लामो समयसम्म राष्ट्रपति भइसकेकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन हुन्छ कि हुन्न ? भन्ने बहस आफ्नो ठाउँमा छ । यो बहसलाई नाजायज भन्न पनि मिल्दैन । तर, समय तथा परिस्थितिले नैतिक बन्धन तोड्नसमेत बाध्य पार्दोरहेछ । भीष्म पितामहले नैतिक बन्धन नतोड्न चट्टानी अडान नलिएको भए महाभारतको युद्ध टर्न सक्थ्यो । तर, उनले कुरुवंशको समाप्ति रोजे, आफ्नो नैतिक बन्धन तोड्न तयार भएनन् । तर, त्यस्तोविधि अप्ठेरो परिस्थितिमा विद्या भण्डारी छैनन् ।
भीम रावल काण्डले नेकपा एमाले भित्र अनुमान गरिएभन्दा बढी उथलपुथल ल्याएको छ । हुन त दशौं महाधिबशेन भन्दा केही अघिदेखि रावललाई पार्टी भित्र जिम्मेवारी बिहिन बनाइएको थियो । दशौं महाधिबेशनमा केपी शर्मा ओली विरुद्ध अध्यक्ष पदको उम्मेदवार बनेपछि भने रावल भित्तामै पुर्याइएका थिए । रावलले पनि ओली विरुद्ध टिप्पणी गर्न कुनै कसर बाँकी राखेका थिएनन्, छैनन् । अध्यक्ष ओलीले रावललाई कुनै पनि बेला हटाउँछन् भन्ने अनुमान त धेरैको थियो, तर रावललाई हटाइए पछि एमाले भित्र यति ठूलो उथलपुथल होला भन्ने अनुमान थोरैको थियो ।
रावलको निष्काशन सँगै एमाले भित्र अध्यक्ष ओलीको स्वेच्छाचारी प्रवृत्ति बिरुद्ध जिल्ला जिल्लामा विद्रोह भएको समाचार आइरहेका छन् । यो १ साताको अवधीमा अछाममा मात्रै एमाले छाडेर १ हजार ५ सय भन्दा बढी एमालेका सक्रिय नेता कार्यकर्ता रावलको मातृभुमी जागरण अभियानमा लागेका छन् । नेकपा एमालेको निर्माणमा विचार र मिहेनतको निर्णायक भूमिका रहेको सबैलाई थाहा छ । मदन भण्डारीको विचारलाई जनसमक्ष पुर्याउन ओलीको भन्दा रावलको भूमिका धेरै रहेको पनि एमालेको पार्टी पंक्तिलाई थाहा छ । तर पछिल्लो एक दशकदेखि रावललाई कर्नरमा पार्दै लगियो । गुट निर्माण तथा षढ्यन्त्रका माहिर खेलाडी ओली पार्टीको नेतृत्वमा पुगे । नेतृत्वमा पुग्ने संभावना भएका बैचारिक नेताहरुलाई किनारा लगाउँदै पार्टीको नेतृत्व हत्याएका ओली स्टालिनपथमा निर्णायक ढंगले अघि बढिरहेका छन् । नेकपा एमाले भित्र ओलीको हालीमुहाली ‘बाघको छालामा स्यालको रजाँइ’ भन्ने उखान जस्तै बनेको छ ।
‘नपाउनेले केरा पायो, बोक्रा समेत खायो’ भन्ने उखान जस्तै ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदको दुरुपयोग गरेको महशुस धेरैले गरेका छन् । ओलीले नेतृत्व सम्हालेयता नेकपा एमालेको मत हरेक चुनावमा घटिरहेको छ । एमालेले २०४८ सालको आम निर्वाचनदेखि नै लगातार जित्दै आएका निर्वाचन क्षेत्रहरु ओली नेतृत्वमा आए यता गुुुम्न थालेका छन् ।
