दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिपको खेलाडीहरूको टुंगो लाग्यो

काठमाडौँ । ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरूको टुंगो लागेको छ ।

आयोजकले छनोट चरण, समूह चरण र प्लेअफ खेलाएर अन्तिम चरणमा खेल्ने टिमको टुगो लगाएको हो । पब्जी मोइबलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टिम अन्तिम चरणका लागि छानिएका हुन् ।
यस्तै मोबाइल लेजेन्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस विधामा हमिङ बड्र्स र औराले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी भ्यालोरेन्ट र डोटा टु मा ३–३ टिम अन्तिम चरणमा छनोट भएका छन् । डोटा टु मा कीर्तिपुर, स्नेक हारु र एभेन्जर्स अन्तिम चरणमा छनोट भएका छन् भने भालोरेन्टमा नो टक ओनली किल, अरकान र काल्म डाउने अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

ई–फुटबलमा अन्तिम चरणमा १६ खेलाडी छनोट भएका छन् । पब्जीमा अन्तिम चरणमा छनोट भएका १६ टिमहरूमा लियो ई–स्पोट्र्स, डिआरएस गेमिङ, रोएल गुर्खाज ई–स्पोट्र्स, टि टु के ई–स्पोट्र्स, रोयल ड्रागन ई–स्पोर्टस, हइन ई–स्पोट्र्स, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ ई–स्पोट्र्स, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाइ ई–स्पोट्र्स, नेप्क्स, जुट्टी स्क्वाड, फ्युचर एलिएन्स छन् ।
त्यस्तै ई–फुटबलमा अन्तिम चरणमा छनौट भएका १६ खेलाडीमा राजेश बिसी, आशुतोष विक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धिबहादुर भट्टराई, सन्दीप गोले तामाङ, निमेश श्रेष्ठ, उदीप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाझी, दावा नोर्बु शेर्पा, विशाल राई, दीपक भट्टराई छन् ।

फ्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टिम अन्तिम चरणका लागि छनोट भएका हुन् । उनीहरू ल्यान इभेन्टमा खेल्नेछन् । प्लेअफमा प्रतिस्पर्धा गरेका ८ टिम भने बाहिरिए । दोस्रो ई–स्पोट्र्स नेसनल च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेन्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा हुनेछ । ई–फुटबलमा २ हजार ५१९ जनाले नाम दर्ता गराएका थिए भने पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेन्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका थिए ।

क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा गराएको आयोजकले अन्तिम चरणको खेलहरू भने मात्र भौतिक रूपमा (ल्यान इभेन्ट) गर्दै छ ।
च्याम्पियनसिपको अन्तिम चरणको खेल भने आगामी फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ । अन्तिम चरणमा पब्जीमा १६ टिम, ई–फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३–३ टिम तथा मोबाइल लेजन्ड्समा २ टिम प्रतिस्पर्धा गर्नेछन् । यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।

च्याम्पियनसिपको कुल पुरस्कार राशि २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ । हरेक इभेन्टको पुरस्कार राशि फरक हुनेछ । पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रूपमा छ र यसमा कुल १० लाख १० हजार पुरस्कार राशि राखिएको छ । जसमा विजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभिपीले पनि नगद पुरस्कार पाउनेछन् ।

यस्तै मोबाइल लेजेन्ड्समा ५ लाख २० हजार पुरस्कार राशि रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा पनि एमभिपीले नगद पुरस्कार पाउनेछन् । भ्यालोरेन्टमा ३ लाख, ई–फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ । भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इफुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउनेछन् भने इ फुटबल र कसप्लेमामा शीर्ष ४ मा रहनेले नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया