काठमाडौँ । अनुत्पादक क्षेत्र मानिएको सुनको मूल्यले नेपाली बजारमा नयाँ–नयाँ रेर्कड कायम गर्दै गएको छ । मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुग्यो । यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । फागुन ८ गते पनि सोही मूल्यमा पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ५ वर्षमा करिब १२५ प्रतिशतले सुनको मूल्य बढेको देखिन्छ । २०७६ साल चैत अन्तिममा सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो भने २०८१ फागुन १३ मा आइपुग्दा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ ।
२०७७ चैत अन्तिममा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य २०७८ चैत अन्तिममा १ लाख १ हजार ५०० पुगेको थियो । त्यस्तै, २०७९ चैत अन्तिममा १ लाख १० हजार ८०० रहेको सुनको मूल्य २०८० चैतको अन्तिम कारोबार दिन १ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । सरसर्ती हेर्दा यो वर्ष वैशाखदेखि फागुन १३ सम्ममा सुनको मूल्य ३२ हजार रुपैयाँले बढेको छ ।
मंसिर ९ गते १ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य सरकारले भन्सार दर आधाले घटाएर २० बाट १० प्रतिशतमा ल्याउँदा १७ हजार रुपैयाँले घटेर मंसिर १० गते १ लाख ५१ हजार ३०० पुगेको थियो । तर, अहिले सुनको मूल्य फेरि लगातार बढिरहेको छ ।
सुनको मूल्य बढ्नुमा विश्व अर्थतन्त्रको महत्वपूर्ण योगदान रहने गरेको अर्थविद्हरूले बताउने गरेका छन् । विश्व बजारमा लगानी कहाँ गर्ने ? भन्ने अन्योल हुँदा लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुने गरेको दाबीसमेत गरिन्छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट आयात हुने सामग्रीमाथि थप शुल्क लगाइदिने भन्दै घोषणा गरेपछि विश्व बजारमा एकखालको अन्योल छाएको विज्ञहरूको तर्क छ ।
अहिले विश्व व्यापार युद्ध हुने त्रास बढेको समेत दाबी गरिएको छ । विश्व बजारको प्रभाव नेपाली बजारमा देखापर्न थालेको बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य करिब २ हजार ९२० अमेरिकी डलर पुगेको छ । १ औंस सुन भनेको करिब २८ दशमलव ३५ ग्राम हुन्छ । ५ वर्ष पहिले उक्त मूल्य करिब १ हजार ६०० डलर थियो ।
आमनेपालीले किन्नै नसक्ने अवस्था आउँदै छ : माणिकरत्न शाक्य, पूर्वअध्यक्ष सुनचाँदी व्यवसायी महासंघ
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले सुनको मूल्य नेपालीले किन्नै नसक्ने गरी बढ्न सक्ने बताए । ‘सुनको मूल्य निरन्तर बढ्नुमा अन्तर्राष्ट्रिय भू–राजनीतिले प्रभाव पारेको छ,’ उनले भने, ‘अमेरिकाको इकोनोमीमा आएको परिवर्तन र राजनीतिक परिवर्तन, रुस–युक्रेन युद्धलगायत घटनाले सुनको मूल्य बढेको विश्लेषण गरिएको छ ।’
उनका अनुसार अमेरिकादेखि लन्डनसम्म विश्वकै ठुला सुन बजारमा सुन नै नभेटिने अवस्था छ । यसको अर्थ हो– सुनको माग ह्वात्तै बढेको छ । विश्वव्यापी रूपमा लगानीकर्तासँगै राष्ट्रकै बीच सुनमा प्रतिस्पर्धा छ । ‘सुनको मूल्य कति बढ्छ भन्नु भन्दा पनि यही गतिमा जाने हो भने आमनेपालीको आर्थिक हैसियतले सुन किन्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘अहिले बढेको मूल्य डलरको कारण मात्रै होइन, अरू पनि कारण छन् ।’
पलायन हुँदै सुन व्यवसायी
नेपाली मागअनुसार सुन आइरहेको उनले बताए । उनका अनुसार हाल नेपाली बजारमा दैनिक २० किलो सुन आइरहेको छ । बजार मूल्य बढ्दा व्यवसायीहरू समेत समस्यामा पर्दै गएको उनले बताए । उनले भने, ‘किन्न सक्ने मानिस भएनन् भने व्यवसायीहरू आफैँ प्रभावित हुन सक्ने अवस्था छ । हाल नेपालमा करिब २२ हजार व्यवसायी रहेको तथ्यांक छ । व्यवसायी पलायन हुने क्रम जारी छ ।’ सुन व्यावसायी अवसरको खोजीमा युरोप, अमेरिकादेखि खाडी मुलुकसम्म पुग्ने गरेको उनले सुनाए ।
कोटा प्रणालीले पारेको असर
सरकारले सुनमा कोटा तोकेका कारण बजार प्रभावित भएको महासंघका पूर्वअध्यक्ष शाक्यको आरोप छ । उनले भने, ‘महासंघले कोटा सिस्टम हटाउन पटक–पटक पहल गरेको छ । सुन जस्तो महत्वपूर्ण वस्तुमा कोटा लगाउँदा सरकारलाई घाटा हुनुका साथै अर्थतन्त्रमा असर गरिरहेको छ ।’ कोटा तोक्दा बजारमा विकृति पनि बढेको उनले बताए । सुन आयात व्यवस्थित गर्न र मुलुकको शोधनान्तर स्थिति सन्तुलन गर्न राष्ट्र बैंकले २०६६ सालमा कार्यविधि बनाएको थियो । कार्यविधिअनुसार व्यवसायीले दैनिक १५ किलो मात्रै किन्न पाउथे । पछिल्लो समय व्यवसायीकै अनुरोधमा दैनिक २० किलो सुन वितरण गर्ने गरिएको छ ।
केन्द्रीय बैंकहरूले किन्न थाले सुन
सन् २०२४ मा विश्वभर सुनको माग ४ हजार ९७४ मेट्रिक टन पुगेको बिबिसीले उल्लेख गरेको छ । उक्त परिमाणको सुनको मूल्य अमेरिकी डलरमा करिब ३८२ अर्ब हो । सन् २०२४ मा लगानीका लागि लगभग १ हजार २०० टन सुन किनिएको बताइएको छ । सो वर्ष केन्द्रीय बैंकहरूले चाहिँ १ हजार टन सुन किनेका थिए । धेरै किन्नेमा चीन र भारत पनि पर्छन् । वल्र्ड गोल्ड काउन्सिलको आँकडाअनुसार भारतसँग ८७६ टन सुन ढुकुटीमा छ भने चीनसँग २ हजार २७९ टन छ । सबैभन्दा धेरै अमेरिकासँग ८ हजार १३३ टन रहेको देखिन्छ । नेपालको आँकडा त्यसमा देखाइएको छैन । विश्वभरका केन्द्रीय बैंकहरूले धमाधम सुन खरिद गरिरहँदा नेपालमा भने राष्ट्र बैंकलाई सुन खरिद गरेर ढुकुटीमा राख्ने अधिकार नै नभएको राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।
प्रतिक्रिया