कतिले रुघाखोकी लागेमा, ‘खास केही होइन, सामान्य रुघाखोकी लागेको हो’ भनेर हेलचेक्राइँ गर्ने गरेको पाइन्छ । रुघाखोकीलाई सामान्य ठानेर कम आँक्नु हुँदैन । यो स्वाइनफ्लू वा अन्य कुनै प्रकारको इन्फ्लुएन्जा पनि हुन सक्छ ।
पछिल्लो समयमा धेरै मानिसमा रुखाखोकी लाग्ने, ज्वरो आउनेजस्ता समस्या र संक्रमण बढेको छ । यस्ता संक्रमणले हरेक समुदायमा धेरैलाई समस्या बनाउने गरेको छ । खास गरेर रुखाखोकीको लक्षण भनेको सबैमा प्रायः एकै प्रकारका देखिने गर्छ । यसलाई जनभाषामा रुखाखोकी नै भन्ने गरिन्छ । अर्को भनेको इन्फ्लुएन्जा हो, यसलाई भने अलि गम्भीर रूपमा लिनपर्छ । इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा ‘फ्लू’ भनिन्छ । यसका लक्षणहरू सामान्यदेखि अत्यन्तै गम्भीरसम्मका हुन्छन् । यसका प्रायःजसो देखा पर्ने लक्षणहरू, उच्चज्वरो आउने, नाकबाट पातलो सिँगान बग्ने, घाँटी दुख्ने, मांसपेसी दुख्ने, टाउको दुख्ने, खोकी लाग्ने तथा थकान महसुस हुने आदि हुन् । यसका कारण विश्वभर नै लाखौँ मानिसमा जटिलता उत्पन्न भएर अस्पताल भर्ना हुने र उपचार गराउनुपर्ने अवस्था आउने गरेको छ । यसको जटिलताबाट उत्पन्न हुने समस्याका कारण विश्वमा सयौँ मानिसको मृत्युसमेत हुने गरेको छ ।
भाग्यवश, नेपालमा भने इन्फ्लुएन्जाका कारण धेरै मानिसले समस्या झेल्नुपरेको छैन । यसको समस्या धेरै उत्पन्न भएको छैन । तर, केही प्रतिशतमा भने यसको समस्या हुने गरेकोे छ । त्यसैलाई आधार मान्ने हो भने सन् २०२५ लागेसँगै इन्फ्लुएन्जाको संक्रमण देखिएको छ । आममान्छेमा यसको परीक्षण गर्ने धेरै प्रचलन छैन । त्यसैले इन्फ्लुएन्जाबाट कतिपयको मृत्यु भएको पनि हुनसक्ने कुरालाई नकार्न सकिन्न । परीक्षण नभएकै कारण कुन रोगले गर्दा मृत्यु भयो भन्ने यकिन थाहा हुँदैन । तर, इन्फ्लुएन्जा भएन होला भन्न सकिन्न ।
इन्फ्लुएन्जा भाइरस ४ प्रकारका हुन्छन्, इन्फ्लुएन्जा ‘ए’, इन्फ्लुएन्जा ‘बी’, इन्फ्लुएन्जा ‘सी’, र इन्फ्लुएन्जा ‘डी’ । ‘ए’ र ‘बी’ भाइरसले मानिसमा मौसमी महामारी निम्त्याउँछ । यसले मानिसलाई धेरै दुःख दिने गर्छ । यी भाइरस बाँकी २ भन्दा बढी जटिल प्रकारका छन् ।
यस्तै कोभिड देखिनुभन्दा अगाडि सन् २०२५ लागेसँगै फ्लूको संक्रमण बढ्दो देखिन्छ । सन् २००९ मा देखिएको स्वाइनफ्लूलाई चिकित्सकीय भाषामा एच–वान एन–वान पिडिएम–०९ भनिन्छ । यो भाइरसलाई सन् २००९ मा महामारी घोषित गरिएको थियो । त्यसबेला यसबाट संक्रमित धेरै जनाको ज्यान गएको थियो । हाल यो भाइरस सिजनल फ्लूको रूपमा नेपालमा देखिने गरेको छ । सन् २०२५ लागेसँगै हङकङ फ्लू ह्वात्तै बढेको देखिन्छ । यसलाई चाहिँ चिकित्सकीय भाषामा एच–थ्री फ्लु भाइरस भन्ने गरिन्छ ।
स्वाइनफ्लू भनेको एकप्रकारको मौसमी रुघाखोकी (सिजनल फ्लू) हो । यो पनि अहिलेको मौसममा देखापर्न सक्छ । यसको सुरुआती चरण भनेको पनि रुघाखोकी जस्ता समस्या हुन सक्छन् । त्यसैले हरेक मान्छेले रुघाखोकी लागेमा वा लामो समयसम्म ठिक नभएमा सचेत भएर उपचारमको बाटोमा लाग्नु वेश हुन्छ ।
