काठमाडौँ । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले शनिबार उनलाई नियुक्त गरेको जानकारी दिएको हो । सुमनले पछिल्लो समय चर्च ब्वाइज युनाइटेड सम्हालिरहेका छन् । यसैगरी नेपालको राष्ट्रिय टोलीलाई समेत प्रशक्षिण दिइसकेका नवीन न्यौपानले भने चितवन एएफसी पुगेका छन् ।
उनकै प्रशिक्षणमा चर्च ब्वाइजले विभिन्न मोफसलका प्रतियोगिता खेलिरहेको छ । नवीन न्यौपाने एएफसी चितवनमा पुगेपछि पोखरा मुख्य प्रशिक्षकविहीन थियो । पोखरा गत सिजन क्वालिफायरसम्म पुगेको थियो ।
अहिले चिवतनको टोली हेरिरहेका नवीनको प्रशिक्षणमा पोखराले गत सिजन क्वालिफायरको यात्रा गरे पनि त्यसपछिका दुवै चरणमा पराजयको सामना गरेको थियो । नवीन नेपालका क्षमतावान प्रशिक्षकको रूपमा परिचित छन् । उनकै प्रशिक्षणमा नेपाल आर्मी क्लबले समेत माथिल्लो उचाइ पाएको थियो ।
खेलाडीको रूपमा नवीनको नेपाली फुटबलमा उदय सन् २००० मा भएको हो । काठमाडौँमा भएको एएफसी यु–१७ छनोट खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । एसियाली स्तरको प्रतियोगितामा छनोट भएर कीर्तिमानी यात्रा तय गरेको नेपाली टोलीका धेरै खेलाडी अहिले पनि फुटबलको दुनियाँमा सक्रिय छन् । सोही टोलीका कप्तान नवीन न्यौपाने २ दशकपछि प्रशिक्षकको रूपमा सफल भएका हुन् ।
२०५५ को दशकको अन्त्यमा नवीनको ओभरल्याप र क्रस नेपाली फुटबल पारखीहरूका लागि हेर्न लायक थियो । यसै कारण उनी दायाँ विङ र दायाँ रक्षकको रूपमा उत्तिकै सफल थिए ।
नवीनले खेलाडीको रूपमा २०५४ सालकै लिगदेखि पाइला टेकेका उनी सन् २००० पछि मनाङ–मस्र्याङ्दी पुगेका हुन् । नवीनका लागि एमएमसीको सुरुआती यात्रामा कम चुनौती थिएन । दीपक लामा, कुमार थापा, राजेश शाही र वसन्त गौचन सहितको मध्यपंक्ति भएको टोलीमा उनको स्थान नै कठिन मानिन्थ्यो । उनको मिहिनेत र केही संयोगका कारण नवीन टोलीका महत्वपूर्ण खेलाडी मात्र भएनन् छोटो समयमा नेपाली राष्ट्रिय टोलीमा अटाउन सफल भएका थिए ।
सन् २००२ को ओलम्पिक छनोट खेल खेलेका नवीन सन् २००३ मा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा अटाएका थिए । सन् २००५ मा यसको अर्को संस्करण हुनु अगावै सन् २००४ मा उनले पाकिस्तानमा भएको साग खेलमा नेपाली टोलीको नेतृत्व गरे । सन् २००३ मा नेफा ओमन र कोरियामा भएको एसियाली च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीमा पनि उनी समावेश थिए ।
प्रशिक्षकको रूपमा एमएमसीमा लामो समय बिताएका उनले सन् २०१३ मा मंगोलिया र श्रीलंकामा भएको प्रेसिडेन्ट कपमा पनि एमएमसीको प्रतिनिधित्व गरेका थिए ।
प्रतिक्रिया