मेला आयोजना स्थलमा ६५० किलोमिटर अस्थायी सडक बनाइएको छ । ५० लाखभन्दा बढी सवारी साधनका लागि १०० पार्किंङस्थलको व्यवस्था गरिएको छ । ६७ हजार सडकबत्ती जडान गरिएको छ । नदी वारपार गर्न ३० वटा फ्लोट्रि पोन्टुन पुल निर्माण गरिएको छ । मेला व्यवस्थापनका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी र १ लाखभन्दा बढी स्वयंसेवक तथा १५ हजार सफाइकर्मी तैनाथ गरिएका छन् ।
यतिबेला छिमेकी देश भारतको इलाहवाद (प्रयाग) मा महाकुम्भ मेला लागिरहेको छ । आस्था, विश्वास, सौहार्द्र एवं संस्कृतिहरूको मिलन पर्वको रूपमा ‘कुम्भमेला’लाई लिन सकिन्छ । ज्ञान, चेतना र त्यसका परम्पराको मन्थनका रूपमा कुम्भमेलाको आयाम रहेको छ । कुम्भमेलाले आदिकालदेखि नै सनातन हिन्दू धर्मावलम्बीहरूको जागृत चेतनालाई बिनाकुनै आमन्त्रण नै आकर्षित गर्दै आएको छ ।
कुम्भपर्व कुनै इतिहास निर्माणको ध्येयले सुरु भएको थिएन, अपितु समयको प्रवाहसँगै स्वतः यसको इतिहास बन्दै गएको छ । हुन पनि धार्मिक परम्परा सधैँ नै आस्था र विश्वासको जगमा टिकेको हुन्छ, इतिहासको भरमा होइन । कुम्भजस्तो विशालतम मेलाले संस्कृतिहरूलाई एकसूत्रमा बाँध्ने काम गर्दछ । सनातन धर्ममा यस कुम्भमेलाको विशेष महत्व छ । प्रत्येक ६ वर्षमा अर्धकुम्भ, १२ वर्षमा कुम्भ र १४४ वर्षमा महाकुम्भ स्नानको साइत जुर्ने गर्दछ । १२ वटा कुम्भ स्नानपछि अर्थात १४४ वर्षपछि लागेको यस महाकुम्भ मेलामा स्नान गर्न आउने श्रद्धालुहरूको संख्या ५० करोड नाघिसकेको अनुमान छ ।
पवित्र मानिएका गंगा, यमुना र अदृश्य सरस्वती नदीको मिलन भएको संगमस्थल (त्रिवेणी)मा स्नान गर्नुलाई परमपूण्य कर्तव्य मानिन्छ । पौष पूर्णिमादेखि फागुन कृष्ण चर्तुदशी (शिवरात्री)सम्मको अवधिलाई कुम्भमास मानिएको छ । भारत, नेपाल, भुटान, श्रीलंका, पाकिस्तान लगायतका देशहरूका हिन्दू, सिख, बुद्धिष्टहरू मात्रै होइनन्, विश्वका अनेकौँ देशका नागरिकले पनि कुम्भस्नान गरिरहेका छन् । भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक, भारतका उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पनि कतिपय राजनीतिक व्यक्तित्वहरूले महाकुम्भमा अमृत स्नान गर्न भ्याएका छन् ।
‘गंगे च यमुने चैव गोदावरी सरस्वती ।
नर्मदे सिन्धु कावेरी जलेऽस्मिन सन्निधिं कुरु ।।’