अर्को हङकङ फ्लू यसलाई एच–थ्री फ्लू पनि भन्ने गरिन्छ । यो चाहिँ कहिले कुन कहिले कुन नाम गरेर एकपछि अर्को रूपमा नेपालमा बढी देखिने गरिएको छ । तर, एच–फाइप एन–वानचाहिँ वर्डफ्लू हो र भारततिर पनि कुखुरा र अन्य पक्षीहरूमा यो देखिने गरेको छ । यसले नेपालमा खासै असर परेको नदेखिए पनि बर्सेनि कुखुरा वा अन्य पक्षीमा यसको लक्षण देखिने गरेको छ ।
हाम्रोमा रुघाखोकी लागेमा सामान्य रूपमा लिने गरेको पाइन्छ । यसलाई सामान्य रूपमा लिन हुँदैन । यो एकप्रकारको रोगको संकेत पनि हो । कतिले रुघाखोकी लागेमा, ‘खास केही होइन, सामान्य रुघाखोकी लागेको हो’ भनेर हेलचेक्राइँ गर्ने गरेको पाइन्छ । रुघाखोकीलाई सामान्य ठानेर कम आँक्नु हुँदैन । यो स्वाइनफ्लू वा अन्य कुनै प्रकारको इन्फ्लुएन्जा पनि हुनसक्छ । त्यसैले आवश्यकता अनुसारको उपचार गर्नु आवश्यक छ । बेलैमा पायक पर्ने अस्पतालमा गएर उपचार गराइ डाक्टरको परामर्शमा औषधि प्रयोग गर्नुपर्छ । यसो गर्न सकिएन भने रुघाखोकी र भाइरलले अनेक रूप लिन सक्छ ।
नेपालमा सन् २०१९ मा पहिलोपटक १ जना व्यक्तिमा हङकङ फ्लूको संक्रमण भएको पुष्टि भयो र ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भयो । हङकङ फ्लूलाई खास गरेर मौसमी फ्लू भनेर पनि भनिन्छ । किनभने अहिलेको समय वा मनसुनको बीच भागतिर यो प्रायः सक्रिय हुन्छ । त्यस बेलाको तथ्यांक हेर्ने हो भने बिरामीको संख्या ह्वात्तै बढेको पाइन्छ । पछिल्लो समयमा स्वाइन फ्लूलाई हङकङ फ्लूले लगभग प्रतिस्थापन नै गरेको छ । त्यसले धेरै मानिस बिरामी भएर अस्पताल आउने अवस्था सिर्जना भएको देखिन्छ । यसको महत्वपूर्ण लक्षण भनेको चाहिँ निरन्तर खोकी लाग्ने, खोकी हप्तौँ वा महिनौँसम्म लम्बिने गर्छ । त्यस्ता समस्या लिएर अस्पताल आउने बिरामीहरूको संख्या पनि ठुलै छ ।
हङकङ फ्लू संक्रमितको खोकीबाट नै सर्ने हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ । कुनै पनि समुदाय वा घरमा एक व्यक्तिलाई यसप्रकारको फ्लूको संक्रमण भएमा अर्को व्यक्तिलाई सजिलै सर्ने गर्छ । खोक्दा वा संक्रमित व्यक्तिलाई छोएर आफ्नो नाक मुख छुँदा पनि संक्रमण हुन सक्छ । त्यसैले मान्छेहरूको जमघट हुने कुनै पनि कार्यालय वा भिडभाडमा यो एकबाट अर्कोमा सजिलै सर्नेगर्छ । त्यसैले यसको संकेत देखिएमा वा समस्या भएमा समयमा नै जाँच गरी उपचार गर्नुपर्छ । यसका लागि टेकु अस्पताललगायत अन्य अस्पतालमा पनि परीक्षण र उपचार हुन्छ । त्यसप्रकारको परीक्षणले चाहिँ रुखाखोकी हो कि होइन वा कुन प्रकारको हो भन्ने थाहा हुन्छ । सुरुआती परीक्षणले उपचार गर्न र परामर्श दिन पनि सजिलो बनाउँछ । रुखाखोकीको लक्षणको भनेको चाहिँ अरू धेरै रोगमा पनि असर पर्ने हुन सक्छ ।
