केपी ओली कपमा मच्छिन्द्रकाे ह्याट्रिक

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मच्छिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको छ । केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मच्छिन्द्रले तेस्रो संस्करणको उपाधि पनि आफ्नो पक्षमा पार्यो ।

मच्छिन्द्रका लागि स्टेफेन जमाहाले गोल गरे । १ गोल भने आत्मघाती भएको थियो । २९औँ मिनेटमा मच्छिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको गोल रोक्न खोज्दा आर्मीका डिफेन्डर बिमल पाण्डेले आफ्नो गोल पोस्टमा प्रहार गरे ।

मच्छिन्द्रका स्टेफेनले खेलको ७३औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मच्छिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो ।

उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार १११ प्राप्त गर्यो । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुपर्यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा २ विदेशीसहित ९ टोली सहभागी थिए ।

ओली र बुफोनको बीचमा भेट

प्रतियोगिताको फाइनलअघि प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान जियानलुइजी बफोनबीच सोमबार भेट भएको छ । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा आएका इटालीका अन्तर्राष्ट्रिय गोलरक्षक बफोनलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटरमा भेट गरेका हुन् ।

कारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए । प्रतियोगिता ११ फागुनमा सुरु भएको थियो ।

प्रतिक्रिया