एमाले नेतृत्वमा विद्या भण्डारीको अपरिहार्यता

हिजो नेतृत्व हस्तान्तरणको मुद्दाको नेतृत्व उहाँ (ओली)ले नै गर्नुभएको हो । पार्टीभित्र लोकतान्त्रीकरणको अभ्यासको नेतृत्व पनि उहाँले गर्नुभयो । अब उहाँ ७० वर्षभन्दा बढी भइसक्नु भयो । एउटै व्यक्तिले राल, सिंगान काडुञ्जेलसम्म पनि नेतृत्व गरिरहनु हुँदैन । नयाँ पुस्तालाई दिनुपर्छ । एमालेमाथि कुनै संकट आउन दिनु हुँदैन । सहज ढंगले ओलीले अरूलाई नेतृत्व हस्तान्तरण गर्छु भन्ने बित्तिकै साझा व्यक्ति विद्या भण्डारी हो ।

कर्णबहादुर थापा

हरेक राजनीतिक व्यक्तित्वका भिन्न भिन्न पृष्ठभूमि हुन्छन् । कुनै व्यक्ति संघर्षको माध्यमबाट, आन्दोलनको अगुवाई गरेर नेता बनेका हुन्छन् । कोही लामो योगदान गरेर जेलनेल खाएर, दुःख कष्ट सबै बेहोरेर । कति व्यक्तिचाहिँ समय, परिस्थिति र आवश्यकताबीचबाट नेता बनेर उदाउँछन् । अर्थात् कोही रहरले त कोही आवश्यकता र परिस्थितिले अगाडि आउँछन् । यसरी समय र परिस्थितिले खोजिएको व्यक्तिमा विद्या भण्डारी हुनुहुन्छ ।

विद्या भण्डारीको राजनीतिमा प्रवेश नै मदन भण्डारीको हत्या भएपछि कठिन परिस्थितिमा भएको थियो । मदन भण्डारी रहनुभएको अवस्थामा राजनीतिमा लागेर कुनै पदीय आकांक्षा नपालेको व्यक्ति हो, विद्या । उहाँमा कुनै पनि पदीय आकांक्षा थिएन । तर राजनीतिक चेतना थियो । राजनीतिमा योगदान गर्नुभएको थियो । मैले योगदान गरेको कारणले मैले कुनै राजकीय पद पाउनुपर्छ, मलाई ओहोदा चाहिन्छ भन्ने वा ओदोहा र पदसँग आफ्नो योगदानलाई साट्ने त्यसप्रकारको सोच उहाँको थिएन । उहाँ बाध्यताको परिस्थितिमा मदनको हत्यापछि राजनीतिमा आउनुभयो ।

२०५० सालताका काठमाडौं क्षेत्र नं. १ कांग्रेसको पकड भएको क्षेत्र थियो । कृष्णप्रसाद भट्टराई, नेपाली राजनीतिको अत्यन्त प्रिय व्यक्ति, अन्तर्राष्ट्रिय जगतमा पनि चिनिएको र कांग्रेसभित्र सबैको प्रिय व्यक्ति हुनुहुन्थ्यो । त्यस्तो प्रख्याति प्राप्त व्यक्तिसँग उहाँलाई चुनाव लडाइयो । उहाँको इच्छाले होइन । पार्टीले उहाँलाई अगाडि सार्दा राम्रो हुन्छ, पार्टीको इज्जत जोगिन्छ, मदन भण्डारीको विरासत जोगिन्छ भनेर उहाँलाई नसोधीकन पार्टीले घोषणा गर्यो । त्यस परिस्थितिमा उहाँको नेपाली राजनीतिमा प्रवेश भयो ।

२०७२ जेठमा नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी)का बीचमा १६ बुँदे सहमति भएको थियो । त्यही १६ बुँदे सहमतिको जगमा संविधान लेखियो । त्यसक्रममा पावर सेयरिङको पनि सहमति भएको थियो– प्रधानमन्त्री एमालेलाई, राष्ट्रपति नेपाली कांग्रेसलाई र प्रतिनिधि सभाको सभामुख माओवादी केन्द्रलाई भन्ने सहमति थियो । विद्याले कहिले पनि राष्ट्रपति हुने सपना देख्नुभएको थिएन । आकांक्षा पनि थिएन । तर भारतले कांग्रेसलाई ब्याक गरायो । त्यसपछि राष्ट्रपति बन्नुपर्ने सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइयो । अचानक एकदिनको बीचमा नयाँ परिस्थिति सिर्जना भयो अब के गर्ने त ? को हुने भन्ने सन्दर्भमा त्यो बेलाको जटिल राजनीतिक परिस्थिति र नेतृत्वका बीचको टक्करलाई सहजीकरण गर्ने, मिलाउने, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उहाँको कुरा मान्ने, नेपाली कांग्रेसले पनि उहाँको कुरा मान्ने विशिष्ट खालको परिस्थिति थियो, जुन कुरा बाहिर आएको छैन । त्यसैले साझा व्यक्तिको रूपमा विद्या भण्डारीलाई अगाडि सारियो । उहाँलाई त्यो कुराको कुनै अत्तोपत्तो थिएन । सपना पनि थिएन । चाहना पनि थिएन । समयले ल्यायो । उहाँको नेपाली राजनीतिमा प्रवेश पदलोलुपताको कारण भएको होइन । परिस्थितिले उहाँको माग गरेको छ र आजसम्म त्यो माग यथावत छ ।

ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ

एमालेमा अध्यक्ष केपी शर्मा ओली अहिले सर्वेसर्वा हुनुहुन्छ । उहाँलाई हामीजस्ता मनले मान्ने छौँ । मुखले मान्ने पनि थुप्रै छन् । तर उहाँको उमेर घर्कंदै गयो । उहाँले धेरैपल्ट नेतृत्व गरिसक्नु भयो । एउटा राजनीतिक व्यक्तिले लामो अवधि नेतृत्व गर्ने होइन कि उसले नेतृत्व गरेको बेलामा गर्नुपर्ने केही महत्वपूर्ण काम हुन्छन् नि ! ओलीले आफ्नो जीवनमा गर्नुपर्ने धेरै महत्वपूर्ण काम गरिसक्नु भयो । राष्ट्रको स्वाभिमान उँचो राख्नका निम्ति, राष्ट्रियताको प्रवद्र्धन गर्नका निम्ति, एमालेलाई सशक्त, बलियो र शक्तिशाली पार्टी बनाउनका निम्ति एउटा व्यक्तिले गर्ने त्यति न हो । उहाँले सबै गरिसक्नु भयो । अब उहाँ नहुँदा त्योभन्दा पछि साझा व्यक्तित्व, सबैले मान्ने विद्या भण्डारी हुनुहुन्छ । अहिले केपी ओली विस्थापन गरौँ भन्ने होइन । केपी ओलीले स्वेच्छिक रूपमा अब नेतृत्व हस्तान्तरण गर्ने बेला आयो । हिजो नेतृत्व हस्तान्तरण मुद्दाको नेतृत्व उहाँले नै गर्नुभएको हो । पार्टीभित्र लोकतान्त्रीकरणको अभ्यासको नेतृत्व पनि उहाँले गर्नुभयो । नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, सहज ढंगले अगाडि बढाउनका निम्ति पनि उहाँले नै भूमिका खेल्नुभयो ।

त्यसका कारण एमालेभित्र सातौँ राष्ट्रिय महाधिवेशनपछि सहज ढंगले नेतृत्व हस्तान्तरण गर्नका निम्ति एउटा व्यक्ति एउटा पदमा २ कार्यकालभन्दा बढी नरहने व्यवस्था गरियो । अर्को, उमेरहद ७० वर्ष राखियो । यो कुराको नेतृत्व उहाँले नै गर्नुभयो । अब उहाँ ७० वर्षभन्दा बढी भइसक्नु भयो । फेरि कुनै बेलामा उहाँले नेतृत्व गर्नुपर्यो भने त ८० वर्षसम्म उहाँले नेतृत्व गर्नुपर्ने हुन्छ । उहाँ एउटै व्यक्तिले राल, सिंगान काडुञ्जेलसम्म पनि नेतृत्व गरिरहनु हुँदैन । नयाँ पुस्तालाई दिनुपर्छ । मूल नेतृत्वले अभिभावकीय भूमिका खेल्नुपर्छ भन्ने कुरालाई नेपाली राजनीतिमा स्थापित गर्ने व्यक्ति उहाँ नै हुनुहुन्छ । उहाँले नेतृत्व छाड्न मान्नुहुन्छ । उहाँले त्यो कुरा सोचिरहनुभएको छ । एमालेमाथि कुनै संकट आउन दिनु हुँदैन र सहज ढंगले ओलीले अरूलाई नेतृत्व हस्तान्तरण गर्छु भन्ने बित्तिकै साझा व्यक्ति विद्या भण्डारी हो ।

यसकारण आवश्यक छ विद्याको नेतृत्व

यति लामो इतिहास भएका पार्टीले आजसम्म महिला नेतृत्व दिन सकेका छैनन् । अन्य कुनै प्रमुख पार्टीभित्र तत्कालै बन्न सक्ने अवस्था पनि छैन । सहज ढंगले स्वीकार्य हुने व्यक्ति एउटा उहाँ हुनुहुन्छ । सिंगो नेपाली महिलाहरूको योगदानको कदर, सम्मान गर्नका निम्ति पनि उहाँ आवश्यक छ । यहाँ नेतृत्वमा उहाँ हुनुभएन भने नेपालको राजनीतिमा लामो समयसम्म कोही पनि अरु पार्टीबाट प्रमुख हुने सम्भावना छैन । अर्को, उहाँले जनताको बहुदलीय जनवादलाई गहिरो गरी आत्मसात गर्नुभएको छ । एमालेले अघि सारेको मुख्य विचार, नेपाली क्रान्तिको मौलिक र विशिष्ट भनेका छौँ, त्यो सिद्धान्त उहाँले गहिरो गरी पक्रिनुहुन्छ । त्यसलाई अभ्यास गर्नुहुन्छ ।

ओलीले पार्टी लोकतान्त्रीकरणको अभियानलाई अगाडि बढाउनुभएकै फलस्वरूप एमाले अहिले लोकप्रिय पार्टी बनेको छ । त्यसो गर्न महत्वपूर्ण भूमिका खेल्ने, सहयोग गर्ने व्यक्ति विद्या भण्डारी नै हो । त्यो कुरा ओलीलाई राम्रो जानकारी छ । पार्टीपंक्ति जानकार छ । विचारको नेतृत्व उहाँले गर्नुहुन्छ । नेतृत्व हस्तान्तरण योग्य, योगदान भएको र विश्वसनीय व्यक्तिलाई गर्ने हो । उहाँबाट पार्टीभित्र कहिल्यै कसैलाई धोका हुँदैन । उहाँको निष्ठा, इमानदारीमाथि कसैले प्रश्न उठाएका छैनन् । त्यो विश्वास अध्यक्ष ओलीलगायत सम्पूर्ण पार्टी पंक्तिको छ । उहाँ नेतृत्वमा भएमा नीति, विचार र विश्लेषणको निरन्तरता हुन्छ ।

ओली हुनु र भण्डारी हुनुमा विचारमा त्यतिधेरै फरक छैन । किनकी ओली हुँदा उहाँ कतिपटक भइरहने भन्ने प्रश्न उठ्ने भयो । उहाँलाई पद लोलुपताको प्रश्न उठ्न सक्ने भयो । महिला पनि, उमेर पनि भएको र कुनै लोभ, लालच पनि नभएको र इमानका साथ काम गरेको कारणले उहाँ आवश्यक छ । उहाँ राष्ट्रियताको पक्षमा एकदम दृढतापूर्वक उभिने व्यक्ति हो । देश र लोकतान्त्रिक परिपाटीलाई धोका दिनुहुन्न । अहिलेको संविधानको अक्षरशः पालना गर्नुहुन्छ र त्यसको रक्षा पनि गर्नुहुन्छ । लोकतन्त्र, राष्ट्रियता, समाजप्रति र पार्टीप्रति उहाँ समर्पित व्यक्ति हो ।

वाम–प्रजातान्त्रिक सहकार्य र वामपन्थी एकताका लागि विद्या

पछिल्ला दिनमा नेपाली राजनीति ध्रुवीकरणतर्फ गइराखेको छ । धु्रवीकरण रोकेर रोकिँदैन, त्यो अनिवार्य छ । वाम–प्रजातान्त्रिक सहकार्य पनि आवश्यक छ । नेपालमा कांग्रेस, एमाले, माओवादी नमिलेको भए गणतन्त्र आउने थिएन । यी सबै शक्तिहरू एक ठाउँमा आउनुपर्छ र इमानदारीपूर्वक अगाडि बढ्नुुपर्छ । तिनीहरू बीचको सहकार्य सहज हुनुपर्छ । स्वीकार्य नेतृत्व पनि हुनुपर्छ । कांग्रेस समेतलाई पनि सहकार्य गरेर अगाडि बढाउन विद्या भण्डारी साझा व्यक्तित्व हो ।

नेपालमा कसैले कसैलाई स्वीकार नगरे पनि वामपन्थी मतको बाहुल्य छ । तर वामपन्थी मत विभाजित रहेको अवस्थामा छ । यो जनमतलाई एकतावद्ध पार्नका निम्ति निकै लामो समयदेखि पुष्पलालले प्रयास गर्नुभयो सक्नुभएन । मनमोहन, मदन भण्डारीले प्रयास गर्नुभयो, सक्नुभएन । पछि केपी–प्रचण्डको पालामा प्रयत्न त सफल भयो, तर टिकाउ हुन सकेन । टिकाउ हुन नसक्नुमा राजनीतिक कारणभन्दा व्यक्तित्वको टक्कर बढी थियो । अब सहज ढंगले एकअर्कालाई स्वीकार गर्ने व्यक्तित्व भयो भने त्यो काम पनि सम्पन्न हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा लाग्ने हरेक मान्छेको बाँकी रहेको अभिभारा हो त्यो । यो अभिभारा पूरा गर्नु छ, त्यसका लागि सर्वस्वीकार्य व्यक्तिका रूपमा विद्या भण्डारी हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय जगतमा विश्वसनीय व्यक्तित्व

विद्याको नेतृत्व केवल एमालेका लागि मात्रै होइन । अहिले गणतन्त्रका विरुद्ध यत्रो हल्लाखल्ला भइरहेको छ । अध्यक्ष ओली परराष्ट्र सम्बन्धका विषयमा स्पष्ट व्यक्ति हो । तर, उहाँ जति स्पष्ट भए पनि अहिले एउटा छिमेकी उहाँसँग अति धेरै पूर्वाग्रही बनेको अवस्था छ । जति पूर्वाग्रही विद्या भण्डारीप्रति छैन । ओलीप्रति मित्रराष्ट्र चीनको विश्वास त छँदै छ । भारतसँग एउटा विशिष्ट कारणले गर्दा बनेको हो । त्यस्तै अर्को विश्वसनीय व्यक्ति को हुन सक्छ त भन्दा हिजो गिरिजाप्रसाद कोइरालालाई अन्तर्राष्ट्रिय उचाइ भएको व्यक्तिको रूपमा अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेको हो । अहिले माधव नेपालप्रति पनि विश्वास छैन । प्रचण्डप्रति पनि विश्वास छैन । केपी ओली बर्हिगमन हुनुपर्ने परिस्थितिका कारणले अलग खालको स्थिति रह्यो । नेपालको राजनीतिमा यी छिमेकीहरू र अन्य शक्ति राष्ट्रहरूले पनि विश्वसनीय व्यक्ति खोजिरहेको छ । त्यो विश्वसनीय व्यक्ति पनि उहाँ हुन सक्नुहुन्छ । उहाँको सबैसँग सौहार्द सम्बन्ध छ । र उहाँको अडान स्पष्ट छ । व्यक्तित्व स्वीकार्य छ ।

ओलीले दिनुपर्छ विकल्प

हामीले महाधिवेशनमा निर्वाचन नै लड्नुपर्छ भन्ने सोचेका छैनौँ । जब सहजै समाधान हुने स्थितिमा छ भने जबर्जस्ती मुठभेडतर्फ लैजाने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, विभाजनको रेखा कोर्न आवश्यक छैन । केपी शर्मा ओलीले अब विकल्प दिनुपर्छ । मैले अगाडि सार्दा उहाँको भनेर एउटा शब्द भन्न बित्तिकै अहिले केही मान्छेले त्यो हुनै सक्दैन भनेर भनिरहेका छन् ती सबभन्दा पहिले दौडिएर गएर मैले त उहिल्यैदेखि यो कुरा सोचेको थिएँ, हुनुपर्ने यहीँ हो भनेर भन्नेवाला छन् । चुनाव नै गर्नुपर्दैन । उहाँपछि विष्णु पौडेल वा शंकर पोखरेलको मुख्य रूपमा चर्चा हुन्छ । स्वयं विष्णु पौडेलदेखि लिएर एमाले पदाधिकारीको ठुलो पंक्ति विद्या आउनुभयो भने सहज ढंगले स्वीकार्य हुन्छ हाम्रो लागि पनि भन्छन् । टक्करमा किन जाने, त्योभन्दा पछि समय आउला, पालो आउँला । हामीले मान्नुपर्छ । पार्टी हितमा हुन्छ । हामी लडेर पार्टीभित्र विभाजन ल्याउनुभन्दा त्यो ठिक हुन्छ भन्ने ठुलो पंक्ति छ ।

विद्याले पार्टीमा कुनै समूह बनाउनुभएको छैन । बनाउनु आवश्यक पनि छैन । उहाँले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अर्थतन्त्रमा आएको गिरावट, बेरोजगारी, शैक्षिक क्षेत्रमा देखिएको विकृतिहरू सबैको अन्त्य गर्नुपर्छ र त्यसका निम्ति आवश्यक पर्ने सबै योगदान गर्न म तयार छु भन्नुभएको छ । उहाँको कुनै पनि ठाउँमा न गुट छ । न समूह छ । उहाँका लागि कोही आफ्नो छैन । पराई पनि छैन । सबैलाई साझा रूपमा हेरिरहनुभएको छ । उहाँको स्पष्ट कुरा यही नै छ ।

(थापा नेकपा (एमाले) स्थायी समितीका सदस्य हुन् ।)

प्रतिक्रिया