नेपाली खेलाडीहरूको बिदेसिने क्रम बढ्दो

करिब ३०० खेलाडी युरोप, अस्ट्रेलियादेखि खाडीसम्म

काठमाडौँ । पछिल्लो समय नेपालबाट खेलाडी विदेश पलायन हुने क्रम बढेको छ । आधिकारिक रूपमा कतै एकिन तथ्यांक नभए पनि विगत २ वर्षयता विभिन्न खेलका राष्ट्रिय टोलीकै ३०० भन्दा बढी खेलाडी पलायन भएको अनुमान खेल क्षेत्रका जानकारहरूको छ ।

कराँते राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार राष्ट्रिय टोलीकै १० जनाभन्दा बढी खेलाडी पछिल्ला २ वर्षमा बिदेसिएका छन् । फुटबल, भलिबल, तेक्वान्दोलगायत अन्य खेलको तुलनामा विदेश पलायन हुने कराँते खेलाडीको संख्या कम रहेको उनको दाबी छ ।

नेपालबाट बिदेसिनेमा सबैभन्दा धेरै खेलाडी फुटबल, तेक्वान्दो र भलिबलका छन् । पछिल्लो समय ब्याडमिन्टनका पनि धेरै खेलाडी बिदेसिएका छन् । नेपालका प्रायः युवाको गन्तव्य स्थल अस्ट्रेलिया र युरोपेली देश भएझैँ खेलाडीको गन्तव्य पनि यसभन्दा पर छैन ।
बिदेसिने खेलाडीमा भलिबलकी सरस्वती चौधरी, टेकराज अवस्थी, मानबहादुर श्रेष्ठ, प्रतिभा माली र विशाल विकलगायत छन् । यसै वर्ष बिदेसिनेको सूचीमा मुक्केबाज संगीता सुनार पनि थपिइन् । धेरै नेपाली खेलाडीको गन्तव्य र रोजाइ भने युरोप र अस्ट्रेलिया नै बनेको छ । अरब देशमा भने नेपालका विभागीय टोलीमा आबद्ध खेलाडीको आकर्षण बढी छ ।

२ वर्षअघि नै अस्ट्रेलिया गएका राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सन्तोष तामाङ उतै बसे । त्यसपछि राष्ट्रिय टोलीमै रहेका विमल राना, हेमन्त थापा मगर, आशिष लामा, सुमन लामा, दर्शन गुरुङ र नवीन गुरुङसहित गरी ७ जना नाम चलेका फुटबलर अस्ट्रेलिया भासिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेलेका वसन्त रेग्मी र पृथु बास्कोटा हाल अमेरिकामा छन् । अर्का क्रिकेटर नरेश बुढाएर क्यानडा पलायन भए । राष्ट्रिय भलिबल टिमकी कुनै बेलाकी चर्चित खेलाडी रमिला तण्डुकार केही वर्षदेखि अमेरिकामै छिन् । उनीहरू बिदेसिएको धेरै वर्षअघि नै हो । न्यु डाइमन्ड स्पोर्ट्स एकडेमीका प्रशिक्षक कुमार राईका अनुसार रमिला बिदेसिएको करिब १ दशक भइसकेको छ । प्रतिभा मालीको प्रसंग भने फरक हो । अस्ट्रेलियामा स्पोर्ट्स साइन्स अध्ययन सकेर नेपालमै न्यु डाइमन्डलाई अझ बलियो बनाउने लक्ष्यसहित उनी अस्ट्रेलिया गएको प्रशिक्षक कुमार बताउछन् ।

खेलाडीको ठुलो हिस्सा नै बिदेसिएर राष्ट्रिय टोलीमै समस्या आएको खेल भने तेक्वान्दो हो । १३औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता टोलीका १२ जना बिदेसिएपछि नेपाली तेक्वान्दो राष्ट्रिय टोली नै धरमराएको थियो । तेक्वान्दो खेलाडी बिदेसिन प्रोत्साहन गर्ने त्यतिबेलाको तेक्वान्दो संघमा मौलाएको विवाद पनि हो । यद्यपि सो विवाद हाल पनि कायमै रहेको बताइन्छ ।
त्यसो त मार्सल आर्टमा पनि खेलाडी बिदेसिने क्रम बढ्दो छ । राष्ट्रिय टोलीबाहेकका खेलाडीको पनि अन्तर्राष्ट्रिय निकायमा माग धेरै भएका कारण बिदेसिने क्रम अत्यधिक बढेको हो । तेक्वान्दो प्रशिक्षक हिरा थापाकै मतमा पनि क्यासिनो र अन्य क्षेत्रको सुरक्षा निकायमा मार्सल आर्टिस्टको माग बढी छ ।

यसका अन्य कारण जे भए पनि नेपाल र खेलाडी पलायन भएका अन्य देशको अर्थतन्त्रमा रहेको खाडल नै मूल विषय भएको नकार्न मिल्दैन । खेलाडीमात्र होइन, पछिल्लो पुस्ताका लगभग सबै क्षेत्रका व्यक्तिमा पश्चिमा देश र अस्ट्रेलियाप्रतिको आकर्षण चरमचुलीमा छ । विगतको तुलनामा पछिल्लो युवा पुस्तामा औपचारिक अध्ययन पनि बढी भएका कारण उनीहरूलाई बिदेसिन थप सहज भएको छ ।

त्यसो त विकसित राष्ट्रहरूले सुरक्षा निकायमा नेपालीप्रति गर्ने विश्वास र आकर्षणले पनि यसमा बल पुर्याएको देखिन्छ । खाडी मुलुकहरूको सुरक्षा निकायमा नेपाली युवाको बाक्लो उपस्थिति छ, त्यसमा पनि खेलाडीहरूले उच्च प्राथमिकता पाउने गरेका छन् । नेपालका विभिन्न विभागीय टोलीमा धेरै खेलाडी रहेका कारण उनीहरूको खाडी मुलुकको सुरक्षा निकायमा प्रवेश अत्यन्त सहज छ ।

नेपाल प्रहरी र नेपाल एपिएफ पृष्ठभूमिका करिब १०० जना खेलाडी संयुक्त अरब इमिरेट्सको सुरक्षा निकायमा कार्यरत रहेको अनुमान छ । यी खेलाडीको सूचीमा विगतमा नाम चलेका मुक्केबाज प्रमिला पाण्डेदेखि एथ्लेटिक्सकी केशरी चौधरीसम्म छन् ।

स्रोतका अनुसार पहिलेको तुलनामा विदेश पलायनको परम्परा अहिले फेरिएको छ । विगतमा ठुला प्रतियोगितामा सहभागी हुन गएर उतै बस्ने चलन थियो भने पछिल्लो पुस्तामा वर्किङ भिसा तथा स्टुडेन्ट भिसामा विदेश जाने र उतै ‘सेटल’ हुने प्रचलन बढी छ ।
अन्य खेलभन्दा मार्सल आर्टसँग सरोकार राख्नेहरू विदेशी भूमिमा छाएका छन् । नेपालका तेक्वान्दो मास्टर कृष्णबहादुर बलालले अमेरिकामा पनि तेक्वान्दो स्कुल चलाएका छन् ।

यसैगरी, दिवाकर डान महर्जनले पनि तेक्वान्दो स्कुल सञ्चालन गरेको धेरै वर्ष भइसकेको छ । १ दशकअघि नै अमेरिका पुगेका जुडोका प्रशिक्षक राजेश कर्माचार्यले एकेडेमी त चलाए नै, उनी अमेरिकी जुडोको निर्णायकहरूको राष्ट्रिय प्यानलमा समेत छन् । उनले अमेरिकाको प्रतिनिधित्व गर्दै उत्तर अमेरिकी तथा क्यारेबियन क्षेत्रका धेरै प्रतियोगितामा आफूलाई सक्रिय राखेका छन् ।

प्रतिक्रिया