कम्युनिस्ट आन्दोलनको गन्तव्यहीन यात्रा

शीर्षस्थ नेताहरूले निरंकुश र स्वेच्छाचारी प्रवृत्ति देखाउनाले इमानदार, निष्ठावान् एवं सक्रिय नेता तथा कार्यकर्ताहरू प्रताडित बनेका छन् । समान विचार र भावना बोक्ने नेता तथा कार्यकर्ताहरूले गुट उपगुट बनाई गुटको राजनीति गरेका छन् । पार्टीका कार्यकर्तामा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै जाँदा पार्टी संगठन कमजोर हुँदै गएको छ । वस्तुतः समग्रमा कम्युनिस्ट राजनीति विकृत बन्दै गएको छ ।

जगदीश रेग्मी

विश्वमा सन् १९१७ मा रुसबाट थालनी भएको बामपन्थी आन्दोलनको यात्रा बिस्तारै शिथिल हुँदै गई वर्तमान अवस्थामा आइपुग्दा गतिहीन र गन्तव्यहीन बन्न पुगेको छ । यसको प्रमुख कारण भनेको बामपन्थीहरूले विचार र सिद्धान्तको राजनीति नगर्नु हो । ट्रेडमार्क कम्युनिस्टको छ तर व्यवहार निरंकुशतन्त्रको जस्तै छ । अर्को दोस्रो कारण बामपन्थीहरूमा कम्युनिस्ट स्कुलिङ र पृष्ठभूमिको अनुपालना देखिँदैन । राजनीतिलाई विचार, दर्शन, सिद्धान्त, आदर्श र मूल्य मान्यताले निर्देश गर्छ । बिडम्बना नै मान्नुपर्छ कम्युनिस्ट राजनीतिमा क्रान्तिकारिता मरेर गएको छ । यसले गर्दा बामपन्थी आन्दोलनले स्वभाविक गति लिन सकेको छैन र गन्तव्यहीन बन्न पुगेको छ ।

नेपालमा कम्युनिस्ट पार्टीभित्र मौलाउँदै गएको विलासिता, भ्रष्टाचारी प्रवृत्ति, माफियाकरण, नातावाद–कृपावाद, अकुत सम्पत्ति आर्जन गर्ने मोह आदिका कारण समाजवादको राजनीति विकृत बन्दै गएको छ । फलस्वरूप एकातर्फ सीधा–सादा र निष्ठावान् नेता तथा कार्यकर्ताहरू पाखा लागेका छन् भने अर्कोतर्फ गुन्डा नाइके, तस्कर, ठेकेदार, कालो बजारियाहरूले पार्टीभित्र कब्जा जमाएका छन् । पार्टीका भुइँ तहबाट आएका नेता तथा कार्यकर्ताहरू नवसामन्त वा नवधनाढ्यमा परिणत हुँदै गएका छन् । पार्टीभित्र माफियाकरणको प्रवृत्ति मौलाएको छ । फलतः कम्युनिस्ट पार्टीहरूले जनाधार गुमाउँदै गएका छन् । पार्टी संगठन कमजोर छ । नेता तथा कार्यकर्तामा सैद्धान्तिक विचलन र वैचारिक अस्पष्टता देखिएको छ । पार्टीका शीर्षस्थ नेतृत्वले बाटो बिराएका छन् । फलस्वरूप बामपन्थी आन्दोलनको यात्रा निरन्तर ओरालो लागेको लाग्यै छ ।

कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूमा पार्टी अनुशासनहीनता र अनैतिकता झांगिँदै गई सम्हाल्नै नसकिने स्थितिमा पुगेको छ । राजनीतिक संस्कार बिर्संदै गएका छन् । उनीहरूको पारा सइनसक्नुको देखिन्छ । शीर्षस्थ नेताहरूले निरंकुश र स्वेच्छाचारी प्रवृत्ति देखाउनाले इमानदार, निष्ठावान् एवं सक्रिय नेता तथा कार्यकर्ताहरू प्रताडित बनेका छन् । समान विचार र भावना बोक्ने नेता तथा कार्यकर्ताहरूले गुट उपगुट बनाई गुटको राजनीति गरेका छन् । पार्टीका कार्यकर्तामा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै जाँदा पार्टी संगठन कमजोर हुँदै गएको छ । वस्तुतः समग्रमा कम्युनिस्ट राजनीति विकृत बन्दै गएको छ ।

सर्वहारा वर्गको अधिनायकत्वको समाजवादी राज्य व्यवस्था स्थापना गर्ने महान संकल्पका साथ २००६ वैशाख १० गते पुष्पलाल श्रेष्ठको पहलमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । सामन्तवादलाई समूल रूपमा नष्ट गर्दै समाजवादी व्यवस्था स्थापना गर्ने राजनीतिक दृष्टिकोण लिएर स्थापना भएको थियो । तर दुर्भाग्य, कम्युनिस्ट नेताको वर्ग चरित्र र विचारबीच तालमेल मिलेको छैन । कम्युनिस्टहरू अन्तरमुखी र व्यक्तिकेन्द्रित भएका छन् । आत्मनिर्भर खालको सबल राष्ट्रिय अर्थतन्त्र निर्माण, राष्ट्रिय स्वार्थमा आधारित वैदेशिक सम्बन्ध बिस्तार, राष्ट्रियताको रक्षा, जनमुखी कार्यक्रमजस्ता सर्वोत्कृष्ट लक्ष्य लिएको कम्युनिस्ट पार्टी देशभित्रकै विचौलिया र शक्तिराष्ट्रहरूको घेराबन्दीमा परेको छ । यो पार्टी तिकडमबाजी गरेर स्वदेशकै स्वार्थ समूह र शक्ति केन्द्रहरूलाई रिझाएर सत्ता प्राप्ति र टिकाउमा लाग्ने गर्दा तथा पार्टीसत्ता र राज्यसत्ताकेन्द्रित राजनीति गर्नाले दिनानुदिन आफ्नै प्रतिष्ठा गुमाएको छ ।

नेकपा (एकीकृत–समाजवादी) का अध्यक्ष माधव नेपाल वर्तमान कम्युनिस्ट आन्दोलनको अवस्था बारेमा भन्छन्, ‘कम्युनिस्ट पार्टीभित्र चरम रुपमा स्वार्थ र व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको छ । कम्युनिस्ट आन्दोलनको बाधक कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण नै हो । कम्युनिस्ट पार्टीभित्र मौलाउँदै गएको भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुनै सक्दैन । पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको छ ।’ नेपालको यो यथार्थपूर्ण अभिव्यक्तिबाट कम्युनिस्टहरूले समाजवादको ढोंगी आदर्श बोकेर विलासी जीवनशैली, पारिवारिक लिप्तता, राजनीतिक अदूरदर्शिता र भ्रष्टाचारको जन्जालमा फसेर सर्वहाराको आवरणमा राजनीति गरिरहेको बुझ्न सकिन्छ । यही कारणले कम्युनिस्ट पार्टी सर्वत्र आलोचित छ ।

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वर्तमान कम्युनिस्ट पार्टीभित्र हराउँदै गएको निष्ठा र अनुशासनको बारेमा भन्छन्, ‘कम्युनिस्ट पार्टीमा अनुशासन हराउँदै गएको छ । पार्टीमा व्यक्तिगत स्वार्थ, पद–प्रतिष्ठाकेन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । पार्टीको विधि र विधान पद्धतिलाई अवलम्वन गर्ने कुरा कमजोर बन्दै गयो । पार्टीलाई लोकतान्त्रीकरण गर्न र सुदृढ गर्न पहिले आफैँ बदलिन र सच्चिन जरूरी छ ।’ माओवादी नेता जनार्दन शर्मा माओवादी पार्टीको विजोग स्थिति देखेर भन्छन्, ‘माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो । आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ, न कुनै देखाउन लायक कामहरू छन्, न हामीसँग कुनै मौलिक विकासको मोडल छ ।’ माओवादीका शीर्ष नेताहरूबाट प्रस्फुटित यस्ता अभिव्यक्तिले कम्युनिस्ट पार्टीको विचार, संगठन तथा नेतृत्व कमजोर र निकम्मा बन्दै गएर पार्टी गन्तव्यहीन अवस्थामा पुगेको सिद्ध गर्छ ।

