स्टार खेलाडीले यसपटक एनएसएल गुमाउने

काठमाडौँ । गोलकिपर विकेश कुथुले नेपाल सुपर लिग (एनएसएल) गुमाउने भएका छन् । एनएसएलको तेस्रो संस्करणको मिनी अक्सनमा ‘ए’ क्याटोगोरीका उनलाई कसैले पनि बोली लगाएनन् । नबिकेका खेलाडीलाई फ्रेन्चाइजीले विस लिस्टमार्फत आवद्ध गराउने नियम भए पनि सो उक्त लिस्टमार्फत पनि उनलाई कसैले चुनेनन् ।

फरवार्ड नवयुग श्रेष्ठले पनि नेपाल सुपर लिग (एनएसएल) गुमाउने भएका छन् । ‘ए’ क्याटोगोरीमा रहेका उनलाई पनि कसैले बोली लगाएनन् । उनलाई पनि विस लिस्टमार्फत आवद्ध गराउन कोही तयार भएनन् ।

अर्का स्टार फरवार्ड भरत खवासले नेपाल सुपर लिग (एनएसएल) गुमाउने भएका छन् । ‘ए’ क्याटोगोरीका खवासलाई पनि अक्सनमा कसैले बोली लगाएनन् भने विस लिस्टमार्फत पनि प्रवेश गराउन कुनै टोली तयार भएन ।

यसपटकको एनएसएलमा डिफेन्सिभ मिल्डफिल्ड सन्तोष खत्रीले ललितपुर सिटीबाट खेल्ने भएका छन् । ‘ए’ क्याटोगोरीमा रहेका उनले यसअघि इलाम डे मेचीबाट एनएसएल खेलेका थिए । उनलाई पोखरा थन्डर्स, ललितपुर र झापा एफसीले बोली लगाएका थिए ।
उनको न्यूनतम मूल्य २ लाख भए पनि उच्चतम मूल्यमा पुगेपछि गोला प्रथाबाट ललितपुरले ४ लाख रुपैयाँमा क्लबमा अनुबन्ध गरेको हो । गोलकिपर दीप कार्कीले लुम्बिनी एफसीबाट खेल्नेछन् । ‘ए’ क्याटोगोरीका उनलाई अक्सनमा कसैले बोली नलगाएपछि विस लिस्टमार्फत उनलाई बुटवलले क्लबमा आवद्ध गराएको हो ।

युवा गोलकिपर क्रिशल मोक्तान भने पोखरा थन्डर्स पुगेका छन् । उनी ‘बी’ क्याटोगोरीमा थिए । नेपाली उमेर समूहको गोलपोस्ट सम्हाल्दै आएका उनले पहिलोपल्ट व्यावसायिक लिग खेल्न लागेका हुन् । उनले न्यूनतम मूल्य १ लाख ५० हजार थियो । गोला प्रथाबाट उनलाई पोखराले २ लाख रुपैयाँमा क्लबमा आवद्ध गराएको हो । उनलाई ललितपुर सिटी एफसीले पनि बोली लगाएको थियो ।

मिडफिल्डर सुरजज्यु ठकुरीले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनी ‘ए’ क्याटोगोरीमा थिए । उनले यसअघि एफसी विराटनगर र पोखराबाट एनएसएल खेलेका थिए । उनी न्यूनतम मूल्य अर्थात २ लाखमा पोखरा फर्किएका हुन् ।

एनएसएलका मार्की खेलाडी

एनएसएल तेस्रो संस्करणमा सहभागी हुने ७ टोलीको मार्की खेलाडी टुंगो लागेको छ । यसपल्ट साविक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले जनाएको छ ।

अघिल्लो सिजनका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने यसपल्ट सहभागिता जनाउने छैनन् । ललितपुरले नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङलाई मार्की बनाएको छ ।

अघिल्लो संस्करणमा पनि उनी ललितपुरकै मार्की थिए । उनको कप्तानीमा ललितपुरले उपाधि जितेको थियो ।

यस्तै, चितवनको फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा सम्झौता गरेको छ । अघिल्लो संस्करणमा चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई मार्की खेलाडी बनाएको थियो । उनले नै चितवनको कप्तानी आर्मब्यान्ड लगाएका थिए ।

अञ्जन भने झापा एफसीको मार्की खेलाडी थिए । उनले नै कप्तानी जिम्मेवारी सम्हालेका थिए । अञ्जनको कप्तानीमा रहेको झापाले ८ खेलमा २ जित र ४ बराबरीसहित १० अंक जोड्दै पाँचौँ स्थानमा रहेर लिग सक्काएको थियो । चितवनले नेपाली राष्ट्रिय टोलीका पूर्वअन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

अञ्जन चितवन लागेसँगै झापाले सेन्ट्रल मिडफिल्डर लाकेन लिम्बूलाई मार्की खेलाडीको जिम्मेवारी सुम्पिएको छ । अघिल्लो संस्करण पनि उनी झापामै थिए ।

२२ वर्षीय लाकेन हाल भारतीय आई लिग क्लब दिल्ली एफसीमा आबद्द छन् । उनीसँग थ्री–स्टार, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडसँग खेलेको अनुभव पनि छ । मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् ।

धनगढीले कृतिशरत्न छुन्जुलाई मार्की खेलाडीको रूपमा सम्झौता गरेको छ । २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डर छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए । उनी दोस्रो सिजन भने धनगढी पुगेका हुन् ।

बुटवल लुम्बिनीले विंगर मनिष डाँगीलाई मार्की खेलाडी बनाएको छ । बुटवलले भुटानी नागरिक पुष्षलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोखराको मार्की खेलाडीमा १९ वर्षीय सेन्ट्रल फरवार्ड समीर तामाङ अनुबन्धन भएका छन् । समीरको यो पहिलो व्यावसायिक प्रतियोगिता हो । नेपालले खेलेका विभिन्न उमेर समूहका प्रतियोगितामा उनले प्रतिनिधित्व गरिसकेका छन् ।

पोखराले अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका आयुष घलानलाई कप्तानी जिम्मेवारी सुम्पिसकेको छ । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी थिए । आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै २ गोल गरेका थिए । पोखराले यसअघि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।
पहिलो संस्करणको विजेता काठमाडौँले रोहन कार्कीलाई मार्की खेलाडी बनाइएको छ । उनले गत संस्करण धनगढी एफसीबाट एनएसएल खेलेका थिए ।

सर्वाधक मूल्यमा बिक्ने खेलाडी

तेस्रो संस्करणको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । मिडफिल्डर मणिकुमार लामा सर्वाधिक मूल्यमा बिक्री हुने पहिलो खेलाडी बने । उनलाई साविक विजेता ललितपुर सिटी र एफसी चितवनले अन्तिमसम्म बोली लगाएका हुन् । ‘ए’ क्याटोगोरीमा रहेका उनको न्यूनतम मुख्य २ लाख भए पनि ४ लाखसम्म जाँदा पनि कुनै टोलीले नछाडेपछि लक्की ‘ड्र’ गरिएको थियो । त्यसमा ललितपुरले बाजी मारेको हो ।

उनीबाहेक अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंघ कार्की र सन्तोष कार्की पनि जनही ४ लाखमा बिकेका हुन् । यी सबै ‘ए’ क्याटोगोरीका खेलाडी हुन् ।

डिफेन्डर अभिषेक र मिडफिल्ड सुमितलाई चितवनले लक्की ड्रमार्फत आफ्नो टोलीमा आवद्ध गराएको हो । अभिषेकले यसअघि बुटवलबाट एनएसएल खेलेका थिए । सुमितले भने न्युरोड टिम (एनआरटी) बाट खेल्दै आएका छन् । लेफ्ट ब्याक पासाङ भने लुम्बिनीबाट धनगढी एफसी पुगे । सेन्ट्रल ब्याक आशिष भने इलामबाट झापा एफसी पुगे । मिडफिल्डर दिनेश र सेन्ट्रल फरवार्ड जेलेस्पी पनि अधिकतम मूल्यमा काठमाडौँ रेजर्स पुगे । पहिलो संस्करणको विजेता काठमाडौँले यी २ खेलाडीलाई ‘ड्र’मार्फत नै आफ्नो टोलीमा भित्र्याएको हो । दिनेश अघिल्लो संस्करण ललितपुर र जेलेस्पी लुम्बिनीमा थिए ।

उपाधि रक्षा गर्ने दाउमा रहेको ललितपुरले पनि २ खेलाडीका लागि ८ लाख खर्च गरेको हो । ललितपुरले मणिसँगै सन्तोषलाई पनि अधिकतम रकम खर्चिएको हो । डिफेन्सिभ मिडफिल्डर सन्तोष यसअघि इलाममा थिए ।

प्रतिक्रिया