परम्परागत राजावादी शक्तिहरू अपवादबाहेक सत्ताबाट बाहिर नै छन् । लोकतन्त्रको महिमा गानगर्न नथाक्ने नेपाली कांग्रेस तथा समाजवादको महिमा गानगर्न नथाक्ने एमालेको नेतृत्वमा देश छ । तर देश लगातार पछाडि पर्दै जानु, आर्थिक सामाजिक अवस्था लगातार खस्किँदै जानु, बहुसंख्यक जनता गरिबको गरिब नै रहिरहनु धेरै दुःखको कुरा हो । यो कुरा हामीले जनतालाई बताउनु आवश्यक छ । जनताले यो कुरा थाहा पाउनु जरुरी छ ।
नेपाल किन बन्न सकिरहेको छैन भनेर थाहा पाउन कुनै महाभारत पढिरहनै पर्दैन । गत ३५ वर्षदेखि प्रजातान्त्रिक समाजवादी विचारअनुसार चल्दै आइरहेको र उस्तै परे लोकतन्त्र भनेकै आफू हो भनेर दावा गर्न पनि पछि नपर्ने नेपाली कांग्रेस तथा आफूलाई सृजनात्मक माक्र्सवादको ब्याख्याता, प्रतिरक्षात्मक अवस्थामा पुगेको भनिएको माक्र्सवादको रक्षा र शक्तिशाली बनाउने कामको नेतृत्व गरेको, माक्र्स नेपालमा जीवित छन् भनेर भन्ने दल नेकपा (एमाले) को नेतृत्वमा रहेको छ ।
परम्परागत राजावादी शक्तिहरू अपवादबाहेक सत्ताबाट बाहिर नै छन् । लोकतन्त्रको महिमा गान गर्न नथाक्ने नेपाली कांग्रेस तथा समाजवादको महिमा गान गर्न नथाक्ने एमालेको नेतृत्वमा देश छ । तर देश लगातार पछाडि पर्दै जानु, आर्थिक सामाजिक अवस्था लगातार खस्किँदै जानु, बहुसंख्यक जनता गरिबको गरिब नै रहिरहनु धेरै दुःखको कुरा हो । यो कुरा हामीले जनतालाई बताउनु आवश्यक छ । जनताले यो कुरा थाहा पाउनु जरुरी छ ।
देशको अवस्था यस्तो बन्नुमा यी २ दल कांग्रेस र एमालेभित्र मौलाएको भ्रष्टाचार गर्ने तथा देश दोहन गर्ने प्रवृत्ति धेरै ठुलो कारण हो । संसारमा अति भ्रष्टाचार हुने मुलुकहरू मध्ये (ट्रान्सपरेन्सी इन्टरनेसनल २०२४) अनुसार १०७औँ स्थानमा छ । जुन अघिल्लो वर्षको तुलनामा १ अंक कम हो । यस सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ । यत वर्ष ३५ अंक प्राप्त गरेको नेपालले यस वर्ष ३४ अंक प्राप्त गरेको छ । यो भनेको नेपालमा भ्रष्टाचार अति नै व्याप्त रहेको र बढ्दै गएको तथ्यांक हो । यो रिपोर्टले देशमा भ्रष्टाचारको भयावह अवस्था रहेको कुरालाई जनाउँछ ।
यो अवधिमा कस्ता कस्ता किसिमका भ्रष्टाचारहरू भए र सत्तामा रहनेहरूले कसरी मिलाएर भ्रष्टाचार गर्छन् भन्ने कुराको त फेहरिस्त नै तयार पार्न सकिन्छ । देशी–विदेशी तत्वहरूसँगको अनैतिक साँठगाँठ गरेर देशको सम्पत्ति माथि के कसरी दोहन गरियो वा भनौँ गरिरहेका छन् भन्ने कुराको पनि उस्तै फेहरिस्त तयार पार्न सकिन्छ । सत्तारूढ दलहरूले भ्रष्टाचार र राष्ट्र दोहनलाई कार्यकर्ता पाल्न धन संकलन गर्ने माध्यम बनाएका छन् । पार्टीहरूभित्र निर्माण गरिएका गुटहरू भ्रष्टाचारबाट आर्जित धनको सहयोगमा क्रियाशील र संरक्षित छन् ।
चुनावमा खर्चगरिने अपारदर्शी धन ब्यापारी–राजनीतिक दलहरूको बीचको नेक्ससबाट आर्जित धन हो । जग्गा दान काण्ड यसको एउटा उदाहरण मात्रै हो । चन्दा लिने र चन्दा दिनेलाई धन्दा दिने यो चक्र निरन्तर चलिरहेको छ । अझै अचम्मको कुरा त के छ भने कर्मचारीहरूको नियमित सरुवालाई समेत लेनदेन आधारित बनाइएको छ । सरकारी नियुक्ति लिन भ्रष्टाचारीहरू ब्रिफकेस बोकेर हिँड्छन् । नेताहरूको ढोकाढोका पुग्छन् । कुनै पनि नियुक्ति, सरुवा, बढुवाहरूमा निष्पक्षता, पारदर्शिता र स्वच्छता पाइँदैन । जताततै राजनीतिक संबन्ध, नातगोतावाद, क्षेत्रीयतावाद प्रभावी रहेको देख्न सकिन्छ । कुनै एक प्रकारको नाता सम्बन्ध नभएको अथवा स्वार्थ समूह नजोडिएको अनुहार राजनीतिक नियुक्तिमा पाउन मुस्किल पर्छ ।
देश बनाउने कामको नेतृत्व गर्ने राजनीतिक दलहरूले नै हो । देशमा मौलाउँदै गइरहेको भ्रष्टाचारको संस्कृतिमाथि नियन्त्रण गर्न नसक्दासम्म देशलाई अघि बढाउन, देशको विकास गर्न, समृद्धि हासिल गर्न, जनतालाई खुसी बनाउन सकिन्न । दैनिक २०० कमाउन नसक्ने किसानको अवस्था छ । मजदुरको हालत झनै दयनीय छ । यस्तो अवस्था कायम राखेर जनतालाई खुसी बनाउने भन्ने कुरा नक्कली कुरा हो । भ्रष्टाचार, राष्ट्रदोहनलाई नियन्त्रण गर्न ठुलो अपरेसनको जरुरी पर्छ । म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न भनेर लोकलाई खुसीपार्ने नारा दिएर मात्र भ्रष्टाचार कम हुनेवाला छैन ।
आफ्नो वरिपरि भ्रष्टाचारको आरोप लागेका मानिसहरूको भिड जम्मा गरेर भ्रष्टाचार गर्न दिन्न भनेको सुन्दा, देख्दा लाज लाग्छ । भ्रष्टाचारको आरोप लागेका धेरै मानिसहरू सरकार प्रमुखको समिपमा देखिन्छन् । तिनीहरू माथि गम्भीर किसिमका भ्रष्टाचार तथा कमिसनखोरीको आरोप लागेको छ । तिनीहरू को को हुन् त्यो जगजाहेर छ । भ्रष्टाचार र कमिसनको यो चरित्र देशको मिडिया, एकेडेमीयामा समेत मौलाएको छ । खास ब्यापारी घरानालाई फाइदा पु¥याउन सत्ताधारी दलका उपल्लो तहको नेतृत्व कसरी लागिरहेको छ भन्नेकुरा कसैबाट छिपेको छैन ।
पुनरुत्थानवादी शक्ति बाटोमा आउन मौका खोजिरहेको छ । राजनीतिक दलहरूको अकर्मण्यताले जनताहरूमा निराशा छाइरहेको र वातावरण नै उकुसमुकुस बनिरहेको वर्तमान अवस्थाबाट फाइदा लिन यो शक्ति हरप्रयास गरिरहेको छ । उनीहरूको सग्बगाहटले कतै लोकतान्त्रिक प्रणाली र संविधान माथि नै खतरा निम्त्याउने हो कि भन्ने चिन्ता थपिएको छ । विश्वमै अहिले अति दक्षिणपन्थी उभार आउनसक्ने खतरा पनि देखिएको छ । यसबाट पनि यहाँका दक्षिणपन्थीहरू पनि हौसिएका हुन सक्छन् । संविधान र लोकतान्त्रिक व्यवस्थामाथि खतरा उत्पन्न भइरहेको छ भन्ने कुरालाई कांग्रेसका महामन्त्री तथा एमाले महासचिवहरूमा देखिएको छट्पटीले पनि पुष्टि गर्दछ ।
संविधान पनि बचाउँछौँ, व्यवस्था पनि जोगाउँछौँ भन्ने अभिव्यक्ति यत्तिकै आएको निश्चय नै होइन । यदि साँच्चै नै यो गम्भीर बुझाइको अभिव्यक्ति हो भने अब राजनीतिक दलहरूले आफूभित्रैबाट भ्रष्टाचारको विरुद्धमा, राष्ट्रदोहनको विरुद्धमा जिहाद छेड्न सुरु गर्नुपर्छ । सुशासनको निम्ति जिहाद सुरु गर्नुपर्छ । यहाँ जसले जेसुकै दावा गरे पनि यथार्थ कुरा के हो भने राजनीतिक दलका मुखियाहरू भ्रष्टाचारमा संलग्न छैनन्/हुँदैनन् भनेर भन्यो भने जगत हाँस्ने अवस्था छ । उनीहरूमाथि विश्वास गर्ने मान्छेहरू पाउन मुस्किल देखिन्छ । यही कारण हो केही राम्रा कामहरू भएको भए तापनि विश्वसनीयताको अभावमा त्यो कुरा पनि मजाक जस्तो बन्न पुग्दछन् ।
राजनीतिक दलहरूमा कायापलट भयो भने मात्रै भ्रष्टाचार हट्न वा कम हुन सक्छ, राष्ट्रदोहन कम हुनसक्छ, जुन कुरा असंभव छ । नयाँ नेताहरूसँग मिलेनियम, जेनजी तथा एआई जेनेरेसनको राम्रो सम्बन्ध र सम्पर्क रहेको हुनुपर्छ । १–२ जना टिकटकरसँग राम्रो सम्बन्ध/सम्पर्कको कुरा गरेको होइन । यो पुस्ताकाहरूको सरोकार इतिहासपट्टि धेरै कम देखिन्छ र वर्तमानतिर धेरै देखिन्छ । राम्रो शिक्षा, रोजगारी र स्वतन्त्र जीवन यिनीहरूको जीवनको मकसद हो । जतिसुकै अस्वीकार गरे पनि बालेन र रास्वपाको जितमा मिलेनियम तथा जेनजी ग्रुपको ठुलो सहयोग रहेको कुरा सत्य हो । उनीहरूप्रति किन यो समूहको आकर्षण छ भनेर नबुझी र सोही मुताविक कोर्स करेक्सन नगर्ने हो भने राजनीतिमा बाजी मार्न अब सम्भव देखिँदैन ।
यदि कोर्स करेक्सन गरिएन र यसरी नै अघि बढ्ने दुस्साहस गरियो भने केपीबाहरूको राजनीति त सकिन्छ नै यसको अतिरिक्त घनश्याम, गगन, शंकर, विश्वप्रकाशहरूको भविष्यमा गएर पार्टीको अध्यक्ष बन्ने, देशको प्रधानमन्त्री बन्ने अथवा तिनीहरूले परिकल्पना गरेको समाज व्यवस्था निर्माण गर्ने सपना फगत मृगमरिचिकामा सीमित हुनेछ । इतिहासको ब्याज खानेदिन सकिएको यथार्थलाई जतिछिटो थाहा पाउन सक्यो उतिछिटो देशमा परिवर्तनको रक्तसञ्चार हुनेछ ।
प्रतिक्रिया