त्रिकोणात्मक महिला सिरिज : नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्याण्डलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।

नेपालका लागि कविता कुँवर र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए । कविताले ३२ बलमा २ चौका प्रहार गरिन् । बिन्दुले २५ बलमा ३ चौका प्रहार गरिन् । कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन् ।

ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन् । पुजा महतो ६ तथा रुबिना क्षेत्री ४ रनमा आउट भइन् । कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भईन् ।

थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ३, फन्नीता माया र नाट्टाया बुचाथमले समान २ तथा चानिदा सुत्थीरुआंगले १ रन जोडिन् । नेपालले चौथो भेटमा पहिलो पल्ट थाइल्याण्डसँग टि ट्वान्टी आईमा १ सय रन पूरा गरेको हो ।

दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।

थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । अहिले थाइल्याण्ड जवाफी ब्याटिङमा उत्रेकाे छ ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, बिन्दु रावल, ममता चौधरी, सम्झना खड्का, सिता राना मगर, मनिषा उपाध्याय, कविता कुँवर, इश्वरी बिष्ट, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रोमा थापा, अलिसाकुमारी यादव र रेवती धामी रहेका छन् ।

प्रतिक्रिया