माओवादीले जनताले दिएका जिम्मेवारीअनुसार राज्यका निकायहरूमा जनतालाई ‘डेलिभरी’ दिनेगरी काम गर्नुपर्दथ्यो । हामीले त्यसो गर्न सकेनौँ । जनताले दिएका जिम्मेवारी छोडेर ठुला–ठुला सपनाका कुरा गर्यौँ । जुन तत्काल पूरा गर्न सक्दैनथ्यौँ । राजनीतिक रूपमा पनि स्पष्ट हुन सकेनौँ । शान्ति प्रक्रियामा आइसकेपछि पनि विद्रोहका कुरा गरिरह्यौँ । यो प्रणालीमा हामी धेरै टिक्ने होइन भनेर जनतालाई भनिरह्यौँ । त्यसप्रकारको वैचारिक मतभिन्नताले पार्टी फुट्यो र हामी कमजोर भयौँ ।
नेपालमा २५० वर्षदेखिको निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्ध भयो । सबैले भोगेकै कुरा हो, निरंकुश राजतन्त्रको शासनमा अभिव्यक्तिको स्वतन्त्रता थिएन । आलोचनाको स्वतन्त्रता थिएन । विरोध गर्न पाउने स्वतन्त्रता थिएन । नागरिकहरूले स्वतन्त्रतापूर्वक आफ्नो विचार, आस्था र दृष्टिकोणअनुसार रहन पाउने कुरामा प्रतिबन्ध थियो । राजतन्त्रको गुणगान गाउनेहरूलाई मात्रै राज्यमा प्राथमिकता पाउने अवस्था थियो । सो निरंकुश व्यवस्थाको अन्त्य गरेर नेपाली विशेषताअनुसारको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति नै २०५२ फागुन १ गते जनयुद्ध सुरुआत गरिएको थियो ।
हाम्रो एजेन्डा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको मात्रै थिएन । समाजवाद स्थापनाको पनि थियो । आज पनि हाम्रो एजेनडा समाजवाद छँदै छ । जनयुद्धले समुदायको औसत उपस्थितिको आधारमा राज्यको पहुँच र प्रतिनिधित्व हुनुपर्ने कुरा पनि जोडदार रूपमा उठायो । समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति हामी युद्धमा सामेल भएका थियौँ । वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको पुर्नंसंरचना गर्नुपर्छ भन्ने हाम्रो माग र मुद्दा थियो । बहुराष्ट्रिय वित्तीय निकायहरूको प्रभावलाई नियन्त्रण गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, गाउँका जनतालाई दुःख दिने सुदखोर, जालिफटाहा र सामन्तहरूको विरुद्ध आन्दोलन केन्द्रित थियो । हामीले जनतालाई वर्गीय विभेदबाट मुक्ति दिलाउन चाहेका थियौँ । महिला अधिकारका निम्ति हाम्रो लडाइँ थियो ।
दलित, मधेसी, अल्पसंख्यक लगायतका सबै उत्पीडित समुदायहरूले भाषा, संस्कृतिको संरक्षणसहित उनीहरू माथि धर्मका आधारमा, सम्प्रदायको आधारमा भएका उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनर्संरचना गर्ने पनि हाम्रो एजेन्डा थियो । जनयुद्ध छोडेर शान्तिपूर्ण राजनीतिमा हामी आइसक्दासम्म ती मुद्दाहरू आंशिक रूपमा पूरा भए । तर पूर्णरूपमा हाम्रो एजेन्डा स्थापित हुन सकेन । ती सबै एजेन्डालाई कार्यान्वयनका निम्ति हामी अझ सशक्त ढंगले लाग्नु जरुरी भएको छ ।
पार्टी पुनर्निमाण आजको आवश्यकता
तत्कालीन विद्रोही शक्ति माओवादी केन्द्रलाई २०६४ सालमा जनताले वैधानिकता दिए । अर्थात् निर्वाचनद्वारा सशस्त्र आन्दोलनलाई वैधानिकता दिए । त्यसपछि माओवादीले जनताले दिएका जिम्मेवारी अनुसार राज्यका निकायहरूमा जनतालाई ‘डेलिभरी’ दिनेगरी काम गर्नुपर्दथ्यो । हामीले त्यसो गर्न सकेनौँ । जनताले दिएका जिम्मेवारी छोडेर ठुला–ठुला सपनाका कुरा गर्यौँ । जुन तत्काल पूरा गर्न सक्दैनथ्यौँ । राजनीतिक रूपमा पनि स्पष्ट हुन सकेनौँ । शान्ति प्रक्रियामा आइसकेपछि पनि विद्रोहका कुरा गरिरह्यौँ । यो प्रणालीमा हामी धेरै टिक्ने होइन भनेर जनतालाई भनिरह्यौँ । त्यसप्रकारको वैचारिक मतभिन्नताले पार्टी फुट्यो र हामी कमजोर भयौँ । अब हामीले ती कमीकमजोरीलाई सच्याएर, जनताप्रति प्रतिवद्ध हुँदै पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने छ । आन्तरिक रूपमा पनि पार्टीलाई पुनर्निर्माण गर्नुपर्छ । आधारभूत दृष्टिकोण, लक्ष्य र उद्देश्य मिल्नेहरूलाई पनि सँगै लिएर जाने भनेर समाजवादी मोर्चा बनाएका छौँ । यसलाई बलियो बनाउनुपर्छ । अरू यस्तै छलफलको प्रक्रियामा पनि छौँ । त्यसलाई पूर्णता दिनुपर्छ ।
अझै हामीले उठाएका एजेन्डाहरू पूर्णरूपमा पूरा भएका छैनन् । ती पूरा गर्नका लागि समाजवादी क्रान्तिको आवश्यकता छ । त्यो भनेको हिजोको जस्तो सशस्त्र क्रान्ति होइन । फरक प्रकारले जनतालाई सहभागी बनाएर सडक र सदनबाट आन्दोलनको रूपमा अगाडि बढाएर सुशासन, समृद्धि, सामाजिक न्याय हुँदै समाजवादको बाटोमा जानुपर्छ । अब माओवादीले सुशासन, समृद्धि, सामाजिक न्याय हुँदै समाजवादको बाटोमा हिँड्नका निम्ति फेरि एकपटक संगठनात्मक र वैचारिक सुदृढीकरण गर्नुपर्छ । जनतामा फर्किएर जानुपर्छ । अन्तर्राष्ट्रिय शक्तिहरूलाई पनि हाम्रा एजेन्डालाई सहयोगमा ल्याउने पहल गर्नुपर्छ ।
केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य सार्वजनिक भयो । त्यस वक्तव्यमा एकप्रकारको आक्रोश छ । हिजोका परिवर्तनका वाहक शक्तिहरूको औचित्य सकिएको जस्तो भावमा छ । सक्रिय राजतन्त्रको रूपमा आफ्नो पुनरावृत्तिको पेटबोलीको रूपमा त्यो वक्तव्यलाई हामीले बुझेका छौँ । राजा, राजतन्त्र र हिजोको निरंकुश पञ्चायती व्यवस्थासहित एकदलीय शासन प्रणालीलाई समर्थन गरेका शक्तिहरू एकै ठाउँमा हुने, प्रदर्शन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गरेर अरूलाई टुटफुट गरेर त्यहाँ आउन सकिन्छ कि भनेर सक्रियता बढाएको देखिन्छ । त्यो सक्रियताका कारणले हामी गणतन्त्रवादीहरू फेरी एकठाउँमा हुनुपर्ने, गणतन्त्रको रक्षा गर्नुपर्ने, समावेशी, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने अवस्थामा छौँ । परिवर्तनकामी शक्तिहरू एक ठाउँमा रहनुपर्ने चुनौती रहेको छ ।
माओवादी केन्द्रको वैचारिक, संगठनात्मक समस्या
जनयुद्ध तयारीका एक, डेढ वर्ष र जनयुद्धका १० वर्षमा हामी युद्धकेन्द्रित, फौजकेन्द्रित भएर केन्द्रिकृत तरिकाले पार्टी संगठनलाई चलायौँ । जसले गर्दा पार्टी कमिटीहरू स्वचालित हुनेभन्दा पनि कमान्ड, कन्ट्रोल र कम्युनिकेसनको तरिकाले चले । अध्यक्ष प्रचण्डको नेतृत्वमा देशभरी त्यो संरचना बन्यो । अभिव्यक्तिमा स्वतन्त्रता, काम, कारबाहीमा एकरुपता भन्ने सिद्धान्तअनुसार गयौँ । हामीले पार्टी कमिटी प्रणालीलाई स्वचालित बनाउन सकेनौँ । कमिटी प्रणाली व्यवस्थित भएन । कमिटीमा आउनेहरूलाई स्वायत्ततापूर्वक सिनियर र जुनियरहरूको घेराबार तोडेर, सिनियर साथीहरूले समय सकिएपछि अर्को भूमिकामा जाने गर्न सक्नुपथ्र्यो ।