हे गंगा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी, कृपया मेरो यस जलमा आफ्नो उपस्थिति जनाउनुहोस् भनेर मन्त्रोचारणसहित नित्य स्नानका बेला हामी उपरोक्त पवित्र नदीहरूलाई आह्वान गर्दछौँ तर जब यो स्नान प्रत्यक्ष रूपमा त्रिवेणी संगममा र त्यो पनि महाकुम्भको अवसरमा हुन्छ, भन्ने त्यसको महत्व झन् बढेर जान्छ । कुम्भस्नानका लागि माघ १ गते मकर संक्रान्ति, माघ १६ गते मौनी आमावश्या, माघ २१ गते बसन्तपञ्चमी, माघ ३० पूर्णिमा र फागुन १४ गते महाशिवरात्रीलाई अति नै विशेष दिन मानिएका छन् । महाकुम्भ मेलालाई शास्वत र उदाउँदो गरेको एउटा विश्वग्रामको रूपमा पनि परिभाषित गर्न सकिन्छ ।
यो विश्वग्राम मानवताको व्यापक वर्गलाई आकर्षित गर्दछ । यो सनातन हिन्दू धर्मको शास्वत विश्वास र अभ्यासहरूको जीवन्त प्रमाण हो, जसले नयाँ उदयीमान पक्षहरूलाई पनि अवसर प्रदान गर्दछ । यसले विकास, सन्तुलन र अवतरणका तीन शास्वत र समानान्तर प्रक्रियाहरूलाई सक्षम बनाउँछ । यस वर्ष प्रयागराजमा महाकुम्भले करोडाँै मानिसहरूलाई आकर्षित गरेको छ । यो मेलाले हिन्दू विश्वास र अभ्यासहरूको व्यापक झलक प्रदान गर्दछ, जसले दृश्यात्मक र अनुभवजन्य जानकारी दिन्छ । यहाँ समानताको भावना छ, सबै प्रकारका भेदभावहरू हटछन् र परस्पर सामीप्यता र सम्बन्धको भावना बढछ । यो मेला प्रकृतिपूजक अभ्यासहरूसित पनि सम्बन्धित छ, जसले पञ्चतत्व (वायु, पृथ्वी, जल, अग्नि र आकाश)को सम्मान गर्दछ । यसले प्राकृतिक शक्तिहरू र खगोलीय महत्वको अनुष्ठानात्मक पालनालाई स्मरण गराउँछ र यी तत्वहरूको सामञ्जस्यतामा जोड दिन्छ ।
कुम्भको शाब्दिक अर्थ ‘कलश’ हुन्छ । यहाँ कलशको सम्बन्ध अमृत कलशसित हो । पौराणिक मान्यताअनुसार देवासुर संग्रामका बेला देवता र राक्षस दुवै पक्ष समुद्र मन्थनका लागि सहमत भएपछि मन्थन लागि आवश्यक पर्ने मथनी र नेति पनि सोही आकारको चाहिएको थियो । यस्तोमा मन्दराचल पर्वतलाई मथनी बनाइयो र वासुकी नागलाई त्यसको नेति । मन्थनबाट १४ रत्न प्राप्त भयो जसलाई परस्पर बाँडियो तर जब धन्वन्तरीले ‘अमृत कलश’ देवताहरूलाई दिए अनि फेरि संग्रामको अवस्था उत्पन्न भयो । त्यतिबेला भगवान् विष्णुले आफैँ मोहिनीको रूप धारण गरी सबैलाई अमृतपान गराउने वाचा गरे र अमृत कलशको दायित्व इन्द्र–पुत्र जयन्तलाई सुम्पे । अमृत–कलश प्राप्त गरेपछि जयन्तले दानवहरूवाट अमृत कलशको रक्षाका लागि भाग्न थाले र त्यसै क्रममा अमृतका थोपा पृथ्वीको ४ ठाउँमा हरिद्वार, नासिक, उज्जैन र प्रयागराजमा खस्न पुग्यो ।
भगवान् विष्णुको आज्ञाले सूर्य, चन्द्रमा, शनि र बृहस्पति पनि अमृत कलशको रक्षा गरिरहेका थिए र विभिन्न राशिहरू (सिंह, कुम्भ र मेष आदिमा) विचरण गरेका कारण यी सबै कुम्भपर्वका द्योतक भए । जयन्तलाई अमृत कलश स्वर्गसम्म लैजान १२ दिनको समय लागेको थियो । मान्यताअनुसार देवताहरूको एक दिन पृथ्वीको एक वर्ष बराबर मानिन्छ । कालान्तरमा वर्णित स्थानहरूमा नै ग्रह–राशिहरूको विशेष संयोगमा १२ वर्षमा कुम्भमेलाको आयोजन हुँदै आएको छ ।
ज्योतिष गणनामा कुम्भको आयोजना ४ किसिमले गरिएको छ । बृहस्पतिको कुम्भ राशिमा प्रवेश तथा सूर्य मेष राशिमा प्रविष्ट भएपछि हरिद्वारमा गंगा–किनारमा कुम्भ पर्वको आयोजन हुन्छ । बृहस्पति, मेष राशि चक्रमा प्रविष्ट भएपछि तथा सूर्य र चन्द्रमा, मकर राशिमा आएपछि अमावश्याका लागि प्रयागराजको त्रिवेणी संगम तटमा कुम्भ पर्वको आयोजना हुने गर्दछ । बृहस्पति एवं सूर्य, सिंह राशिमा प्रविष्ट भएपछि नासिकमा गोदावरी किनारमा कुम्भ पर्वको आयोजना हुन्छ र चौथोमा बृहस्पति, सिंह राशिमा तथा सूर्य मेष राशीमा प्रविष्ट भएपछि उज्जैनमा शिप्रा नदीको तटमा कुम्भ पर्वको आयोजना हुन्छ ।
धार्मिकता एवं ग्रह दशाका साथै कुम्भ पर्वलाई तत्वमीमांसाको कसीमा पनि जाँच्न सकिन्छ, जसले कुम्भको उपयोगितालाई प्रमाणित गर्दछ । कुम्भ पर्वको विश्लेषण गर्दा यस निष्कर्षमा स्वतः नै पुग्न सकिन्छ कि यो पर्व प्रवृत्ति एवं जीव तत्वमा सामञ्जस्य स्थापित गरी त्यसमा, जीवनदायी शक्तिहरूलाई पनि समाविष्ट गर्दछ । प्रवृत्ति नै जीवन एवं मृत्युको आधार हो, यस्तोमा प्रकृति एवं जीव तत्वबीच सामञ्जस्य आवश्यक हुन जान्छ ।
शिवरात्रीका दिन समापन हुने यस कुम्भ मेलालाई संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले मानवताको अमूर्त सम्पदाको रूपमा मान्यता दिएको छ । हार्वड विश्वविद्यालय, लन्डन स्कुल अफ इकोनोमिक्स, आइआइएम बैंग्लोर र एमआइटीजस्ता विश्वप्रसिद्ध शैक्षिक संस्थाहरूले यस मेलाको अध्ययन गरिरहेका छन् । यी अध्ययनहरूले अस्थायी पूर्वाधार, सार्वजनिक व्यवस्थापन सामाजिक, सांस्कृतिक र व्यवस्थापन जटिलता, एआई र प्रविधिको प्रयोगमा केन्द्रित छन् । ज्योतिषहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय निर्धारण गरेका छन् । तीन चक्रहरू जुन ब्रम्हा, विष्णु र महेशको पवित्र त्रयीमा छ, यस स्थानमा जहाँ ती नदीहरू एकै साथ आउँछन् । ब्रम्हाले विकास, सृजनको प्रतिनिधित्व गर्छन्, विष्णुले सन्तुलन र शिवले अवतरणको प्रतिनिधित्व गर्छन । कुम्भ मेला यी तीन वटै प्रक्रियाहरूको एउटा जीवन्त उदाहरण हो यो विगतको उत्सव, वर्तमानको प्रतिविम्व र भविष्यको तयारी पनि हो ।
यस विशाल धार्मिक महत्वबाहेक कुम्भ मेला सांस्कृतिक र आध्यात्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । लाखौँ भक्तजनहरूको भिडले बनाएको यो अस्थायी सहरहरूले एक दुर्लभ र अनौठो अनुभव प्रदान गर्दछ, जसले यस मेलाको रहस्य बुझ्नका लागि आगन्तुकहरूको ठुलो समूहलाई आकर्षित गर्दछ । ऐतिहासिक रूपमा, धेरै विदेशी यात्रुहरूले मेलाको विस्तृत विवरण लेखेका छन्, जसले कुम्भ मेलालाई विश्वव्यापी मान्यता दिलाएको छ । ह्वेन साङको विवरण र फयानी पार्कसको (व्यान्डरिंग्स अफ द पिल्ग्रिम जर्नलले विश्वभरिका मानिसहरूलाई मेलाको बारेमा मोहित बनाएको छ ।
मेलामा जनसहभागिता र यसको आकार विशाल रहँदै आएको छ । मेलाको लागि १० हजार हेक्टर क्षेत्रलाई अस्थायी जिल्लाको रूपमा घोषणा गरिएको छ, जसलाई १५ क्षेत्र र २५ उपक्षेत्रमा विभाजन गरिएको छ । यस्तो अस्थायी सहर निर्माण गर्नु प्रशासनिक रूपमा ठुलो चुनौती हो । किनकी यो स्थान गंगा नदीको बाढी बग्ने मैदानमा छ । यो वर्ष गत पुस महिनासम्म पनि गंगा र यमुना नदीमा पानीको उच्च बहाव थियो । त्यसैले गंगाको बगरमा अस्थायी सहर निर्माण तथा व्यवस्था गर्नका लागि धेरै कम समय बाँकी रह्यो । सीमित समयका वावजुद विभिन्न सरकारी विभाग र एजेन्सीहरूले पूर्वाधारहरू तयार गर्नमा सफल सावित भएका छन् ।
सुरक्षा, यातायात, स्वास्थ्य, सरसफाइ र अन्य व्यवस्थाहरू मिलाउन उत्तर प्रदेश सरकारले ठुलो बजेट छुटयाएको छ । उत्तर प्रदेश सरकारले आफ्नो डिजी कुम्भ अभियानमार्फत प्रविधिमा ठुलो जोड दिएको छ । एआई सञ्चालित सिसिटिभी प्रणालीहरू जसले अनुहार र सवारी साधनको नम्बर प्लेट पहिचान गर्दछ र भिड व्यवस्थापनलाई अनुगमन गर्न प्रयोग गरिएको छ । उन्नत छवि बनाउने क्षमता सहितका पानीमुनि ड्रोनहरू २४ घण्टा जल निगरानी प्रदान गर्न प्रयोग गरिएको छ । ११ भन्दा बढी भाषाहरूमा समर्थन गर्ने एआई सञ्चालित च्याटबोट पनि सुरु गरिएको छ । मेला आयोजन स्थलमा ६५० किलोमिटर अस्थायी सडक बनाइएको छ । ५० लाखभन्दा बढी सवारी साधनका लागि १०० पार्किङ स्थलको व्यवस्था गरिएको छ । ६७ हजार सडक बत्ती जडान गरिएको छ । नदी वारपार गर्न ३० वटा फ्लोटिङ पोन्टुन पुल निर्माण गरिएको छ । मेला व्यवस्थापनका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी र १ लाखभन्दा बढी स्वयंसेवक तथा १५ हजार सफाइकर्मी तैनाथ गरिएका छन्, जसले सहज नेभिगेसन सक्षम गर्दछ ।
स्वतन्त्र भारतमा कुम्भ मेलाको आयोजना सन् १९५४ देखि हुँदै आएको छ । प्रत्येक सरकारले यस मेलालाई तीर्थ यात्रुहरूका लागि स्मरणीय अनुभव बनाउन आफना प्रयासहरू गर्दै आएका छन् । यस्तो सफल सञ्चालनले विश्वभरिका विभिन्न प्रकारका अनुसन्धान प्रयासहरूलाई आकर्षित गरेको छ । यस महाकुम्भ मेलालाई साश्वत र उदाउँदै गरेको एउटा विश्वग्राम पनि भन्न सकिन्छ ।
प्रतिक्रिया