निरंकुशताको भूत दिमागमा चढिसकेको व्यक्तिले विचार र विवेकलाई थाति राख्न जान्ने चाकडीबाज बाहेक अरूलाई सहन सक्दैन भन्ने यथार्थता एमालेको पार्टीपंक्तिले बुझ्नु जरुरी छ । आफैँ खाडलमा परेपछि चेत्ने भनेको पशुहरूले मात्रै हो, मान्छेले त अरूको देखेर पनि शिक्षा लिन्छ । बहुदलीय शासन व्यवस्था भएको देशमा दलका गतिविधिलाई आन्तरिक मामिलाका रूपमा मात्रै लिइँदैन । दल भनेको कसैको प्राइभेट कम्पनी होइन । संविधानको मर्म र भावनासँग बाझिने गरी दलभित्र शासन गर्न मिल्दैन । दलभित्र निरंकुश शासन गर्नेले राज्यको शासन व्यवस्थालाई पनि निरंकुश बनाउन खोज्छ भन्ने मान्यता बहुदलीय लोकतन्त्रले राखेको हुन्छ ।
ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा पनि निरंकुशता लाद्ने चेष्टा गरेको घामजस्तै छर्लंग छ । उनको यही चेष्टाका कारण नेकपा एमाले विभाजित भएको हो । आफ्नो निरंकुश कार्यशैलीमाथि टिप्पणी गर्नेहरूलाई ओलीले पार्टीबाटै लखेटेका उदाहरणहरू विगतमा पनि उल्लेख्य छन् । ओलीको आक्रमणबाट बच्दै आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूले संगठित प्रयास नगरेका होइनन् । तर त्यो प्रयासलाई कतिपय नेताहरूले अन्तिम अवस्थामा धोका दिए । यो धोकाको परिणामले पनि ओलीलाई गलत कदमका लागि थप उत्साहित बनायो ।
यदि नेकपा एमालेले विधानमा राखेको उमेर सम्बन्धी प्रावधानले निरन्तरता पाएको भए यतिबेला ओली नेकपा एमालेको नेतृत्वमा रहने थिएनन् । ७० वर्षे उमेरहदका कारण नेकपा एमालेका क्षमतावान नेताहरु पाखा लागे । तर जब ओली पार्टी अध्यक्ष बने तब उनले आफ्ना लागि विधानको उमेर सम्बन्धी प्रावधान संशोधन गरेर पार्टी अध्यक्षको कुर्सीमा टाँसिइरहने रणनीति अपनाए । ७३ वर्षीय ओली अब फेरि पनि पार्टी अध्यक्ष बन्ने रणनीतिमा लागेका छन् । एघारौं महाधिबशेनमा अध्यक्ष पदका लागि ओली बाहेक अरुलाई मनोनयन पत्र दाखिला नै गर्न नदिने षड्यन्त्र भइरहेको समाचार आएको छ । यो समाचारको पुष्टि एमालेकै एक पदाधिकारीले गरेका छन् । हुन पनि आगामी एघारौं महाधिबशेनमा ओली बाहेक अरुले अध्यक्ष पदमा उमेद्वारी दिने हिम्मत नगरुन भनेर नै अहिले भीम रावल माथि कारवाही गरिएको हो ।
जसरी धर्मभक्त माथेमालाई रुखमा झुण्ड्याइएपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले सार्वजनिक रुपमै भनेका थिए –‘देख्यौ, गाथगादी ताक्नेहरुको हविगत के हुँदो रहेछ ?’ यति बेला ओलीले पनि जुद्धक शशेरकै शैली अपनाएका छन् । उनले सन्देश दिएका छन् –‘ओली विरुद्ध अध्यक्ष पदमा उम्मेद्वारी दिनेहरुको हविगत के हुँदो रहेछ देख्यौ ।’ एमालेका नेता तथा कार्यकर्ताहरुको शरीरमा रगत होइन कि, यसरी नै पानी बगिरहने हो भने ओली बाचुन्जेल एमालेको अध्यक्ष पदमा टाँसिइरहने छन् र त्यतिन्जेलसम्म नेकपा एमालेको संगठन पनि टर्चलाइट बालेर खोज्नु पर्ने अवस्थामा पुग्ने छ ।
विकल्प के त ?
अब विद्या भण्डारी बाहेक अरु कसैले ओलीलाई विस्थापित गरी पार्टी नेतृत्व लिनसक्ने संभावना अत्यन्त कमजोर देखिएको छ । विद्या भण्डारी बाहेक अरुका लागि ओलीले पार्टी अध्यक्ष पद छाड्ने संभावना पनि देखिन्न । एमालेका केही पदाधिकारीहरुले मसिनो स्वरमै भए पनि ‘ विद्या आउ, एमाले बचाउ’ भन्न थाल्नुको मुख्य कारण यही हो । उनीहरुले जाने बुझेरै यो कुरा बोलेका हुन् । पहिलो कुरा त पूर्वराष्ट्रपति विद्या भण्डारी अघि सिरसकेपछि ओली विरुद्ध दबाव पर्छ । ओलीको गुटका आधा भन्दा बढी मान्छे भण्डारी तिर लाग्छन् । ओलीको उदयमा भण्डारीको मुख्य हात रहेको कुरा असत्य होइन । यसैगरी भण्डारीको उदयमा ओलीको हात रहेको कुरा पनि असत्य होइन ।
ओलीले पार्टी भित्र आफ्नो एक्लौटी वर्चश्व कायम गर्ने रणनीति अन्तरगत भण्डारीलाई दुई कार्यकालसम्म राष्ट्रपति बनाएका हुन् । लामो समयसम्म राष्ट्रपति भइसकेकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन हुन्छ की, हुन्न ? भन्ने बहस आफ्नो ठाउँमा छ । यो बहसलाई नाजायज भन्न पनि मिल्दैन । तर समय तथा परिस्थितिले नैतिक बन्धन तोड्न समेत वाध्य पार्दोरहेछ । भीष्म पितामहले नैतिक बन्धन नतोड्न चट्टानी अडान नलिएको भए महाभारतको युद्ध टर्न सक्थ्यो । तर उनले कुरुबंशको समाप्ती रोजे, आफ्नो नैतिक बन्धन तोड्न तयार भएनन् । तर त्यस्तोविधि अप्ठेरो परिस्थितिमा विद्या भण्डारी छैनन् । राष्ट्रपति भइसकेको व्यक्ति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बनेका उदाहरणहरु विश्वमा धेरै छन् । यदि भण्डारी एमाले अध्यक्ष बन्न तयार हुने हो भने ओली विस्थापनको वातावरण बन्छ, नेकपा एमाले फेरि मदन भण्डारीले संगठन गर्दाको अवस्थामा पुग्नसक्छ ।
त्यसमाथि पनि विद्या भण्डारी माथि वर्तमानको दायित्वमात्रै होइन, इतिहास र भविष्यको दायित्व पनि छ । किनकी मदन भण्डारीले निर्माण गरेको पार्टी हो एमाले । विद्या भण्डारी मदन भण्डारीकै निरन्तरता हुन् । कुरुबंशका भीष्म पितामहको दायित्व राजगद्धीमा बस्ने व्यक्ति प्रति थियो । यसैका लागि उनले बाचा कसम खाएका थिए । त्यसैले धृतराष्ट्रले देश नै तहस नहस बनाउँदा पनि धृतराष्ट्रकै संरक्षण गर्न भीष्मपितामह विवश भए । तर एमालेको अध्यक्ष पदमा बस्ने व्यक्तिलाई जोगाउनु मात्रै विद्या भण्डारीको दायित्व होइन, सिंगो एमाले जोगाउनु भण्डारीको दायित्व हो । यसका लागि उनलाई अनुभव, योग्यता तथा विरासतले मात्रै साथ दिएको छैन, उमेर तथा शारीरिक अवस्थाले पनि साथ दिएको छ ।
ओलीको ज्यादतीविरुद्ध बोल्ने मात्रै होइन आवश्यक परे हप्काउने हैसियत पनि भण्डारीले राख्छिन् । ओलीले कारबाही गरिहाल्छन् कि ? अनुसाशनको डन्डा बर्र्सा हाल्छन् कि ? भन्ने चिन्ता लिन पनि भण्डारीलाई आवश्यक छैन । किनकि उनको पूर्वराष्ट्रपति तथा नेपालको पहिलो महिला राष्ट्रपतिको खिताब खोस्न कसैले सक्दैन ।
प्रतिक्रिया