कम्युनिस्ट पार्टीभित्रकै जुनियर नेता तथा कार्यकर्ताले शीर्षस्थ नेतृत्वप्रति नाना–भाँतिका आरोपहरू लगाएका छन् (१), शीर्षस्थ नेताहरू आत्मकेन्द्रित, सत्तामुखी, स्वेच्छाचारी, अवसरवादी भए, (२), पार्टी संगठन कमजोर र शून्य पारे, (३), निर्वाचनमा विधि र विधान मिचेर माफिया तस्करहरूलाई मात्रै टिकट दिए, (४), निकट व्यक्तिलाई मात्रै मन्त्री बनाए, (५), पार्टीमा समर्पित निष्ठावान्, इमानदार र वफादार कार्यकर्तालाईभन्दा आफन्त र आसेपासेलाई सुविधा र अवसर दिए । लामो इतिहास बोकेका नेताहरू कठोर खालका त्याग, संघर्ष, बलिदान, जेलनेल र भूमिगत जीवन बिर्सेर पद, प्रतिष्ठा र पैसाको प्रलोभनमा फसे, जसबाट नेताहरू आमजनताको सुख र समृद्धिमा होइन, आफ्नो अवस्था सुधार्नतर्फ लागे भन्ने कुराको पुष्टि यस्ता आरोपहरूले गर्छ ।

पदको लोभ नगर्ने नेताहरू इतिहासमा दुर्लभ नै भेटिन्छन् । त्यसैले नेपालमा कम्युनिस्ट कार्यकर्तामा पदबिना कोही बस्नै हुँदैन वा बाँच्नै सकिँदैन भनी पदका निम्ति मरिहत्ते गर्ने संस्कारको विकास भएको छ । यसैकारणले होला, कम्युनिस्ट पार्टीहरूमा विभाजनको अभ्यास र संस्कृति निर्माण भएको छ । वस्तुतः नेपालमा कम्युनिस्टहरू २४ पार्टीमा विभाजित छन् । तानाशाहबिरुद्धको विश्वमा सञ्चालित महान क्रान्तिका योद्धा(नायक)हरू महात्मा गान्धी तथा लालबहादुर शास्त्री(भारत), नेल्सन मण्डेला(दक्षिण अफ्रिका), जर्ज वासिङ्टन(अमेरिका), पोप फ्रान्सिस(भ्याटिकन) हरूले कहिल्यै कुनै राजनीतिक पद हासिल गर्ने इच्छा राखेनन् । नेपालका कम्युनिस्टहरूले पनि तिनको सिको गर्नुपर्ने अवस्था आएको छ ।

कम्युनिस्टका शीर्षस्थ नेतृत्व तहबाटै संविधानको प्रस्तावनामा समाजवादउन्मुख समाज व्यवस्था निर्माण गर्ने भनेर लेख्ने बित्तिकै हठात् समृद्धिको यात्रा सुरू भयो, अब सुखका तथा खुसीका दिनहरू प्रारम्भ भए, अब कसैले दुःख मनाउको स्थिति भोग्नुपर्ने छैन, घर–घरमा समृद्धिका आधार जे जे पुग्नुपर्ने हो त्यो पुग्नेछ भन्ने झूठा आश्वासन जनतासामु बाँडियो । त्यसैगरी आमजनतामाझ घरघरमा ग्याँसको पाइप फिटिङ गरिदिने, पानीजहाज चलाउने, मेट्रो रेल चलाउनेजस्ता अतिशयोक्ति र भ्रमपूर्ण आश्वासनहरू दिइयो ।

जनअपेक्षा सम्बोधन हुने विश्वासमा रहेका आमजनताले कम्युनिस्ट नेताहरूबाट पटकपटक धोखा दिएको महसुस गरे । जसले आमजनतामा चरम निराशा र आक्रोश सिवाय केही दिएन । मुलुकमा गणतन्त्र प्राप्तिका लागि अनवरत संघर्ष गरेका जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । त्यसको विपरीत नेताले मात्रै अकुत सम्पत्ति आर्जन गरी नवधनाढ्य बनेर सुखसयल र विलासिताको जिन्दगी बिताएको आफ्नै आँखाले देखे । फलतः कम्युनिस्ट पार्टी जनताको अपेक्षा र राष्ट्रको आवश्यकताबमोजिम काम नगरेर आलोचित बन्नु पर्यो ।

जनतालाई केन्द्रमा राखेर राजनीति गरिएन र देशलाई अघि बढाउने सोच राखिएन भने जनताको विश्वास जित्न सकिँदैन । यो कुरा नेता तथा कार्यकर्ताले भुल्नु हुँदैनथ्यो भूलेका छन् । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू सत्ता र शक्तिमा रहेको अवस्थामा यौनजन्य प्रकरणहरूमा मुछिएको, अपराध कर्महरूमा संलग्न रहेको, लागुऔषध, मादकपदार्थ सेवनजस्ता कुलतमा फस्ने गरेको, आर्थिक अनियमिततामा डुबेको जस्ता संगीन आरोपहरू आमनागरिक र स्वयं पार्टीका शीर्षस्थ नेतृत्वबाटै आएका छन् । यस्ता आरोपहरूले गर्दा कम्युनिस्ट पार्टीहरू रसातलमा पुगी आलोचित बनेका छन् । शक्तिको उन्मादमा चुर्लुम्म डुबेका नेताहरूलाई यस कुरामा कुनै चिन्ता छैन । सुखभोग र विलासितामै रमाएका शक्तिशाली र प्रभावशाली नेताहरूले बामपन्थी आन्दोलनलाई गति दिने दिशातर्फ कुनै चासो र ध्यानै दिएका छैनन् ।

कुनै पार्टीको राजनीति सङ्लो बन्न राष्ट्रिय राजनीति पनि सफा हुनुपर्छ । माओवादी नेता देव गुरुङले राष्ट्रिय राजनीतिमा आएको विकृति र त्यसको समाधानका बारेमा यस्तो अभिव्यक्ति दिएका छन्, ‘राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरू बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको छ । राष्ट्रिय राजनीतिमा विकासको स्थिरता, स्थायित्व, निरन्तरता आदि अनिवार्य रहेको छ ।’ गुरूङले भनेअनुसार पार्टीमा इतिहास छ, विचार छ, विरासत छ भनेर मात्रै पार्टी स्वच्छ बन्दैन । पार्टीलाई सुदृढ र सबल बनाउन जनाधार प्राप्त गर्नुपर्छ । यो कुरा पार्टीको भविष्य निर्माण र बामपन्थी आन्दोलनलाई जीवन्त बनाउनका लागि चिन्तनयोग्य कुरा हो ।

जनता नै त्यो निर्णायक शक्ति हो, जसले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई निमिट्यान्न पार्छ । जनताबिना पार्टी बन्दैन, जनता नै जनार्दन हुन् । वर्तमान समयमा नागरिक तहबाट समकालीन राजनीतिक दल र राज्य व्यवस्थाविरोधी भावना प्रदर्शन हुन थालेका छन् । राजनेताहरूमाथि नै भौतिक आक्रमणका गतिविधिहरू देखिन थालेका छन् । त्यसैले कम्युनिस्ट पार्टीले जनमुखी काम गरेर जनतामा परिवर्तनको अनुभूति दिलाउनुपर्छ र त्यसो गर्यो भने मात्रै कम्युनिस्ट पार्टीको भविष्य सुनिश्चित हुन्छ । सर्वहारा वर्गलाई राज्यसत्तामा स्थापित गर्ने दृढ लक्ष्य लिएर जनताको विश्वास जिते मात्र बामपन्थी आन्दोलनले सही दिशा लिन्छ ।

प्रतिक्रिया