देशको अवस्था जटिल छ । प्रमुख २ दल कांग्रेस र एमालेले सरकार सञ्चालन गरिरहेको भए पनि सुशासन दिन सकेका छैनन् । विकास दिन सकिरहेका छैनन् । खाली सत्ताका लागि मात्र उनीहरूबीच गठबन्धन भएको देखिन्छ । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए, कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहोला । तर जनताले के पाए त ? त्यसो त कांग्रेस–एमालेकै कतिपय नेताहरूमा वर्तमान सरकारप्रति असन्तुष्टि देखिन्छ । देश र जनताका लागि सरकारले केही गर्न नसकेको अवस्थामा यो असन्तुष्टि स्वभाविक हो । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले समेत साँचो अर्थमा विपक्षीको भूमिका निर्वाह गरेको देखिँदैन ।
सरकार दलाल, भ्रष्टाचारी, विचौलियाले चलाइरहेको अवस्था छ । गणतन्त्रको आवरणमा लुटतन्त्र मच्चाइएको छ । देशी विदेशी दलालको चंगुलमा सरकार फसेको देखिन्छ । सुशासनको सट्टा कुशासन मौलाइरहेको देखिन्छ । राज्यका सबै संवैधानिक अंगहरू राजनीति भर्ती केन्द्र भएको देखिन्छ । भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा उच्चपदमा पु¥याइरहेका छन् । युवा विद्यार्थीहरूलाई विदेश जान वाध्य पार्ने सिलसिला चलिरहेको छ । राज्यमा भएका कलकारखानाहरू सबै बेचेर नागरिकलाई रोजगारीविहीन बनाइरहेका छन् ।
यावत क्रियाकलापले गर्दा यो सरकार जनमुखी, राष्ट्रमुखी नभई विदेशीको दलाल बन्न पुगेको देखिन्छ । यो व्यवस्था र अवस्था रहुन्जेलसम्म मुलुकले निकास पाउन नसक्ने प्रष्ट भएको छ । पार्टीहरूले विचारभन्दा बाहिर, सिद्धान्तभन्दा बाहिर, राष्ट्रवादभन्दा बाहिर रहेर गरेका क्रियाकलापका कारण आज देशको यो अवस्था भएको हो । राजा सहितको प्रजातन्त्र भएको भए सबै तहका जनताको भावनाको कदर हुने अवस्था आउँथ्यो । त्यसैले हामी अवस्था र व्यवस्था बदल्न चाहान्छौँ । देशको यो अवस्थामा जनताले पनि राजा चाहिरहेको हामीले बुझेका छौँ ।
राजा ज्ञानेन्द्रको सक्रियता देशको आजको आवश्यकता हो । किनभने दलहरूले नेपाली नागरिकलाई नागरिकका रूपमा देख्न नसक्ने, एउटा पार्टीले अर्को पार्टीलाई मान्न नसक्ने र नेताहरूले आफ्ना कार्यकर्तालाई मात्र नागरिक ठानिरहेको अवस्था छ । जुनसुकै पार्टीका नेताहरू राष्ट्रपतिदेखि प्रधानमन्त्री भए पनि देश र जनताप्रति इमानदार भएको देखिएन । यसकारण बेलायतमा झैँ हाम्रो देशमा पनि संवैधानिक राजा अभिभावकीय भूमिकामा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनपर्छ भन्ने हाम्रो स्पष्ट भिजन छ ।
संवैधानिक राजतन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको भूमिकामा रहने व्यवस्थाबाट देशमा निकास दिन्छ । देशका तमाम जनताको यतिखेरको अभिमत पनि यहि हो । राजा सहितको प्रजातन्त्र मात्र हामीले खोजेका हौँ । बेलायत, जापान, नर्वेजस्ता देशमा जस्तो किसिमको राजतन्त्र छ, हामी नेपालमा त्यस्तै राजसंस्थाको आवश्यकता महसुस गरिरहेका छौँ । त्यस्तै राजसंस्थाले मात्र देशले सच्चा रूपमा अभिभावक पाउने छ । त्यसैले राजालाई पुनःस्थापित गर्न ढिलाइ गरियो भने देश अझ झन् असफलतातिर जानेछ ।
नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प छैन । राजसंस्था पुनःस्थापनाको क्रममा छ । किनभने दलहरूको गलत क्रियाकलापका कारण देश झन्झन् ओरालो लागेकोले जनताले निकास खोजका छन् । जनताको नेताहरूप्रति आस्था गुमेको अनि व्यवस्थाप्रति पनि आस्था गुम्दै गएकोले अब कुनै बेला राजसंस्था पुनःस्थापना हुँदै छ । प्रमुख दलका नेताहरूप्रति जनविश्वास टुट्दै गएको, नयाँ नेताहरूमा पनि खासै जनताको भरोसा नरहेकोले पनि जनताले राजासहितको प्रजातन्त्र खोजेका हुन् । यो गणतन्त्रवादीहरूको कुशासनकै कारण हो । राप्रपाले हिन्दूराज्य र राजसंस्थाका प्रमुख एजेन्डा लिएर अघि बढिरहेको छ । यो एजेन्डाको विकल्प अरू कुनै हुन सक्दैन । राप्रपाले धर्म बचाउन चाहान्छ, संस्कृति बचाउन चाहान्छ । बौद्धिक सनातन धर्म राप्रपालेबाहेक अरू कसैले बचाउन सक्दैनन् ।
अहिले देशमा प्रमुख दलहरूकै संरक्षणमा भ्रष्टाचार भइरहेको छ । त्यसैले २०४६ साल यताका सबै भ्रष्टाचारको निष्पक्ष छानविन गर्नुपर्छ । हाम्रो पार्टी भ्रष्टाचार विरोधी पार्टी हो । भ्रष्टाचार गर्नेहरू राप्रपामा अटाएका छैनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १ रुपैयाँ घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नुभएको छ । अन्य दलका नेताहरू यस्तो भन्न सक्छन् ?
सरकारी संयन्त्रहरूको अनुगमन प्रर्याप्त नभएकाले महँगी झन्झन् अकासिँदो छ । विचौलियाको बिगबिगी बढिरहेको छ । ठुला व्यापारीहरूको नियन्त्रणमा बजार छ । बजेट उनीहरूकै इशारामा बन्ने गरेको छ । ठुला व्यापारीकै नेतृत्वमा महँगी बढिरहेको छ । वस्तुको गुणस्तर जाँच्ने काम भएको पाइँदैन । विदेशबाट सामान आयात गरिरहनुपर्ने अवस्था छ । कृषिमा काम गर्ने देशका होनाहार युवा जनशक्ति बिदेसिरहेका छन् । देशमा उत्पादन घट्नु महँगी बढ्नुको अर्को कारण हो ।
प्रमुख दलहरू आफ्नो सत्ता कसरी जोगाउने र कसरी धनी हुने भन्ने खेलमा मात्र लागिरहेको देखिन्छ । ढाँटेर छलेर आफ्नो संगठन मात्र कसरी बलियो बनाउने भन्ने काममा प्रमुख दलहरू लागेको देखिन्छ । प्रमुख दलकै कुशासन, भ्रष्टाचारका कारण देश यो अवस्थामा आइपुगेको हो । प्रमुख दललाई सच्चिन मौका छ ।
राष्ट्रवादी जनतालाई संगठित गरेर राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाका लागि राप्रपा आन्दोलित भइरहने छ । यो अवस्था र व्यवस्था नबदलिएसम्म सडक र सदन दुवैमा राप्रपाले संघर्ष गरिरहने छ । देशले इमानदार र देशभक्त नेतृत्व खोजिरहेको छ । राष्ट्र र नागरिकलाई एउटै नजरले हेर्ने राष्ट्रवादी नेतृत्व जनताले खोजिरहेका हुन् । यस्तो नेतृत्व राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दिन सक्छन् । राप्रपा यस्तो पार्टी हो जहाँ भ्रष्टाचार विरोधी अटाएका छन् । राष्ट्रवादी शक्ति अटाएका छन्, विकास प्रेमी अटाएका छन् । राप्रपामै हिन्दू धर्म मान्ने छन् । राजा मान्ने छन् ।
राप्रपाले चलाइरहेको गणतन्त्रविरोधी आन्दोलनमा सबै नागरिकलाई ऐक्यवद्धता जनाई राष्ट्र बचाऊ आन्दोलनमा लाग्न अपिल गर्दछु । राप्रपाको नेतृत्वमा हुने राजसंस्था पुनःस्थापनाको आन्दोलनमा सरिक हुनुहोला । साथै दलहरूलाई पनि राजसंस्थाको पुनःस्थापनाका लागि वार्ता र सहमतिमा सरिक हुन अनुरोध गर्दछु ।
(लेखक घिमिरे राप्रपाको आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया