पारा एथलेटिक्स ग्रान्डप्रिक्समा नेपालको सहभागिता

काठमाडौँ । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ६ खेलाडीले चुनौती पेस गर्ने भएका छन् । ७ देखि १४ मार्चसम्म नयाँ दिल्लीमा हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडी सहभागी छन् । सो प्रतियोगितामा सहभागिता जनाउन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली भारतको दिल्ली प्रस्थान गरेको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे ।
पुरुष ४०० मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् ।

गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला २००–४०० मिटर दौड र लङजम्पमा भाग लिने छन् । अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर छन् ।

१ महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोस्रोपटक हो । नेपाल ४ देखि १४ फेब्रुअरीसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिएका हुन् । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको जनाइएको छ ।

प्रतिक्रिया