एउटा चेनको रूपमा, तलबाट कार्यकर्ता, नेताहरूको टिम पैदा गरिराख्ने कुरा र पार्टी कमिटीमा प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने कुरामा त्रुटी रह्यो । जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तलाई ठिक ढंगले लागू गर्न सकेनौँ । भन्दा जनवादी केन्द्रीयता भन्ने तर अभ्यासचाहिँ केन्द्रीयतावादी जनवाद भयो । केन्द्रले निर्देशन गर्दा, केन्द्रले जिम्मेवारी दिँदा कार्यकर्ताहरू खट्न तयार हुने । तर, तलको समितिले लिएर आउने कुरामा हाम्रो कमी रह्यो । युद्धकेन्द्रित संगठनको अभ्यासमा हामी रह्यौँ । यो कुरालाई हामीले सुधार गर्नैपर्छ । माओवादीको प्रमुख समस्या नै यही भयो ।
अर्को, माओवादी केन्द्रमा टिमहरू कि सँगै रहन सकेनन् ? हुन त अरू पार्टीमा पनि यो समस्या देखापरेका छन् । समकालीन नेताहरू अन्तर्संघर्ष गरेर भए पनि सँगै रहन सक्नुपथ्र्यो त्यसो किन हुन सकेन ? यसमा गम्भीर समीक्षा गर्नुपर्छ । अध्यक्ष प्रचण्डका अधिकांश समकालीन साथीहरूले पार्टी छोड्नु, दोस्रो, तेस्रो तहका साथीहरूमा पनि मित्रवत् सम्बन्ध भएर टिमवर्कको अभ्यास नहुनु, यि कुराहरू माओवादीको स्कुलमा देखा परेका समस्याहरू हुन् ।
त्यस्तै जिम्मेवारी प्राप्त गर्ने र अगाडि बढ्ने विषयमा पनि केही निश्चित साथीहरूले निरन्तर जिम्मेवारी प्राप्त गरिरहने । कतिपयले जिम्मेवारी प्राप्त नगर्ने, अन्र्तसंघर्षको प्रभाव जिम्मेवारी ग्रहण गर्ने कुरामा देखियो । चाहे त्यो राज्यको जिम्मेवारी होस् वा पार्टीको । जिम्मेवारी प्रदान गर्दा सबैको साझा संगठन हो भन्नेकुराको अनुभूति सबैलाई दिलाउनुपर्छ । ठोस रूपमा भन्दा, लेनिनवादी पद्धतीअनुसार पनि हामी चल्न सकेनौँ । पछिल्लो प्रतिस्पर्धात्मक मोडेल अनुसार पनि हामी अगाडि बढ्न सकेनौँ । हाम्रो विधान अधिवेशनले केही निर्णयहरू त गरेको छ ।
कमिटीहरू तलदेखि समावेशी चरित्रको, प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा आउने व्यवस्था सुरुआत गर्यौँ । विद्यार्थी संगठनको निर्वाचन प्रक्रियाबाट टुंग्याइयो । यो अभ्यासतिर हामीले लैजाने सोच्दै छौँ । यो पनि एउटा ट्रायलको रूपमा रहेको छ अहिले । युद्धकेन्द्रित संगठन बढी फलदायी थियो कि जनवादी अभ्यासबाट व्यक्त भएको टिम फलदायी हुन्छ भन्ने कुरा हेर्न बाँकी छ । हामी यो अभ्यासमा छौँ ।
माओवादीमा गुट बनाउँछु भन्नु असफलता
गुट भन्नेकुरा माओवादीमा सबैभन्दा असफल कुरा हो । विगतमा विचार समूह भनेर केन्द्रीय समिति वा महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्ने गरिएको थियो । त्यस्तो राजनीतिक प्रतिवेदनको आधारमा पक्षधरता भएर देशैभरी साथीहरू जोडिने कुरा हुन्थ्यो । त्यो अभ्यास सफल भएन । त्यो अभ्यास गर्ने साथीहरू नै पार्टी छोडेर हिँड्नुभयो ।
त्यसको समिक्षा त होला नै । अन्ततः परिणाम हेर्दा पार्टी जानेहरूकै ध्यान पुगेन भन्ने लाग्छ । किनभने जसलाई आलोचना गरेर योभन्दा राम्रो गर्छौं भनेर जानेहरूले पनि राम्रो गर्न नसकेको स्थिति छ । राष्ट्रिय राजनीतिमा पनि कुनै आकर्षण पैदा गर्न नसकेको स्थिति छ । विचारसमूहको रूपमा हिजो स्थापित भएका गुटहरू पनि अगाडि बढ्न सकेनन् । त्यसपछि पनि फेरि सानातिना प्रतिस्पर्धा गर्न चाहने र अध्यक्षको नजिक हुनको निम्ति बार्गेनिङ गर्ने, कमिटीमा माथि उक्लिनका निम्ति गुटलाई देखाउने, राज्यका जिम्मेवारी वहन गर्न पनि गुटलाई देखाउने प्रवृत्ति हाबी भएको छ ।
