सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैँले आफैँलाई प्रश्न सोध्न पनि जरुरी छ । सामाजिक सञ्जालमा यो प्रसंग÷विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ ? राखिएको सामग्रीले कसलाई फाइदा पुग्छ ? कुनै पनि सूचनालाई आलोचनात्मक तरिकाबाट हेर्न सक्नुपर्छ । त्यो सूचनाको स्रोत के हो ? कहाँबाट आयो ? कसले सेयर गरेको छ ? त्यो जाँचपड्ताल गरेर सेयर गर्नुपर्दछ । पुराना सामग्रीलाई नयाँ घटनाको भनेर राखिएका हुन सक्छन् ।
सामान्यतया इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो सूचना दिने अनलाइन प्रविधिको एकमुष्ठ सामूहिक रूप पनि हो । सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर–मध्यस्थता प्रविधि हो । कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरू आदानप्रदान गर्न प्रयोग गरिने माध्यम हो । सामाजिक सञ्जाल एउटा यस्तो महत्वपूर्ण इन्टरनेट माध्यम हो । मिनेट सेकेन्डमै संसारमा कहाँ के भइरहेको छ, सबै घटना खबर थाहा पाउन सकिन्छ । यसकारण यसको सहज पहुँचका साथसाथै प्रयोग र प्रभावको दायरा पनि फराकिलो बन्दै गएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र प्रभावका सन्दर्भमा पनि विभिन्न टीकाटिप्पणी, बहसहरू अनेकन कोण भइरहेको पाइन्छ । यसको दिनप्रतिदिनको विकास, स्वरूप र प्रयोगले समाजको विविध आयाम र पक्षहरूमा सकारात्मक तथा नकारात्मक अवधारणाहरू सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि बढ्दो छ । यसले सामाजिक जीवनलाई नराम्ररी तरंगित पारेको छ । सामाजिक सञ्जाल के हो, के होइन, यसका फाइदा÷बेफाइदा, सही प्रयोगलगायत विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ ।
हात–हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । एक तथ्यांकअनुसार विश्वभर ४ अर्ब ४८ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । यसको अर्थ विश्वको आधा व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । ४ दशमलव ६६ अर्बभन्दा बढी ‘इन्टरनेट प्रयोगकर्ताहरू भएको गुगलले देखाउँछ । जसमध्ये गुगल, फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र ट्विटर प्रयोगकर्ता रहेका छन् ।
सञ्जालहरूमार्फत जानकारी, विचार, रुचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा प्रदान गर्न मध्यस्थकर्ताको भूमिकामा सामाजिक सञ्जालहरूको उदय भएको हो । तर पछिल्लो चरण सामाजिक सञ्जाल असामाजिक बन्दै गएको छ । सामाजिक सञ्जाल भ्रम फैलाउने, व्यक्तिको समय र सिर्जना खोसिदिने र सूचनामाथि जासुसी गर्ने मतियार र हतियार बनेको छ । प्रयोगकर्ताहरू पनि आफनो अनुकूलका कुरा सुन्ने, हेर्ने तर फरक विचारलाई निषेध गर्ने भइरहेका छन् । सामाजिक सञ्जाल प्रतिक्रियात्मक र असंगठित हुन्छ यसले नीतिगत तहमा दबाब पनि दिइरहेको हुन्छ तर प्रत्यक्ष न्याय दिन भने सकिरहेको हुँदैन । डिजिटल युगमा सूचनाको विश्वसनीयता र सत्यताबारे पनि बहस भइरहेको छ । सञ्जालमा उल्लिखित भनाइ, तथ्यांक, स्रोत, तस्बिर आदि ठीक छन् वा छैनन् भनी परख गर्ने पाठक, दर्शक वा स्रोताको क्षमता पनि कमजोर छ । फेसबुक अहिले विश्वमै सबैभन्दा लोकप्रिय छ तथापि त्यो पनि हेरिनसक्नु हुन्छ ।
सामाजिक सञ्जालका फाइदा र बेफाइदा
सामाजिक सञ्जालका विभिन्न स्वरूप छन् । कुन प्लेट फार्म प्रयोग गर्ने ? आफ्नो योग्यता÷दक्षता, पेसा÷व्यवसाय के हो ? के गर्न चाहिरहनुभएको छ । त्यसकै आधारमा सामाजिक सञ्जाल प्रयोग गरिनुपर्छ । सामाजिक सञ्जालका केही मूलभूत अवसर र फाइदाहरू भने समान छन् । सामाजिक सञ्जालबाट मुख्यतयाः सूचना आदानप्रदान छिटाछरितो गर्न सकिने, आफ्ना विचार भावना राख्न सजिलो हुने, घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने, कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने, घरमै बसेर खरिदबिक्री गर्न सकिने, अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने सामग्री हेर्न र पाउन सकिने हुन्छ । इन्टरनेट र सामाजिक सञ्जालको सदुुपयोग गर्नसके विश्व बजारमा सजिलै बिक्न सकिन्छ तर त्यो ज्ञान प्रयोगकर्तामा हुनुपर्छ । सामाजिक सञ्जालका माध्यमबाट व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न पनि सकिन्छ । कतिपय अवस्थामा व्यक्तिभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन पनि यसले मद्दत गरेको छ । व्यक्ति, परिवार, समुदाय, कार्यालयले आफ्नो आवश्यकता र कामका आधारमा सामाजिक सञ्जालको प्रयोग गर्न सक्छन् ।
सामाजिक सञ्जाल आफैँमा सही र गलत हुने होइन । हामीले कुन सोचबाट कसरी प्रयोग गर्ने त्यसमै निर्भर रहन्छ । सकारात्मक हिसाबले सोच्ने हो भने सामाजिक सञ्जाल गलत होइन तर दुरुपयोग गर्ने हो भने यसका बेफाइदा पनि भरमार छन् । सामाजिक सञ्जालमा अनावश्यक समय खर्च गर्ने, अरूप्रति नकारात्मक टीकाटिप्पणी गर्ने, हानि–नोक्सानी गर्ने विषयवस्तु बढी सेयर गर्ने, अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने, नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने, अध्ययन अनुसन्धानको साधनभन्दा मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्ने, गलत सूचना र समाचार सम्प्रेषण गर्ने गरिएको पाइन्छ । मिथ्या सूचना र भ्रामक समाचार अफवाह फैलाउने माध्यमका रूपमा सामाजिक सञ्जाललाई प्रयोग गर्ने गरिएको छ । नियोजित तरिकाले कसैलाई आक्षेप लगाउने, अनावश्यक भिडियो पोस्ट गर्ने, अनावश्यक व्यक्तिहरूलाई भाइरल गराएर समाजमा नकारात्मक भ्रम पैदा गर्ने, मर्यादामा आँच आउनेजस्ता सामग्री पोस्ट गरेर, टिप्पणी गरेर पनि व्यक्ति तथा संस्थाको इज्जतमा दाग लगाउने प्रवृत्ति बढिरहेको छ । साइबर सुरक्षाको खतरा पनि उत्तिकै रहन्छ । कतिपय घटना सामाजिक सञ्जालमा आनावश्यक फैलिएका र फैलाइएका कारणले पनि थप घटनाहरू पुनरावृत्ति भइरहेका छन । नकारात्मक तथा घृणा हाबी भइरहेको छ ।
सामाजिक सञ्जाललाई सदुपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । सामाजिक सञ्जालमार्फत हुने अराजकता, गैरकानुनी गतिविधिलाई कानुनी र नीतिगत रूपमै नियमन गर्न जरुरी छ । दुरुपयोग रोक्ने नाममा सरकारले पनि मनोमानी गर्न पाइँदैन । सामाजिक सञ्जालको प्रयोगमा सुधार गर्ने र दुरुपयोग रोक्नतर्फ सरोकारवालाको परामर्शमा साझा पहल थाल्नुपर्छ । स्कुले तहको पाठ्यक्रममै सामाजिक सञ्जाल के हो ? यसका फाइदा, बेफाइदा र दुरुपयोग भए के कारबाही गर्ने भन्ने विषय पनि पाठ्यक्रममा समेट्नु उचित हुन्छ । सरकारले हालै संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका अधिकांश प्रावधानले सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गराउन खोजेको देखिन्छ ।
कसरी गर्ने सही प्रयोग ?
बेलायतमा गरिएको एक अध्ययनले सामाजिक सञ्जालको लत लागुऔषधको भन्दा पनि खतरनाक रहेको देखाएको छ । यसको प्रयोगले हाम्रो दैनिक व्यवहार र आचरणमा परिवर्तन ल्याइरहेको छ । हातमा स्मार्टफोन बोक्ने सामान्य नागरिकले हरेक १२ मिनेटको अवधिमा एकपटक सञ्जाललाई ‘रिफ्रेस’ गर्ने गरेका छन् । अध्ययनअनुसार यसको लतमा फसेकाले त हरेक २÷३ मिनेटको अवधिमा सामाजिक सञ्जाल चलाइरहेका हुन्छन् । धेरैजसो भ्रामक सूचना सामाजिक सञ्जालबाट नै फैलिइरहेको छ । नेपालमा गरिएको एक अध्ययनले सामाजिक सञ्जाल मिथ्या सूचना फैलाउने सशक्त माध्यम भएको देखाएको छ । सेन्टर फर मिडिया रिसर्च, नेपालले गरेको अध्ययनले नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट मिथ्या सूचना प्राप्त गरेको देखाएको छ ।
सामाजिक सञ्जालको अति प्रयोग, गलत प्रयोग र असावधानीपूर्ण प्रयोगबाट बच्न उपाय जान्न जरुरी छ । कुनै पनि न्यायिक अभियानका लागि सामाजिक सञ्जाल एउटा औजार हो, तर यसको सही प्रयोग गर्न जानिएन भने घातक पनि हुन सक्छ । के उद्देश्यका लागि सामाजिक सञ्जालमा खाता खोलेको पहिल्यै स्पष्ट हुनुपर्छ । कुनै पनि नपत्याउने खालका घटना भएका सामग्री इन्टरनेटमा देख्ने, पढ्ने बित्तिकै तुरुन्तै विश्वास गरिहाल्न हुँदैन । व्यक्तिगत सूचना र वैयक्तिक गोपनीयताका कुरा नराख्ने, जुनसुकै लिंक नथिच्ने, नचिनेको साइटमा व्यक्तिगत सूचना, इमेल आदि नभर्ने । नत्र त्यसैले ‘प्रोफाइल ह्याक’ गरी अरूसँग पैसा माग्न वा तपाईंको आवरणमा अरूलाई ठग्न सक्छ ।
सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैँले आफैँलाई प्रश्न सोध्न पनि जरुरी छ । सामाजिक सञ्जालमा यो प्रसंग÷विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ ? राखिएको सामग्रीले कसलाई फाइदा पुग्छ ? कुनै पनि सूचनालाई आलोचनात्मक तरिकाबाट हेर्न सक्नुपर्छ । त्यो सूचनाको स्रोत के हो ? कहाँबाट आयो ? कसले सेयर गरेको छ ? त्यो जाँचपड्ताल गरेर सेयर गर्नुपर्दछ । पुराना सामग्रीलाई नयाँ घटनाको भनेर राखिएका हुन सक्छन् । त्यसको पुष्टि नभई त्यसमा ‘रियाक्सन’ गर्ने वा ‘कमेन्ट’ लेख्ने काम पनि गर्नु हुँदैन ।
अहिलेको जमानामा हरेक व्यक्ति पत्रकार हो । सूचना अरूसामु पु¥याउने सन्दर्भमा धेरैका सामु सूचना दिन सकिन्छ । फेसबुक, ट्विटर, टिकटकलगायत धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालमा तथ्य के हो, त्यो राखिदिन सकिन्छ । कुनै कुरा सामाजिक सञ्जालमा फैलियो भने, त्यो ‘किवर्ड सर्च’ गरेर पनि सत्य थाहा पाउन सकिन्छ । सम्प्रेषित सामग्री सही छन् कि छैनन्, परीक्षण गर्नुपर्छ । यसको लागि अरू मिडियाहरू पनि अध्ययन गर्नुपर्छ । नकारात्मक तथा कानुन विपरीत गतिविधिलाई निरुत्साहित गर्दै व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिन जरुरी छ । हरेक प्रयोगकर्ताले भाइरल हुनु मात्रै ठूलो कुरा होइन, सूचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई पनि मनन गर्नुपर्छ । सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गर्ने बानी बसालौँ ।
(लेखक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ–रासस)
प्रतिक्रिया