लन्डन । १ गोलले पछि परेको लिभरपुलले कम ब्याक गर्दै नटिङघम फरेस्टसँग बराबरी गरेपछि प्रिमियर सिप अंक तालिकामा ६ अंकको अग्रता कायम नै राखेको छ । सन् १९२२ पछि लगातार सातौँ प्रिमियर सिप जितको प्रयासमा रहको नटिङघमले आठौँ मिनेटमा नै अग्रता लिएको थियो ।
क्रिसउडले एन्थोनी एलोङनीको पासमा अग्रता लिएको थियो । लिभरपुल प्रशिक्षक आर्ने स्लोटले दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि उनको टोली खेलमा फर्किएको थियो । ६६ औँ मिनेटमा मैदान प्रवेश गरेको २२ सेकेन्डमा डिएगो जोटाले वैकल्पिक खेलाडी कोस्टास सिमिकासको पासमा गोल गरे । केही समय अघि मात्र एन्द्रयु रोबर्टसनको स्थानमा जोटा तथा इब्राहिम कोनाटेको स्थानमा सिमिकास मैदानमा प्रवेश गरेका थिए ।
तालिकामा लिभरपुल २० खेलमा ४७ अंकसहित पहिलो स्थानमा छ । २१ खेलमा फरेस्टको ४१ तथा २० खेल मात्र खेलेको आर्सनलको ४० अंक छ । चेल्सी २१ खेलमा ३७ अंकसहित चौथो स्थानमा छ ।
२० खेलमा न्यु क्याशलको ३५ अंक छ भने २१ खेलमा सिटीको पनि ३५ अंक छ । २१ खेलमा बोर्नमाउथको ३४ अंक छ । यस वर्ष बेजोड फर्ममा रहेको लिभरपुल युरोपेली च्याँिपयन्स लिगमा पनि शीर्ष स्थानमा छ । नटिङघम फरेस्टले पनि यस सिजनमा महत्वपूर्ण फड्को मारेको छ ।
म्यानचेस्टर सिटीको भने लगातार पाँचौँ पटक प्रिमियर सिप उपाधि जित्ने आकांक्षामा फेरि धक्का लागेको छ । मंगलबार राति ब्रेन्टफोर्डसँग भएको खेलमा २–० को अग्रताका बाबजुद सिटी बराबरीमा रोकिएको हो ।
८२ औँ मिनेटसम्म २ गोलले पछि परेको ब्रेन्टफोर्डका लागि योयान विसाले गोल गरे । इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान क्रिस्चियन नोगार्डले हेड गोल गर्दै बराबरी गरे । यसअघि ६६ औँ मिनेटमा फिल फोडेनको गोलमा सिटीले अग्रता लिएको थियो । ७८ औँ मिनेटमा फोडेनले रिबाउन्डको मौकालाई उपयोग गर्दै दोस्रो गोल गरेका थिए ।
अर्को खेलमा चोटबाट फर्किएर मैदानमा उत्रेका कप्तान रिस जेम्सले इन्जुरी समयको पाँचौँ मिनेटमा बराबरी गोल गरेपछि चेल्सीले इङ्गिलस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा बोर्नमाउथसँग २–२ गोलको बराबरी गरेको छ ।
विपक्षी गोलरक्षक मार्क ट्रेभर्सको गल्तीको फाइदा उठाउँदै १३ औँ मिनेटमा कोल पालमरले चेल्सीलाई अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा जस्टिन क्लुभर्टले पेनाल्टीलाई उपयोग गर्दै गोल गरे। ६८ औँ मिनेटमा सिमेन्याओको गोलमा भ्रमणकारी बोर्नमाउथले अग्रता लिएको थियो । प्रिमियरसिपको अर्को खेलमा वेस्टहामले फुलहामलाई ३–२ ले हरायो ।
जर्मन बुन्डेसलिगाको मंगलबार भएको खेलमा होन्सटेल केइलले बोरुसिया डर्टमन्डलाई ४–२ ले हरायो । यसैगरी वायर लिभरकुसेनले मेन्जसँगको खेलमा १–० को जित हात पारेको छ । डर्टमन्डका लागि ४८ औ मिनेटमा एलेक्स ग्रिमाल्डोले गोल गरेका थिए । इन्चिरच फ्रान्कफर्टले फ्रेइबर्गसँगको खेलमा ४–१ को सफलता पायो । उल्फ बर्गले बोरुसिया मोन्चेनग्लेडब्लाकसँगको खेलमा ५–१ को जित हात पारेको हो ।
इटालिनय सिरिएको मंगलबार भएको खेलमा एटलान्टा र युभेन्ट्सबिच १–१ गोलको बराबरी भयो । युभेन्ट्स यस सिजनमा अपराजित नै छ ।यो बराबरी जारी सिजनमा युभेन्ट्सको २० खेलमा १३ औ बराबरी हो । अर्को खेलमा एसि मिलानले कोमोलाई २–१ ले हरायो । तालिकामा एटलान्टा ४३ अंक सहित तेस्रो स्थानमा छ । यसैगरी युभेन्ट्स ३४ अंक सहित पाँचौ स्थानमा छ ।
प्रतिक्रिया