यसले पार्टी बन्दैन । यो हिजो पनि असफल भएको हो । अहिले पनि असफल सिद्ध भएको हुँदाखेरी गुट होइन बरु उदात्त भावनासहित विचार र दस्तावेजका आधारमा बहस चलाएर पार्टीलाई वैचारिक केन्द्रको रूपमा लिएर जाने कुरा गरेको भए सही हुन्थ्यो । बार्गेनिङ गर्ने गुटको रूपमा यसलाई बनाइयो भने पार्टी अगाडि बढ्न सक्दैन । त्यसप्रकारका झुण्डहरू, समूहहरू, गुटहरू देखा पर्न खोज्छन्, तिनको अन्त्य नहुञ्जेलसम्म पार्टीले वैचारिक वहसको सही ट्रयाक र संगठनात्मक र सही कार्यक्रमको संयोजनकारी भूमिकामा अगाडि बढ्न सक्दैन । तसर्थ पार्टीका अधिकांश तलका साथीहरूले गुटको अन्त्य गर भनेका छन् ।
पुस्तान्तरण आवश्यक छ, तर अहिलेको नेतृत्व प्रचण्ड नै
पुस्तान्तरण वर्षको मापनबाट गर्न सकिँदैन । वर्षको मापनभन्दा पनि शारीरिक रूपमा कोही मान्छेले सक्छ कि सक्दैन भन्ने कुरा हो । सक्रिय भइरहेको मान्छेलाई अवकाश लिएर बस भन्ने कुरा वैज्ञानिक हुँदैन । जिम्मेवारीको समयावधि तोकिनुपर्छ । अध्यक्ष कतिपटक हुने, राज्यका जिम्मेवारी कतिपटक लिने भन्ने कुरा त समयावधि तोकिदा निकास हुन्छ । वैचारिक नेताको हकमा शारीरिक रूपमा सकुञ्जेलसम्म यति वर्ष गरेको हुँदा फेर्नैपर्छ भन्ने दबाबमा होइन कि आवश्यकता हो कि होइन भन्ने कुराको आधारमा टुंगो लगाउनुपर्छ । हाम्रो पार्टीको अध्यक्ष शारीरिक रूपमा तन्दुरुस्त हुनुहुन्छ ।
उहाँले गरिरहनुभएको छ भने उहाँलाई हटाइरहनुपर्ने विधान बनाउनुपर्ने आवश्यकता छ जस्तो मलाई लाग्दैन । टिम समूहमा बनाएर जिम्मेवारी दिने । तोकेर होइन । समूहमा, कार्यसम्पादनमा फ्रि फ्र्यांक तरिकाले । योग्यता, दक्षता, क्षमताको आधारमा । गुटको व्यवस्थापन गर्ने आधारमा होइन । उसको क्षमता, पार्टीप्रतिको निष्ठा, त्याग सबै कुराको एउटा मापदण्ड बनाएर त्यो मापदण्डअनुसार टिमलाई अगाडि बढाएर नेताको पनि नेतालाई नेतृत्व दिनुपर्ने कुरा नै सही हुन्छ । त्यो विधिमा हामी जानुपर्छ ।
आचरण सुधार गरेर सच्चिन तयार हौँ
पहिलो कुरा इच्छाशक्ति हुनुपर्छ । व्यक्ति कामप्रति निस्क्रिय र उदासीन छ भने केही पनि गर्न सक्दैन । देश र जनताको निम्ति सर्मपित भएर लाग्छु भन्ने कुरा नआउँदासम्म लोभ, पाप पलाइरहन्छ । लोभ, पाप अनुसारको प्राप्ति भएन भने पार्टीमा मान्छे बस्न मान्दैन । त्यसो भएकाले विचार, सिद्धान्तलाई केन्द्रमा राख्ने कुरा, आचरणमा जनशैली बनाउनुपर्यो । बढी आदर्श पनि होइन । जनताको जीवनशैली अनुरूपकै नेताको जीवनशैली हुनुपर्यो । विचार, आदर्श, संस्कृति यी कुराहरूमा माओवादीमा यसबीचमा केही धुलोमैलो लागेकै हो । सच्चिनुपर्ने कुरामा प्रतिवद्ध छौँ । माओवादीहरू सच्चिनुपर्छ भनेर आमजनता, पार्टी कार्यकर्ताहरूले पनि उठाएका छन् । यी कुराहरू पार्टीले सच्चिएर अगाडि बढाउनुपर्छ ।
(पौडेल नेकपा(माओवादी केन्द्र)का सचिव हुन् ।)
प्रतिक्रिया