पर्यटन प्रवद्र्धनका लागि छैटौँ अर्घाखाँची महोत्सव

अर्घाखाँची । ‘कृषि, पर्यटन उद्योग र व्यापार, स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार’ भन्ने मूल नाराका साथ अर्घाखाँची जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छैटौँ अर्घाखाँची महोत्सव सोमबारदेखि सन्धिखर्कको कुडुले फाँटमा सुरु भएको छ ।

उद्योग वाणिज्य संघ अर्घाखाँचीको आयोजनामा सञ्चालन भएको महोत्सव सोमबार पञ्चेबाजा, अर्घाखाँची जिल्लाको मौलिक पहिचान झल्किने भैलो नाच, भदन लाखे, विभिन्न झाँकीसहित सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका छन् । महोत्वसवको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले अर्घाखाँची जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा महोत्सवको महत्वपूर्ण भूमिका रहने बताए ।

सोमबार सुरु भएको महोत्सव आगामी माघ १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय उत्पादनलाई थप प्रोत्साहन, पर्यटन प्रवद्र्धनका साथै जिल्लाको मौलिक कला, संस्कृतिको संरक्षण र विकासका लागि मेलाको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले बताए ।

अर्घाखाँची जिल्लाका पयाप्त पर्यटकीय सम्भावना भएका धार्मिक तथा पर्यटकीय स्थलको पहिचानसहितको डिजिटल बोर्डमार्फत प्रचारप्रसार गरिने, स्थानीय उत्पादनलाई उच्च प्राथमिकताका साथ मेलामा राखिने महासचिव तुल्सी खनालले बताए ।

महोत्सवमा स्थानीय व्यापारीलाई विशेष छुटका साथ स्टलहरू उपलब्ध गराइएको, स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिइनुका साथै स्थानीय साना उद्योगबाट उत्पादित उत्पादनलाई निःशुल्क स्टलको समेत व्यवस्था मिलाइएको सचिव सन्तोष बस्नेतले बताए । महोत्सवमा झन्डै ४०० स्टल रहने बताइएको छ ।

करिब ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोडभन्दा बढीको करोबार गर्ने लक्ष्य लिएको यस महोत्वसले अर्घाखाँची जिल्लाको आर्थिक बिकासमा समेत महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष मिश्रको भनाइ रहेको छ ।

मेलामा प्रत्येक दिन जस्तो राष्ट्रिय र जिल्ला स्तरका कलाकारको प्रस्तुती रहनुका साथै टिकटक लगायत बिभिन्न खालका प्रतिस्पर्धात्मक प्रतियोगिता हुने आयोजकले जनाएको छ । मेला तथा प्रदर्शनीमा अर्घाखाँची जिल्ला उत्पादन भएका बिभिन्न उत्पादिन बस्तुहरु सहजै सुपथ मुल्यमा समेत पाउँन सकिने आयोजकको भनाई रहेको छ ।

महोत्वसले जिल्लाको थप आर्थिक बिकास र स्थानिय उत्पादनको प्रर्वद्धन, बजारिकरणका साथै अर्घाखाँची जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा रहेको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया