२००७ सालको जनक्रान्ति सम्पन्न हुनासाथ नेपाली कांग्रेस र राजदरबारबीच अर्को द्वन्द्व सुरु भयो । बास्तवमा २००७ सालको जनक्रान्तिले राणाशासन फालेर प्रजातन्त्र स्थापना गरेको थियो । तर, राजदरबारको बुझाइ पृथक रह्यो । राणाहरूले खोसेको अधिकार फेरि आफ्नो हातमा आएको ठम्याइमा राजदरबार पुग्यो । त्यसैले २००७ सालको जनक्रान्तिलाई सफल भन्ने कि असफल भन्ने ?
यसपटक प्रजातन्त्र दिवस मनाइरहँदा राजावादी कित्ता बढी नै उत्साहित भएको देखियो । यो उत्साहको कारण थियो, पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति । हुन त पूर्वराजा शाहले विभिन्न राजनीतिक पर्वका अवसरमा यस्ता शुभकामना सन्देश दिने गरेका घटना नयाँ होइनन्, तर उनी मूर्त रूपमा प्रकट हुन सकेका थिएनन्, यसपटक भने मूर्त रूपमै प्रकट भए ।
पूर्वराजा शाहले यस पटकको शुभकामना सन्देशमा ले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान गरे । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिए । उनको सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’
पूर्वराजा शाहले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक भने होइन । विभिन्न शुभकामना मन्तव्यहरूमा उनले घुमाउरो तरिकाले यस्तो चाहना मुखरित गरिरहेका हुन्छन् । तर, अरुबेला मौन बस्छन् । यिनै वक्तव्यवाजीभन्दाबाहेक राजतन्त्र पुनःस्थापनाका लागि उनले आफ्नोतर्फबाट कुनै ठोस प्रयास अघि बढाएको पाइँदैनथ्यो । तर वक्तव्यमा भने उनले मूर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको छ । ‘अब राजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीहरूमा पैदा भएको छ ।
पूर्वराजा शाहको यो सन्देश लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिइने प्रतिक्रिया जनाएका छन् । उनको भनाइ छ, ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसद्देखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौँ । यसको छिनोफानो हुनैपर्छ ।’
आफू पुनस्र्थापना हुने इच्छासहितको पूर्वराजा शाहको यो स्पष्ट सन्देश ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आएको छ । २००७ सालको जनक्रान्तिको पृष्ठभूमि तथा त्यसबेलाका घटना स्पष्ट बुझ्नेहरूका लागि पूर्वराजा शाहको यो वक्तव्य निकै अर्थपूर्ण छ । २००७ सालको जनक्रान्तिले राणाशासन ढालेको मात्रै होइन, राणाद्वारा सत्ताच्युत गराइएका तत्कालीन राजा त्रिभुवन शाहको राजगद्दी फिर्ता गराएको समेत हो । राणाहरूले त्रिभुवन शाहलाई हटाएर उनका नाति ज्ञानेन्द्र शाहलाई गद्दीमा बसालेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिले नाति ज्ञानेन्द्र शाहको ठाउँमा बाजे त्रिभुवनलाई पुनः गद्दीमा बसालेको थियो । त्यही मनोविज्ञानका कारण ज्ञानेन्द्र शाहले नेपाली कांग्रेसप्रति सधैँ वैरभाव राख्दै आएका छन् । त्यसैले पूर्वराजा शाहको गतिविधिको कारण बुझ्न २००७ सालको जनक्रान्तिबारे स्मरण गर्नै पर्ने हुन्छ ।
जनक्रान्ति २००७ को पृष्ठभूमि
नेपालमा गोपाल वंश महिषपाल वंश, किराँत वंश, लिच्छबी वंश, मल्ल वंश र शाह वंशका राजाहरूले शासन गरेको इतिहास छ । राजाको पक्ष तथा विपक्षमा जनता सडकमा उत्रेका घटना नेपालमा धेरै छन् । शाह वंशको इतिहास हेर्ने हो भने जंगबहादुर राणाद्वारा गद्दी च्युत गरिएका राजेन्द्र विक्रम शाहले पनि पुुुनर्वहालीको प्रयास स्वरूप आन्दोलन गरेका थिए । त्यो आन्दोलन अलौ पर्वका रूपमा चिनिन्छ ।
भारतको वनारस निर्वासित भएका तत्कालीन पूर्वराजा राजेन्द्र विक्रम शाहले दलबलसहित नेपालको सीमा क्षेत्र प्रवेश गरी आन्दोलन गरेका थिए, तर सरकारी फौजले वीरगन्जको अलौ भन्ने ठाउँबाट उनलाई पक्राउ गरी जेल हाल्यो । यो काण्डलाई अलौ पर्व भनिन्छ । जनसमर्थन नपाएकै कारण तत्कालीन राजा राजेन्द्र जेलमै सड्न बाध्य भए ।
यसैगरी २००७ कात्तिक २२ गते तत्कालीन राजा त्रिभुवनलाई राणा प्रधानमन्त्री मोहन शमशेरले गद्दी च्युत गरे । त्रिभुवनका ठाउँमा उनकै नाति ज्ञानेन्द्र शाहलाई राणाहरूले राजा बनाए । तर त्रिभुवनले जनताको साथ पाए । जनताको साथमा त्रिभुवनले सुरु गरेको आन्दोलनले राणा फालिए, त्रिभुवन पुनः राजगद्दीमा फर्के । जसलाई ०७ सालको क्रान्ति भन्ने गरिन्छ । पछिल्लो समयमा राजा ज्ञानेन्द्र शाह २०६५ जेठ १५ गते गद्दीच्युत भएका हुन् । यो घटनामा राजा ज्ञानेन्द्र मात्रै गद्दी च्युत भएका होइनन्, २४० वर्ष लामो र १० पुस्ताको विरासत बोकेको शाह वंशीय राजतन्त्र फालिएर गणतन्त्र स्थापना भएको हो ।
२००७ सालमा करिब ४ महिना र २०५८ सालपछि करिब ४ वर्ष नेपालको राजा बन्ने सौभाग्य ज्ञानेन्द्र शाहले पाए । अब तेस्रोपटक राजा बन्ने उनको सपना छ । तर आफू सक्रिय राजाका रूपमा पुनर्वहाली हुन खोजेको हुन् या संवैधानिक राजाका रूपमा ? भन्ने प्रश्नको उत्तर उनले दिएका छैनन् । यो उत्तर नआउँदासम्म पूर्वराजा शाहको वर्तमान गतिविधिका सन्दर्भमा स्वष्ट दृष्टिकोणसहित टिप्पणी गर्ने ठाउँ रहन्न । किनकी सक्रीय राजतन्त्र र संवैधानिक राजसंस्था भन्नुमा आकाश जमिनको फरक छ ।
२०५९ असोज १८ देखि २०६३ वैशाख ११ सम्म उनले सक्रिय राजतन्त्रको अभ्यास गरे । यो अभ्यासका क्रममा उनले के कस्ता गतिविधि गरे ? शासन सत्ता सञ्चालनका लागि कस्ता व्यक्तिहरूको साथ लिए ? भन्नेकुरा प्रत्यक्ष भोग्नेहरूको संख्या निकै ठूलो छ । पहिलो कुरा त उनले शासन सत्ताका लागि सेनालाई खुला रूपमै मैदानमा उतारे । सेनालाई मैदानमा उतारेर शासन गर्न खोज्नु २१औँ शताव्दीको जनचेतनाको उपहास थियो । दोस्रो कुरा दशकौँ अघि राजनीतिक रूपमा मिति नाघिसकेका वयोवृद्ध डा.तुल्सी गिरिलाई भारतबाट नेपाल बोलाएर आफ्नो सहयोगी नियुक्त गरे । तेस्रो कुरा प्रकाश कोइराला, राधाकृष्ण मैनाली लगायतका केही पात्रहरूलाई आफ्नो सहयोगी बन्दैमा कांग्रेस र एमाले सकिए भन्ने भ्रम पाले ।
लामो समयसम्म वातावारण तथा प्राकृतिक संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका ज्ञानेन्द्रले राजा बन्नासाथ मन्दिरहरूका आफँैले पञ्चबलि दिने सिलसिला मात्रै सुरु गरेनन्, रजस्वला नभएका कन्याहरूलाई आफ्नो पाउ धुन लगाए । कन्याहरूले स्वेच्छाले आफ्नो पाउ धोएको प्रचार गर्दै हिन्दूधर्मको हुर्मत लिए ।
बाजे त्रिभुवनको शासनकालमा यिनले केके गरे ? बाबु महेन्द्रको शासनकालमा के के गरे ? दाजु वीरेन्द्रको शासनकालमा केके गरे ? वीरेन्द्रको वंश विनास लगत्तै राजा भएपछि यिनले के के गरे ? भन्ने प्रश्नका उत्तरहरू पुरानो पुस्ताका प्रायः सबैलाई थाह छ ।
जनक्रान्ति २००७ को उपलव्धि
कुनै पनि देशको मार्गचित्र निर्माणका लागि विगतका घटना तथा अनुभवको सर्वाधिक महत्व हुन्छ । इतिहासका महत्वपूर्ण घटनाहरूलाई सदा स्मरणमा राख्न राष्ट्रिय दिवस मनाउने चलन छ । सोही चलनअनुसार नेपालमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । जनक्रान्तिको माध्यमबाट राणाशासन फालेर २००७ फागुन ७ गते प्रजातान्त्रिक शासन व्यवस्था घोषणा गरिएको थियो । देशको तत्कालीन परिस्थिति, शासन व्यवस्थाको प्रकृति र जनअधिकार बहालीका लागि अग्रजहरूले गरेको बलिदानीपूर्ण संघर्षको गाथा थाहा नपाउँदासम्म फागुन ७ को महत्व बुझ्न सकिन्न । यही बुझाउनका लागि हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।
त्यतिबेलासम्म देशमा राणाहरूले पारिवारिक निरंकुश शासन चलाउँथे । जनता रैतीका रूपमा थिए । देशलाई अन्धकारमा राखिएको थियो । रैतीलाई हदैसम्म दमन र शोषण गरेर देशको ढुकुटीमा नगद जम्मा गरिन्थ्यो, त्यो नगद शासकहरूले निजी सम्पत्तिका रूपमा आफूखुसी प्रयोग गर्थे । शासकहरूको हुकम नै देशको संविधान तथा कानुन थियो । त्यतिबेलासम्म पनि नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्रै चिनिन्थ्यो । उपत्यका बाहिरबाट ‘नेपाल’ प्रवेश गर्दा भिसा चाहिन्थ्यो । काठमाडौँ उपत्यकाभन्दा बाहिरका रैतीहरूको पहिचान नेपालीका रूपमा थिएन । उपत्यकाका रैतीहरूलाई मात्रै नेपाली भनिन्थ्यो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य थिएन । परराष्ट्र संबन्ध स्थापित गर्न नेपाल स्वतन्त्र थिएन, बेलायतको स्वीकृति लिनुपथ्र्यो । नेपाली भाषालाई गोरखा भाषा भनिन्थ्यो ।
मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका सबै जनतालाई ‘आफू नेपाली हुँ, आफ्नो देश नेपाल हो’ भन्ने यथार्थता अवगत गराएको २००७ सालको जनक्रान्तिले नै हो भन्ने कुरामा सन्देह छैन । राणाशासनको अन्धकार युगलाई स्मरण नगर्ने हो भने प्रजातन्त्र दिवसको महत्व उजागर गर्न कठिन पर्ने कुरा सत्य हो । तर राणा शासनलाई एकतर्फी आलोचना गरेर मात्रै प्रजातन्त्र दिवसको महत्व उजागर हुँदैन । जंगबहादुर राणाले शासन सत्ता आफ्नो हातमा लिँदाताकाको देशको परिस्थिति पनि स्मरण गर्नै पर्ने हुन्छ ।
पृथ्वीनारायण शाहको निधनपछि पनि नेपाली सेनाले नेपाल एकीकरणको कामलाई निरन्तरता दियो । तर राजगद्दीले कुशल नेतृत्व पाउन सकेन । एकीकरण अभियानमा संलग्न भारदारहरू षड्यन्त्रको सिकार बन्न थाले । राजाले जसलाई मन लाग्छ उसैलाई काजी तथा प्रधानमन्त्री नियुक्त गर्ने र आफ्नो स्वार्थ सिद्ध नहुनासाथ मारिहाल्ने सिलसिला सुरु भयो । अन्य भाइभारदारहरू मात्रै होइन काजी तथा प्रधानमन्त्रीहरू समेत आफ्नो काल गतिले मर्न पाएनन् । कसैलाई झुन्डाएर मारियो, कसैलाई गोली ठोकेर मारियो, कसैलाई विष खुवाएर मारियो, कसैको घाँटी रेटेर मारियो । प्रधानमन्त्री या काजी नियुक्त हुनु भनेको केही समयभित्र फाँसीमा चढ्नु हो भन्ने मान्यता स्थापित हुन थाल्यो । राजाहरू नै प्रधानमन्त्री या काजीको हत्यामा संलग्न हुन थालेपछि रोक्ने ताकत कसको ?
जब जंगबहादुर राणा प्रधानमन्त्री भए तब उनले ज्यादतीमा संलग्न राजाहरूको अधिकार खोसेर आफ्नो हातमा लिए । बाँच्नैका लागि जंगबहादुरले राजाको अधिकार खोसेर आफ्नो हातमा लिएको यथार्थलाई बिर्सनु हुन्न । जंगबहादुरले शासन सत्तालाई स्थिरता दिएका मात्रै होइन उल्लेख महत्वपूर्ण काम पनि गरेका छन् । तर उनी र उनका उत्तराधिकारीहरू युगको मागअनुसार अघि नबढेका कारण राणाशासनको अन्त्य अपरिहार्य बनेको हो ।
तत्कालीन राजा त्रिभुवनबाट फागुन ७ गते गरिएको घोषणा कार्यान्वयन हुन नसकेकोले २००७ सालको जनक्रान्ति अधुरो रहेको विश्लेषणलाई नजरअन्दाज गर्न मिल्दैन । जननिर्वाचित संविधानसभामार्फत देशको शासन व्यवस्था तय गर्ने घोषणामा राजा इमानदार भएनन् । राजा र जनताबीच संघर्ष सुरु भयो । किनकी २००७ सालको जनक्रान्तिमा २ वटा घटक संलग्न थिए । एउटा घटक नेपाली कांग्रेस र अर्को घटक राजदरबार । तर २००७ सालको जनक्रान्ति सम्पन्न हुनासाथ नेपाली कांग्रेस र राजदरबारबीच अर्को द्वन्द्व सुरु भयो । बास्तवमा २००७ सालको जनक्रान्तिले राणाशासन फालेर प्रजातन्त्र स्थापना गरेको थियो । तर, राजदरबारको बुझाइ पृथक रह्यो । राणाहरूले खोसेको अधिकार फेरि आफ्नो हातमा आएको ठम्याइमा राजदरबार पुग्यो ।
त्यसैले २००७ सालको जनक्रान्तिलाई सफल भन्ने कि असफल भन्ने ? विषयमा विवादहरू छन् । तर यी विवाद गौण हुन् । किनकी त्यसपछि जनअधिकारका लागि भएका सबै संघर्षहरूको मुख्य स्रोत भनेकै २००७ सालको जनक्रान्ति हो । राजनीतिक उपलव्धिका रूपमा यस्ता दिवस मनाइरहँदा शासन व्यवस्था किन र कसका लागि ? भन्ने प्रश्नलाई हरहमेसा ख्याल गर्नुपर्छ । शासन व्यवस्था साध्य मात्रै होइन, राज्यको माध्यमबाट जनतालाई सेवा दिने साधन हो । शासन सत्तामा रहनेहरू यो मामिलामा चुके भने जतिसुकै राम्रो शासन व्यवस्था पनि टिक्न सक्दैन ।
अधुरो जनक्रान्ति
२००७ सालको जनक्रान्ति सफल भएको भए नेपालमा गणतन्त्र स्थापना गर्नुपर्ने आवश्यकता थिएन । २००७ सालको जनक्रान्तिका उपलव्धिमाथि धोका दिएकै कारण नेपाली जनताले राजतन्त्र फालेर गणतन्त्र स्थापना गरेका हुन् । तर गणतन्त्रमाथि पनि धोकाधडी भएको छ । शासकीय शैली राणाकाल तथा राजतन्त्रकालको जस्तै रहेको महसुस जनताले गरेका छन् ।
गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको संघर्ष तथा बलिदान सानो छैन । हजारौँ सहिद भएका छन्, हजारौँ अंगभंग भएका छन् । सयौँ नागरिक अहिलेसम्म पनि बेपत्ता छन् । नेपाली जनताले विश्वका अरू देशसरह नेपालले पनि आर्थिक समृद्धिको यात्रा तय गरोस् भनेर नै राजतन्त्र फालेर गणतन्त्र स्थापना गरेका हुन् । तर देश र जनताको आर्थिक अवस्था निरन्तर ओरालो लागेको छ । देशका १०० जना युवाहरूलाई सोध्ने हो भने ९५ जनाले नेपालमा नबस्ने जवाफ दिन्छन् । नागरिकहरू स्वदेशमै बस्न नसक्ने अवस्था निर्माण हुनु भनेको सानो असफलता होइन । देश ऋणले चुर्लुम्म डुबेको छ । गाउँहरू खाली भएका छन् ।
पछिल्लो जनगणनाको प्रतिवेदनअनुसार पनि नेपालका करिब ५ लाख घर खाली भइसकेका छन् । पहाडी क्षेत्रमा जनसंख्या डरलाग्दो गरी घटेको छ । तराईको खेतीयोग्य जमिन मासिएको छ । जसका कारण कृषि उपज आयातमा वार्षिक खर्बौं रुपैयाँ रकम बिदेसिने गरेको छ । शासन सत्तामा बस्नेहरूले गरेका भ्रष्टाचार तथा कुकृत्यका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् । गणतन्त्र भनेको त सीमित व्यक्तिलाई देश लुटिखाने अवसर प्रदान गर्नका लागि पो रहेछ, भन्ने सन्देश जनतामा प्रवाह भइरहेको छ । किनकी हिजो फाटेका चप्पल लगाउनेहरू सत्तामा पुगेपछि अर्बपति बनेको जनताले आफ्नै आँखाले देखेका छन् । गणतन्त्रभन्दा त राजतन्त्र नै ठिक हो कि ? भन्ने जमात बढ्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुरु गरेको पुनर्वहालीको अभियानमा जनसहभागिता बढ्नुको मुख्य कारण यही हो ।
प्रतिक्रिया