा संवैधानिक हितमा नहुने कुरा स्थापित गर्यो ।

एकीकृत समाजवादीले जे गर्दै छ, ठिक गर्दै छ । समाजवादीले आज आन्दोलनद्वारा पार्टी बिस्तार गर्ने, समाजलाई समाजवादको गोरेटोमा हिँडाउने भनेर संकल्प गरेको छ । संसद् पुनःस्थापना गर्ने कार्यमा जसरी एकीकृत समाजवादी पार्टीले भूमिका खेल्यो, त्यसैको जगमा उभिएर भन्दै छ, ‘सुशासन, उत्पादन, रोजगारी र संविधानको कार्यान्वयन ।’

नेपाली समाजलाई समाजवादको बाटोमा लैजानका निम्ति एकीकृत समाजवादीले जुन भूमिका खेल्दै छ यसको इतिहासमा ठुलो मूल्यांकन गर्ने नै छ । आज आन्दोलनबाट पार्टीलाई व्यापक बनाउने, संविधानको कार्यान्वयन गर्न राज्यलाई सचेत गराउने, खासगरी उत्पादन रोजगारी र सुशासनको मुद्दालाई बोकेर जनताको बीचमा जाने पहिलो पार्टी एकीकृत समाजवादी बनेको छ ।

नेपाली समाजको समकालीन चेतनालाई थप परिष्कृत गर्ने, क्रान्तिकारी बनाउने, समाजवादप्रति सकारात्मक र संक्रमण गराउने कामलाई पार्टीले अघि सारेका कार्यक्रम र आन्दोलनले मद्दत गर्छ भन्नेमा दुईमत छैन । तर, पार्टीले अघि सारेका कार्यक्रमलाई नेतृत्वदेखि कार्यकर्ता पंक्तिले कसरी व्यवहारमा लागू गर्छन् ? त्यो भने पर्खाइको विषय जरूर बनेको छ ।

उत्पादन, सुशासन र रोजगारी एकीकृत समाजवादीले मुलुकको राष्ट्रिय मुद्दा बनाउनका निम्ति जनताकेन्द्रित आन्दोलन गर्दै छ । समाजवाद हासिल गर्दै जाने र समाजलाई सामाजिक न्यायको कसीमा उभ्याएरै छाड्ने एकीकृत समाजवादीका हरेक नेता कार्यकर्ताहरूको साझा संकल्प, लक्ष्य, उद्देश्य, दृढ संकल्प र संघर्ष हुन आवश्यक छ । अर्को कुरा जनताहरू पनि स्पष्ट हुन जरूरी छ ।

अन्य पार्टी एमाले, माओवादी, कांग्रेसहरूले मिसन ८४ भनिरहँदा एकीकृत समाजवादीले चुनावदेखि चुनावसम्मको कुरा नगरेर अहिले जनताको आवश्यकता के हो ? त्यसको समाधान कसरी गर्न सकिन्छ ? भन्ने बारेमा पार्टी स्पष्ट धारणा अघि सारेको छ । यो कुरालाई जनताहरूले बुझ्न जरूरी छ ।

हिजो कसले के गर्यो ? त्यो इतिहासको कुरा हो । भोलि कसले के गर्लान् ? त्यो भविष्यको कुरा हो । तर, आज गर्नैपर्ने कुरा एकीकृत समाजवादीले अघि सारेको छ । आजका जनता र वर्तमान मुलुकको राजनीतिमाथि बस्तुनिष्ठ विश्लेषण गरेर हाम्रा कदमहरू अघि बढे भने कुनै पनि प्रतिगामी तत्वहरूले समाजवादी गणतन्त्रको जग हल्लाउन सक्ने छैनन् ।

आज एकीकृत समाजवादीले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, विदेश नीति संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका निम्ति राष्ट्रिय सम्मेलन गर्ने जस्ता महत्वपूर्ण मुद्दाहरू अघि सारेको छ । जसले नेपालको समकालीन राजनीतिलाई नयाँ उचाइ त दिने नै छ । त्यसको अलवा लोकतन्त्र, समाजवादी गणतन्त्रलाई समुन्नत बनाउने काम गर्छ । यत्ति काम गर्न सकियो भने वर्तमान अवस्थामा देखिएका समस्याहरू समाधान हुनेछन् ।

किसानहरूले उत्पादन गरेको बस्तुको उचित मूल्य प्राप्त गर्ने वातावरण निर्माण नभएसम्म नेपाली कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रिकीकरण हुन नसक्ने पार्टीको निष्कर्ष छ । कृषिमा आधारित औद्योगीकरण गर्नुपर्ने महत्वपूर्ण मुद्दा पार्टीले उठाएको छ । तीन खम्बे अर्थनीतिलाई थप बलियो बनाउँदै औद्योगिक रोजगारीको सिर्जना गर्दै १० वर्षमा उत्पादन र औद्योगिकरणको पहिलो चरण पूरा गर्नुपर्ने एकीकृत समाजवादीको प्रस्ताव छ ।

त्यस्तै शिक्षामा ब्यापक परिवर्तन गर्नुपर्ने पार्टीको धारणा छ । मुलुकको समृद्धि र विकासको निम्ति व्यावहारिक र वैज्ञानिक शिक्षा नीति यसको कार्यान्वयन समाजवाद हासिल गर्नुपर्ने पूर्वसर्त हो । जसलाई लिएर पार्टीले १० वर्षभित्र आधारभूत तहदेखि उच्चतहसम्मको सार्वजनिक शिक्षालाई निःशुल्क र गुणस्तर बनाएर सार्वजनिक र निजी क्षेत्रबीचको खाडल पुर्ने पार्टीको योजना रहेको छ ।

यस हिसाबले पनि एकीकृत समाजवादीले जे गर्दैछ ठिक गर्दै छ । नेपालमा वुद्धिजीवीहरू, बौद्धिक जगत र आमनेपाली समाजले समाजवादी पार्टीले अघि सारेका एजेन्डामाथि छलफल र बहस गर्नुपर्छ । बहसमा भाग लिनुपर्छ भन्ने जोडदार विषय पार्टीले उठाएको छ ।

गणतन्त्रको विकल्प नेपाली विशेषताको समाजवाद

गणतन्त्रको विकल्प उन्नत स्तरको गणतन्त्र हो । गणतन्त्रको विकल्प नेपाली विशेषताको समाजवाद हो भन्ने कुरामा एकीकृत समाजवादी स्पष्ट छ । लोकतन्त्रमा सेवा प्रवाह र योजना कार्यान्वयनमा केही सुस्तता देखिन्छ । किनकी लोकतन्त्रले जनसहभागिता चाहन्छ । जस्तो संसद्मा प्रस्तुत विधेयकमाथि जनताको समेत राय लिने गरिन्छ । सम्बन्धित विज्ञको धारण लिने गरिन्छ । यस्ता धेरै कार्यले गर्दा सेवा प्रवाहमा केही ढिलो भएको हो । आवश्यक ऐन, नियम र नीति निर्माण जस्ता कार्यहरू सम्पन्न भए भने मुलुकले तीव्रताका साथ विकासको गति लिन्छ ।

प्रतिगामी र व्यवस्था विरोधीहरूले जतिसुकै हल्ला र भ्रमको खेती चलाए पनि दक्षिण एसियाकै खुसी मान्छे नेपालीहरू छन् । केही मान्छेहरूको समकालीन चेतना नै अस्थिर छ । केही न केही फन्डा नगरी बस्नै नसक्ने खालको छ । पटकपटक व्यवस्था परिवर्तनको पक्षमा जनता उभिनु हुँदैन । वर्तमान व्यवस्थालाई नै सुदृढ गर्ने, परिष्कृत गर्ने, खबरदारी गर्ने र राजनीतिक दलहरूलाई जिम्मेवार, जबाफदेही र पारदर्शी बनाउने र स्वयं जनता आफैँ सचेत र असल नागरिकको परिचय दिनसक्ने हुनुपर्छ ।

यत्ति भएको खण्डमा मुलुकको हविगत सुध्रिन्छ । एक वाक्यमा भन्दा २१औँ शताब्दिका जनताहरू कुनै नश्लीय वंशको दास, रैती वा प्रजा भएर बाँच्न चाँहदैनन् । चेतना सुतेका केही मानिसहरू दास वा रैती बन्ने सपना बुनिरहेका होलान् । अब पछाडि फर्किन सम्भव छैन । अहिले जनताले नेतृत्वको क्षमतामाथि, सुशासन, पारदर्शिता, जवाफदेहिता जस्ता कुरामाथि प्रश्न उठाएका हुन् । समाजवादी गणतन्त्रका विरूद्धमा होइन भन्ने कुरा पश्चगामीका मतियारहरूले बुझ्नुपर्छ ।

प्रतिक्रिया