काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा १३औँ पटक पनि उपविजेतामै सीमित भएको छ । विभिन्न प्रतियोगितामा गरेर १३ पटक फाइनल प्रवेश गरेको नेपाल १३ पटक नै फाइनलमा पराजित भएको हो ।
बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनलमा पनि नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भयो । नेपालले यसअघि साफ महिला च्याम्पियनसिपमा ६ तथा दक्षिण एसियाली खेलकुदमा ३ पटक फाइनलमा पराजयको सामना गरेको थियो । वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा पनि नेपाल फाइनलमा नै पराजित भएको हो । नेपालले १ वर्षको अन्तरालमा तेस्रो पटक फाइनलमा हारको सामना गरेको हो ।
नेपाल १ वर्षअघि साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो । गत कात्तिकमा दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । यस पटक उपाधिको लक्ष्य राखेको नेपालले पहिलो हाफमा विपक्षी टोलीलाई दबाबमा राखे पनि गोल गर्न असमर्थ रह्यो ।
प्रत्याक्रमणमा उत्कृष्ट म्यानमार दोस्रो हाफमा भने २ गोल गर्न सफल भयो । म्यानमारलाई उपाधि दिलाउन यु पेर खिनेले गोल गरिन् । उनले बायाँ क्षेत्रबाट नेपाली रक्षकलाई पार गर्दै गोल गरेकी थिइन् । ६२औँ मिनेटमा पहिलो गोल गरेको म्यानमारका लागि ६४औँ मिनेटमा विन तुनले गोल गरिन् । उनको नेपाली राष्ट्रिय टोलीविरुद्ध सबै प्रतियोगितामा गरेर यो पाँचौँ गोल हो । उनले हिरो कपको फाइनलमा पनि नेपालविरुद्ध गोल गरेकी थिइन् ।
पहिलो हाफमा भने नेपाल हाबी भएको थियो । ३५औँ मिनेटमा नेपालले पनि अवसर गुमायो । रेखा पौडेलले निकाल्दिएको बललाई बक्सबाट सावित्रा भण्डारीले प्रहार गरेकी थिइन् । सो बल म्यानमारकी गोलकिपर म्या म्याले बचाएकी हुन् । रिबाउन्डमा रेखा र सरु लिम्बूले प्रयास गरे पनि उनीहरू पनि सफल हुन सकेनन् ।
अञ्जिलालाई छक्याउँदै उनले प्रहार गरेको चिप बलले सीधै जाली चुम्यो । लगत्तै नेपालले अर्को गोल बेहो¥यो । म्यानमारकी कप्तान विन तुनको प्रहारलाई बचाउने क्रममा गीताको टाउकोमा बल लाग्दै पोस्टसम्म पुगेको थियो । यसअघि पहिलो चरणमा नेपाल र म्यानमारबीच २–२ गोलको बराबरी भएको थियो ।
नेपालले दोस्रो हाफमा रश्मी घिसिङलाई रेखा पौडेलको स्थानमा मैदानमा प्रवेश गराएको थियो । उनले केही राम्रो प्रयास गरे पनि म्यान्मारकी गोल रक्षकले त्यसलाई विफल बनाएकी थिइन् । त्यसैगरी नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर रेनुका नगरकोटे च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । रेनुकाकै उत्कृष्ट प्रदर्शनप्रेरित नेपाली टिमले प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने रेनुकाले ५० हजार रुपैयाँको चेक प्राप्त गरिन् ।
प्रतिक्रिया