काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोली नहेर्ने घोषणा गरेका राजेन्द्र तामाङले मुख्य प्रशिक्षकमा पुनरागमन गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्तिपत्र थमाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १४ कात्तिकमा साफ च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उनले टोली छाडेको घोषणा गरेका थिए ।
फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उनकै प्रशिक्षणमा नेपालले फाइनलको यात्रा तय गरेको थियो । त्यतिखेर जोर्डनसँग पराजित भएको नेपालले उनको प्रशिक्षणमा साफको फाइनलमा पनि हार बेहोरेको थियो । वाफ च्याम्पियन र साफ च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण नेपाली महिला टोलीको सर्वत्र प्रशंसा भएको थियो ।
उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला टोलीले ४ देखि १५ फागुनसम्म घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्ने छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारले सहभागिता जनाउने छन् । तामाङले सोमबार नै ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
नेपालले किर्गिस्तान, लेबनान र म्यानमारसँग फोर नेसन्स कप खेल्न लागेको हो । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको हो । बन्द प्रशिक्षण १ फेब्रुअरीदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
टोलीमा बोलाइएका खेलाडीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, अमृता जैशी, गीता राना र विमला विके छन् । यसैगरी, निशा ठोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिशा कार्की, अनिता केसी र प्रीति राई पनि टोलीमा छन् । टोलीमा रहेका अन्य खेलाडीमा विमला चौधरी, रेनुका नगरकोटी, सारु लिम्बू, सबित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, सजनी ठोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती र सावित्री किशन छन् । सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुकृया मियाँ, प्रतीक्षा चौधरी, सेमीहाङ्मा लिम्बू पन्धाक, मिना देवुवा, पुष्पाकुमारी खड्का, यशोदा शाही, ममता पुन र र झुमा विश्वकर्मा । टिनएजर मिया र झुमा कम उमेरका भए पनि प्रतिभाका धनी खेलाडीको रूपमा परिचित छन् ।
प्रतिक्रिया