काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नेपाल राष्ट्र बैंकले मंगलबार गरेको मौद्रिक समीक्षामा मिश्रित प्रतिक्रिया दिएको छ । व्यक्तिगत सवारीसाधन र सबै प्रकारका सवारीसाधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेपछि नाडाले यस्तो प्रतिक्रिया दिएको हो ।
खासगरी विद्युतीय सवारीसाधन व्यवसाय गर्ने अटोव्यवसायीलाई मर्का पर्ने नाडाले जनाएको छ । यसलाई ८० प्रतिशत कायम गर्न नाडाले माग गरेको छ । ६० प्रतिशतमा झार्दा इभी व्यवसायमा मर्का पर्ने नाडाको प्रतिक्रिया छ । यद्यपि नाडाले डिजेल÷पेट्रोलका सवारीसाधनको हकमा भने यो व्यवस्था सह्राहनीय रहेको नाडाको ठहर छ ।
नाडाले भनेको छ, ‘सरकारले नीतिगत रूपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोहीअनुरूप सरकारले विगतको समयदेखि नै विद्युतीय सवारीसाधनहरूलाई विशेष सुविधासमेत प्रदान गर्दै आएकोमा वर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिन्छ ।’
नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतीय सवारी साधनहरूको प्रयोगमा निश्चित रूपमा कमी आउने अवस्था आएको नाडाको दाबी छ । ‘सरकारको आफनो घोषित नीतिको पालना र विद्युतीय सवारीसाधनहरूको हकमा व्यवसायीहरूको लगानीलाई सुरक्षित बनाउन यसअघिकै नीति अर्थात् ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछौँ’, नाडाले भनेको छ ।
प्रतिक्रिया