हङकङ फ्लूको उपचारमा हामी एचआइटी भनिने एक प्रकारको औषधि चलाउँछौँ । यो अलि महँगो हुन्छ । यसको उद्देश्य भनेको चाहिँ बिरामीको अवस्था जटिल नहोस् र एक बिरामीबाट अर्कोमा संक्रमण नहोस् भन्ने हो । यसले ल्याउने जटिलता कम भएपछि मान्छेको मृत्यु हुने सम्भावना पनि कम हुन्छ नै । यो चाहिँ औषधि सहजै पाउन पनि सकिन्छ । नेपाल सरकारले विगतदेखि नै कैयौँ अवस्थाका बिरामीलाई चाहिँ यो औषधि निःशुल्क पनि दिने गरेको छ । यो चाहिँ उपचारको कुरा भयो । यसबारेमा कमै मानिसलाई थाहा भएको हुनसक्छ ।
यसबाहेक कहिलेकाहीँ कुनै बिरामीलाई एन्टिबायोटिक पनि दिनुपर्ने हुन सक्छ । त्यो भनेको चाहिँ अवस्था हेरेर र डाक्टरको परामर्शमा मात्रै दिनुपर्ने अवस्था आउन सक्छ । यसले छिट्टै निको भएको महसुस गराए पनि प्रयोग गर्दा डाक्टरको परामर्श जरुरी हुन्छ । एन्टिबायोटिक आफूखुसी प्रयोग गर्नु हँदैन ।
फ्लूका सन्दर्भमा हामीकहाँ एकदमै कम बहस हुने तर, महत्वपूर्ण कुराचाहिँ खोप हो । यस्तो धेरै मान्छेले प्रयोग गर्ने गरेका छैनन् र यसको आवश्यकताबारेमा धेरै बहस हुने गरेको पनि छैन । अर्थात् फ्लूविरुद्धको खोप सीमित मानिसको पहुँचमा छ भन्दा पनि हुन्छ । किनभने, यो कमैले प्रयोग गर्ने र यसको महत्व थाहा नभएकाले हो । तर, यो खोपचाहिँ नेपालमा पनि लामो समयदेखि उपलब्ध छ । यो वर्षमा एकपटक लगाउन सकिन्छ । यदि यो खोप लगाएमा यसले यस्ता प्रकारका संक्रमणबाट बचाउन मद्दत पु¥याउँछ । हाम्रो अनुभवले पनि यो कुरा सिद्ध गरेको छ ।
माथि उल्लेख भएका भाइरल संक्रमणको जटिलताबाट विशेषगरी, जेष्ठ नागरिक, दीर्घ रोगी र प्रतिरोधात्मक क्षमता कम भएका, गर्भवती महिला र बालबालिकालाई बढी जोखम हुने गरेको छ । तसर्थ धेरै मानिसमा भने औषधि नै उपचार हो भन्ने छ । तर, जुन जटिल समूह हुन्छन् उनीहरूले चाहिँ समयमा नै डाक्टरसँग परामर्श लिनपर्ने हुन्छ । समयमा नै त्यसबारेमा ध्यान दिन सकिएन र हेलचेक्राइँ गरियो भने यसले निकै जटिल बनाउन सक्छ । त्यस बारेमा सबैले सचेत हुनै पर्छ । अझ यति बेलाको मौसममा भने सबैले ध्यान दिनैपर्ने हुन्छ ।
अहिले पनि कैयाँै मानिसमा रुखाखोकी सामान्य हो भन्ने सोचाइ छ । जोखिम समूहमा रहेका मानिसले विशेष ध्यान दिनुपर्छ । यस्ता लक्षण देखिएमा वा लामो समयसम्म रुखाखोकी लागेमा कसैले पनि चुपलागेर घरमा बस्न हुँदैन । यसका साथै अरू जो कोहीलाई पनि ८–१० दिनसम्म पनि निरन्तर रुघाखोकी लागेमा घरमा चुपलागेर बस्न हुँदैन उहाँहरूले पनि उपचारको खोजी गर्नुपर्ने हुन्छ । रुघाखोकीलाई सामान्य ठानेर कम आक्नु हुँदैन । यसको हेलचेक्राइँले पनि समस्या बढेको हो । यसबारेमा आफू पनि सचेत हुने र अरूलाई पनि सचेत पार्नुपर्ने हुन्छ ।
रुघाखोकीको घरेलु उपचारमा चाहिँ तातोपानी, झोलीलो खाना र सरसफाइमा ध्यन दिनुपर्छ । यस्तो अवस्थामा डिहाइडे«सन पनि हुन सक्ने भएकाले तातो झोल खाना प्रसस्त खानुपर्छ । यस्तै माक्स प्रयोग गर्ने, भिडभाडबाट टाढा बस्ने गर्नुपर्छ ।
(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको रिसर्च युनिट प्रमुख हुन् ।)
प्रतिक्रिया