आज देश अग्रगमनको यात्रामा अघि बढेको छ । तिनै सहिदहरूले देखाएको बाटोमा हिँडेर हामीले देश समृद्ध बनाउने सपना देख्नु छ । तर के आज हामी ती सहिदहरूले देखाएको बाटोमा अविचलित हिँडिरहेका छौँ त ? उनीहरूको बलिदानी र स्वाभिमानको पसिनालाई सम्मान दिन सकेका छौँ त ? हाम्रो शासन सत्ता कतै सहिदले देखाएको बाटोबाट विचलित त भएको छैन ? अब गम्भीर समीक्षा गर्नेबेला भइसकेको छ ।
सदाझैँ यस वर्ष पनि सहिद सप्ताह मनाइयो । उनीहरूको गौरब गाथालाई परम्परा थाम्नकै लागि भए पनि वर्षको ७ दिन सम्झना गरिन्छ । सरकारले यसलाई केवल औपचारिकाताका लागि मात्र सम्झना गरेजस्तो छ । सहिद शब्दले देशको स्वाधिनता, अखण्डता एवं नागरिक स्वतन्त्रताका लागि जिउज्यानको पर्वाह नगरी शहादत प्राप्त गर्ने व्यक्तिलाई जनाउँछ । सहिद आदर्श, त्याग, बलिदान, समर्पण, वीरता एवं शाहस जस्ता शब्दका पर्यायवाचीका रूपमा पनि बुझ्न सकिन्छ । यिनै गुण र कर्महरूलाई जीवनको आदर्श ठानी देश र जनताका खातिर आफूलाई जस्तासुकै तानाशाहीहरूको अगाडि आत्मसमर्पण नगर्ने व्यक्ति नै सच्चा सहिद कहलिन्छन् । जसले राष्ट्रलाई आफ्नो शिरमा राखेको हुन्छ । आमजनताको भावना र संवेदनाले उसको चेतना र विचारलाई अझ परिष्कृत बनाएको हुन्छ । जनता र देशको स्वतन्त्रताका लागि उसले आफ्नो जीवन समर्पण गरेको हुन्छ । निरंकुश एवं अधिनायकवादी सत्तासामु उसले आफूलाई जहिल्यै पनि खरो रूपमा प्रस्तुत गरेको हुन्छ र हाँसीहाँसी मर्न तयार हुन्छ । ऊ नै देशको सच्चा ठहरिन्छ । तर आज सहिद दिवस औपचारिकतामा मात्रै सीमित हुँदै गएको छ ।
्
सहिद शब्दावली सुन्ने बित्तिकै जो कोहीको छाती सम्मानले फुल्छ श्रद्धाले शिर निहुरिन्छ र वीरताको गाथा कानमा गुञ्जिन थाल्छ । अनि अधिनायकवादी सत्ता र क्रुर शासकप्रति आवाज बुलन्द गर्न पे्ररित गर्दछ । तिनै महान सहिदहरूको सहादतको मूल्यले नै आज देश अग्रगमनको यात्रामा अघि बढेको छ । तिनै सहिदहरूले देखाएको बाटोमा हिँडेर हामीले देश समृद्ध बनाउने सपना देख्नु छ । तर के आज हामी ती सहिदहरूले देखाएको बाटोमा अविचलित हिँडिरहेका छाँै त ? उनीहरूको बलिदानी र स्वाभिमानको पसिनालाई सम्मान दिन सकेका छौँ त ? हाम्रो शासनसत्ता कतै सहिदले देखाएको बाटोबाट विचलित त भएको छैन ? अब गम्भीर समीक्षा गर्नेबेला भइसकेको छ ।
बिडम्बना नै भन्नुपर्छ पछिल्ला दशकमा सहिद शब्दको ओज, मर्यादा, गौरब र सम्मानलाई जीवन्त राख्न सकिएको छैन । नकारात्मक टीका टिप्पणी र मजाकको विषयका रूपमा सहिद शब्द प्रयोग गर्न थालिएको छ । जहाँनिया राणा शासनविरुद्ध हाँसीहाँसी फाँसीमा चढ्न तयार हुने प्रथम सहिद लखन थापादेखि शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दहरूको जीवनगाथा र बलिदानी सम्झँदा जिउ नै सिरिंग हुन्छ । उनीहरूका नामका अगाडि सहिद उपमा लगाउँदा राष्ट्रियताको भावनाले ओतप्रोत भइन्छ । तर आज सहिदको सूची रुपैयाँ पैसासँग गाँसिएर आउन थालेको छ ।
नगद १० लाखसहित सहिद घोषणा गर्ने सहमति र सम्झौताका मसीहरूले राष्ट्रका सच्चा सहिदहरूको खिल्ली उडाइएको छ । बलिदानी र शहादतलाई आज सौदाबाजीको विषय बनाइएको छ । आफ्नो देशको लागि प्राण आहुती दिन तयार हुने निडर व्यक्तिलाई नै सहिद भनिन्छ भनेर विद्यालय तहदेखि नै पढ्दै आएका नेपालीलाई पछिल्लो दशक राजनीतिक स्वार्थ, दाउपेच र आफूले चाहेको क्षेत्रमा उल्लेख्य बजेट पार्ने नियतले सहिद घोषणा गर्ने विकृत अभ्यास नेपाली राजनीतिमा बढेको छ । दुर्गानन्द झा, रत्न वान्तवा, विरेन राजवंशी, नेत्र गुरागाईं, यज्ञबहादुर थापा, भीमदत्त पन्त, सेतु विक, योगेन्द्रमान शेरचन, पद्युम्न खड्काजस्ता हजारौँ सहिदको बलिदानी अमूल्य छ । उनीहरूको जीवन जो कोहीसँग तुलना हुनै सक्दैन । त्यसैले त उनीहरूको नाम लिँदा पनि हाम्रो शिर श्रद्धाले निहुरिन्छ ।
त्यसो त पछिल्ला समय जोसुकै र जुनसुकै अवस्थामा ज्यान गएकालाई पनि सहिद घोषणा गरिएको भन्दै असन्तुष्टीका स्वरहरू पनि सुनिने गरेका छन् कुनै घटना वा दुर्घटनामा परी ज्यान गुमाउने होस् वा व्यक्तिगत स्वार्थका लागि ज्यान गुमाउने होस् सहिदमा सूचीकृत गर्ने होडबाजीले ती सहिदहरूप्रति अपमान भएको छ । सहिद घोषणा गर्नकै लागि दलीय प्रतिस्पर्धा बढ्नु दुःखद र हाँस्यास्पद छ । सरकारलाई दबाब दिएर सहिद घोषणा गराउन पाए आर्थिकरूपमा समेत फाइदा पुग्ने लालचले सहिदको बलिदानीमाथि नै राजनीति हुने गरेको छ । व्यक्तिगत वा पारिवारिक लेनदेनको व्यवहार नमिल्दा आपसी झैझगडा हुँदा ज्यान गुमाएका मानिसहरू पनि सहिदको लाइनमा पर्नु लज्जाको विषय बनेको छ ।
राज्यसँग अहिले सहिदको संख्या यकिन छैन । सरकार परिवर्तन नै पिच्छे आफ्ना दलका सहिद घोषणा गर्ने होडबाजीले वास्तविक सहिद कति हुन् सरकार नै अलमलमा देखिन्छ । आज विश्वका चर्चित व्यक्तिहरू जस्तै मार्टिन लुथर किङ, अब्राहम लिंकन, महात्मा गान्धी, राजीव गान्धी, इन्दिरा गान्धी, बेनेजिर भुट्टोहरूको पनि त्यस समयमा हत्या नै भएको थियो तर कसैलाई पनि त्यहाँका सरकारहरूले सहिद भनेर घोषणा गरेनन् । उनीहरूको राष्ट्रप्रतिको त्याग र समर्पणले नै विश्वले उनीहरूलाई चिनिरहेको छ । ती व्यक्तिहरूको साहादत नै अनुकरणीय भएको छ ।
हाम्रो देशमा भने दलीय पक्षधरताका आधारमा सहिद घोषणा गर्ने होडबाजीले सहिदको योगदान ओझेल पर्ने गरेको छ । सहिदको कागजी खेती गर्ने राजनीतिक होडबाजीले वास्तविक महान सहिदहरूको अवमूल्यन गरेको छ । शहादत, बलिदान र समर्पणको पवित्र भावनालाई सस्तो बनाइदिएको छ । इतिहासका विभिन्न कालखण्डमा भएका जनआन्दोलन र जनविद्रोहमा ज्यान गुमाएका सहिदका परिवारको अवस्था कस्तो छ ? सरकारको ध्यान त्यतातपर्m पुग्न सकेको छैन । परिवार धान्न र गुजारा चलाउनका लागि ती सहिदका परिवार विदेश पलायन हुनुपरेको तितो यथार्थता हामीकहाँ छ ।
आजको पुस्ता अब फेरि व्यवस्था परिवर्तनकै लागि कसैले पनि शहादत हुन नपरोस् भन्ने चाहन्छन् । ती महान सहिदहरूको गौरवपूर्ण बलिदानीबाट प्राप्त उपलब्धीलाई आत्मसाथ गर्दै देश समृद्ध बनी जीवनस्तर परिवर्तन भएको हेर्न चाहन्छन् । अब पटकपटकको विद्रोह र आन्दोलन होइन प्रगति र अग्रगमन चाहिएको छ । अब जनता विकास र समृद्धीको फराकिलो राजमार्गमा हिँड्न चाहन्छन् । जुनकुरा सहिदको बलिदानबाट प्राप्त भएको छ ।
यसका लागि अब राष्ट्रिय एकता र दृढ संकल्पको आवश्यकता छ । शहादत जहिल्यै पनि स्वतन्त्रता र लोकतन्त्रका पक्षमा हुने गर्दछ । तर आज जसरी सरकार सहिदको संख्या बढाउन लागेको छ यसले सत्ता राजनीतिको फोहोरी खेलसँग सहिदको सपना साट्न खोजिएको छ । आफ्नो शासन सत्तामा केही गर्न नसके पनि आफूपक्षीय मानिसहरूलाई कम्तिमा सहिदको सूचीमा पार्न सके केहीनकेही गरेजस्तो देखिने हुनाले यो प्रवृत्ति राजनीतिक नेतृत्वमा हावी भएको छ । यसले न सच्चा सहिदको सम्मान हुन्छ न त सत्ता राजनीतिमा नै स्थायित्व आउन सक्छ । यो फगत सस्तो लोकप्रियताका लागि मात्र हो । सहिदप्रति सम्मान त्यतिखेर हुन्छ जब उनीहरूले देखाएको बाटोमा राजनीतिक नेतृत्व हिँड्न तयार हुन्छ । यो नै सहिदप्रतिको सच्चा सम्मान हुनेछ ।
मूलधारका राजनीतिक दलका सिद्धान्त, विचार, आदर्श र कार्यगत शैलीमा आएको विचलनले राजनीतिमा बेथिति बढ्दो छ । जब राजनीतिक दलमा सैद्धान्तिक र व्यावहारिक विचलन देखिन थाल्छ अनि राजनीतिक संस्कार सकिँदै जान्छ र अन्तमा व्यवस्था नै संकटमा पर्न सक्छ । राजनीतक संस्कार सकिएपछि हजारौँको शहादतबाट प्रप्त भएको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक प्रतिनिधित्वजस्ता कुराहरू कहाँ पुग्ने हुन् त्यतातर्फको चिन्ता गर्नुपर्ने बेला आएको छ ।
प्रतिक्रिया