जेलेन्स्कीलाई तत्काल निर्वाचनमा धकेल्ने बाटो झन् दुर्भाग्यपूर्ण !

युक्रेनमा तत्काल निर्वाचन गर्नु भनेको त्यहाँ विपत्ति निम्त्याउने विपक्षी योजनालाई सफल बनाउनु पनि हो । एकपटक दीगो युद्धविराम नभएसम्म निर्वाचन रोकिएमा त्यसपछि हुने निर्वाचनमा सबै युक्रेनीले राजनीतिक द्वन्द्वका कारण मनमा भएको त्रास हटाउँदै निर्वाध मतदान गर्न पाउने छन् ।

सर्जी माइदुकोभ

युक्रेनका लागि अमेरिकी सहयोगको निरन्तरताका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहुप्रतिक्षित वार्ताको टेबलमा बसेका थिए । यद्यपि त्यो भेटघाट युक्रेनका राष्ट्रपतिले कहिले पनि कल्पना नगरेको ढंगले भयो ।

दर्जनौँ टिभी क्यामरासामु वार्ताको क्रममा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्स कल्पना गरिएभन्दा फरक ढंगले जेलेन्स्कीको अनादर हुने किसिमले प्रस्तुत भए र युद्धविरामको सवालमा रुससँग अँगालो हाल्ने कुरालाई नकारे ।

यो घटना ट्रम्पको राष्ट्रपतीय कार्यकालमा जेलेन्स्की कहिले पनि ह्वाइट हाउस नफर्कने किसिमको थियो । साथै अमेरिका र युक्रेनबीचको वार्ता र समmदारीलाई अबको केही साता या महिनासम्म बढाउनका लागि पनि काफी हो । त्यसो त यो वार्ताअगावै ट्रम्पले जेलेन्स्कीको राष्ट्रपतिको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचनको सामना गर्न जोड दिएका थिए । उनको आशय थियो, एकल ढंगले सम्पूर्ण पदाधिकारी बाहिर राख्दै निर्वाचनमा टाढा धकेलेर कसरी देशको विपत्तिको सामना गर्न सकिन्छ ?
रुसले युक्रेनमा आक्रमण गर्नुअघि जेलेन्स्कीको एप्रुभल रेटिङ (लोकप्रियता) २८ प्रतिशत थियो भने उनको दलको ११ प्रतिशत मात्र थियो । रुसी आक्रमणपछि जेलेन्स्कीमाथि सबै कुरा निर्भर रहन थाल्यो र उनको लोकप्रियता पनि एकाएक चुलियो ।

२ वर्षयता भने जेलेन्स्कीको लोकप्रियतामा कमी आउन थालेको हो । २०२४ को अप्रिलमा उनको एप्रुभल रेटिङ ५४ प्रतिशत थियो । यो वर्षको जनवरीमा ४९ मा झरेको छ । ट्रम्पले यत्तिसम्मलाई अलोकप्रिय भएको स्वीकार गरेका छैनन् । तर, मे २०२२ मा ९० प्रतिशत एप्रुभल रेटिङ भएका जेलेन्स्कीकोे अवस्था अहिले एकदमै बिग्रिएको हो ।

जेलेन्स्कीको लोकप्रियता घट्नुमा प्रशासनमा भएको व्यापक भ्रष्टाचार र लगातारको युद्धका कारण नागरिकमा उत्पन्न मानसिक झिंझोपनलगायत अनेक कारण छन् । आफ्नो कमजोर अवस्थाबारे युक्रेनी राष्ट्रपति जेलेन्स्की जानकार छन् । साथै उनलाई प्रतिस्पर्धाका जानका लागि आफूलाई हुने कठिनाइ पनि राम्रोसँग थाहा छ । उनका सामु समस्यामा पहाड छन् । निर्वाचनमा पराजयको सामना गरेमा उनका प्रतिद्वन्द्वीहरूबाट थुप्रै भ्रष्टाचारको अभियोगसमेत लगाइने छ । सर्वेक्षणले अहिले नै निर्वाचन भएमा जेलेन्स्कीले हार्ने देखाइसकेका छन् ।

जेलेन्स्कीका लागि शक्तिशाली प्रतिद्वन्द्वी अहिले नै तयार भइसकेका छन् । पूर्व चारतारे सैन्य अधिकृत भालेरी फेदोरोभिच जालुझ्नी नै उनका प्रतिद्वन्द्वी हुन सक्नेछन् । फेब्रुअरी २०२४ सम्म उनी युक्रेनको सैन्यशक्तिको कमान्डर इन चिफ थिए । उनी जेलेन्स्कीको विरुद्धमा निर्वाचनमा उत्रे जित हात पार्ने सम्भावना प्रबल छ । उनीप्रति युक्रेनीहरूको जनविश्वास असाध्य बढी छ । जनवरीमा गरिएको सर्वेक्षणमा ७२ प्रतिशत युक्रेनीको उनीप्रति विश्वास रहेको देखिएको थियो ।

सन् २०२३ मा रुसविरुद्धको प्रत्याक्रमण असफल भएपछि उनलाई दोष थोपर्दै बर्खास्त गरिएको थियो । यो नै जालुझ्नीको लोकप्रियताको कारण हुनसक्छ । त्यसपछि उनी संयुक्त अधिराज्यका लागि युक्रेनी राजदूत भएका थिए । सो पदमा उनी अझै यथावतै छन् ।

जालुझ्नीले अहिले नै निर्वाचनमा सहभागी हुने इच्छा भने देखाइसकेका छैनन् । तर उनको मानसिकतामा परिवर्तन हुँदैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन । यदि उनी बाहिर नै रहे भने क्रिलो बुदानोभजस्ता अन्य सैन्य अधिकृतले पनि कदम उठाउन सक्छन् ।

युक्रेनका गुप्तचर विभागका प्रमुख बुदानोभको सार्वजनिक विश्वसनीय दर ६२ प्रतिशत छ । १ वर्ष सञ्चार क्षेत्रको आँखामा परेका उनी अहिले हराएझैँ छन् । उनको अहिलेको प्रस्तुतिलाई लिएर जेलेन्स्कीले उनलाई हटाउने योजना बनाएको चर्चा पनि चलेको छ । चुनावी अभियान सुरु भएपछि उनी दृश्यमा आउने सम्भावना भने छ ।

बक्सिङ च्याम्पियन अलेक्जेन्डर उपयुक्त सम्भाव्य ‘डार्क हर्स’ हुन् । जुन देशमा पूर्व कमेडियन राष्ट्रपति बन्न सक्छन्, त्यसै देशमा पूर्व विजेता खेलाडी राष्ट्रपति बन्नु अस्वभाविक होइन । यद्यपि उनले पनि कुनै राजनीतिक महत्वाकांक्षा सार्वजनिक गरेका छैनन् । तथापि उनले आफ्नो लोकप्रियता मापन गर्दा एप्रभुल रेटिङ ६० प्रतिशत देखियो ।

कम एप्रुभल रेटिङ भएका पूर्वराष्ट्रपति पेट्रो पोरेसेन्को पनि जेलेन्स्कीका डरलाग्दा विपक्षी हुन् । सन् २०१९ यता उनलाई १३० वटा अपराधका अभियोग लागेका छन् । उनीमाथि रुसी अधीनस्थ क्षेत्रबाट कोइला आपूर्ति गर्ने निर्णयलाई लएर राज्यद्रोहको अभियोग पनि छ ।

जेलेन्स्कीका कटु आलोचक पोरेसेन्कोको महत्वाकांक्षाको त कुरा नै गर्नुपरेन । उनले अमेरिका गएर ट्रम्पको टोलीसँग भेट गरिसकेका छन् । गत फेब्रुअरीमा उनी म्युनिखमा भएको सुरक्षा सम्मेलनमा प्रवेश गर्ने प्रयास गरेका थिए । तथापि उनले प्रवेश पाएनन् । अहिले उनले सुरक्षाको कारण देखाउँदै राज्यले लगाएको प्रतिबन्धको सामना गरेका छन् ।

यो प्रतिबन्धको अर्थ राष्ट्रपतिका चुनावी अभियान सुरु हुने समयमा उनलाई वैध रूपले सहभागी हुन नदिने हो । अहिलेसम्मको राजनीतिक परिस्थितिलाई हेर्दा एककिसिमको अव्यक्त त्रासको कारण कसैले प्रस्ट रूपमा चुनावी दौडमा आफूलाई सामेल गरेका छैनन् ।

जेलेन्स्कीले कसरी विपक्षीलाई ‘ह्यान्डल’ गर्छन् भन्ने चासोको विषय हो । तथापि उनले सहयोगीबाट कुनै धम्कीको भने सामना गरेका छैनन् । ट्रम्पसँगको विवादपछि युरोपेली नेताले उनको पक्षमा मत जाहेर गरेका छन् । यसले उनलाई घरेलु राजनीतिमा समेत उत्साहित बनाएको छ । तथापि यो कति समयका लागि हो भन्ने अनिश्चित नै छ ।

यो नमीठो राजनीतिक प्रतिद्वन्द्विता र प्रतिशोधका अलावा अहिले युक्रेनी समुदाय विभाजनको अवस्थामा छ । युद्धका कारण धेरैको भावनामा आघात परेको छ । अहिले देश मझदारमा छ र एकदमै अस्थिर अवस्थामा छ ।

उग्र राष्ट्रवादीहरू देशको एउटा जनसंख्याको हिस्सा मात्र ओगट्दैनन्, युद्धमा महत्वपूर्ण उपस्थिति पनि जनाएका छन् । अहिले पनि एकथरी युक्रेनीहरू रुसप्रति झुकाव राख्नेछन् । उनीहरू निरन्तर युद्ध चाहँदैनन् ।
यस कमजोर अवस्थामा बाह्य कारणले युक्रेन निर्वाचनमा गयो भने त्यो रुससँगको युद्ध तथा युक्रेनले महत्वपूर्ण औद्योगिक राज्य गुमाउनुको भन्दा बढी दुर्भाग्यपूर्ण हुने छ । राज्यको एकतिहाइले मतदानमा सहभागिता जनाउन पाउने छैनन् भने निर्वाचनको वैधानिकतामाथि पनि प्रश्न उठ्ने छ । यसले समाजलाई प्रस्ट रूपमा विभाजित गर्ने जोखिम छ । साथै सैन्य र सुरक्षा निकायहरू आफ्नो भूमिका देखाउन बाध्य हुन सक्ने छन् ।

निर्वाचनले शान्त रहेको समाजलाई विभाजन गर्न सक्छ भन्ने हामीले अमेरिकामा देखेका छाँै । युद्धकै समयमा यो अझ खतरनाक हुन सक्छ । युक्रेनमा तत्काल निर्वाचन गर्नु भनेको त्यहाँ विपत्ति निम्त्याउने विपक्षी योजनालाई सफल बनाउनु पनि हो । एकपटक दीगो युद्धविराम नभएसम्म निर्वाचन रोकिएमा त्यसपछि हुने निर्वाचनमा सबै युक्रेनीले राजनीतिक द्वन्द्वका कारण मनमा भएको त्रास हटाउँदै निर्वाध मतदान गर्न पाउने छन् ।

(अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वैधानिकतामाथि प्रश्न उठाएपछि अल जजिराका युक्रेनस्थित प्रतिनिधि सर्जी माइडुकुभको टिप्पणी ।)

प्रतिक्रिया