नयाँ दिल्ली । एसिया कप २०२५ सेप्टेम्बरमा आयोजना हुने भएको छ । आगामी टी–२० विश्वकप २०२६ लाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता सेप्टेम्बर महिनामा आयोजना गर्ने योजना बनाएको हो । प्रतियोगिता टी–२० संरचनामा खेलाइने छ । एसिसीले प्रतियोगितामा २ टोली थप गरेको छ । यसअघि एसिसीले अन्तर्राष्ट्रिय क्रिकट परिषद् (आइसिसी) को पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई सिधै प्रतियोगितामा प्रवेश दिँदै आएको थियो ।
यस्तै, एसिसी प्रिमियर कपमार्फत एक एसोसिएट राष्ट्रलाई छनोट गर्दै प्रतियोगितामा समावेश गर्ने गरेको थियो । यसपल्ट भने एसिसीले थप २ एसोसिएट राष्ट्रलाई पनि प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको छ । सेप्टेम्बरको प्रतियोगितामा गत वर्ष ओमानमा भएको प्रिमियर कप विजेता संयुक्त अरब इमिरेट्स (युएई) बाहेक उपविजेता ओमान र हङकङले पनि सहभागिता जनाउने भएका छन् ।
नेपाल भने यस संस्करणमा सहभागी हुने छैन । सन् २०२३ को एसिया कपमा खेलेको नेपाल यसपटक छनोट हुन असफल भएको हो । प्रिमियर कपमा हङकङसँग नेपाल ४ विकेटले पराजित हुँदै चौथो भएको थियो । युएई, ओमान र हङकङले एसिसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्ने छ । नेपाल भने यो प्रतियोगिताबाट समेत वञ्चित हुनेछ ।
एसिया कप सुरुमा भारतले आयोजना गर्ने भनिएको थियो । भारत–पाकिस्तान सम्बन्धलाई ध्यानमा राख्दै एसिसीले तटस्थ स्थल रोज्ने सम्भावना बढेको छ । रिपोर्टअनुसार प्रतियोगिता श्रीलंका वा युएईमा आयोजना हुन सक्छ । आयोजकको रूपमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) नै रहनेछ । अहिले जारी च्याम्पियन्स ट्रफीको संरचनामा आइसिसी प्रतियोगिताको आयोजना पनि हुन सक्ने छ । च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तान हो । तथापि भारतका सबै खेल संयुक्त अरब इमिरेट्समा भइरहेका छन् ।
प्रतियोगितामा साविक विजेता भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई, ओमान, हङकङ र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछ । ८ टोलीलाई २ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष २ टोलीहरू सुपर फोरमा प्रवेश गर्नेछन् । सुपर फोरबाट शीर्ष २ टोली फाइनलमा भिड्नेछन् । २०२३ संस्करणको फाइनलमा भारतले श्रीलंकालाई पराजित गरेको थियो । यस प्रतियोगितामा पनि भारतलाई उपाधिको प्रवल दाबेदार मानिएको छ । भारत पछिल्लो टी–२० विश्वकपको उपाधि विजेता हो ।
प्रतिक्रिया