सन्दीपलाई क्यानले सोध्यो स्पष्टीकरण, १ खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ । आचारसंहिता उल्लंघनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो । क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ ।

सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । बाग्मती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए । अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लंघन मानिन्छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई ३ डिमेरिट अंक दिइएको हो । यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन् ।

सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले सोे प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए । पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया