पूर्व राजाको वक्तव्य : भ्रम र यथार्थ

विभिन्न पार्टीमा रहेका र स्वतन्त्र रही देशको नाजुक अवस्थाबाट चिन्तित सबै देशभक्त नेपालीले गंभीर समीक्षा गर्न जरुरी छ । नामको धनबहादुर गरिब देखे झैँ गणतन्त्र नामको व्यवस्थामा सामन्ती र केन्द्रिकृत मानसिकता भएका नेताले सत्ता सम्हालेको नेपाल भ्रष्टाचारले थलियो ।

रामचन्द्र शर्मा

माओवादी केन्द्रको पछिल्लो बैठकले मुलुकको राजनीतिक अवस्था गम्भीर बन्दै गएको निष्कर्ष निकालेको छ । राजनीतिक परिवर्तनका लागि पटकपटकका जनआन्दोलनमा सक्रिय सहभागी भई पछिल्लो राजनीतिक उपलब्धिको रूपमा ल्याएको गणतन्त्र संस्थागत गर्न यस पंक्तिकार लगायतका जिम्मेवार नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्दै आएका छन् । तर, वर्तमान राजनीतिक नेतृत्व ( सत्ता पक्ष र विपक्षीसमेत) को निषेधको राजनीतिको कोपभाजनमा परिँदा देश झन् झन् संकटग्रस्त बन्दै गएको हो ।

देशको उन्नति र संमृद्धिका लागि जनताको साथ मागिएको पूर्वराजाको वक्तव्यको शृंखलालाई गम्भीरतापूर्वक ग्रहण र चिन्तन मनन गर्नु स्वयंमा नागरिक धर्म र कर्तव्य ठानी यो लेखमा चर्चा गर्ने प्रयास गरिएको छ । पूर्वराजाको अघिल्लो वक्तव्यमा राजा र जनता मिलेर प्रजातन्त्रको सबलीकरण गरिएको इतिहास उल्लेख गर्दै जनताको भलाइका लागि ओहदा र सुख सुविधा त्याग गरेको जनाइएको थियो । कसैलाई धन, कसैलाई पद, कसैलाई मन दिएर लोभ्याउँदै सामाजिक संरचना च्यात्ने प्रयास गरिएको जनाउँदै देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भीक हुन सक्दैन भन्ने बोध हामीले गरेका गरेका छौँ भनिएको थियो ।

देश कस्तो थियो कस्तो भयो भन्दै व्यक्ति व्यक्तिमा र समाजमा बढदै गएको द्वन्द्व र हामीले नै ठाउँ दिएर अरूले फाइदा उठाएको तर्फ सबै सचेत हुन आग्रह गर्दै सबैले सबैलाई सम्झिएर राष्ट्रिय सोच बनाई सर्वपक्षीय सम्मेलन गरी नयाँ सम्झौता र समझदारी गरेर अघि बढ्नुपर्ने जनदबाब महसुस गरी पूर्वराजाले बेलाबेलामा सबै समक्ष सार्वजनिक आव्हान गरेको अहिले पनि युट्यूबमा देख्न सुन्न पाइन्छ ।

पछिल्लो वक्तव्यले राष्ट्रिय समस्या सुल्झियोस् भनेर ओहदा, सुख, सुविधा त्याग गरेको औँल्याउँदै नेपालको उन्नतिका लागि अरू के के त्याग गर्नुपर्ने हो सो त्याग्न तयार रहेको दर्शाएको छ । अब समय आयो भन्दै राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको संमृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आव्हान गरेको छ । तर, पूर्वराजाको आव्हानलाई राजनीतिक दल र नेताहरूले पूर्णरूपमा बेवास्ता गरेको उनीहरूको व्यवहारले दर्शाउँछ ।

छिमेकी देश चीन र भारतले राजनीतिक परिवर्तन पछि द्रूत गतिमा आर्थिक प्रगति गरे, हाम्रो देशमा २ दशक पुग्नै लाग्दा पनि देशमा २ वर्षमा टुंग्याउने भनिएको शान्ति प्रक्रिया अहिलेसम्म टुंगिएन । प्रशासनिक रूपमा संघीयता लागू भएकै छैन । कानुन बन्न अझै बाँकी छन् । संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुखतातर्फ विमर्श पनि सुरू भएको छैन । दलहरूमा हुनैपर्ने आन्तरिक लोकतन्त्र मूर्छित अवस्थामा छ । दलहरू गुटबन्दीको दलदलमा फसेका छन् । दण्डहीनता र भ्रष्टाचार बढेको छ । गरिखाने संस्कार मेटियो । काम र शिक्षाका लागि युवा र पुँजी विदेश पलायन भयो । देश शून्य उत्पादन उन्मुख छ । पराधीनता विगतमा भन्दा बढ्यो ।

राजनीतिक नेतृत्वले दोष एकअर्कामा लगाएको छ । सरकारमा हुँदा र नहँुदा शीर्ष नेताहरूका बोली र व्यवहार फेरिएका छन् । परिवर्तनकारी भनिने दलहरू सुविचारित ढंगले मिलेर मुलुकको अवस्था सुधार्न लाग्नुपर्नेमा सत्ता छिनाझप्टीको अवाञ्छित प्रतिष्पर्धामा भिड्दा राजनीतिक अस्थिरता बढेको छ । संविधान संशोधनका लागि प्रमुख २ दलको सरकार बनेको हो भनियो । व्यवहारले सत्तामा पुग्ने बहाना सावित गर्यो । अर्थतन्त्र सुधारको संकेत दिनुपर्नेमा सत्ता गठबन्धनका प्रमुख दलबीच असन्तुष्टि छरपस्ट भएको छ । प्रमुख विपक्षी दलले आफ्ना लाखौँ कार्यकर्तालाई उत्पादनसँग जोडी देशको अवस्था सुधार्ने योजना लिएर जनतामा गएको छैन, केबल सरकारबाट हट्नु परेको कुन्ठा पोख्दै विगतका जस्तै क्रान्ति र आन्दोलन गर्न जनतालाई उक्साउँदै छ ।

फेरि गरिने क्रान्ति र आन्दोलनले देश संमृद्ध बनाउँछ भन्ने ग्यारेन्टी नभएको कुराको प्रमाण त नेपाल स्वयं छ । जनताले जनताका लागि जनताद्वारा शासन गर्न जनता आन्दोलनमा होमिएर ल्याएको गणतन्त्र शीर्ष नेताहरूको अनुचित दोहनमा पर्यो । देशको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक अवस्था खस्किँदै गयो । यो दुर्दशा देखेर भित्रभित्रै आक्रोशित नेपालीमा सल्काउन खोजिएको विद्रोहको ज्वाला देशले थेग्न सक्ने देखिन्न । सन्तोषजनक आर्थिक प्रगति गर्दै चुनावमा दुईतिहाइ ल्याएकी सेख हसिना विपक्षीलाई उपेक्षा गर्न पुग्दा बंगलादेशले ठुलो मूल्य चुकाउन परेको हालत हाम्रै सामु छ ।

स्वउत्थान अभियान सञ्चालन गरी स्वदेशमा केही हुँदैन विदेशै ताक्नुपर्छ भन्ने नकारात्मक सोचलाई सकारात्मक बनाई देश भित्रैको अथाह संभावना उजागर गर्न स्वउत्थान शीर्षकको पुस्तक लेखनमा जुटेको छ पंक्तिकार । जहाँबाट जे जुन बस्तु र सेवाको उत्पादन र बजारीकरण सम्भव छ सो गर्ने सञ्जाल देशैभरी निर्माण गर्दै उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गरी देशलाई उत्पादन उन्मुख गराउने लक्ष्य हो । गत आमनिर्वाचनका बेलादेखि नै ती भिजन र योजना विभिन्न शीर्षकको लेखमार्फत सौर्य दैनिकमा प्रकाशित हुँदै आएका छन् ।

लेख मार्फतको चिन्तन मनन् र जनतामाझ भाषण गरेर मात्र देशको संकट समाधान हँुदैन भन्नेमा सचेत रहँदै सुदूरपश्चिमबाट योजना कार्यान्वयनमा लैजाने सोचियो । गत १२ फागुनदेखि कन्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक मेला तथा पर्यटन महोत्सव आयोजना भएको थाहा पाई संभाव्यता अध्ययनका लागि त्यहाँ पुगियो । मेला लागेको भीमदत्त नगरपालिकाका मेयर उपमेयरसँग फोन सम्पर्क गरी देशको वर्तमान नाजुक अवस्था र जनप्रतिनिधिका कठिनाई हल गर्नमा निःशुल्क सहयोग गर्न काठमाडौँदेखि आएको जनाइयो । भेट्न घर वा कार्यालय जहाँ अनुकूल हुन्छ त्यहाँ आउँछु भन्दै थोरै समय उपलब्ध गराइदिन अनुरोध गर्दा पार्टी केन्द्रीय पदाधिकारी आउँदै हुनुहुन्छ ३ दिनसम्म १ मिनेट पनि फुर्सद छैन भन्दै भेट दिनसम्म इन्कार गरियो ।

अन्य कैयौँ देशभक्तका यस्तै प्रयास रोकिँदाको दुष्परिणामले अस्तित्व रक्षाको संकटमा धकेलियो देश आज । त्यसैले पूर्वराजाले प्रजातन्त्र र जनताको भलाइप्रति निष्ठावान रहने प्रतिवद्धतासहित मिलेर देश संमृद्ध बनाउन आव्हान गरेका छन् । यस अवस्थालाई विभिन्न पार्टीमा रहेका र स्वतन्त्र रही देशको नाजुक अवस्थाबाट चिन्तित सबै देशभक्त नेपालीले गम्भीर समिक्षा गर्न जरुरी छ । नामको धनबहादुर गरिब देखेझैँ गणतन्त्र नामको व्यवस्थामा सामन्ती र केन्द्रिकृत मानसिकता भएका नेताले सत्ता सम्हालेको नेपाल भ्रष्टाचारले थलियो ।

कांग्रेस सभापति र एमाले अध्यक्ष २ जनाले पार्टीलाई सुइँकोसम्म नदिई गठबन्धन बदल्नु र माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार बनाइएका हरिबोल गजुरेल अपमानित महसुस गरी बाहिरिन बाध्य भएको टुलुटुलु हेर्दै छोरीलाई मुख्य सल्लाहकार बनाइरहेको दृष्टान्तले शीर्ष नेताहरूमा रहेको सामन्ती प्रवृत्ति उजागर गर्छ ।

हिजो निरंकुश रहेका पूर्वराजा आज पनि उत्तिकै निरंकुश हुन्छन् भन्ने भ्रमबाट मुक्त भई विनापूर्वाग्रह वक्तव्यको मर्म बोध गरौँ । हिजो प्रजातन्त्रका लागि जेलनेल भोगेका नेता सत्तामा पुगेपछि व्यवहार सामन्ती गरेको स्वअनुभूतिमा आएकाले नेता र पार्टीको अन्धसमर्थक नबनौँ । गणतन्त्रका लागि जनताले रगत बगाएको सच्चाई स्वीकार गरी सहज रूपमा आफ्नो ओहदा छाडेर पूर्वराजाले सुझबुझपूर्ण व्यवहार प्रदर्शित गरेका थिए । अहिले आएर त्याग नगरेको भनेर अहंकार देखाउनु मनासिव हुँदैन ।

पूर्वराजाको वक्तव्यले माओवादी केन्द्रका नेताहरू जनता गुहार्न बाध्य भएको यथार्थता केलाऔँ । राजावादीहरू हौसिएर नेताहरूको अपमान हुने गालीगलौज र प्रतिशोधको भाषा होइन सम्मानजनक रूपमा सबैलाई समेटेर प्रजातान्त्रिक विधिबाट कानुनको शासन सञ्चालन गर्ने भाषा र योजना प्रस्तुत गरेर सौहार्दपूर्ण वातावरण सिर्जना गर्नुमा सबैको भलाइ हुन्छ ।

प्रतिक्रिया