युरापेली नेसन्स कप : स्पेन, फ्रान्स, जर्मनी र पोर्चुगल सेमिफाइनलमा

पेरिस । विश्व फुटबलका परिचित शक्ति स्पेन, फ्रान्स, जर्मनी र पोर्चुगल युरापेली नेसन्स कपको सेमिफाइनलमा प्रवेश गरे । आइतबार राती भएको खेलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ५–४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको क्वार्टरफाइनलको दोस्रो लेग पनि ३–३ गोलको बराबरीमा सकिएको हो । सो खेलको नियमित समय २–२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि १–१ गोल भएको थियो ।

सो खेलमा नेदरल्यान्ड्सका स्टार नोहा लाङ तथा स्पेनका लामिन यमाल दुवैले पेनाल्टी खेर फालेका थिए । सडन डेथमा स्पेनका गोलरक्षक युनाइ सिमोनले नेदरल्यान्ड्सका डानियल मेलोनको प्रहार बचाए भने स्पेनका पेड्रीले गोल गरे ।

नियमित समयमा माइकल ओयरजबालको २ गोलमा स्पेनले २ पटक नै अग्रता लिएको थियो । नेदरल्यान्ड्सका लागि मेम्फिस डेप्लेले पेनाल्टीमा पहिलो गोल गरे भने इयान माटेसेनले ८१औँ मिनेटमा बराबरी गोल गरे । अतिरिक्त समयमा यमालले फेरि स्पेनलाई अग्रता दिलाए पनि जाभी सिमोन्सले नेदल्यान्ड्सका लागि गोल गरेका थिए । स्पेनको सेमिफाइनल भिडन्त फ्रान्ससँग हुने छ ।

सेमिफाइनल प्रवेशको क्रममा फ्रान्सले पनि आइतबार राती ट्राइबेकरमा क्रोएसियालाई ५–४ ले हराएको हो । क्वार्टरफाइनलको पहिलो लेगमा २–० ले पराजित फ्रान्सले आइतबार राति भएको खेलमा सोही अन्तरको जित हात पारेको हो ।

अतिरिक्त समयमा कुनै गोल नभएपछि भएको टाइब्रेकरमा फ्रान्सले ५–४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । दोस्रो लेगमा फ्रान्सका लागि माइकल ओलिसे र ओसमाने डेम्बेलेले गोल गरे ।
टाइब्रेकरमा फ्रान्सका गोलरक्षक माइक मागनानले मार्टिन बाटुरिनाको प्रहार बचाएका थिए ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले १ गोल गर्नुका साथै पेनाल्टी गुमाएको खेलमा डेनमार्कलाई हराउँदै पोर्चुगल युरोपेली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु भूमिमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगल ३–२ ले विजयी भएपछि एग्रिगेट स्कोर ३–३ भएको थियो । पहिलो लेगमा डेनमार्क १–० ले विजयी भएको थियो ।

बराबरी पछि थपिएको समयमा पहिलो मिनेटमा नै फ्रान्सिस्को ट्रिन्काओले पोर्चुगलका लागि गोल गरे । वैकल्पिक खेलाडी गोन्कालो रामोसले अर्को गोल गरे ।

खेलको सुरुआतमा नै पोर्चुगलले पेनाल्टी पाएको थियो । डेनमार्कका गोलरक्षक कास्पर स्केइमेलले रोनाल्डोको पेनाल्टी प्रहार बचाउन सफल भए । ३८औँ मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नर क्लियर गर्ने क्रममा डेनमार्कका रक्षक जोचिम एन्डरसनले आफ्नै पोस्टमा प्रहार गरे । ५६औँ मिनेटमा रामोस क्रिस्टेन्सनले डेनमार्कका लागि गोल गरे ।

खेलको ७२औँ मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि अर्को गोल गरेका थिए । त्यसको ४ मिनेटपछि नै क्रिस्चियन इरिक्सनले गोल गरेपछि डेनमार्क एग्रिगेटमा फेरी अघि बढेको थियो । ट्रिन्काओले ८६औँ मिनेटमा डेनमार्कका लागि गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए । पोर्चुगलले सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ । इटालीलाई एग्रिगेटमा ५–४ ले हराउँदै जर्मनी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया