काठमाडौँ । राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप आगामी मंगलबारदेखि सुरु हुने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल महिला रग्बी क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेस, कोसी, बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी ८ टिमले सहभागिता जनाउनेछन् ।
पत्रकार सम्मेलनमै गरिएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा बागमती प्रदेश, गण्डकी, नेपाल महिला रग्बी संघ र मधेस प्रदेश परेका छन् । यस्तै, समूह ‘बी’ मा हिमालयन टाइगर, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेश छन् ।
राउन्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताका समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । आयोजकका अनुसार प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
आयोजक क्लबकी अध्यक्ष एलिसा थापाले सहभागी टिमको एकतर्फी यातायात खर्च, खाना, खाजा र बसोबासको व्यवस्थाको सुविधा आयोजकले बेहोर्ने जानकारी दिइन् । महिला क्लबले पहिलोपल्ट प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिँदै अध्यक्ष थापाले उमेरसमूहका खेलाडीलाई एक्सपोजर प्रदान गर्न र १०औँ राष्ट्रिय खेलकुदको तयारीमा प्रतियोगिताले सघाउ पु¥याउने बताइन् ।
प्रतियोगिता आयोजनाका लागि २५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । त्यसमा प्रदेश खेलकुद विकास परिषद् बागमतीले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया