हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना : मुद्दा मात्रै कि वास्तविकता ?

ठुलो डिजाइनका साथ नेपाललाई यहाँसम्म ल्याएका पश्चिमा इसाइहरूले सजिलैसँग राजतन्त्र पुनवर्हाली हुन दिँदैनन् । राजतन्त्र पुनवर्हालीसँगै हिन्दूराष्ट्र पुनःबहाली हुन्छ भन्ने कुरा उनीहरूले बुझेका छन् । त्यसैले बलियो नेतृत्वविना निर्णायक आन्दोलन अघि बढ्न सक्दैन । राजा ज्ञानेन्द्रबाहेक यो अभियानका लागि बलियो नेतृत्व हाल देखिँदैन । जनताको नेतृत्व गर्दै राजा ज्ञानेन्द्र स्वयं सडकमा आए भने हिन्दूराष्ट्र तथा राजतन्त्र पुनःबहालीको आन्दोलनले केही गति लिन सम्भव छ ।

वोर्णबहादुर कार्की

यतिबेला नेपालको राष्ट्रिय राजनीतिमा हिन्दूराष्ट्र र राजतन्त्र पुनःस्थापनाको चर्चा उच्च शिखरमा पुगेको छ । यो सन्दर्भ एउटा राजनीतिक मुद्दाका रूपमा अघि बढेको छ । तर यो मुद्दा चर्चा मात्रै हो कि बास्तविकता पनि हो ? भन्ने प्रश्न गम्भीर छ । किनकी यो चर्चा बेलाबेलामा उठ्ने र सेलाउने गरेको छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निम्तोमा राजा ज्ञानेन्द्र भारत भ्रमण गरेर फर्केपछि फेरी सुरु भएको हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको चर्चा यतिबेला घनिभूत भएको छ । खासगरी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर राजाले दिएको मन्तव्यले देशभर ठुलो तरंग उत्पन्न गरेको छ ।

वक्तव्यमार्फत जनतासँग राजाले पुनःबहालीको सहयोग मागेकोले यसले एकखालको आन्दोलनको रूप धारण गरेको छ । स्वःस्फुर्त रूपमा देशभर सडकमा आवाज उठ्न थालेको छ । गणतन्त्रमा स्वच्छन्द र निरंकुश शासन गर्न पाएका दलीय नेताहरूले राजतन्त्र पुनःस्थापना हुन लाग्यो भनेर चिच्याउन थालेका छन् । यबाट पनि साँचि नै हिन्दूराष्ट्र तथा राजतन्त्र पुनःस्थापनाको सम्भावना बढेको हो कि ? भन्ने आँकलन गरिएको छ ।

कतिपय विश्लेषकहरूले भारतको सहयोगमा नेपालमा हिन्दूराष्ट्र तथा राजतन्त्रको पुनःस्थापना हुने टिप्पणी पनि गर्न थालेका छन् । चर्चामा आउने, अनि सेलाउने यो चक्रको वास्तविकता के हो ? आमजनताको चासोको विषय बनेको छ ।

नेपाल परापूर्वकालदेखि नै हिन्दूराष्ट्र हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पनि अफ्नो दिव्योपदेशमा नेपाललाई असली हिन्दूस्थान भनेका छन् । तर संविधानमा नै नेपाललाई हिन्दूराष्ट्र भनेर उल्लेख गरिएको २०१९ सालमा हो । त्यतिबेला राजा महेन्द्रले हिन्दूराष्ट्र घोषणा गर्दा पश्चिमा इसाइहरूले विरोध गरेका थिए । त्यसबेलादेखि नै उनीहरूले नेपालबाट हिन्दू धर्म विस्थापित गरी इसाई धर्मको प्रभाव बढाउन निकै ठूलो मिहिनेत तथा आर्थिक चलखेल गर्दै आएको कुरा कहीँकतै छिपेको छैन । नेपालमा नास्तिकता फैलाउनका लागि अमेरिकी जनताले तिरेको कर दुरुपयोग भएको भन्दै हालसालै मात्र अमेरिकी संसद्मा यो कुरा उठेको छ । यसर्थ धर्मनिरपेक्षता नेपाली जनताको चाहनाअनुसार नभएर पश्चिमा इसाइहरूको चाहनाअनुसार घोषणा गरिएको स्पष्ट छ ।

नेपालको सबैभन्दा पुरानो धर्म वैदिक सनातन हिन्दू हो । करिब सबै नेपालीहरूले कुनै न कुनै रूपमा वैदिक सनातन धर्मको सम्मान गर्छन् । वैदिक सनातन धर्म भन्नु र हिन्दू धर्म भन्नु करिब करिब एउटै हो । यो नेपालको मौलिक धर्म पनि हो । मक्का र मदिनालाई विश्वभरका मुसलमानहरूले पवित्रस्थल मानेजस्तै नेपाललाई विश्वभरका हिन्दूहरूले पवित्र तीर्थस्थल मान्छन् । यसैले परापूर्वकालदेखि नै नेपाललाई हिन्दूराष्ट्र भनिँदै आइएको थियो । तर नेपालमा इसाइ धर्मको प्रभाव बढाउनका लागि युरोप–अमेरिकाले हिन्दूराष्ट्रलाई बाधक ठानेका थिए । उनीहरू हिन्दूराष्ट्रको सट्टा इसाइ प्रभावी राष्ट्र बनोस् भन्ने चाहान्थे ।

उनीहरूको जोडबल र दबाबमा २०६३ जेठमा हिन्दूराष्ट्र विस्थापित गरी धर्मनिरपेक्षता घोषणा गरिएको थियो । हिन्दूराष्ट्र विस्थापित गरी धर्मनिरपेक्षता घोषणा गराउने पश्चिमा इसाइको अभियान दरबार हत्याकाण्डसँग पनि जोडिएको छ । राजतन्त्र उन्मूलन नगरी नेपालमा इसाइकरण बिस्तार गर्न नसकिने ठहरका साथ दरबार हत्याकाण्डको डिजाइन भएको हो ।

हिन्दूराष्ट्र विस्थापित गरी इसाइकरण गर्ने र त्यसको आडमा नेपालमा प्रभुत्व जमाएर बस्ने अमेरिकी डिजाइन धेरै पहिलेदेखि सुरु भएको हो । यो कुरामा राजा महेन्द्र सचेत थिए । तर महेन्द्रको निधनपछि नेपालको दरबारभित्र अमेरिकी जासुसी संयन्त्र सिआइएको प्रभाव बिस्तार हुँदै गयो । अमेरिकाले खडा गरेको दरबारभित्रको सेन्टरले सेनालाई मात्र होइन आफ्नो बनी माओवादीका कति कमान्डरहरूलाई प्रभावमा पारेको थियो । जुन कमान्डरहरू अहिले माओवादीभित्र पश्चिमापरस्त भनी चिनिन्छन् ।

अहिले पनि उनीहरूको सम्बन्ध अमेरिकी पावर सेन्टरसँग छ भनिन्छ । माओवादीलाई दमन गर्नका लागि नेपाली सेनालाई प्रतिआतंकवादी तालिम दिन अमेरिकी सेना नेपालमा कार्यरत थियो । अमेरिकीहरू राज्य र माओवादीलाई उचालेर भीषण युद्ध गराएर युएनको शान्ति सेना नेपाल ल्याउने योजनामा थिए भनिन्छ । युएनका शान्ति सेनाको आवरणमा नाटो सेना नेपाल उर्ताने अमेरिकी योजना थाहा पाएर राजा वीरेन्द्रलाई चीनले ओहावो सम्मेलनमा बोलाएको थियो र उच्च सम्मान पनि दिएको थियो । यही सेरोफेरोमा दरबार हत्याकाण्ड भएको थियो । दरबार हत्याकाण्डको जगमा राजतन्त्र विस्थापित गरियो । राजतन्त्र विस्थापित गर्नासाथ चुड्कीका भरमा धर्मनिरपेक्षता घोषणा गराउन पश्चिमाहरू सफल भए ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि हिन्दू धर्म मात्रै होइन देशका अन्य मौलिक धर्म बौद्ध, किरात, बोन विस्थापित हुँदै गएका छन् भने इसाइकरण तीव्र गतिमा बढेको छ । आफ्नो धर्म संस्कृति मासिँदै गएको र इसाइ धर्मको प्रभाव बढ्दै गएकोमा आमनेपाली असन्तुष्ट छन् । धर्मनिरपेक्षता विस्थापित गरी हिन्दूराष्ट्र घोषणा नभएमा जनताको धार्मिक तथा सांस्कृतिक पहिचान नै समाप्त हुने चिन्ता व्याक्त गर्न थालिएको छ । यही चिन्ताका कारण हिन्दूराष्ट्र पुनःस्थापनाको मागमा जनमत बढ्न थालेको हो ।

वैदिक सानातनभित्रकै हिन्दूबाहेक बौद्ध, किराँत, वोन, प्रकृतिपुजकलगायत पनि धर्मनिरेपक्षता घोषणा भएपछि आफ्नो मौलिक धर्म–संस्कृति संकटमा परेकोमा चिन्तित छन् । यसैगरी नेपालको शाहवंशीय राजतन्त्र र अन्य देशको राजतन्त्रमा भिन्नता छ । अन्य कतिपय देशमा एउटा राजवंशको शासनसत्ता खोसेर अर्को राजवंश स्थापना भएको इतिहास छ । तर नेपालको शाहवंश आफैँले नेपाल एकीकरण गरेको हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले स्थापना गरेको राजतन्त्र हो हाम्रो । पृथ्वीनारायण शाहको उदय हुनुभन्दाअघि नेपाल देशको अलग अस्तित्व मेटिइसकेको थियो । यो अस्तित्वलाई पुनर्जीवित गरेको पृथ्वीनारायण शाहले हो ।

शाहवंशीय राजतन्त्र देश निर्माता मात्रै होइन नेपालको मौलिक धर्म संस्कृतिको संरक्षकका रूपमा रहँदै आएको थियो । राजतन्त्र विस्थापित गरी गणतन्त्र घोषणा गरिएसँगै नेपालको मौलिक धर्म–संस्कृति मासिएर पश्चिमा धर्म–संस्कृतिको प्रभुत्व बढ्दै गएको छ ।

देशको मौलिक धर्म–संस्कृति संरक्षणका लागि राजतन्त्रले मियोको भूमिका निर्वाह गरिरहेकोमा गणतन्त्र घोषणापछि देशको राजनीति विनामीयोको दाइँजस्तो बनेको छ । राजतन्त्र नहुँदा स्वच्छन्दता र अनुशासनहीनता बढेर गएको छ । अस्थिरता पनि बढेर गएको छ । अनुशासित राजनीतिका लागि राजाको अवश्यकता रहेछ भन्ने सोच प्रभावी बन्दै छ ।

राजतन्त्रको विस्थापन र गणतन्त्रको स्थापना नेपाली जनताले गरेका होइनन् । खास गरेर राजा रहेसम्म नेपालमा हिन्दू धर्म विस्थापित गरी इसाई धर्म स्थापित गर्न नसकिने मूल्यांकन गरेका पश्चिमा राष्ट्रहरूको डिजाइनमा गणतन्त्र आएको हो ।

पश्चिमा इसाइहरूको जोडबल, प्रलोभनमा फँसेका अदूरदर्शी नेताहरूको राजाझैँ शासन गर्ने लालचाका कारण गणतन्त्र आएको हो । हिन्दू राष्ट्र कायमै रहोस् भन्ने नेपाली जनताको चाहना थियो । तर विदेशीहरूको चलखेल तथा स्वार्थमा नेताहरू फँसे । जुन कुरा अहिले आमजनताले महसुस गरेका छन् । त्यसैले हिन्दूराष्ट्र र राजतन्त्र पुनःस्थापनाको संभावना प्रबल बन्दै गएको छ भन्ने विश्लेषकहरूको अभिमत यथार्थपरक देखिन्छ ।

यद्यपि हिन्दूराष्ट्र र राजतन्त्र पुनःस्थापनाको अभियान सोचेजस्तो सजिलो छैन । ठूलो डिजाइनका साथ नेपाललाई यहाँसम्म ल्याएका पश्चिमा इसाइहरूले सजिलैसँग राजतन्त्र पुनवर्हाली हुन दिँदैनन् । राजतन्त्र पुनवर्हालीसँगै हिन्दूराष्ट्र पुनःबहाली हुन्छ भन्ने कुरा उनीहरूले बुझेका छन् ।

त्यसैले बलियो नेतृत्वविना निर्णायक आन्दोलन अघि बढ्न सक्दैन । राजा ज्ञानेन्द्रबाहेक यो अभियानका लागि बलियो नेतृत्व हाल देखिँदैन । जनताको नेतृत्व गर्दै राजा ज्ञानेन्द्र स्वयं सडकमा आए भने हिन्दूराष्ट्र तथा राजतन्त्र पुनःबहालीको आन्दोलनले केही गति लिन सम्भव छ ।

प्रतिक्रिया